सु चीको गिरफ्तारीले निराश उनका नेपाली विद्यार्थी
बर्मामा सेनाले 'कू' गर्दै सत्ता हत्याएको र नेतृ आङ सान सु ची लगायत नेताहरुलाई गिरफ्तार गरेकोमा विश्वभर विरोध भइरहेको छ । त्यसमा पनि पाँच दशकअघि काठमाडौँको बौद्ध विहारमा सु चीसँग शिक्षा लिएका नेपाली विद्यार्थीले उनको शीघ्र रिहाइको कामना गरेका छन्।
गएको १९ माघमा बर्मामा सेनाले सत्ता कब्जा गरेर एक वर्षका लागि संकटकाल घोषणा गर्यो । नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सु ची, राष्ट्रपति विन मिन्टसहित मन्त्री र सांसदहरु गिरफ्तारीमा परे । सन् २०११ सम्म सेनाको प्रत्यक्ष शासनपछि प्रजातान्त्रिक अभ्यास गर्न थालेको बर्मामा फेरि छाएको सैन्य नियन्त्रणको विरोधमा विश्वभर आवाज उठिरहेको छ।
बर्मामा भएको सैनिक 'कू' को विरोध र नागरिक अधिकार कायम गर्न माग गर्दै नेपालमा पनि प्रदर्शन गरिए । योसँगै नेतृ सु चीको रिहाइको माग पनि गरिएको छ । यसभन्दा अलग, सु चीको गिरफ्तारीबारे चिन्ता गर्ने शुभेच्छुक नेपालीहरु पनि छन्, जसले कुनै समय उनीबाट नेपालमै शिक्षा ग्रहण गरेका थिए । तिनै नेपाली विद्यार्थीमध्येकी एक हुन्, काठमाडौँ लाजिम्पाटकी त्रिलोचना तुलाधर । उनी बर्माको समस्या छिटै समाधान होस् र सु चीको यथाशीघ्र रिहा होस् भन्ने कामना गर्छिन्।
त्रिलोचनाले झण्डै पाँच दशकअघि काठमाडौँमा सु चीसँग अङ्ग्रेजी विषय पढेकी थिइन् । असन छेउको श्रीघः, नःघःस्थित धर्मकीर्ति विहारमा सु चीलाई पहिलो पटक भेटेको र कक्षा लिएको उनीसँग धमिलो सम्झना छ।
त्यही धमिलो विगततिर फर्कँदै त्रिलोचना सुनाउँछिन्, "शुरुमा हाम्रो विहारमा बर्मिज टिचर आएको छ रे भन्ने सुनिएको थियो । पछि उहाँसँगै पढ्न थाल्यौँ । सु चीले नै मलाई अङ्ग्रेजी अक्षर चिनाउनुभएको हो । मलाई पढाउने मान्छे यति ठूलो हुनुहुँदो रहेछ भन्ने थाहै थिएन।”
त्रिलोचनासहित उक्त विहारको 'अध्ययन गोष्ठी'मा करीब २० जना विद्यार्थी सु चीसँग पढ्थे । तिनैमध्येका अर्का हुन्, चिनिकाजी महर्जन । आफू पाँच वर्षको हुँदा सुचीसँग पढेको उनी स्मरण गर्छन्।
प्रत्येक पटकको नेपाल भ्रमणमा सु ची धर्मकीर्ति विहार पुगेकै हुन्छिन् । सन् २०१६ मा आएका बेला उनले आफ्ना पुराना विद्यार्थीबारे चासो राखेकी थिइन् । विहारमा आयोजित कार्यक्रममा उनले ‘क-कसले मसँग पढेको हो, एकचोटि उठिदिनुस्’ भनेर माइकबाटै सोधेकी थिइन् ।
“हामी उहाँलाई मा सु ची भन्थ्यौँ,” सिल्भर साइन च्यानलले यूट्यूबमा राखेको भिडिओमा चिनिकाजीले भनेका छन्, “विहारको गुरुमाले ‘सु चीले अङ्ग्रेजी पढाउनुहुन्छ, पढ्ने इच्छा भए आउनुस्’ भन्नुभएको थियो । मलाई अङ्ग्रेजी पढ्ने धेरै रहर भएकाले गएँ । धेरै वर्षपछि उहाँ टीभीमा देखिएपछि मात्रै उहाँबारे सबै थाहा भयो।”
प्रत्येक पटकको नेपाल भ्रमणमा सु ची धर्मकीर्ति विहार पुगेकै हुन्छिन् । सन् २०१६ मा आएका बेला उनले आफ्ना पुराना विद्यार्थीबारे चासो राखेकी थिइन् । विहारमा आयोजित कार्यक्रममा उनले ‘क–कसले मसँग पढेको हो, एकचोटि उठिदिनुस्’ भनेर माइकबाटै सोधेकी थिइन् । त्रिलोचना र चिनिकाजीहरू सिटबाट उठेका थिए।
"उहाँले हामीलाई नियालेर हेर्नुभएको थियो,” त्रिलोचना भन्छिन्, “त्यहाँ निकै भीडभाड भएकाले दोहोरो कुराकानी गर्न भने सम्भव भएन।"
सु चीले आफ्ना विद्यार्थी ठूला भइसकेकाले अनुहार याद नभएको बताएकी थिइन्।
