कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो। यो सँगै विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३३० जना पुगेको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार १७ माघ साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५५ हजार ७९३ जना कोरोनामुक्त भएका छन्।
यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको संघले जनाएको छ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार २७ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ। त्यसमध्ये दुई लाख ६६ हजार ४८ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच गैरआवासीय नेपाली संघले खोप साक्षरतासम्बन्धी निर्देशिका जारी गरेको छ। निर्देशिकामा खोप, खोप लगाउँदा, लगाइसकेपछि अपनाउनुपर्ने सावधानी, खोप लगाइसकेपछि देखिनसक्ने सम्भावित असर वा स्वास्थ्य समस्या र त्यसपछिको स्वास्थ्य मापदण्डलगायतका विषय समेटिएका छन्।
संघको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भएको जनाउँदै सतर्क रहन आग्रह गरेका छन्। हालसम्म कुनै पनि खोपको प्रभावकारिता शतप्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि सङ्क्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा सुनिश्चित नहुने उनको भनाइ छ।