पर्यटनका नाममा मासिँदै सिमसारको सौन्दर्य
पर्यटन र विकासका नाममा सिमसार क्षेत्रको प्राकृतिक स्वरुप नासिँदै गएको छ भने यसले पर्यावरणमा पनि असर पारिरहेको छ।
रामसार सूचीमा सूचीकृत चितवनको विसहजारी ताल चितवन राष्ट्रिय निकुञ्जको दक्षिण र वन्यजन्तुको ओहोरदोहोर हुने क्षेत्रमा पनि रहेकाले महत्वपूर्ण छ। तर, अहिले विसहजारी तालको प्राकृतिक स्वरुप बदलिँदै गएको छ।
निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं संरक्षणकर्मी रामप्रित यादव पर्यटन विकासको नाममा प्राकृतिक रुपमा रहेको विसहजारी तालको प्राकृतिक सुन्दरता नै नासिँएको बताउँछन्। पर्यटन विकासका नाममा तालको छेउमा ‘सेड’ र बेञ्चहरु निर्माण गरेर प्राकृतिक सुन्दरतालाई न बिगारिएको उनी बताउँछन्। “ताल व्यवस्थापन समितिले प्राकृतिक सौन्दर्यता बुझेन। मान्छे आएर होहल्ला गर्छन्। पैसा कमाउने मात्रै उद्देश्य देखियो,” यादव भन्छन् “तालको सुन्दरतालाई बिगार्नु हुँदैन, एकदमै शान्त र चराचुरुङ्गी रमाउने गरी छोड्नुपर्छ। तर, अब त्यो अवस्था रहेन।”
देशभरका अन्य स्थानमा रहेका प्राकृतिक ताल तथा पोखरीहरुको अवस्था पनि विसहजारीको भन्दा फरक छैन। रुपन्देहीको गजेडीस्थित दानापुर तालमा हिउँदको समयमा दैनिकजसो वनभोजका लागि पाँच सयभन्दा बढी मानिसको भीड हुन्छ। ठूल–ठूलो आवाजमा गीत बजाएर नाचगान गर्छन्। कोलाहालले रैथाने चराचुरुङ्गी बस्नु त टाढाको कुरा शान्त र एकान्त खोज्दै जाने मानिससमेत बस्ने अवस्था हुँदैन।
यस्तै अवस्था छ, मोरङको उर्लाबारीस्थित बेतनी सिमसारको। सिमसार व्यवस्थापन समितिले बेतनीनजिक बनभोजस्थल र पर्यटकलाई मनोरञ्जनका लागि नाचगान गर्ने स्थलहरु बनाएको छ। रमाइलोका लागि जाने पर्यटकको भीडभाडले शनिबार त उत्सवजस्तै हुन्छ।
मोरङकै बेलबारीस्थित अर्को बेतना सिमसारको हालत पनि उस्तै छ। संरक्षणकर्मी यादव सिमसारलाई पर्यटकीय दृष्टिकोणले मात्र हेर्नु गलत रहेको बताउँछन् । सिमसारलाई प्राकृतिक दृश्य तथा चरा अवलोकन क्षेत्रका रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ।
चराविज्ञ डा. हेमसागर बराल सिमसार देख्ने वितिक्कै डुंगा चलाउने, वनभोज खाने र नाचगान गर्ने ठाउँको रुपमा विकास गर्न थालिएको बताउँछन् । “अहिले त नयाँ सिमसारबारे पत्रिकामा समाचार नै नआए जस्तो लाग्न थाल्यो, समाचार आयो कि, त्यसलाई वनभोजस्थल बनाउनै हतार हुन्छ,” डा. बराल भन्छन् “सिमसार भनेको मनोरञ्जन र पर्यटकीयस्थल मात्र होइन, त्यो त चराचुरुङ्गी र वन्यजन्तुको आश्रयस्थल पनि हो। उनीहरुको आश्रयस्थलमै हमला गरेपछि कसरी पर्यावरण जोगिन्छ?”