पहिलो पटक सु ची आफ्नी आमा खी सु ची (जो भारत र नेपालका लागि बर्माकी तत्कालीन राजदूत थिइन्) सँग सन् १९६२ मा नेपाल आएकी थिइन् । त्यसपछि सन् १९७३ मा पति माइकल एरिससँग आउँदा चार/पाँच महिना धर्मकीर्ति विहारमा बसेको त्यहाँकी प्रमुख भिक्षुणी धम्मवतीले बताइन्। त्यतिबेलै सू चीले विहारमा पढाएकी थिइन्।
“सु चीका जेठो छोरा अलेक्सजेन्डर भर्खर तीन महिनाको थियो,” धम्मवती भन्छिन्, “उनका पति माइकल चाहिँ गुम्बाहरूको अध्ययन गर्न नेपालका पहाडतिर गए । सु ची र अलेक्सजेन्डर विहारमा बसे ।”
क्युबामा जन्मेका बेलायती मूलका माइकल इतिहासकार थिए । उनले भुटानी, तिब्बती र हिमालयन बौद्ध संस्कृतिबारे अध्ययन गरेका थिए । सु ची बर्मास्थित आफ्नै घरमा नजरबन्दमा रहेका बेला माइकलको सन् १९९९ मा बेलायतमा निधन भएको थियो।
सु ची र माइकल वि.सं. २०३२ तिर नेपाल आउँदाका गतिविधिबारे धम्मवतीलाई स्पष्ट याद छ । वृद्धावस्थाका कारण अरू तिथिमिति भुले पनि उनलाई यो साल किन ठ्याक्कै स्मरण हुन्छ भने त्यतिबेला सु चीको काखे छोरालाई खुवाउने दूध काठमाडौंमा कतै नपाइएर बर्माको दूतावास मार्फत मगाउनुपरेको थियाे।
विहारमा बसुन्जेल सु चीले धम्मवतीसँग बौद्ध धर्म सिकेकी थिइन् । सिक्ने र सिकाउने दुवै काममा उनी सक्रिय रहने गरेको धम्मवतीले बताइन् । पछि धम्मवतीसहित केही भिक्षुणी बर्मा जाँदा उनीहरूले सु चीलाई भेटेका थिए । “हामी जाँदा उनी आफ्नै घरमा नजरबन्दमा बसेको तीन/चार वर्ष भएको थियो,” सुची सन् १९८९ मा नजरबन्दमा परेको हुँदा धम्मवतीले सम्भवत: सन् १९९२ तिरको तस्बिर देखाउँदै भनिन्, “उनी त्यो बेला ध्यान गर्ने र किताब पढेर बस्दी रहिछन् । हामी सैनिकले घेरिएको उनको घरमा भोजन गरेर फर्केका थियौँ।”
सु ची धम्मवतीलाई प्रिय गुरुमा मान्छिन् भनेर विहारकै सह–सचिव रीना तुलाधारलाई थाहा रहेछ । सु चीले नै एक भेटमा यसबारे बताएको रीनाले सुनाइन् । “उहाँले कठिन परिस्थितिमा म गुरुमाको विचार र शिक्षा स्मरण र मनन गर्छु भन्नुभएको थियो,” रीना भन्छिन्, “धर्मकीर्ति विहारप्रति उहाँको विशेष आस्था छ।”
अहिले सु ची कठिन परिस्थितमा छिन् भन्ने रीनालाई लागेको छ । सु चीसँगको स्मृति र उनका विभिन्न प्रसंगमाथि रीनाका लेखहरू पत्रपत्रिकामा छापिएका छन्।
गुरुमा धम्मवती सु ची धैर्यवान् र अभिमानरहित भएको र उनी चाँडै रिहा हुनेमा आशावादी छिन् । “यस्ता बन्धनबाट उनी मुक्त होऊन् भन्ने प्रार्थना गर्छौँ," धम्मवतीले भनिन्।
बर्माको पछिल्लो सैन्य हस्तक्षेपले धम्मवतीलाई आश्चर्यमा पारेको छैन । न त नेपालकै वर्तमान राजनीतिक दृष्य देखेर चकित छिन् । यी दुवै देशमा यस्तो भइरहन्छ, यसअघि पनि भएकै थियो भन्दै दुःखी चाहिँ हुन्छिन् । “भोट र शक्तिका लागि यस्तो हुन्छ,” उनले भनिन्, “सु ची र उनका बुबाले बर्माका लागि धेरै राम्रो काम गरेका थिए । सबैले राम्रो भन्दाभन्दै पनि सु ची बारम्बार थुनामा पर्छिन् । उनका बुबालाई मारिदिए।”
सु ची लगायत नेताहरुलाई हिरासतमा लिएपछि विश्वभर यसको आलोचना भइरहको छ । नेपाल सरकारले पनि सबै घटनाक्रम नियालिरहेको भन्दै राष्ट्रपति मिन्ट र सु चीहरूको तुरुन्त रिहाइको माग गर्दै वक्तव्य जारी गरेको छ । यति हुँदाहुँदै पनि सु चीले विश्वस्तरबाट पर्याप्त साथ नपाइरहेको बताइन्छ । उनले सत्तामा पुगेपछि त्यहाँका रोहिंग्या समुदाय विरुद्ध जुन किसिमको शक्ति प्रयोग गरिन्, त्यसले उनको लोकतान्त्रिक राजनीतिक आस्थामाथि प्रश्न उठाएको थियो।
प्रजातन्त्र र मानव अधिकारका लागि सु चीको अहिंसात्मक लडाइँप्रति सम्मान गर्दै सन् १९९१ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो।