'विकासे' बिउको जगजगीले रैथानेलाई संकट, बिउ ब्यांकबाट पुनर्जीवनको आशा
किसान र सरकार दुवैको हेलामा परेको रैथाने बिउबिजन हराउँदै जानु स्वाद र पोषण नाशिनु मात्र होइन, जैविक विविधताका दृष्टिले जोखिमपूर्ण र भविष्यको खाद्य सुरक्षाका दृष्टिले चिन्ताजनक पनि हो।
तीन दशकअघिसम्म रसुवाको उत्तरगया गाउँपालिका–५ का किसान खुवाप्रसाद घिमिरे (६१) को खेतमा इन्द्रबेली धानका पहेँलपुर बाला झुल्न थालेपछि वरपर बास्ना चल्थ्यो । यही धान कुटेर चाडपर्व र मौका विशेषमा पकाएको भातको मगमग बास्ना छरछिमेकका घरसम्मै फैलिन्थ्यो । तर, उनले खेतमा यो धान लगाउन छोडेको कम्तीमा तीस वर्ष भइसक्यो । जब उच्च उत्पादन दिने 'विकासे' बिउ खेतसम्म पुग्न थाले, घिमिरेजस्ता किसानले बास्नादार इन्द्रबेली धान लगाउन छोडे र यसको सुगन्ध र मीठो स्वाद टाढाको स्मृतिमा सीमित बन्न पुग्यो । “अहिले त यसको बिउ खोज्दा पनि पाइँदैन, हराएरै गयो,” घिमिरेले भने।
एकाध दशकअघिसम्म घिमिरेका छरछिमेक किसानका खेतमा भुन्टे मसिनो, ठाडे कृष्णभोग, कृष्णभोग, बयेली, इन्द्रबेली, कालाकाँठे, मानामुङ्ग्रो, मन्सरा, बासमती, कालो झिनुवा, आँपझुत्ते, जर्नेली जस्ता बास्नादार र भात खाँदा स्वादिला धानका बाला लहराउँथे । तर, उत्पादन धेरै दिने ‘विकासे’ जातका बिउ गाउँमा भित्रिएपछि यस्ता रैथाने धानहरू क्रमशः विस्थापित हुँदै गएको उनी बताउँछन् । घिमिरेका अनुसार, खोज्ने हो भने मुश्किलले एक–दुई किसानको खेतमा भुन्टे मसिनोको मात्रै बिउ भेटिन्छ।
एकाध दशकअघिसम्म दक्षिणी ललितपुरमा बहुवर्षे हरियो काउली पाइन्थ्यो, जुन एक पटक थुंगा काटेपछि फेरि जराबाट पलाएर अर्को थुंगो निस्किन्थ्यो । जिब्रैमा झुन्डिने स्वाद भएको यो काउली अहिले खोज्दा पनि नभेटिने राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान (नार्क) अन्तर्गतको राष्ट्रिय आनुवंशिक स्रोत केन्द्र (जीन ब्यांक) का वरिष्ठ वैज्ञानिक कृष्णहरि घिमिरे बताउँछन् । धन्न जीन ब्यांकमा भने यसको बिउ सुरक्षित छ।
किसानको खेतबारीमा पहिले–पहिले बडेमानको झाल हुने तर आकारमा स–साना गोलभेडा फल्थे । बोक्रा पातलो भएको र भित्र दानैदाना भएको तिख्खरिलो स्वादको यस्तो गोलभेँडा अचेल पाइँदैन । भक्तपुरको ज्यापु काउली नै अहिले बल्लतल्ल भेटिन्छ, बजारमा विकासे काउलीको रजगज छ।
नेपाली माटोको विशेषतासहितका विशिष्ट उत्पादन नाशिँदै जाँदा अनाज र तरकारीको तिक्खर स्वाद मात्र होइन, पोषण र गुण पनि हराउँदै गएको छ ।
धादिङको धुनिबेसी, महेशफाँटका किसान शिवप्रसाद बाँस्कोटा (६७) तरकारी र बालीनालीका कैयौँ स्थानीय जात देख्दादेख्दै हराइसकेको बताउँछन् । तीन दशकजति अगाडिसम्म बास्कोटा आफ्नो बारीमा घैया (धान) छर्थे । अहिले त्यसको नामनिसान छैन । सिँचाइ नपुगेको पाखोबारीमा छरिने घैया देशभरिमै कतैकतै मात्र भेटिन्छ।
