लाहुरेका प्राज्ञिक प्रेरणा
डा. चन्द्रकुमार लक्सम्बा लाहुरे प्राज्ञ मात्र थिएनन्, बेलायतमा रहेका सारा गोरखाका प्रेरणा, आदर्श अनि मातृभूमिका निम्ति केही नगरि हुँदैन भन्ने र त्यसलाई व्यवहारमै उतार्ने सच्चा देशभक्त पनि थिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका सिनेट सदस्य तथा नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत डा. चन्द्रकुमार लक्सम्बाको गएको १३ माघमा बेलायतमा निधन भयो ।
कोभिड १९ को संक्रमणपछि स्थानीय एक अस्पतालमा भर्ना भएका लक्सम्बाको ५९ वर्षको उमेरमा मस्तिकघातका कारण निधन भएको हो ।
ताप्लेजुङको सिकैँचा कुञ्जारीमा सन् १९६१ मा जन्मिएका लक्सम्बाले प्रारम्भिक शिक्षा ताप्लेजुङमा नै प्राप्त गरे । ताप्लेजुङ सदरमुकामको भानु माध्यमिक विद्यालयबाट सन् १९७७ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी विज्ञान विषय अध्ययनका लागि काठमाडौँ आए ।
विद्यालय जीवनबाट नै कम्युनिष्ट विचारसित आकर्षिक लक्सम्बा १९७९ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तत्कालिन नेकपा (माले) निकटको अनेरास्ववियू पाँचौँबाट अस्कल क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए । आइएस्सीसम्मको अध्ययनपछि उनी ताप्लेजुङ फर्किएर तीन वर्ष विज्ञान विषयको शिक्षक पनि बनेका थिए ।
लाहुरे डाक्टर
शायद परिवारिक बिरासतका कारण हो या उनको आफ्नै रहरले उनी सन् १९८४ मा बेलायती सेनामा भर्ना भए । शुरुमा क्लर्कमा भर्ना भएका उनी पछि इन्फेन्ट्रीमा सरुवा भए ।
बेलायती सेनामा करिब १९ वर्ष सेवाका क्रममा नै उनले युनिभर्सिटी अफ लण्डनबाट दर्शनशास्त्र, सार्वजनिक नीति र व्यवस्थापन स्नातक र स्नातकोत्तर गरेका थिए । सैन्य सेवामा छँदै विद्यावारिधि भर्ना भएका उनले सन् २००५ मा सरे युनिभर्सिटीबाट ‘लाइफ लङ लर्निङ इन नेपाल’ विषयमा विद्यावारिधि गरेका थिए ।
अध्ययन पूरा गरेपछि उनी अनुसन्धान र प्राज्ञिक कर्ममा निरन्तर सक्रिय रहे । उनको पहलमा सन् २००७ मा बेलायतमा रहेका नेपाली मूलका प्राज्ञिक व्यक्तित्वहरूद्वारा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युके नामक एक थिंकट्यांकको गठन भएको थियो । सोही संस्थामार्फत बेलायतमा रहेका नेपालीहरूको बृहत सर्भेसमेत गरिएको थियो । उनको संलग्नता नेपाली डायस्पोराका धर्म संस्कारसम्बन्धी अध्ययन, गोरखा पेन्सन नीति र अभियान विश्लेषण, सोसल मोबिलिटी प्रोजेक्ट, साफा गोरखा सहयोग कार्यक्रम मूल्याङकनलगायत परियोजनामा रहेको थियो ।
चार वर्ष क्याम्ब्रिज विश्वविद्यालयमा नेपाल सम्बन्धी अध्ययनको परीक्षक, तीन वर्ष अक्सफोर्ड विश्वविद्यालयको रिसर्च एसोसिएट रहिसकेका लक्सम्बा सन् २०१२–१४ सिएनएस युकेको कार्यकारी निर्देशक रहेका थिए । उनले १३ वर्ष सिटी एण्ड गिल्डसको व्यावसायिक मान्यता प्रमाणपत्र तह (लेभल ४–८) को शिक्षक र परीक्षकका रूपमा काम गरेका थिए ।
