अदालतको अवहेलनामा दाहाललाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश
अदालतको अवहेलना मुद्दामा नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाललाई आफैँ उपस्थित भएर जबाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बुधबार भएको सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले जबाफ पेस गर्न आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? माग बमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने हो? म्याद प्राप्त भएका मितिले बाटोको म्यादबाहेक ७ (सात) दिनभित्र सबै बेहोरो खुलाई आफैँ लिखित जबाफ पेस गर्नुहोला।’
नेकपा अध्यक्ष दाहालले अदालतको अवहेलाना गरेको भन्दै समिर हायुले १८ माघमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। मंगलबार पनि यस मुद्दाको पेसी तोकिएको थियो। तर, बेन्च बस्न नपाएका कारण सुनुवाइ हुन सकेको थिएन।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि सर्वोच्च अदालतले अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जबाफ दिन आदेश गरिसकेको छ।