यति मात्र होइन, ठूल्ठूला पात हुने र खाँदा राग निस्किने रायो, मसिना चुच्चे करेला, मादले काँक्रा, मस्याङ, गुराँस, सेतो मकै, पाटे घिरौँला, घैयाधान, रैथाने बोडी–सिमी अहिले सितिमिति नपाइने बाँस्कोटा बताउँछन् । कतिपय बालीनालीका स्थानीय जात त सधैँका लागि हराएरै गए । झिनुवा, कालानमक, समुद्रफिनी, मन्सरा, लल्का बासमती जस्ता रैथाने जात पनि सितिमिति भेटिँदैनन् ।
नेपाली माटोको विशेषतासहितका विशिष्ट उत्पादन नाशिँदै जाँदा अनाज र तरकारीको तिक्खर स्वाद मात्र होइन, पोषण र गुण पनि हराउँदै गएको छ । “विकासे जातका बिउबाट धेरै अनाज र तरकारी फले पनि रैथानेको जस्तो तिक्खर र मीठो स्वाद हुँदैन,” बाँस्कोटा भन्छन्।
किन मासिँदै छन् रैथाने बिउ ?
स्थानीय हावापानी सुहाउँदा बिउको सट्टा किसानका खेतमा उन्नत जातका धानका बिउले प्रवेश पाएको लामो समय भएको छैन । सन् १९६० को दशकमा हरित क्रान्ति भएपछि संसारभरि कृषि उत्पादनमा अचाक्ली वृद्धि भएको हो । उत्पादन बढाउन नेपालले पनि यही क्रान्तिपछि सिकेर अनाज र तरकारीमा उन्नत जातका बिउ बनाएर किसानलाई वितरण शुरू गरेको थियो।
नेपालमा पाँच दशकअघिदेखि २०२० को दशकको मध्यतिरबाट उन्नत जातका बिउबिजन वितरण शुरू गरिएको हो । बाटोघाटोले छोएका किसानका खेतमा त्यतिबेलैदेखि उन्नत जातका बिउ पुग्न थालेका हुन् । किसानका खेतमा वर्णसंकर (हाइब्रिड) पुग्न थालेको भने धेरै भएको छैन । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक भानु पोखरेलका अनुसार, भारतबाट ल्याएर तराईका जिल्लाहरूमा करीब तीन दशकअघिदेखि छिटफुट रूपमा हाइब्रिड धानबाली लगाउन थाले पनि विस्तार पाएको पछिल्लो दशकमा मात्रै हो।
“धानमा मात्रै आधाजति रैथाने जात मासिइसकेको अनुमान छ । दूरदराजका सीमित स्थानमा बाहेक अन्यत्र उन्नत र वर्णसंकर जातका बिउबिजनबाट खेती भइरहेको छ।” - डा. कृष्णकुमार मिश्र, वरिष्ठ वैज्ञानिक, जीन ब्यांक, नेपाल कृषि अनुसन्धान प्रतिष्ठान
किसानका खेतबारीमा विकासे बिउ छिर्न थालेको छोटो अवधिमै कुनाकन्दरासम्मै फैलँदा आधाभन्दा बढी रैथाने बिउ मासिइसकेको अनुमान छ । खेतबारीमा हाइब्रिड बिउको जगजगीले धान, मकै, गहुँ जस्ता अन्नबाली, तरकारी, फलफूललगायत रैथाने बाली पनि हराउन थालेका छन् । तर, कति बिउ नाशिए भन्ने यकिन अभिलेख सरकारसँग छैन ।
अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) का नेपाल प्रतिनिधि डा. कृष्णदेव जोशी देशभित्र धान खेती हुने क्षेत्रफलको १५ प्रतिशत भागमा मात्रै रैथाने जातका धानबाली बाँकी रहेको र अरुमा 'विकासे' जातका धान लगाइएको आकलन गर्छन् । नेपाल कृषि अनुसन्धान प्रतिष्ठान अन्तर्गतको जीन ब्यांकका प्रमुख, वरिष्ठ वैज्ञानिक डा. कृष्णकुमार मिश्र विभिन्न बाली अनुसार १५ देखि ७५ प्रतिशतसम्म रैथाने जातहरू मासिइसकेको अनुमान गर्छन् । उनी भन्छन्, “धानमा मात्रै आधाजति रैथाने जात मासिइसकेको अनुमान छ । दूरदराजका सीमित स्थानबाहेक अन्यत्र उन्नत र वर्णसंकर जातका बिउबिजनबाट खेती भइरहेको छ ।”
किसानका खेतबारीमा रैथाने जातलाई धेरै उत्पादन दिने 'विकासे' जातले प्रतिस्थापन गर्दै जानुको मुख्य कारण बजारको बढ्दो माग र खाने मुखको संख्यामा भएको वृद्धि नै हो । चार दशकमा नेपालको जनसंख्या दोब्बर नाघिसकेको छ । २०३८ सालको जनगणनाले देशमा १ लाख ५० हजार जनसंख्या रहेको देखाएकोमा यो वर्ष ३ करोड नाघेको केन्द्रीय तथ्यांक विभागको आकलन छ । यो जनसंख्याको पेट भर्न खाद्यान्न उत्पादनमा वृद्धिको चाप पर्दै आएको छ ।
अर्कातिर, सरकारी नीतिले नै किसानलाई रैथाने छोडी 'विकासे' जातका बिउबिजन लगाउन प्रेरित गर्दै आएको छ । नार्कको जीन ब्यांकका वरिष्ठ वैज्ञानिक घिमिरेका मतमा उत्पादन बढाउने नाममा सरकारले नै विकासे जातका बिउबिजनमा बल गर्दै यसैकाे अनुसन्धान तथा अनुदानमा जोड दिँदै आएको छ । जसका कारण, विकासे जात पोसाउँदै जाँदा रैथाने जात सुक्दै गएका छन् ।
उत्पादन बढाउन सरकारले धानबाली, मकैबाली, गहुँबालीलगायत अनुसन्धानका कार्यक्रम सञ्चालन गरे पनि अहिलेसम्म कोदो, फापर, जौ, लट्टे, चिनो, कागुनो, उवा, फापर जस्ता रैथाने बालीको अनुसन्धानका लागि खर्च गरेको छैन । यस्ता बालीका लागि अनुदान पनि वितरण गरिँदैन । यसैकारण, यस्ता बालीको उत्पादन झन् घट्दो छ ।
“वैदेशिक रोजगारी तथा अन्य आयआर्जनको उपाय थपिएका कारण कोदो, फापर, जौ, लट्टे, चिनो, कागुनो, उवा, फापर जस्ता रैथाने बालीको खेती गर्न छोडेर भान्छामा आयातीत चामलको भात पाक्न थालेकाले यस्ता बाली हराउन थालेका हुन् ।” - डा. रामकृष्ण श्रेष्ठ, प्रमुख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र
सरकारले मात्र होइन, उत्पादन कम दिने भएपछि किसानले पनि रैथाने बालीलाई हेला गर्दै आएका छन् । कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठ नेपालीको जीवनशैली र बानीव्यहोरामा परिवर्तनले पनि रैथाने बिउ जोगाउन हम्मे परेको बताउँछन्। “वैदेशिक रोजगारी तथा अन्य आयआर्जनको उपाय थपिएका कारण कोदो, फापर, जौ, लट्टे, चिनो, कागुनो, उवा, फापर जस्ता रैथाने बालीको खेती गर्न छोडेर भान्छामा आयातीत चामलको भात पाक्न थालेकाले यस्ता बाली हराउन थालेका हुन्,” श्रेष्ठ भन्छन्।
उसो त, किसान एक्लैले चाहेर पनि रैथाने बिउ जोगाउन सक्दैनन् । किसानले रैथाने जातकै बिउको तरकारी र फलफूल लगाइरहे पनि तिनले नजानीकनै बिस्तारै आफ्नो मौलिक गुण गुमाइरहेका छन् । लहरे तरकारी, फलफूल, तोरी, रायो, मुला, जुनेलो जस्ता पर परागसेचन (क्रस पोलिनेटेड) हुने रैथाने बालीको छेउमै वर्णसंकर लगाउँदा रैथानेले हावा र कीरामार्फत वर्णसंकरको गुण सर्लक्कै ग्रहण गर्छ । रैथाने जातको काँक्रो वा फर्सीको स्वाद हराउनुको कारण यही भएको जीन ब्यांकका वरिष्ठ वैज्ञानिक घिमिरे बताउँछन्।
