संवैधानिक निकायमा नियुक्ति पाउने यी हुन् ३२ पदाधिकारी
विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारीले नियुक्ति पाएका छन्। उनीहरुले आज बिहान राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा शपथ लिएका छन्।
संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न निकायमा ३२ जनालाई नियुक्त गरेकी हुन्। संवैधानिक परिषदले ४५ जनाको सिफारिश गरेको भएपनि बुधबार ३२ जनाले मात्रै शपथ लिएका छन्।
राष्ट्रपति कार्यालयले संवैधानिक निकायमा नियुक्त हुने ३२ जनाको नामावली सार्वजनिक गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएका छन्। त्यस्तै, सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्द नियुक्त भएका छन्।
त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर तथा सदस्यहरुमा सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लीली हजुर बस्न्यात नियुक्त भएका छन्। निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र डा. जनकुमारी तुलाधरलाई नियुक्त गरिएको छ।