कार्डबाट सवारी भाडा भुक्तानी गर्न राष्ट्र ब्यांकको अनुमति, फागुनदेखि नगदरहित हुँदै
सार्वजनिक सवारी साधनका नगदरहित भाडा भुक्तानी तथा आधुनिक प्रविधिको प्रयोग हुने भएको छ। कार्डबाट हुने भुक्तानीले यात्रु तथा सम्बन्धित सवारीलाई सहज हुनुका साथै प्रविधिको प्रयोगलाई समेत बढावा दिने भएको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक सवारीमा यात्रा कार्डमार्फत नगदरहित भुक्तानी गर्न फिनटेक इन्टरनेशनलाई अनुमति दिएको छ। राष्ट्र ब्यांकले फिनटेकलाई भुक्तानी सेवा प्रदायकको रुपमा यात्रा कार्ड र यात्रा एप सञ्चालन अनुमति दिएको हो।
फिनटेकले उपत्यकाभित्र सार्वजनिक यातायातमा यात्रुहरुले भुक्तानी गर्ने भाडा स्मार्ट कार्डमार्फत भुक्तानी गर्ने प्रणाली संचालनमा ल्याउने छ। यसले उपत्यकामा नगरहित बसभाडा तिर्ने सुविधा दिने छ। फिनटेक इन्टरनेशनलका प्रबन्ध निर्देशक हेमन्त अग्रवाल भन्छन्, “राष्ट्र ब्यांकले २० माघ (मंगलबार) अनुमति दिएकोले अब आवश्यक तयारी गरेर १ फागुनदेखि नै उपत्यकाका करिब तीन सय वटा सार्वजनिक सवारीलाई नगदरहित भुक्तानीको प्रणालीमा जोड्ने छौं।”
कार्ड लिन रु.५० तिर्नुपर्नेछ भने कार्डमा रु.५०० सम्म राख्न सकिन्छ। सवारी साधनमा जोडिएको प्रविधि तथा सम्बन्धित सवारीको सहचालकसँग भएको मेसिनमा कार्ड घोटेपछि तोकिएको भाडा नगदरहित प्रणालीबाट भुक्तानी हुने छ।
फिनटेकले एटीएम जस्तै यात्रा कार्डबाट सार्वजनिक सवारीको भाडा भुक्तानी गर्ने व्यवस्थाका लागि दुई वर्षदेखि नै तयारी गरिरहेको छ। यो कार्डबाट हाल काठमाडाै उपत्यकाका सात वटा रुट चल्ने ठूला सार्वजनिक बसमा भुक्तानी गर्न सकिने छ। त्यसपछि क्रमशः माइक्रोबस हुँदै देशैभर सार्वजनिक सवारी प्रयोग गर्दा कार्डबाटै पैसा तिर्ने व्यवस्था मिलाइने छ। कार्डको प्रयोगपछि यात्रुलाई खुद्रा पैसा नभएर समस्या हुने तथा बढी भाडा तिर्नुपर्ने तनाबबाट मुक्ति मिल्ने छ।
यसअघि कात्तिक २०७७ देखि नै यो सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि आवश्यक तयारी पुगेको थिएन। राष्ट्र ब्यांकको अनुमति आइनपुगेकोले निर्धारित समयभन्दा करीब चार महीना ढिलो गरी सेवा शुरु गर्न लागिएको हो।
अग्रवालका अनुसार राष्ट्र ब्यांकबाट अनुमति पाएकोले अब उपत्यकाभित्रको विभिन्न सातवटा रुटमा चल्ने बसहरूमा इलेक्ट्राेनिक टिकेटिङ मेसिन जडान गरी कार्डमार्फत बस भाडा भुक्तानी प्रणाली शुरु गरिने छ। यस्तो भुक्तानी गर्दा शुरुमा ३०० वटा सवारीमा नगदरहित भाडा कार्यान्वयन हुने छ। त्यसपछि ६ महीनाभित्र एक हजार र एक वर्षमा पाँच हजार वटा सवारीमा उक्त नगदरहित भाडा तिर्ने प्रणाली जोडिने अग्रवालले हिमालखबरलाई जानकारी दिए।
कसरी गर्ने कार्डबाट भुक्तानी ?
