कहाँ हरायो हिउँदे झरी ?
यो वर्ष हिउँदमा अहिलेसम्म पानी नपर्दा कृषि उत्पादनमा कमीदेखि डढेलोसम्मको जोखिम बढेको छ। यसपटक प्रि–मनसुनमा पनि पानी कम पर्ने मौसमविद्हरु बताउँछन्।
सामान्यतयाः हरेक हिउँदमा एक–दुई खेप झमझम् पानी दर्किन्थ्यो। गड्याङगुडुङ मेघ गर्जनसहित पर्ने झरी कहिले त दुई तीन दिनसम्मै लम्बिन्थ्यो। यसले जाडो बेस्सरी बढाउँथ्यो। तर, यो वर्ष जाडोयाम सकिन लाग्दा पनि माटो भिज्ने गरी पानी परेको छैन।
पश्चिम नेपालका एक दुई ठाउँमा फाट्टफुट्टबाहेक अन्यत्र मध्य असोजदेखि नै पानी परेको छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो ३० वर्षको औसत हिउँदे वर्षाको तुलनामा यो वर्ष अहिलेसम्म करीब आठ प्रतिशत मात्रै पानी परेको छ।
विभागले मध्य मंसीरदेखि मध्य फागुनसम्म (१ डिसेम्बरदेखि फेब्रुअरी अन्तिमसम्म) का तीन महीनालाई हिउँद मान्छ। देशभरिका २० वटा प्रतिनिधि मौसम केन्द्रको तथ्यांकअनुसार, पछिल्लो तीन दशकका हिउँदमा देशभरिमा सरदर ६०.९ मिलिमिटर पानी परेको छ।
गत वर्षको हिउँदमा त सरदर १४२.४७ मिलिमिटर पानी परेको थियो। तर, यो वर्ष अहिलेसम्म सरदर जम्मा पाँच मिलिमिटर मात्रै पानी परेको छ। देशका कयौं भागमा अहिलेसम्म पानी छिट्याएकै छैन। हिमाली क्षेत्रमा फाट्टफुट्टबाहेक हिमपात पनि भएको छैन।
यही स्थिति अबको एक महीनासम्मै लम्बिए, यो वर्षको हिउँद पछिल्लो ३० वर्ष यताकै सबैभन्दा खडेरीयुक्त हुनेछ। डेढ दशकअघि सन् २००६ (वि.स. २०६२) को हिउँदमा पनि जम्मा सरदर ७.१ मिलिमिटर मात्रै पानी परेको थियो। तीन वर्षअघि सन् २०१८ (वि.सं. २०७४) को हिउँदमा पनि कम पानी परेको थियो। त्यो वर्ष सरदर १६.७ मिलिमिटर वर्षा भएको थियो।
किन परेन पानी ?