सन् २०१९ मा नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनको अवसर पाएपछि उनी बेलायतको बसोबास र जागिर त्यागेर श्रीमतिसहित नेपाल फर्केका थिए । विश्वविद्यालयमा उनी समाजशास्त्र तथा मानवशास्त्र विषयको पाठ्यक्रम संयोजकका रूपमा कार्यरत थिए ।
लक्सम्बाले गोरखाहरू बन्दुक मात्र होइन कलम चलाउन पनि सक्षम छन्, सैनिक जीवनसँगै पनि प्राज्ञिक जीवन जीउन सकिन्छ भन्ने बेजोड सन्देश युवा गोरखाहरूलाई दिएका छन् ।
बेलायती सेनाको आकर्षक तलब भत्ता र सेवा सुविधा, ब्यस्त र कठोर जीवनशैलीका कारण धेरै युवा भर्तीपछि आफ्नो अध्ययनलाई पूर्ण विराम लगाउँछन् । सेनाको करिअर र पारिवारिक झमेलामै जीवन अर्पण गर्छन् तर लक्सम्बाले सेनाको सुखसुविधालाई जीवनको साधन मात्र बनाए, साध्य बनाएनन् । सैन्य जीवनमा लामो समयसम्म काम गर्दा हुने शारीरिक थकानबाट आफ्नो अर्जुनदृष्टिलाई विचलित हुन दिएनन् । अध्ययन, अनुसन्धानलाई नै जीवनको एक मात्र उद्देश्य बनाए ।
उनको त्यही प्रतिवद्धता र कटिवद्धताबाट प्रेरणा लिएर होला पछिल्लो समय धेरै गोरखा सैनिकहरूले सेवाका साथसाथै अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन् । बेलायती सेनाबाट अवकास पाएपछि विद्यावारिधि गर्ने शायद लक्सम्बा दोस्रो व्यक्ति हुन् । यसअघि डा. हर्षबहादुर बुढामगरले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि गरेका थिए ।
लक्सम्बाले गोरखाहरू बन्दुक मात्र होइन कलम चलाउन पनि सक्षम छन्, सैनिक जीवनसँगै पनि प्राज्ञिक जीवन जीउन सकिन्छ भन्ने बेजोड सन्देश युवा गोरखाहरूलाई दिएका छन् ।
उत्प्रेरक, अभियन्ता
लक्सम्बाको अर्को परिचय भनेको सामाजिक अभियन्ताको रूपमा थियो । बेलायती सेनाबाट अवकास पाउने बित्तिकै सन् २००४ मा ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) को स्थापनामा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।
बेलायतमा सन् १९९७ पछि सेवाबाट अवकास पाएका गोरखाहरूले बेलायतको आवासीय सुविधा पाएपछि बीजीडब्लुएसको चर्चा ह्वात्तै चुलिएको थियो । त्यतिबेला गोरखा आन्दोलनको मूलधार रहेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो) माथि भर्खरै सेवानिवृत्त भएका, प्रविधि र भाषामा दख्खल भएका युवा गोरखाहरूको संस्थाले निकै दबाब दिएको थियो ।
संस्थाको जनसम्पर्क प्रमुख रहेका लक्सम्बा बीजीडब्लुएसको टोली लिएर काठमाडौँ गएका बखत यस पंक्तिकारको भेट भएको थियो । तर लक्सम्बा गोरखाको एउटै मात्र संस्थामा सीमित भएनन्, गोरखा सत्याग्रह, ब्रिटिश गोरखा भूतपूर्व सैनिक संघ (बीगेसो), युनाइटेड ब्रिटिश आर्मी एसोसिएन नेपाल (युबीजीएन), गेसो सबै संस्थामा विभिन्न कालखण्डमा उनी सहभागी थिए ।
गोरखा आन्दोलनको अभियानकर्मीका रूपमा मात्र होइन प्राज्ञिक कर्मबाट पनि उनले गोरखा आन्दोलनमा योगदान दिएका थिए । गोरखा सैनिकहरूको समस्याका बारेमा प्रतिवेदन तयार पार्न पछिल्लोपटक नेपाल तथा बेलायत सरकार तथा गोरखा भूतपूर्व सैनिकहरूको सहभागितामा गठित प्राविधिक समितिमा पनि उनी सदस्य थिए ।
