कहिलेसम्म उपलब्ध होला सबै नेपालीलाई कोरोना खोप ?
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप पहिलो प्राथमिकताका नागरिकलाई दिन थालिइसकिएको छ। सरकारले सबै नागरिकलाई क्रमशः खोप दिइने जनाएको छ। तर, थप खोप कहिलेसम्म आउँछ भन्ने अत्तोपत्तो छैन।
“नेपाल सरकारले कोरोनाको खोप ल्याइसकेको छ। यो खोप पहिला सफाइ तथा स्वास्थ्यकर्मी र क्रमशः सबैजनालाई प्राथमिकताका आधारमा निःशुल्क लगाइन्छ। यो खोप लगाउनु अघि र लगाइसकेपछि पनि मास्कको अनिवार्य प्रयोग गर्ने, कम्तिमा दुई मिटर दूरी काम गर्ने र साबुन पानीले हात धुने व्यवहारलाई सधै पालना गरौं।” ८ माघमा अनुदानको खोप आइपुगेपछि नेपाल टेलिकमले यो सन्देश १० माघदेखि आफ्ना मोबाइल सेवाप्रयोगकर्तालाई दिइरहेको छ।
टेलिकमले 'रिङब्याक टोन'मा दिएको यो सन्देशले ‘सबै नेपालीलाई पुग्ने गरी खोप आइसकेको र सबैले पाउँछन्’ भन्ने अर्थ दिन्छ। तर, वास्तविकता त्यस्तो छैन। भारतले अनुदान दिएको १० लाख डोज खोपबाहेक नेपालले थप पाउने जानकारी पाएको छैन। अन्य देशका कम्पनीले नेपाललाई खोप दिन प्रस्ताव गरेका छैनन्।
खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ। त्यसकारण अनुदानको खोप करीब चार लाख ३० हजार जनालाई मात्रै पुग्ने स्वास्थ्य सेवा विभागको अनुमान छ। खोप आएको ६ दिनपछि १४ माघबाट सरकारले देशैभरि पहिलो मात्रा लगाउन शुरु गरिसकेको छ।
अहिले आएको खोपमा पनि केही प्राविधिक कारणले लगाउन नमिल्ने र केही खेर जाने हुन्छ। खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ। त्यसकारण अनुदानको खोप करीब चार लाख ३० हजार जनालाई मात्रै पुग्ने स्वास्थ्य सेवा विभागको अनुमान छ। खोप आएको ६ दिनपछि १४ माघबाट सरकारले देशैभरि पहिलो मात्रा लगाउन शुरु गरिसकेको छ।
भएकैबाट जतिलाइ पुग्छ लगाउँदै जाने र थप खोप ल्याउँदै लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्। उनी भन्छन्, “तीन महीनाभित्र पहिलो प्राथमिकताका नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ। खोप एकैपटक नआउने, उपलब्धताको आधारमा ल्याउनुपर्ने र हामीले तोकेअनुसारको मापदण्डमा ल्याउनुपर्ने भएकोले कहिले आउँछ र कति समय खोप लगाउन लाग्छ भनेर अहिले भन्न सकिँदैन।”
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, कैदी–बन्दी र वृद्ध नागरिकलाई प्राथमिकता दिएर खोप लगाउने जनाएको छ। यो संख्या खोप लाउन मिल्ने जनसंख्याको तीन प्रतिशत मात्रै हुने प्रवक्ता गौतमले बताउँछन्।
हाल नेपाललाई भारतले नै उपलब्ध गराएको कोभिशिल्ड खोप बेलायतस्थित अक्सफर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीले विकसित गरेको हो। त्यसैलाई भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेर व्यापारिक नाम कोभिशिल्ड दिएको हो।
प्राथमिकतामा परेका सबैले खोप पाउँछन् ?
विश्वमा कोरोना खोप लगाउन शुरु भएको डेढ महीनामै नेपालमा पनि आइपुगेको छ। भारतले अनुदानमा दिने निर्णय गरेपछि नेपालमा आकस्मिक रूपमै खोप आइपुगेको हो। भारतले नेपाललगायत छिमेकी देश बंगलादेशलाई २० लाख, भुटानलाई डेढ लाख र माल्दिभ्सलाई एक लाख डोज खोप पठाएको छ।
भारतले खोप पठाउने भएपछि औषधि व्यवस्था विभागले गएको २ माघमा आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको थियो। यो खोप विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट फेब्रुअरी २०२१ भित्रै स्वीकृति पाउने सूचीमा छ।
यो खोप नेपालमा ७७ जिल्लाका १४३ केन्द्रबाट लगाइरहिएको छ। पहिलो चरणमा खोप लागउनुपर्ने स्वास्थ्य मन्त्रालयको सूचीमा नौ लाख ११ हजार जना छन्। तर, भारतले दिएको अनुदानबाट चार लाख ३० हजारलाई मात्र लगाउन पुग्छ। पहिलो चरणमा स्वास्थ्यकर्मीसँगै एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्नेहरू, महिला स्वास्थ्य स्वयंसेविका, वृद्धाश्रममा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी र जेलका कैदी तथा सुरक्षाकर्मीलाई लगाउने सरकारको योजना छ।
दोस्रो चरणमा कुल जनसंख्याको १७ प्रतिशत अर्थात ५१ लाख ६४ हजारलाई खोप लगाइने सरकारको तयारी छ। दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका व्यक्तिसहित ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोगी छन्। यो समूहमा दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदार पनि छन्।
तेस्रो चरणका लागि ४० देखि ५४ वर्षका बाँकी सबै ९.५५ प्रतिशतमा खोप लगाइने छ। यो उमेर समूहमा २९ लाख जना रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। त्यसपछि १८ देखि ३९ वर्ष उमेर समूहका सबै ४२.०७ प्रतिशत अर्थात् एक करोड २७ लाख ८० हजार जनालाई खोप लगाइने छ। १८ वर्ष मुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भइरहेकोले उक्त उमेर समूहलाई हाल यो खोप दिइँदैन।
विश्व बजारमा हुने खोपको उपलब्धताकै आधारमा सबै नागरिकलाई खोप लगाउने समय तय हुन्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार खोप सहजै उपलब्ध हुन र सबै प्राथमिकताका नागरिकलाई लगाउन भने कम्तीमा डेढ वर्ष लाग्न सक्छ। खोप लगाउन सरकारले कुनै पनि निजी कम्पनीसँग साझेदारी नगर्ने गौतमले जानकारी दिए। सबै नागरिकलाई निःशुल्क खोप लगाउने पनि उनले बताए।
थप खोप ल्याउने तयारी के छ ?
दोस्रो चरणमा थप १० लाख डोज भारतबाट र अर्को तीन लाख डोज चीनबाट आउने भनिए पनि निश्चित छैन। चिनियाँ दूतावासले यो खोप नेपाललाई अनुदानमा उपलब्ध गराउने जानकारी दिएको स्रोतले जनाएको छ। खोप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको हो। यसले चीनमा आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ। तर, नेपालको औषधि व्यवस्था विभागमा अनुमतिका लागि अहिलेसम्म निवेदन दिइएको छैन।
भारतले थप १० लाख खोप अनुदानमा दिने जनाएको स्रोतको भनाइ छ। तर, सरकारले औपचारिक प्रणालीमा यसबारे जानकारी नपाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकार आफैंले कोरोना खोप किनेर ल्याउने आवश्यक गृहकार्य पनि गरिरहेको छ। भारतीय कम्पनी बायोटेकले विकास गरेको खोप कोभ्याक्सिन सहुलियत दरमा नेपाललाई दिने भएकोले सरकार त्यही खोप ल्याउने तयारीमा रहेको जनाइएको छ। कोभ्याक्सिनलाई भारतले आपतकालीन प्रयोगको अनुमति दिएको छ। तर, डब्लूएचओले ३० जनावरी २०२१ सम्ममा यो खोपलाई अनुमति दिने सूचीमा राखेको छैन।