दक्षिण एशियाका मौसमविज्ञहरुको एक संस्था दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चले यो वर्ष हिउँदे वर्षा कम हुने नै आकलन गरेको थियो। दक्षिण एशियाली क्षेत्रको हिउँदे पानीलाई प्रशान्त महासागरमा विकसित हुने मौसमी गतिविधिले असर गर्छ। प्रशान्त महासागरबाट उठ्ने जलवाष्प बोकेको हावा पश्चिमतिरबाट नेपाल छिरेपछि त्यसले हिउँदे वर्षा गराउँछ।
तर, भूमध्यरेखाको पूर्वी प्रशान्त महासागरमा यो वर्ष पानीको तापक्रम औसतभन्दा कम हुनपुग्यो, जसले हावाको बहावमा परिवर्तन गरेर पश्चिमी वायुलाई सक्रिय हुन दिएन। यसलाई प्राविधिक भाषामा ‘लालिना प्रणाली’ विकसित भएको भनिन्छ। यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव घटेर वर्षा कम भएको विभागको जलवायु विश्लेषण शाखाकी प्रमुख डा. इन्दिरा कडेल बताउँछिन्।
हिउँदे वर्षा मात्र होइन, यो वर्ष प्रि–मनसुनमा पनि पानी कम पर्ने अनुमान गरिएको कडेल बताउँछिन्। मनसुन शुरु हुनुअघि मध्य फागुनदेखि मध्य जेठसम्मलाई प्रि–मनसुन अवधि मानिन्छ। मौसम वैज्ञानिकहरुले गरेको जलवायु प्रारुपका आधारमा यो वर्ष प्रि–मनसुनको शुरुआत अर्थात फागुन र चैतमा वर्षाको सम्भावना सरदरभन्दा कम रहेको कडेलको भनाइ छ।
नेपालमा हुने सरदर वार्षिक वर्षामध्ये करीब ८० प्रतिशत मनसुन याम (जुन–सेप्टेम्बर)मा हुन्छ। बाँकी वर्षा मनसुन पूर्व र पछिका महीना तथा हिउँदमा हुन्छ। जलवायु परिवर्तनका कारण दीर्घकालमा हिउँदमा हुने वर्षाको दर घट्दै जाने र वर्षा तथा सुख्खायामबीचको विषमतालाई अझै चर्काइदिने जोखिम रहेको केही जलवायुविज्ञको अनुमान छ।
हिउँदको शुरुआतदेखि नै हुनुपर्ने वर्षा अन्तिमतिर मात्रै हुने प्रवृत्ति पछिल्ला वर्ष बढिरहेको छ। यद्यपि, यो वर्षको हिउँदे खडेरीलाई जलवायु परिवर्तनसँग जोड्न नमिल्ने जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डा. ऋषिराम पौडेल बताउँछन्। “हिउँदे वर्षाको आफ्नै विषम प्रवृत्ति छ, त्यसैले एक वर्ष वर्षा कम हुँदैमा जलवायु परिवर्तनसँग जोड्न मिल्दैन,” शर्मा भन्छन्, “जस्तो, गत वर्ष नै हिउँदमा औसतभन्दा धेरै वर्षा भएको बिर्सन मिल्दैन।”
वातावरणदेखि कृषिसम्म असर
हिउँदमा वर्षा कम हुँदा वातावरण, प्रकोप र कृषिका क्षेत्रमा विभिन्न प्रभाव पर्छ। हरेक हिउँदमा राजधानी उपत्यकासहित देशभरिको वायु श्वास फेर्नै नसकिने गरी प्रदूषित हुन्छ। गएको २० पुसमा त काठमाडौं उपत्यकामा वायु प्रदूषण आपतकालीन तहमा नै उक्लियो।
वायुको गुणस्तर सूचकांक (एक्यूआई) मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ, जसअनुसार काठमाडौंको एक्यूआई २० गते राति ६०० सम्म पुग्यो। त्यसपछि पनि काठमाडौंको वायुको स्थिति प्रायः अस्वस्थ्यकर नै छ। यदि, हिउँदे वर्षा लगातार भइदिएको भए पानीले यो प्रदूषण स्वाट्सुट्टै पखाल्थ्यो। जसले गर्दा वायुमण्डलमा स्वच्छ हावा खेल्न पाउँथ्यो।