कार्डका लागि फिनटेकले नै उपत्यका विभिन्न बस स्याण्डमा कार्डको लागि बुथ राख्ने छ। यसका लागि माेबाइलकाे सिमकार्ड लिएजस्तै फिनटेकले राखेकाे बुथबाट कार्ड लिनु पर्ने छ। यात्रा कार्ड लिन रु.५० लाग्ने र यात्रुले इच्छाएको रकम रिचार्ज गरेर राख्न सक्ने व्यवस्था फिनटेकले गरेको छ। यो कार्ड प्रयोगका लागि काठमाडौंका विभिन्न बस स्ट्याण्डमा बुथ राखिनेछ, जहाँबाट कार्ड रिचार्ज गर्न पनि सकिन्छ।
सम्बन्धित सवारी साधनबाट पनि रिचार्ज गर्न मिल्ने गरी बनाइएको कार्डमा रु.५०० सम्म राख्न सकिन्छ। सवारी साधनमा जोडिएको प्रविधि तथा सम्बन्धित सवारीको सहचालकसँग भएको मेशिनमा कार्ड घोटेपछि तोकिएको भाडा नगदरहित प्रणालीबाट भुक्तानी हुने यात्रा कार्डले जानकारी दिएको छ। यस्तो प्रविधिबाट भुक्तानी गर्दा यात्रुले सवारी चढ्दा र ओर्लंदा कार्ड अनिवार्य घोट्नुपर्नेछ।
यात्रा कार्ड प्रयोग गर्दा सरकारले तोकेभन्दा बढी भाडा तिर्नु नपर्ने, भाडा तिर्न खुद्रा पैसा नहुनेसहितका समस्या स्मार्ट कार्डबाट भुक्तानी हुने भाडाले समाधान गर्ने फिनटेकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) अभिनभ भट्टराई बताउँछन्।
यात्रा कार्ड प्रयोग गर्दा सरकारले तोकेभन्दा बढी भाडा तिर्नु नपर्ने, भाडा तिर्न खुद्रा पैसा नहुनेसहितका समस्या स्मार्ट कार्डबाट भुक्तानी हुने भाडाले समाधान गर्ने फिनटेकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) अभिनभ भट्टराई बताउँछन्। यो प्रविधि जडानपछि दिनभर गरेको कारोबारको हिसाब बेलुका सम्बन्धित बसवालाकै ब्यांक खातामा पैसा जम्मा हुने व्यवस्थासमेत भएकोले कारोबार पारदर्शी पनि हुने भट्टराई बताउँछन्।
कार्ड पहिलो चरणमा बाडभञ्याङ–मुलपानी, चत्रपथ परिक्रमा, थली–खसिबजार, चपली—मातातीर्थ, भंगाल–नयाँ बसपार्क, नाला—रत्नपार्क र मातातीर्थ—रत्नपार्कसहितकाे सात वटा रुटमा लागू हुने छ। कार्ड लागू गर्न सम्बन्धित बस व्यवसायि समिति, यातायात व्यवस्था विभागसहितका सम्बन्धित निकायसँग छलफल भइरहेको पनि सीओओ भट्टराईले बताए।
सवारीका विभिन्न रुटमध्ये मुख्य ३० स्थानमा यात्रु सेवा तथा सहायता केन्द्र (अस्थाई बुथ) स्थापना गरी कार्ड वितरण गर्ने, कार्ड रिचार्ज गर्ने तथा ग्राहकलाई सेवा सम्वन्धमा जानकारी गराउने व्यस्था फिनटेकले मिलाउने छ। सेवा संचालनमा भएको रुटमा अधिकतम यात्रुलाई यात्रा कार्ड उपलब्ध गराउने व्यवस्था पनि फिनटेकले नै मिलाएको छ।
कार्डबाट सेवा संचालन भएको ६ महिनाभित्र उपत्यकामा संचालन हुने एक हजार बसमा कार्डमार्फत भाडा भुक्तानी गर्ने सेवा संचालन हुने छ। यस्तो कार्डबाट भुक्तानी गर्दा विद्यार्थी, जेष्ठ नागरिक तथा फरक क्षमता भएका यात्रुहरुलाई सहुलियत कायम हुने कार्ड वितरण हुने पनि फिनटेकले जानकारी दिएको छ।
कार्डबाट हुने भुक्तानीमा एक वर्षभित्र उपत्यकामा चल्ने पाँच हजार सार्वजनिक यातायातका सवारी साधनमा कार्डमार्फत भाडा भुक्तानी गर्ने प्रणाली संचालनमा ल्याउने र ६ महिनाभित्रै अनलाइन बस टिकट बुकिङ र बस ट्याकिङ्ग वेब तथा एप पनि तयार गरेर सञ्चालनमा ल्याउने योजना कम्पनीको छ।