संरक्षणमा किन महत्वपूर्ण छ महिलाको भूमिका?
महिलाको भूमिकालाई आत्मसाथ गर्न नसक्ने प्रवृतिले संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका र पुर्याउन सक्ने वातावरण अभियन्ताको सीप र जाँगर सदुपयोग गर्न सकिएको छैन।
डेढ दशकअघि विराटनगरस्थित नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाले विश्व वातावरण दिवसको अवसर पारेर तत्कालीन पा“चै विकास क्षेत्रमा वातावरणसम्बन्धी एकमहिने सञ्चार अभियान सञ्चालन गर्यो। संयोग भन्नुपर्छ, त्यतिवेला मेरो वडावासी र मैले वडा र टोलमा वृक्षारोपण, सरसफाइलगायत वातावरण संरक्षण गर्न स्वतःस्फूर्तरुपमा विभिन्न कार्यक्रम गर्दै आएका थियौँ।
यिनै वातावरणलगायत सामाजिक सरोकारका विषयमा लेखिएका मेरा सामग्री स्थानीय तथा राष्ट्रिय पत्रपत्रिमा छापिन्थे। जसले मलाई वातावरण पत्रकारको परिचयसमेत दिलायो। त्यहिवेला नेवाले थालेको वातावरणसम्बन्धी सञ्चार अभियानमार्फत मेरो खोजमूलक सामग्रीले प्रथम पुरस्कार पनि पायो।
त्यसपछि विराटनगर महानगरपालिकाले वातावरण संरक्षणको क्षेत्रमा काम गरेको भन्दै पुरस्कृत ग¥यो। र, वातावरण संरक्षणको क्षेत्रमा काम गर्दा र यसबारे लेख्दा पुरस्कृत हुँदै र सम्मान पाउँदै गए। यसले ममा अझ काम गर्न ऊर्जा थपिन्थ्यो। पुरस्कार तथा सम्मानले जिम्मेवारी बढाउ“छ भन्ने सुनेको त थिए, आफूले पाएपछि महसुस पनि गरेँ।
यो म किन भन्दै छु भने अहिले पनि टोल तथा वडामा वातावरण संरक्षण तथा सामाजिक कार्य भइरहेका छन्। वडावासी विशेषगरी महिलाले गर्दै आएको संरक्षणसम्बन्धी काममा स्थानीय निकायले होस्टेमा हैसे गर्न जरुरी छ। संरक्षणको क्षेत्रमा योगदान पुर्याएका अभियन्तालाई सरकारी तथा गैरसरकारी संघसंस्थाले वेलावेला पुरस्कृत तथा सम्मानित गरेपनि त्यो अपूरो देखिन्छ। उनीहरुले थालेका संरक्षणसम्बन्धी कामलाई जनस्तरसम्म पु¥याउन सरकारी तथा गैरसरकारी संघसंस्थाले सोचेको देखिँदैन।
जसले गर्दा हिजोका दिनमा संरक्षणको क्षेत्रमा योगदान पु¥याएका अभियन्ता आज कोही मूकदर्शक बनेका छन भने कोही अन्य क्षेत्रतिर लागेका छन। वातावरण संरक्षणका लागि फोहोरमैला व्यवस्थापनलगायत कम्पोस्ट मल बनाउन तालिम दिँदै हिड्ने ममात्रै होइन, रञ्जना अमात्य, शिला दीक्षित तथा लिना उपाध्याय चुपचाप छन्। यो वर्ष त कोभिड–१९ का कारण वातावरण दिवस पनि मनाउन पाइएन्।
यस्तै, हिजोका मेरा कतिपय सहयात्री दिदीबहिनीहरु आज स्थानीय तहमा छन। तर, उनीहरुको प्राथमिकतामा न वातावरण संरक्षणको विषय परेको छ न त यससम्बन्धी चासो र चिन्ता नै छ। आमाले पनि बच्चा नरोएसम्म दूध चुसाउन बिर्सिन्छिन भन्ने भनाइ चरितार्थ भएको छ, वातावरणलगायत सामाजिक सरोकारका विषयमा। किनभने चासो तथा चिन्ता लिनेहरु नभएपछि वातावरण संरक्षणजस्ता सामाजिक सरोकारका विषयहरु ओझेलमा पर्नु स्वाभाविक हो।
