ट्राफिक जरिवाना इसेवाबाट पनि तिर्न सकिने
ट्राफिक नियम उल्लंघन गरेवापत तिर्नुपर्ने जरिवाना अबदेखि इसेवाबाट पनि भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखा तथा मातहतका अन्य कार्यालयले ट्राफिक जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको हो। अनलाइनबाट जरिवाना भुक्तानी गर्ने सम्बन्धतमा इसेवा र महानगरीय ट्राफिक महाशाखाबीच सम्झौता भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना रकम अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयर विकास गरेपछि अनलाइन भुक्तानी सेवा शुरू भएको हो।
अनलाइन भुक्तानी गर्दा जरिवाना वापतको राजश्व रकम सीधै सरकारी राजश्व खातामा जम्मा हुनेछ। यो सेवाले जरिवाना रकम ट्राफिक प्रहरी कार्यालयमै गएर तोकिएको ब्यांकमा जम्मा गर्नुपर्ने बाध्यता हटेको छ। सवारी चालकले घरमै बसेर अनलाइन भुक्तानी गर्न सक्नेछन्।
इसेवा एपमा 'गभर्मेन्ट पेमेन्ट' सेगमेन्टमा क्लिक गरेर ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गरेपछि ट्राफिक उल्लंघन गरेको कसुर र जरिवाना रकम देखाउनेछ। सोही ठाउँमा मागिएको विवरण भरेर इसेवाबाट रकम भुक्तानी गर्न सकिनेछ। इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेको कुनै पनि इसेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन्।