नाफा–घाटाको हिसाब
वर्णसंकर बिउको सबैभन्दा ठूलो दुर्गुण भनेकै यस्ता बालीनालीका बिउ एक पुस्ताबाट अर्को पुस्तामा जाँदा उत्पादन ह्वात्तै घट्छ । एक पुस्तालाई मात्र काम लाग्ने भएकाले बिउमा सधैँ परनिर्भरता हुन्छ । आनुवंशिक रुपान्तरित जीएमओको त अर्को पुस्तामा बिउ नै काम लाग्दैन । त्यसैले, रैथानेलाई छोडेर उन्नत र आयातीत वर्णसंकर बिउ प्रयोग गर्दा भविष्यमा नसोचेको जोखिम आउनसक्ने कतिपय कृषि वैज्ञानिकको धारणा छ । नेपालमा जीएमओ बिउ प्रतिबन्धित छ।
जबकि, रैथाने बिउमा पुस्तौँ पुस्तासम्म प्रजनन क्षमता हुने भएकाले किसान आफैँले लगातार प्रयोग गरिरहन सक्छन् । जीन ब्यांकका वरिष्ठ वैज्ञानिक घिमिरे भन्छन्, “रैथानेको सट्टा आयातीत हाइब्रिड बिउमा भर पर्दा कदाचित् अन्य देशबाट बिउ आउन रोकिए बिउ संकट र खाद्य असुरक्षाको जोखिम बढ्न सक्छ।”
वर्णसंकर बिउको सबैभन्दा ठूलो दुर्गुण भनेकै यस्ता बालीनालीका बिउ एक पुस्ताबाट अर्को पुस्तामा जाँदा उत्पादन ह्वात्तै घट्छ । एक पुस्तालाई मात्र काम लाग्ने भएकाले बिउमा सधैँ परनिर्भरता हुन्छ । त्यसैले, रैथानेलाई छोडेर उन्नत र आयातीत वर्णसंकर बिउ प्रयोग गर्दा भविष्यमा नसोचेको जोखिम आउनसक्ने कतिपय कृषि वैज्ञानिकको धारणा छ ।
किसान वर्णसंकर बिउमा भर पर्दै जाँदा बिउमा परनिर्भरता पनि बढ्दो छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा मात्र रु.१ अर्ब ६५ करोड मूल्यका ४ हजार ३२० टन बिउबिजन आयात गरियो । बिउबिजनको आयात हरेक वर्ष बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ।
विकासे जातका बिउको अर्को दुर्गुण के हो भने, यसलाई कीटनाशक र विषादी बढी चाहिन्छ । रैथानेलाई छाडेर किसानका खेतमा वर्णसंकर बिउको प्रयोग बढ्न थालेसँगै कीटनाशक र विषादीको आयात पनि बढिरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्यांकले देखाउँछ । केन्द्रका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा खेतबारीमा प्रयोग गर्न झण्डै रु.१ अर्ब बराबरको ८०९ टन रासायनिक विषादी (खास सक्रिय विष तत्व) आयात भएको छ । करीब दुई दशकअघि आर्थिक वर्ष २०५४/५५ मा नेपालमा जम्मा ५६ टन रासायनिक विषादी प्रयोग भएकोमा अहिले करीब १५ गुणा बढिसकेको छ।
सन् १९५० को दशकमा औलो उन्मूलन कार्यक्रम अन्तर्गत अमेरिकी सहयोग नियोग यूएसएआईडीको सहयोगमा अमेरिकाबाट डीडीटी भित्रिएसँगै नेपालमा पहिलो पटक रासायनिक विषादी प्रयोग शुरू भएको थियो । तरकारी र फलफूल बालीलाई रोग, कीराबाट बचाउन विषादी प्रयोग गरिन्छ । तर, यसको जथाभावी प्रयोग भइरहेकाले उपभोक्ताको स्वास्थ्य र पर्यावरणमा घातक असर परिरहेको छ।
