जब डा.हर्क गुरुङले चिने 'शैक्षिक सामन्तवाद'
शैक्षिक सामन्तवादबारे बुझाउन मैले डा. हर्क गुरुङलाई हुम्ला भ्रमण गराएको थिएँ। त्यहाँ आयोजित कार्यक्रममा स्थानीयको गुनासो थियो, ‘जहाजले ल्याएको स्वाद र तागत नभएको बासी चामल ढुक्ने बानी लाग्यो। तिघ्रा दरो पार्ने खानेकुरा हराउँदै गए।’
नेपालमा अनेक गर्दा पनि दु्रत गतिमा सामाजिक, आर्थिक रूपान्तरण गर्न सकिएन। यसको प्रमुख कारण शैक्षिक सामन्तवाद पनि हो कि? मलाई यस्तै लागेको थियो। त्यसैले विज्ञसँग छलफल गर्न मन लाग्यो। नेपाल पढेका, बुझेका डा. हर्क गुरुङ उपयुक्त पात्र थिए। तसर्थ साथी अर्जुन ढकाल र मैले भेट्ने व्यवस्था मिलायौँ। अर्जुनलाई अनुकूल नपरेपछि म मात्र गएँ।
डा. गुरुङसँग पनि मैले शैक्षिक सामन्तवादकै कुरा उठाएँ। उनी पहिले त हाँसे। तर, म गम्भीर थिएँ। मैले गम्भीर भएरै कुरा राखिरहेँ। अनि उनी चुपचाप मेरा कुरा सुन्न थाले।
हामीले विभिन्न जिल्लामा शिक्षासम्बन्धी धेरै कार्यक्रम गरका थियौँ। त्यस्ता कार्यक्रममा संसार पढेका, घुमेका विज्ञहरुलाई लैजान्थ्यौँ। उनीहरु अनेकौँ अन्तर्राष्ट्रिय गोष्ठी र सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेर खारिएका हुन्थे। कार्यक्रम भएको ठाउँ उनीहरु त्यसअघि नपुगेको जिल्ला हुन्थे। अनि त जाने विद्वान पनि मख्ख, लैजाने हामी पनि मख्ख।
तर, कार्यक्रमको परिणाम शून्य बराबर। त्यहाँको सामाजिक र आर्थिक रूपान्तरणमा सिन्को पनि नसर्के। यता विज्ञले त्यो ठाँउ बुझ्छ, अध्ययन हुन्छ। उता जिल्लामा सहभागीले केही बुझ्दैनन्। दुई पक्षबीच सफल सञ्चार नै नहुने। अनि त यस्ता कार्यक्रम घुम्ने, फिर्नेमा नै सीमित भइरहेका थिए।
मैले डा. गुरुङलाई अब गर्ने कार्यक्रमको नयाँ खाका सुनाएँ। सम्बन्धित जिल्लाका सूक्ष्म विषय त्यहीँका स्थानीयले मात्र भन्न सक्छन्। त्यसैले कार्यक्रममा स्थानीयलाई नै सहभागी गराएर बोल्न लगाउने। जिल्लाको उत्पादन, उत्पादकत्व, सिँचाइ, मल, बीउ, गोडमेल, बाली थन्क्याउने ठाँउमा बीउको सुरक्षा, खानेपानी, पाठशालाको अवस्था, पहुँच, स्वास्थ्य, सरसफाइ जस्ता विषयमा उनीहरुका अनुभवले विकासको झलक दिन्छ। खानेपानी छोपेर राखिन्छ कि राखिँदैन, शौचालय छ कि छैन, भए पक्की कि कच्ची, दुर्गन्ध आउने कि नआउने जस्ता विषयले उनीहरुको आनीबानी बुझिन्छ।
यो शैक्षिक सामन्तवाद चल्तीको शब्द होइन। तर, यसले कम पढेका वा पढ्दै नपढेका मान्छेलाई बौद्धिक वर्गमा गन्दैन। कोही निरक्षर साधारण गृहस्थ पनि एउटा अर्थशास्त्री हो। एउटा सामान्य गृहस्थले उसको घर चलाएरै आएको हुन्छ। दशैँ, तिहार, चाडपर्व, छोरा छोरीको बिहे, व्रतबन्ध, तिथि, जात्रा, कुलपूजाजस्ता सबै काम गरेकै हुन्छन्। कुन काममा कति खर्च गर्ने? कति मितव्ययी हुने? कहाँ हात फुकाएर खर्च गर्ने? मिलाएर गरेका छन्।
यो चरण सकिएपछि प्रश्नोत्तर गराउने। यसकारण विज्ञले त्यहाँका गाँठी कुरा बुझ्न सक्छ। यस्तो खाका सुनाएर डा. गुरुङसँग सुझाव माग्यौँ। हाम्रो कुरा सुनेर फेरि एकपटक हाँसे, अनि गम्भीर भए। अनि उल्टै प्रश्न गरे, “यो आइडिया कस्को हो?” अनि राम्रो विचार भएको बताए।