कोभ्याक्सिन खोप सामान्य फ्रिजमा दुईदेखि आठ डिग्री सेल्सियस तापकक्रममा राख्न मिल्छ। नेपाललाई आवश्यकमध्ये करिब २० प्रतिशत खोप कोभ्याक्सिन नै किनेर ल्याउने योजना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतम बताउँछन्।
कोभ्याक्सिन पनि २८ दिनको फरकमा दुई पटक लगाउनुपर्छ। यो खोप सामान्य फ्रिजमा दुईदेखि आठ डिग्री सेल्सियस तापकक्रममा राख्न मिल्छ। नेपाललाई आवश्यकमध्ये करिब २० प्रतिशत खोप कोभ्याक्सिन नै किनेर ल्याउने योजना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतम बताउँछन्। तर, यो खोप ल्याउन औषधि व्यवस्था विभागबाट अनुमति लिइएको छैन। कोभ्याक्सिनबाहेक अन्य खोप नेपाललाई दिन कुनै पनि कम्पनी तयार नभएको स्वास्थ्य विभागको भनाइ छ।
तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम नेपालले आवश्यकता अनुसार जुनसकुकै मुलुकको खोप पनि ल्याउन सक्ने तर्क गर्छन्। त्यसका लागि डब्लुएचओले मान्यता दिएको, माइनस २० डिग्री सेल्सियसम्ममा राख्न मिल्ने, उचित मूल्य र नेपाललाई आवश्यक मात्राको खोप दिनसक्ने जुनजुकै देशबाट पनि ल्याउन सकिने गौतम बताउँछन्। माइनस २० डिग्री सेल्सियको तापक्रममा राख्न नेपालले सक्ने र आवश्यक संरचाना तयार पारिरहेको पनि उनी बताउँछन्।
विश्वभरका सबै नागरिकले खोप लगाउनुपर्ने भएकोले नेपालीका लागि उपलब्धताका आधारमा ल्याउँदै र लगाउँदै जाने डा. गौतमको भनाइ छ। उनी भन्छन्, “सरकारले कुनै निजी कम्पनीलाई खोप ल्याउने अनुमति दिएको छैन। सरकार आफैंले सबै नेपालीलाई निःशुल्क खोप पुर्याउने छ। उपलब्धता र सहजताले खोप पाउने समय निर्धारण हुनेछ।” सरकारले खोप कोष बनाएर इच्छुक संघसंस्था र नागरिकलाई योगदान गर्न पनि आग्रह गरेको छ।
खोपले कसरी काम गर्छ ?
कोरोनाविरुद्धको खोपले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई सक्रिय बनाउँछ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला कोरोना खोप लगाएपछि शरीरमा स्थायी प्रोटिन बन्ने र यसले रोग प्रतिरोधात्मक शक्ति बढाउने बताउँछन्। भाइरसले आक्रमण गर्न सक्ने ठाउँमा प्रतिरोधात्मक शक्ति बन्ने हुँदा खोपले कोरोनाको आक्रमणबाट बताउँछ।
यो खोपले पहिलो मात्रा लगाएपछि नै काम गर्न सक्छ। तर, कसैलाई छिटो र कसैलाई ढिलो काम गर्न सक्ने डा. बास्तोला बताउँछन्। चार हप्तापछि दोस्रो मात्रा लगाइने भएकोले सोही अनुसार काम गर्छ भनेर बुझ्नुपर्ने उनको भनाइ छ।
अहिले नेपाल आएको कारोना खोप एक व्यक्तिलाई दुई मात्रा अनिवार्य लगाउनै पर्छ। पहिलो मात्रा लगाएको कम्तिमा २८ दिन र बढीमा ८४ दिनभित्र दोस्रो मात्रा लगाउन सकिन्छ। खोप लिएपछि पनि कोरोना संक्रमण भने हुन सक्ने भएकोले सचेतना अपनाइरहनुपर्ने डब्लुएचओले बताएको छ। यो खोपले ६२ देखि ९० प्रतिशतसम्म काम गर्छ।
नेपालमा आएको खोप १८ वर्षभन्दा मुनिको उमेर समूह, गर्भवती र स्तनपान गराइरहेका महिलाले लगाउनु हुँदैन। अन्य सबै प्रकारका स्वास्थ्य समस्या भएका व्यक्तिले लगाउन हुन्छ। निर्धारित प्राथमिकताको समूहमा परेकाले नजिकको स्वास्थ्य संस्था वा स्थानीय निकायबाट जानकारी लिएर खोप लगाउन सक्छन्। कोरोना लागेर निको भएकालाई पुनः संक्रमणबाट बचाउन खोप लगाउनुर्छ। खोप लगाएपछि सामान्य स्वास्थ्य समस्या हुन सक्ने भए पनि आफैँ निको हुने चिकित्सकहरुले जनाएका छन्।
डा. बास्तोला कोरोना खोप लगाएपछि १० मध्ये एक जनामा सामान्य समस्या देखिएको बताउँछन्। उनका अनुसार यस्तो असर अन्य खोप जस्तै सामान्य हो। खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडोको अनुभूति हुने जस्ता समस्या हुन्छ। यस्तो असर एक दुई घण्टादेखि एक दुई दिनसम्म पनि हुन सक्छ।