रैथाने बिउ हराउँदै जानु जैविक विविधताका दृष्टिले जोखिमपूर्ण र भविष्यको खाद्य सुरक्षाका दृष्टिले पनि चिन्ताजनक रहेको जीन ब्यांकका वरिष्ठ वैज्ञानिक घिमिरे बताउँछन् । रैथाने बिउ लोप भए आनुवंशिक स्रोत नै हराउने भएकाले यस्तो हुनुलाई उनी सन्तान दरसन्तानसम्म हस्तान्तरण हुने सम्पत्तिको नाश भन्ठान्छन् । “स्थानीय जात नाशिएर गए विशिष्ट भौगोलिक र क्षेत्रगत विशेषता बोकेका बालीनालीको गुण सारेर नयाँ बाली विकास गर्ने सम्भावना पनि हराउँछ,” उनी भन्छन्।
रैथाने बिउबिजनमा स्थानीय हावापानी र रोग, कीरा सहने गुण तथा सयौँ पुस्तासम्म पनि प्रजनन क्षमता उस्तै रहने जातीय गुण हुन्छ । यस विपरीत, प्राकृतिक अवस्था फेरिनेबित्तिकै वा सामान्य रोग, कीरा लाग्नेबित्तिकै वर्णसंकर बाली जोगाउन कठिन हुन्छ ।
बिउबिजनको जातको स्वामित्वको अधिकार सुरक्षित राख्न र जैविक चोरी (बायो पाइरेसी) हुन नदिन पनि रैथाने बिउबिजन जोगाउनुपर्ने जानकारहरूको मत छ । तर, आफ्ना रैथाने बिउबिजन, वनस्पति, भौगोलिक संकेत र परम्परागत ज्ञानलाई संरक्षण गर्न सरकारले रत्तिभर पाइला चालेको छैन । बासमती धानमा भारतले एकाधिकार दाबी गरेको घटनाले रैथाने बिउबिजनको महत्व देखाउँछ।
अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्रका नेपाल प्रतिनिधि जोशी बासमती धानसहितका विभिन्न विशिष्ट बिउबिजनमा भौगोलिक संकेत हकअधिकार स्थापित गर्न तिनको डीएनए अध्ययन गर्नुपर्ने भएकाले पनि तिनलाई जोगाइराख्नुपर्ने बताउँछन्।
कसरी जोगाउने ?
रैथाने बिउ गुणैगुणले सम्पन्न भने होइन । खाँदा स्वादिलो भए पनि यसको दुर्गुण उत्पादन कम हुनु हो । त्यसैकारण यसलाई किसानका खेतबारीमा बचाइराख्न सजिलो छैन । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका नेपाल प्रतिनिधि जोशी भन्छन्, “रैथाने बिउ जोगियोस् भन्ने सदिच्छाले मात्रै हुँदैन, यस्ता बिउको प्रतिस्पर्धी उत्पादकत्व नहुँदासम्म किसानले जोगाएर राख्न सक्दैनन्।”
उनका अनुसार, आफैँमा प्रतिस्पर्धी रहेका र विशिष्ट पहिचान बनिसकेका विशिष्ट स्थानीय जात जस्तैः जेठो बूढो, कालानमक, जुम्ली मार्सी जस्ता धान आदिलाई यथास्वरूपमा खेती गरेर पनि जोगाउन सकिन्छ । यस्ता विशिष्ट जातलाई 'प्रिमियम'मा बजारमा बेच्न सक्दा किसानले राम्रो लाभ लिनसक्ने हुँदा यी जोगाउन किसान आफैँ तत्पर हुन्छन् । अर्कातिर, रैथाने बिउको गुण र स्वभाव नयाँमा सारेर नयाँ बाली विकास मार्फत जोगाउन सकिने उनी बताउँछन् । जस्तैः बास्नादार धानलाई अनुसन्धान गरेर जोगाउन सक्दा त्यसको बास्ना आउने गुण समेटेर नयाँ जात विकास गर्न सकिन्छ ।
"रैथाने बाली र बिउबिजन जोगाउन किसान र सरकार दुवैको पहल चाहिन्छ । रैथाने बाली आफैँमा अर्गानिक हुने भएकाले यसलाई सोही अनुसार बजार प्रवर्द्धन गर्न आवश्यक छ ।" - डा. रामकृष्ण श्रेष्ठ, प्रमुख, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र
किसानका खेतबाट बालीनालीका हजारौँ जात हराइसके पनि आशालाग्दो कुरो चाहिँ, सरकार र किसान दुवैले बिउ ब्यांकमार्फत रैथाने बिउहरुलाई पुनर्जीवित गर्ने काम गरिरहेका छन् । नार्कअन्तर्गत २०६७ सालमा जीन ब्यांक स्थापना गरेर रैथाने बाली संरक्षणको प्रयास शुरू गरिएको छ । ब्यांकमा १४० बालीका करीब १४ हजार बिउ संकलन र सुरक्षण गरिएको छ, जसमा धानका मात्रै करीब २४ सय रैथाने जात छन् । यी बिउ ५० देखि १०० वर्षसम्म सुरक्षित राख्न सकिन्छ ।
जीन ब्यांकका वरिष्ठ वैज्ञानिक घिमिरेका मतमा अझैसम्म वैविध्यपूर्ण हजारौँ जातका बिउको संरक्षण गर्नै बाँकी छ । देशभरिका अझै करीब ६० प्रतिशत स्थानबाट स्थानीय र रैथाने जातका बिउबिजन संकलन गरिएकै छैन । उसो त नेपालका करीब ३ हजार थरीका धानका बिउ अन्तर्राष्ट्रिय धानबाली अध्ययन केन्द्र, फिलिपिन्समा सुरक्षित छन् ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठ चाहिँ रैथाने बाली र बिउबिजन जोगाउन किसान र सरकार दुवैको पहल चाहिने बताउँछन् । उनी रैथाने बाली आफैँमा अर्गानिक हुने भएकाले यसलाई सोही अनुसार बजार प्रवर्द्धन गर्न आवश्यक रहेको देख्छन् । त्यसो हुनसक्दा, किसानले कम उत्पादन भए पनि रैथाने बिउबिजनका अनाज र तरकारीबाट यसको महत्वका आधारमा मनग्य रकम लिन सक्छन्, जसले गर्दा यस्ता बाली लगाउन प्रोत्साहित हुनेछन्।
अहिले केन्द्रले स्थानीय तहहरूसँगको समन्वयमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले रैथाने बालीको प्रचारप्रसार, बिउ तथा प्रविधिमा सहयोग, रैथाने बालीबाट बन्ने परिकारको विविधीकरण, बजार प्रवर्द्धनमा सहयोग र जीन ब्यांकमा संरक्षणमा काम गर्छ । रैथाने बाली जोगाउन सके र यसको महत्वलाई प्रचारमा ल्याउनसके चाउचाउ खाने बालबच्चाले पोषिला अनाजका चिजबिज खान पाउने तर्क गर्दै श्रेष्ठ भन्छन्, “रैथाने बालीको प्रवर्द्धनबाट ग्रामीण अर्थतन्त्रकै रूपान्तरण गर्न सकिन्छ, तर यसमा पर्याप्त ध्यान पुगेकै छैन ।”
बिउ ब्यांकले जगाएको आश
कैयौँ जिल्लामा दुई दर्जन हाराहारीमा सामुदायिक बिउ ब्यांक सञ्चालनमा छन् । यी बिउ ब्यांकले रैथाने बिउको छनोट तथा संरक्षणको परम्परागत ज्ञान, सीपलाई जगेर्ना गर्दै जलवायु परिवर्तनको असरसँग जुध्ने सामर्थ्य भएका बिउ नाशिनबाट रोक्छन् । जस्तै, बर्दियाको बेलवास्थित सामुदायिक बिउ ब्यांकले 'घ्युपुरी' जातको छिटै पाक्ने बास्नादार धानलाई जगेर्ना गर्दै स्थानीय किसानलाई बिउ वितरण गरेर खेती विस्तार गरेको छ । छिटै पाक्ने भएकाले मध्य भदौपछि पानी नभए पनि यो धानको उत्पादनमा कमी आउँदैन । त्यसैकारण, जलवायु परिवर्तनको जोखिमसँग लड्न पनि सक्षम यो जातको धान फेरि किसानको रोजाइमा पर्न थालेको छ ।