यो शैक्षिक सामन्तवाद चल्तीको शब्द होइन। तर, यसले कम पढेका वा पढ्दै नपढेका मान्छेलाई बौद्धिक वर्गमा गन्दैन। कोही निरक्षर साधारण गृहस्थ पनि एउटा अर्थशास्त्री हो। एउटा सामान्य गृहस्थले उसको घर चलाएरै आएको हुन्छ। दशैँ, तिहार, चाडपर्व, छोरा छोरीको बिहे, व्रतबन्ध, तिथि, जात्रा, कुलपूजाजस्ता सबै काम गरेकै हुन्छन्। कुन काममा कति खर्च गर्ने? कति मितव्ययी हुने? कहाँ हात फुकाएर खर्च गर्ने? मिलाएर गरेका छन्। बरु पढेलेखेका मान्छेहरू व्यवहारमा सबै कुरा जान्दैनन्।
मैले यिनै विषय सुनाएँ। अनि उनलाई हुम्लामा केही दिन बसेरै कार्यक्रम गर्ने गरी गइदिन आग्रह गरेँ। उनले हाम्रो आग्रह माने। असोज २०५६ तिर जाने योजना बन्यो। तर, म सानो दुर्घटनामा परेर जान सकिन। साथी धातृ सुवेदी गए।
नेपाल वातावरण पत्रकार समूहको ब्यानरमुनि तीन दिने कार्यक्रम भयो। दुइ दिनसम्म डा. हर्क गुरुङले सर्वसाधारणबाट हुम्लाका कुरा सुने। तेस्रो दिन हुम्लाको सामाजिक, आर्थिक रूपान्तरणका विषयमा घनिभूत छलफल भएछ। २०२४ सालमै कर्णाली भ्रमण गरिसकेका डा. हर्क गुरुङका लागि त्यो क्षेत्र नौलो भने थिएन। नेपालको मानव विकास सूचकांकमा हुम्ला जिल्ला गरिबीमा दोस्रा स्थानमा थियो। पहिलो नम्बरमा बाजुरा थियो। हुम्लाबारे २०२४ सालको र आजको स्थितिबारे नवीकरण भएकोमा डा. गुरुङ खुसी भएछन्।
त्यो गोष्ठीको आयोजना जिल्ला विकास समितिले गरेको थियो। त्यहाँ जिल्लास्तरका सबै राजनीतिक दल, सामाजिक संगठनका प्रतिनीधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, कलेज र माध्यमिक विद्यालयका प्रमुखसहित ९० जना जति सहभागी थिए।
सर्वसाधारणले जिल्लाका बेथिति खुलेर बताएछन्। जनप्रतिनिधिहरु भएका सार्वजनिक कार्यालयमा पनि भ्रष्टाचार अचाक्ली रहेछ। एउटै कुखुरा मासु खाएको बिल तीन वटासम्म पेस भएको पनि बताएछन्। उनीहरुको अर्को गुनासो भाषामा पनि रहेछ। ‘सम्बन्धित अधिकारीहरूबाट भनेका कुरा हामी हुम्ली आधा पनि बुझ्दैनौँ। अनि कसरी हुन्छ हुम्लाको विकास?’ यो प्रश्नबाट उनीहरुलाई काठमाडौँले हेर्ने नजर स्पष्ट हुन्थ्यो।
स्थानीयले अरु धेरै महत्वपूर्ण सवाल उठाए छन्। जस्तो, ‘हामीलाई नेताहरूले चामलको भात खाने बानी लगाए। खेतीमा जाँगर हरायो। जहाजले ल्याएको स्वाद र तागत नभएको बासी चामल ढुक्ने बानी लाग्यो। चोतो (गान्टे मूला सुकाएर राखेको चाना) कोदो, मकै, गहुँ, जौ फापरका रोटा जस्ता तिघ्रा दरो पार्ने खानेकुरा हराउदै गए।’ यस्ता गुनासो सुन्दा डा. गुरुङ छक्क परेछन्। उनले २०२४ सालमा कर्णाली क्षेत्र घुम्दा उत्पादन घटेको, जाँगर हराएको र आत्म निर्भरता घटेको पाएछन्।
डा. हर्क गुरुङसँग मैले २०२१ सालमा राससमा एउटै कोठामा केही महीना काम गरेको थिएँ। म नेपाली भाषामा समाचार सम्पादन गर्थेँ। मैले सम्पादन गरेपछि उनी त्यसलाई अंग्रेजीमा बनाउँथे।
उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछि आयोगको बैठक क्षेत्र क्षेत्रमै गर्न थाले। क्षेत्रको बैठकमा म पनि जान्थेँ। धनकुटा, पोखरा, दाङ, सुर्खेत, धनगढीका बैठकमा गएँ। उनी हिँड्ने मान्छेलाई विशेष मन पराउँथे। धनकुटा जाँदा म र श्रीमती सुशीला दुवै जना गएका थियौँ। सुशीला हिँडेको देखेर उनी प्रसन्न भए।