नासिँदै सिमसार
प्राकृतिक वा कृत्रिम रुपले उत्पत्ति भई स्थायी वा अस्थायी रुपमा पानीले ढाँकेको, पानी बग्ने वा झरनाका रुपमा खसेर बनेको दलदल धापलाई सिमसार भनिन्छ। ताततलैया, खोला, झरना, धानखेत सिमसारअन्र्तगत पर्छन्। अहिलेसम्मका अनुसन्धानले नेपालका सिमासरमा २३० प्रजातिका माछा, १९२ प्रजातिका चिप्लेकिरा र ५३ प्रजातिका उभयचर रहेको देखाएको छ।
त्यस्तै, नेपालमा पहिचान भएका वानस्पतिक प्रजातिमध्ये २५ प्रतिशत वनस्पती सिमसार क्षेत्रमा पाइन्छन्। त्यसबाहेक सिमसार पानीको श्रोत पनि हो। तर, मानिसको दैनिक जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सरोकार राख्ने सिमसार क्षेत्र भने पछिल्लो समयमा नासिँदै गएका छन्।
सिमसारका जानकार शैलेन्द्र पोखरेल पछिल्लो समय सिमसारलाई मासेर घडेरी बनाउने र खेती गर्ने प्रचलन बढेको बताउँछन्। जसले गर्दा पनि सिमसार मासिँदै गएको उनको भनाइ छ।
वन तथा वातावरण मन्त्रालयका अनुसार सन् २००९ मा गरिएको अध्ययनमा नेपालमा करिब पाँच हजार ३५८ ताल रहेका छन्। यीमध्ये तीन हजार मिटरभन्दा कम उचाइमा अवस्थित र एक हेक्टरभन्दा ठूलो क्षेत्रफल भएका तालहरुको संख्या तीन हजार १३१ रहेको थियो।
सन् २०१६ मा सम्पन्न स्थलगत अध्ययनले तीन हजार १३१ मध्ये ४८५ ताल मात्रै रहेको देखाएको छ। तीमध्ये ९७ वटा तालको सामाजिक तथा जैविक अवस्था सन्तोषजनक पाइए पनि बाँकी तालको अवस्था दयनीय वा खस्किँदो अवस्थामा पाइएको छ।
संरक्षण विकास फाउन्डेसनका संस्थापक अध्यक्ष शैलेन्द्र पोखरेल सिमसारलाई बचाउँनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताउँछन्। “आफ्नो क्षेत्रमा रहेका सिमसार क्षेत्रलाई संरक्षण गर्नेतर्फ सम्बन्धित स्थानीय सरकारले ध्यान दिने हो भने सिमसारको बिनासलाई रोक्न सकिन्छ,” पोखरेल भन्छन् “तर, सिमसारको संरक्षणतर्फ कसैको ध्यान गएको पाइदैन।”
त्यसबाहेक सिमसार नासिँनुको अर्को कारण जलवायु परिवर्तन पनि हो। जलवायु विज्ञ ङमिन्द्र दाहाल जलवायु परिवर्तनका तीनवटा कारणले सिमसार संकटमा परेको बताउँछन् । उनका भनाइमा जलवायु परिवर्तनका कारण प्रयाप्त पानी नपर्नु र अत्यधिक पानी पर्नुले सिमसार नासिएका छन्। “तापक्रम बढ्छ र पानी छिटो सुक्छ, अनि पर्नुपर्ने मात्रामा पानी पर्दैन। थोरै समयमा धेरै मात्रामा पानी पर्छ। यो सिमसारका लागि राम्रो होइन,” उनी भन्छन्।
त्यसैगरी जलवायु परिवर्तनकै कारण मानिसले पानीको संकट व्यहोर्नु परिरहेको छ। र, उनीहरुले त्यसको भरथेग गर्न सिमसारको पानी प्रयोग गरेका छन् भने सिमसारमा आउने पानीका स्रोतहरुलाई अन्यत्र ‘डाइभर्ट’ गरेका छन्। “मान्छेले जताततै पानीको संकट व्यहोरिरहेका छन्। आफ्नो संकट धान्नका लागि डिप गरेर पानी निकाल्दा त्यसको असर सिमसारमा पनि परेको छ,” उनी भन्छन्।
हराउँदै चरा