जलवायु परिवर्तनको खराब असरसँग जुध्ने किसानको क्षमता बलियो बनाउन पनि सामुदायिक बिउ ब्यांकहरूले सहयोग गरिरहेका छन् । नार्क अन्तर्गतको राष्ट्रिय जीन ब्यांकका प्रमुख डा. कृष्णकुमार मिश्र रैथाने जातमा बृहत् आनुवंशिक आधार हुने भएकाले यस्ता बिउले जलवायु परिवर्तनबाट सिर्जित प्रतिकूल परिस्थितिमा पनि उत्पादन दिन सक्ने बताउँछन् ।
सामुदायिक बिउ ब्यांकले किसानकै सक्रियतामा रैथाने जातको बिउ अन्वेषण, संकलन, संरक्षण तथा उत्पादनका लागि काम गरिरहेका छन् । सामुदायिक बिउ ब्यांक स्थापनामा सहयोग गर्दै आएको संस्था 'जैविक विविधता, अनुसन्धान तथा विकासको लागि स्थानीय पहल–लिबर्ड' का कार्यक्रम सञ्चालन निर्देशक पीताम्बर श्रेष्ठका अनुसार, यस्ता बिउ ब्यांकहरु सामुदायिक स्तरमा स्थापना नभएका भए कैयौँ बालीका बिउ सधैँका लागि लोप भइसक्ने थिए । जस्तै, दोलखाको जुगु सामुदायिक बिउ ब्यांकले लगभग हराइसकेको रैथाने 'पहेँलो सिमी' को बिउ जोगाउन सफल भएको छ ।
उक्त बिउ ब्यांकका अध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार, लामा कोसा, पोटिला दाना फल्ने यो स्वादिलो सिमीको बिउ बल्लतल्ल एक किसानको बारीमा भेटिएको थियो, जसलाई उनीहरूले बिउ ब्यांकमा सुरक्षित राखेर अहिले वरपरका किसानका खेतबारीमा लगाउँदै आएका छन्। हिउँद र वर्षा दुवै याममा लगाउन मिल्ने यो सिमीलाई रसायनिक मल र विषादी हाल्न नपर्ने भएकाले पनि किसानले फेरि आफ्ना खेतबारीमा यसलाई लगाउन थालेको खड्का बताउँछन् ।
लमजुङको घनपोखरा कृषि सहकारी संस्था तथा सामुदायिक बिउ ब्यांकले पनि लोप हुन लागिसकेको रैथाने 'बरियो' जातको कागुनो जोगाएर फेरि किसानका बारीमा पुर्याउन सफल भएको छ । स्थानीय बिउ जोगाउन पाँच वर्षअघि २०७२ सालदेखि यो सामुदायिक बिउ ब्यांकले काम गरिरहेको छ ।यसका अध्यक्ष खगेश्वर जङ्ग गुरुङ भन्छन्, “उवा, फापर, जौ, कागुनो लगायतका रैथाने बालीका विभिन्न जात जोगाउन हामीले बिउ ब्यांकमा यस्ता बिउहरु सुरक्षित राखेका मात्र छैनौँ, किसानलाई बिउ दिएर उत्पादन बढाइरहेका छौँ ।”
"सुख्खा नसहने तथा रोग, कीराले छिटै असर गर्ने विकासे बालीका सट्टा किसानहरु जलवायुमा आउने परिवर्तन सहने खालका कोदो, फापर, कागुनो, चिनो, उवा, करु आदिको खेतीमा बिस्तारै फर्किन थालेका छन् । " - सीताराम बजगाईँ, अध्यक्ष, सामुदायिक बिउ ब्यांक संघ नेपाल