हिउँदे वर्षा नहुँदाको सबैभन्दा ठूलो प्रभाव कृषि उत्पादनमा पर्छ। कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माका अनुसार, हिउँदे वर्षा नहुँदा सबैभन्दा बढी मार गहुँ बालीलाई पर्छ। देशमा सिँचाइ हुने क्षेत्रफल कम रहेकाले अधिकांश किसान आकाशे पानीमा भर पर्छन्। गहुँ बालीलाई पानी चाहिने बेला घर्किसके पनि अझै पानी नपरेकाले यो वर्ष उत्पादन खस्किने शर्माको आकलन छ।
अर्कातिर, हिउँदमा लामो समय पानी नपर्दा देशैभरि डढेलोको जोखिम बढेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल पानी नपरेको धेरै समय बितिसकेकाले देशैभरिका जंगलमा डढेलोको जोखिम बढेको बताउँछन्। ताप्लेजुङको पाथीभारा, मनाङ लगायत क्षेत्रका डढेलो त नियन्त्रण गर्नै हम्मेहम्मे परेको थियो।
पाथिभारा क्षेत्रको जंगलमा गत महीना भयानक डढेलो लागेको थियो। त्यस्तै मनाङमा लागेको डढेलोमा ८०० हेक्टरभन्दा धेरै वन नासिएको अनुमान छ। कास्की, लमजुङ, रसुवा, सिन्धुपाल्चोक, मुस्ताङलगायत ठाउँमा पनि डढेलोले वन सखाप पारेका छन्। डढेलो सल्किँदा वनस्पति, पशुपन्छी र जैविक विविधतामा ठूलो असर पर्छ ।
चैत–वैशाखमा बढ्ने डढेलोको जोखिम पुस–माघमैं देखिँदा आफूहरु आश्चर्यमा परेको प्राधिकरण प्रमुख पोखरेल बताउँछन्। उनी भन्छन्, “अहिले जंगलमा मात्रै डढेलो सल्किएको छ, पानी परेन भने आगो बस्तीतिर सर्न बेर लगाउँदैन, त्यसैले हाम्रो ध्यान नियन्त्रणको पूर्व तयारीमा छ।”
हिउँदे वर्षा नहुँदाको सबैभन्दा ठूलो प्रभाव कृषि उत्पादनमा पर्छ। कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माका अनुसार, हिउँदे वर्षा नहुँदा सबैभन्दा बढी मार गहुँ बालीलाई पर्छ। देशमा सिँचाइ हुने क्षेत्रफल कम रहेकाले अधिकांश किसान आकाशे पानीमा भर पर्छन्। गहुँ बालीलाई पानी चाहिने बेला घर्किसके पनि अझै पानी नपरेकाले यो वर्ष उत्पादन खस्किने शर्माको आकलन छ।
“पुसमा एक दुई झर भने पनि पानी पर्नुपथ्र्यो, नपर्दा हिउँदे बालीनालीको उत्पादनमा असर गर्छ,” शर्मा भन्छन्। नेपालमा करीब सात लाख चार हजार हेक्टरमा गहुँ लगाइन्छ। आर्थिक वर्ष २०७५/७६ मा करीब २० लाख मेट्रिक टन गहुँ फलेको थियो। गहुँबाहेक जौ, फलफूल, हिउँदे आलु तथा अन्य तरकारी बालीमा पनि हिउँदे वर्षा नहुँदा नकारात्मक असर पुग्छ।
हिउँदमा पर्याप्त हिउँ नपर्दा हिमाली क्षेत्रमा स्याउलगायतका फलफूल उत्पादनमा कमी आउँछ। “हिउँदे वर्षा नभएर अलि पछि पानी पर्न थाल्दा चना, रहर लगायत कोसेबालीमा कीराको प्रकोप बढ्छ,” डा. शर्मा भन्छन्, “जमिनमा चिस्यान नहुँदा मकै छर्ने समयसमेत पछि सर्न सक्छ।”
हिउँदमा पर्याप्त वर्षा नहुँदा हिमालमा पर्याप्त हिउँ नहुनेदेखि जमिनमुनि पानीको भण्डार नहुनेसम्मको असर पर्ने मौसमविद् डा. शर्मा बताउँछन्। हिउँदे झरीले हिमालमा हिउँ थपिन र जमिनमुनीको पानी पुनर्भरण गर्न मद्दत पुग्छ। “जमिनमुनि पानी नै नपुग्दा मूल सुक्न सक्छ, जसले खानेपानीको अभाव बढाउन सक्छ,” डा. शर्मा भन्छन्।