सिमसार चराचुरुङ्गीको आश्रयस्थल हो। पछिल्लो समयमा सिमसार मासिँदा चराहरु पनि हराउँदै गएको पाइन्छ। चराहरु लोप हुुनुको एउटा कारण सिमसार मासिनु रहेको चराविज्ञहरु बताउँछन्। चराविज्ञ डा. बरालका अनुसार सन् १९९० को हिउँदमा हेटौंडाभन्दा दक्षिणतर्फ राप्ती नदी क्षेत्रमा दुई दर्जन संख्या अहिले देख्नै पाइदैन।
सन् १९९० को दशकसम्म त्रिशूली, राप्ती, गण्डकी, बूढीगण्डकी, भोटेकोशीलगायत नदीमा तिलहरी चरा जताततै भेटिन्थ्यो। डा. बराल भन्छन्, “त्यतिवेला बथानमा भेटिने तिलहरी चरा अचेल देखिनै छाडेको छ।”
डा. बरालका अनुसार, संकटापन्न प्रजातिभित्र पर्ने तिलहरी चरा उदाहरण मात्र हो। चार दशकअघि उल्लेख्य मात्रामा देखिने अन्य चराहरूको संख्या पनि अचेल घटेको छ।
सन् १९८६ सम्म हिउँदमा कोशी ब्यारेज पानीहाँसले ढाकिएको हुन्थ्यो। तिब्बत र रूसको साइबेरियाबाट आउने पानीहाँस कोशी टप्पु क्षेत्रमा ५० हजारसम्म भेटिएको थियो। अहिले भने १० हजार जति मात्रै पानीहाँस देखिने गरेको अध्ययनहरुले देखाएको छ।
सन् २०१६ मा गरिएको अध्ययनअनुसार, नेपालका १६८ प्रजातिका चरा संकटापन्न सूचीमा छन्। नेपाल पक्षी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ चरा लोप हुने क्रम हरेक वर्ष बढिरहेको बताउँछन्।
त्यस्तै, जाडो छल्नका लागि नेपाल आउने चराहरुको संख्यामा पनि कमि आइरहेको छ। ४–१८ माघमा गरिएको पंक्षी गणनाको प्रारम्भिक तथ्यांकअनुसार, जलपंक्षीको संख्या घटेको पाइएको छ। विभिन्न सिमसार क्षेत्र र वन पर्यावरणको सूचकका रुपमा हेरिने आगन्तुक चराहरुको संख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरुको ह्रासलाई जनाउँछ।
कोशीमा सन् २०१९ मा ५८ प्रजातीका २१ हजार ७४४, सन् २०२० मा ६१ प्रजातीका १६ हजार १२ र स्न २०२१ मा ६२ प्रजातीका १९ हजार ५४४ चार भएको देखिएको कोशी पंछी समाजका अध्यक्ष सञ्जिव आचार्यले बताए। जगदिशपुर रामसार क्षेत्रमा पनि गत वर्ष १५ हजार ४९६ पानी चरा भेटिएकोमा यसवर्ष १२ हजार ४७६ मात्र गणना भएको नेपाल पंछी संरक्षण संघका जिवविज्ञ देउबहादुर राना बताउँछन्।
बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष रमेश चौधरीका अनुसार चितवन, बर्दिया र कैलालीमा पनि यसवर्ष जल चराको प्रजाती र सख्या कम देखिएको छ। सन् १९८७ देखि वर्षेनी नियमित रुपमा गरिँदै आएको सिमसारमा आश्रित चराहरुको गणनाले हिउदे आगन्तुक पानी चराहरुको अवस्था खतराउन्मुख रहेको देखिएको छ।
हिउदे आगन्तुक चराहरुको मुख्य आश्रयस्थल सिमसार भएकाले बिग्रदो र खिइदो सिमसारको स्वरुप, मिचाहा झारको प्रकोप, चोरी शिकार र मौषम परिवर्तनले चराहरुको आवतजावत प्रभावित भइरहेको पाइएको छ। नेपाल पंक्षी संरक्षण संघका कार्यक्रम व्यवस्थापक कृष्ण भुसाल चराहरुको संरक्षणका लागि पनि सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन एकदमै महत्वपूर्ण रहेको बताउँछन्।