जलवायु परिवर्तनको खराब असरसँग जुध्ने किसानको क्षमता बलियो बनाउन पनि सामुदायिक बिउ ब्यांकले सहयोग गरिरहेका छन् । नार्क अन्तर्गतको राष्ट्रिय जीन ब्यांकका प्रमुख डा. मिश्र रैथाने जातमा बृहत् आनुवंशिक आधार हुने भएकाले यस्ता बिउले जलवायु परिवर्तनबाट सिर्जित प्रतिकूल परिस्थितिमा पनि उत्पादन दिन सक्ने बताउँछन् । रैथाने बिउबिजनमा स्थानीय हावापानी र रोग, कीरा सहने गुण तथा सयौँ पुस्तासम्म पनि प्रजनन क्षमता उस्तै रहने जातीय गुण हुने भएकाले चरम खालका जलवायु गतिविधिसँग जुध्न यस्ता बिउबिजनले किसानलाई सघाउँछन् । यस विपरीत, प्राकृतिक अवस्था फेरिनेबित्तिकै वा सामान्य रोग, कीरा लाग्नेबित्तिकै वर्णसंकर बाली जोगाउन कठिन हुन्छ ।
बढ्दो तापमान र वर्षाको प्रकृतिमा आएको बदलावले खडेरी र बाढीको सम्भावना पनि बढाएका कारण नेपालको कृषि उत्पादनमा जोखिम बढेको छ ।वन तथा वातावरण मन्त्रालयको सन् २०१४ को एक अध्ययनले दीर्घकालमा जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा मात्र कुल गार्हस्थ्य उत्पादनको ०.८ प्रतिशत क्षति हुने आकलन गरेको छ, त्यसैले, किसानलाई जलवायु परिवर्तनको असरसँग जुध्ने उपाय चाहिएको छ। लिबर्डका कार्यक्रम सञ्चालन निर्देशक श्रेष्ठ कोदो, चिनो, फापर, जौ लगायतका स्थानीय बालीमा खडेरीसँग जुध्नसक्ने र प्रतिकूल स्थितिमा पनि उत्पादन हुने क्षमता भएकाले जलवायु अनुकूलनका लागि रैथाने बिउबिजनले काम गर्ने बताउँछन् ।
सामुदायिक बिउ ब्यांक संघ नेपालका अध्यक्ष सीताराम बजगाईँ सुख्खा नसहने तथा रोग, कीराले छिटै असर गर्ने विकासे बालीका सट्टा किसानहरू जलवायुमा आउने परिवर्तन सहने खालका कोदो, फापर, कागुनो, चिनो, उवा, करु आदिको खेतीमा बिस्तारै फर्किन थालेको बताउँछन् । जलवायु परिवर्तनको असरसँग जुध्न पनि सामुदायिक बिउ ब्यांक मार्फत स्थानीय बिउको संरक्षण तथा यस्ता बालीको खेती आवश्यक परेको उनी बताउँछन् ।
बजारमा रैथाने बिउका उत्पादनको माग पनि बढ्न थालेको भन्दै बिउ ब्यांक सम्बद्ध व्यक्तिहरू उत्साहित छन् । तनहुँको भानु–९ स्थित जैविक विविधता संरक्षण केन्द्र तथा सामुदायिक बिउ ब्यांकका अध्यक्ष विकलराज अधिकारी रैथाने बिउका उत्पादन बढी मूल्य तिरेर किन्ने उपभोक्ता बढिरहेको बताउँछन् । “कालो मसिनो, अनदी लगायत रैथाने मसिनो धानका चामल अन्य विकासे जातका धानको चामलका तुलनामा दोब्बर बढी मूल्यमा बिक्री भइरहेका छन् ।”
सामुदायिक बिउ ब्यांक संघ नेपालका अध्यक्ष बजगाईँ पनि प्राकृतिक रूपमै अर्गानिक हुने रैथाने बिउबिजनका उत्पादनको माग पछिल्लो समय असाध्यै बढेको बताउँछन् । तनहुँस्थित सामुदायिक कोसेली घरको उदाहरण दिँदै बजगाईँ भन्छन्,“अर्गानिक रैथाने बालीको उत्पादनले माग थेग्नै गाह्रो पर्न थालेको छ, यसले भविष्यमा रैथाने बालीनाली फेरि पोसाउने आशा जगाएको छ ।”
(यो रिपोर्ट थोमसन रोयटर्स फाउण्डेसनले सञ्चालन गरेको 'मिडिया कौशल विकास कार्यक्रम' अन्तर्गत लेखिएको/उत्पादन गरिएको हो। सामग्रीमा लेखक तथा प्रकाशन गृहको पूर्ण जिम्मेवारी हुनेछ।)