त्यतिवेला संरक्षणको क्षेत्रमा सहयोगी बनेका मेरा प्रशिक्षक साथीलगायत महिला जनप्रतिनिधिको प्राथमिकतामा आज सरसफाइ तथा संरक्षणजस्ता विषय नपरेको प्रत्यक्ष र परोक्ष प्रभाव वडा र टोलहरुमा देखिन थालेको छ। अहिले पक्की बाटो छेउमा समेत जथाभावी निर्माण सामग्री थुपारिएका हुन्छन भने फोहोरमैलाले नालाहरु भरिएका छन्। शहर होस या गाउ“ जाडोयाममा चोकैपिच्छे घुरलगायत ठोस फोहोर जलाएर आगो ताप्नेहरु भेटिन्छन्।
यसरी संरक्षणलगायत सामाजिक सरोकारका विषय जनचासोमा नपर्नुका थुप्रै कारणमध्ये प्रमुख कारण यसप्रतिको बुझाइ हो। वृक्षारोपण गरे वातावरण संरक्षण भइहाल्छ भन्ने बुझाइ व्याप्त छ। त्यस्तै, वातावरण भन्नाले जल, जमिन र वायु हो भन्ने बुझाइबारे पनि मतमतान्तर देखिन्छ।
संरक्षणबारे धेरथोर बुझेका टोलबासी विशेष गरी महिलाको चासो र चिन्तामा आज वातावरण विषय नपर्नुका धेरै कारणमध्ये एउटा पृष्ठभूमि, योग्यता र अध्ययन पनि हो। किनभने कुनै पनि विषयमा चासो र चिन्ता जाग्नु र यसबारे अरुलाई जागरुक बनाउन योग्यता, पृष्ठभूमि र अध्ययन गर्ने बानीको महत्वपूर्ण भूमिका रहने गरेको अध्ययन अनुसन्धानले देखाएको छ।
विशेष गरी योग्यता र अध्ययनभन्दा पनि राजनीतिक पृष्ठभूमि भएकै कारण तीनै तहको सरकारमा पुगेका हाम्रा जनप्रतिनिधिको चासो र चिन्तामा वातावरणलगायत सामाजिक सरोकारका विषय पर्न नसकेको जगजाहेर छ। कतिपय महिला जनप्रतिनिधि गृहिणी पृष्ठभूमिबाट आएका छन्। नगरलगायत वडास्तरीय संघ तथा संगठनमा लामो समय खर्चेका महिला तीनै तहमा प्रतिनिधित्व गरिरहेका भएपनि विकास निर्माणको काममा उनीहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन।
त्यसो त पितृसत्तात्मक घरपरिवार र समाजमा महिलाले जतिसुकै काम गरेपनि ओझेलमा परेजस्तै पितृसत्ता हावी नेपाली राजनीतिमा महिलाको भूमिका र अवस्था ठ्याक्कै त्यस्तै छ भन्दा फरक पर्दैन। त्यस्तै, संरक्षणको क्षेत्रमा स्वतःस्फूर्तरुपमा काम गर्ने महिलाको कामलाई गौण बनाउने प्रयास गरिँदै आएको वर्षौं भयो। यी र यस्ता कतिपय कारणले पनि संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका र पुर्याउन सक्ने वातावरण अभियन्ताको सीप र जाँगर समाज विकासमा सहयोगी बन्न सकेको छैन।
संरक्षणको क्षेत्रमा स्वतःस्फूर्तरुपमा काम गर्ने अभियन्ताको कामलाई स्थानीय सरकारले नगद र कदरपत्र प्रदान गरेर मात्र हुँदैन। उनीहरुले गर्दै आएको कामलाई जनस्तरसम्म पुर्याउन महिला सम्मिलित संयन्त्र नै तयार गर्नुपर्छ। यस्तै हाम्रा जनप्रतिनिधिलाई वातावरण संरक्षणबारे प्रशिक्षण दिन जरुरी छ।
अनिमात्रै वातावरण संरक्षण गर्नु भनेको जल, जमिन र वायुलाई प्रदूषणमुक्त बनाउनु हो भन्नेबारे बुझाइमा एकरुपता आउ“छ र वातावरण विरोधी कार्यहरुमा बिराम लाग्छ। साथै आ–आफ्नो वडालाई प्रदूषणमुक्त बनाउन वडा र नगरबासीहरु एकजूट हुने वातावरण तयार हुन्छ। समग्रमा आफ्नो वडाको जल, जमिन र वायु प्रदूषणमुक्त बनाउन स्थानीय तहहरु क्रियाशील हुन जरुरी छ भने यस्ता कार्यमा महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ।