नेपालकै ठूलो ढल्केबर सबस्टेसन सञ्चालनमा, हजार मेगावाट बिजुली आदानप्रदान हुनसक्छ
नेपालको अहिलेसम्मकै ठूलो ढल्केबर धनुषाको सबस्टेसन सञ्चालनमा आएको छ। १३ बिगाहा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनबाट एक हजार मेगावाट बिजुली आदानप्रदान हुनसक्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ स्थित ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो ४०० केभीको प्रसारण लाइनको १९ माघमा उद्घाटन गरे।यो ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण हो।
यसबाट नेपाल र भारतबीच एक हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिन्छ। हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सकिएपछि करिब दुई/दुई सय मेगावाट विद्युत् ढल्केबर सबस्टेसनबाट हेटौडा र इनरुवातर्फ पठाउन सकिने छ।
यो ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण हो। यसबाट नेपाल र भारतबीच एक हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिन्छ।
दोलखामा निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसम्म ल्याई मुलुकभित्र खपतका लागि पूर्व–पश्चिम पठाउन पनि सकिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ।
नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब रु.२ अर्ब २० करोड लगानीमा निर्माण भएको ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसनसमेत हो।
४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन। यसबाट करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्ने प्राधिकरणको भनाइ छ।
२२०/१३२ केभी सबस्टेसनमा रहेका तीन वटा ट्रान्सफर्मरको क्षमता ६३५ एमभीए छ भने अर्को ३१५ एमभीए जडान भइरहेको पनि प्राधिकरणले सोमबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
आन्तरिक खपत गरेर बढी भएको विद्युत्लाई सबस्टेसनमार्फत भारत निर्यात गर्न सकिने छ। जिआइएस प्रविधियुक्त स्वचालित अत्याधुनिक सबस्टेसनलाई भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी बनाइएको छ ।
भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले पाउने निःशुल्क ऊर्जा पनि यही ढल्केबर सबस्टेसनमा प्राप्त हुने छ।