लक्सम्बा गैरआवासीय नेपाली संघ युकेको पहिलो अधिवेशनबाट निर्वाचित कार्यसमितिको उपाध्यक्ष रहेका थिए । यसबाहेक उनी लिम्बूहरूको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ युकेको संस्थापक सदस्य पनि थिए । उनले बेलायतका लिम्बुहरू बारे एक शोध नै प्रकाशन गरेका छन् ।
ताप्लेजुङ समाज युकेको लक्सम्बा दुई कार्यकाल अध्यक्ष रहेका थिए । उनी अध्यक्ष रहेको पछिल्लो कार्यकाल २०१२–१४ मा यस पंक्तिकारले पनि सो समितिमा बसेर काम गर्ने अवसर पाएको थियो ।
खासगरी ताप्लेजुङ जिल्ला अस्पतालका लागि प्रयोगशाला भवन निर्माणको प्रोजेक्ट कोअर्डिनेटरका रूपमा लक्सम्बाले आफ्नो कार्यकाल सकिएपछि पनि महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । करिब डेढ करोड रुपैंयाँ राशीको सो परियोजना बेलायतमा रहेका ताप्लेजुङबासीबाट सहयोग संकलन गरी सम्पन्न भएको थियो ।
अहिले त बेलायतमा करिब एक लाखभन्दा बढी नेपालीहरू छन् । जबकि सन् २००१ को जनगणनामा नेपालीहरूको संख्या करिब पाँच हजार मात्र थियो । सन् २००४ देखि गोरखाहरूलाई बेलायतमा बसोबासको अधिकार दिन शुरु गरिएपछि भविष्यलाई विश्लेषण गरेर लक्सम्बाले नेपाली समुदायलाई पत्रिका चाहिन्छ भनेर पत्रिकालाई निरन्तरता दिएका थिए ।
लक्सम्बा सन् २००५ तिर बेलायतबाट प्रकाशन हुने ‘युरोपको नेपालीपत्र’ साप्ताहिकको प्रकाशक तथा प्रधानसम्पादक पनि थिए ।
हाल नयाँ पत्रिका दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक कृष्णज्वाला देवकोटाबाट लक्सम्बा जनसम्पर्क प्रमुख रहेको बीजीडब्लुएस भन्ने संस्थाले सो पत्रिका किनेको थियो । तर संस्थाले बीचैमा पत्रिका सञ्चालनबाट हात झिकिदिँदा उनी एक्लैले केही समय पत्रिकालाई थामेका थिए ।
अहिले त बेलायतमा करिब एक लाखभन्दा बढी नेपालीहरू छन् । जबकि सन् २००१ को जनगणनामा नेपालीहरूको संख्या करिब पाँच हजार मात्र थियो । सन् २००४ देखि गोरखाहरूलाई बेलायतमा बसोबासको अधिकार दिन शुरु गरिएपछि भविष्यलाई विश्लेषण गरेर लक्सम्बाले नेपाली समुदायलाई पत्रिका चाहिन्छ भनेर पत्रिकालाई निरन्तरता दिएका थिए ।
आफूले धान्न नसक्ने भएपछि उनले बेलायतकै एक व्यावसायिक गृहलाई सो पत्रिका हस्तान्तरण गरे र सन् २०१८ सम्म सो पत्रिका निरन्तर प्रकाशन भयो पनि । त्यसो त उनी सन् २००५ मा नेपालबाट प्रकाशन हुने ‘नेपाल फोकस’ म्यागजिनको प्रबन्ध निर्देशक पनि थिए । सन् २०१२ तिर उनले नेपाली र अंग्रेजी भाषामा ‘गोरखा आवाज’ र ‘गोरखा भोइस’ पाक्षिक प्रकाशनको पनि शुरुवात गरेका थिए ।
करिब दुई दशकको सैन्य जीवनले पनि लक्सम्बाको राजनीतिप्रतिको धारणालाई भुत्ते बनाउन सकेन । नेपालमा दोस्रो जनआन्दोलनपछि पहिलोपटक जनस्तरबाट संविधान निर्माण गर्ने क्रममा प्रवासमा बस्ने नेपालीहरूको पनि प्रतिनिधित्व खोजिँदा उनलाई संविधानसभामा मनोनित गरिने सदस्यहरूमा सिफारिस गरिएको थियो । त्यतिबेला नेपालको एक राजनीतिक पार्टीको बेलायत समितिको नेतृत्वमा रहेका अधिवक्ता सुरेन्द्र श्रेष्ठ भन्छन्, “संविधानसभामा नियुक्तिका लागि उहाँको नाम अन्तिम सूचीमा परिसकेको हामीलाई बताइएको थियो तर भोलिपल्ट अर्कैको नाम आउँदा हामी छक्क परेका थियौँ ।”
आफ्नो र परिवारको (उनका ससुरा ताप्लेजुङका चर्चित बामपन्थी नेता तथा पूर्व मन्त्री अम्बिका साँवा थिए) राजनीतिक विरासत लोभलाग्दो हुँदाहुँदै पनि उनी राजनीतिमा होइन प्राज्ञिक कार्यमै रमाउन चाहे ।
सानालाई सम्मान र उत्साह
सन् २०१० मा यस पंक्तिकार बेलायत आएको केही महीनामै लक्सम्बासित फोनमा साक्षात्कार हुनपुग्यो । त्यो पनि बिल्कुल तनावपूर्ण अवस्थामा ।
त्यतिबेला म नेपालीपत्र साप्ताहिकमा कार्यरत् थिएँ । गोरखा भूतपूर्व सैनिकहरूको एउटा कार्यक्रमका बारेमा मैले लेखेको समाचारप्रति लक्सम्बालाई चित्त बुझेको रहेनछ । “‘तपाईले मलाई चिन्नुभएको छ ? म को हुँ थाहा छ ?’” भन्दै आफूले कति दुःख गरेर सो पत्रिका विगतमा प्रकाशन गरेको र अझै पनि निर्देशक रहेको उनले बताए । तर त्यसको केही समयपछिको भेटमा उनले ‘अस्तिको घटनाको लागि क्षमा चाहन्छु । अब म बदलिइसकेको छु’ भने ।
शायद लक्सम्बाको यही नै त्यस्तो स्वभाव थियो जसले जोसुकैलाई पनि उनीप्रति लामो समय नकारात्मक धारणा बनाइराख्न दिँदैनथ्यो ।
ताप्लेजुङ हाङपाङको शान्ति प्राथमिक विद्यालयको भवन बनाउनका लागि ताप्लेजुङ समाज बेलायतको आयोजनामा गरिएको कविता वाचन कार्यक्रममा पनि उनीसित सहकार्य गर्ने अवसर मिल्यो । कविता सुनाएर सहयोग संकलन गर्नु कुनै रोमान्टिक सोच थिएन तर यस्तो नविन काम हामीले गर्नुपर्छ भन्नेमा उनी दृढ थिए ।
पंक्तिकारसितको पटकपटकको भेटमा लक्सम्बा नेपाल फर्कने विचार व्यक्त गर्दथे । हामी एउटै जिल्लामा जन्मेकाले पनि हुनसक्छ उनी आफ्नो जन्मस्थल, घर र योजना बारे बताउँथे । आफ्नो जन्मस्थलमै अनुसन्धान केन्द्र खोल्ने उनको इच्छा थियो ।
यस्तै, ‘गोरखा आवाज’ र ‘गोरखा भोइस’ प्रकाशन गर्ने सन्दर्भमा पनि लक्सम्बाले पत्रकार नविन पोखरेल र मसित सहकार्य गरेका थिए । भलै त्यो प्रकाशन लामो चलेन ।
यसैगरी, सन् २०११ मा हामी बेलायतमा रहेका धेरैजसो २५-३० वर्ष उमेरका पत्रकारहरूले नेपाल पत्रकार महासंघ बेलायत शाखा गठन गर्ने पहल गरेका थियौँ । उनीजस्तो बेलायती समाजमा उच्च परिचय बनाइसकेको व्यक्तिले पनि महासंघको सदस्यता लिँदा संस्थाको महत्व ह्वात्तै बढेको थियो । शाखाको पहिलो कार्यसमितिमा सल्लाहकार बसिदिन गरेको अनुरोधलाई उनले एकै वचनमा सहर्ष स्वीकार गरेका थिए । यसरी उनमा नूतन कार्यमा जोखिम मोल्न सक्ने र नयाँ पिँढीलाई प्रोत्साहन गर्ने स्वभाव थियो ।
पंक्तिकारसितको पटकपटकको भेटमा लक्सम्बा नेपाल फर्कने विचार व्यक्त गर्दथे । हामी एउटै जिल्लामा जन्मेकाले पनि हुनसक्छ उनी आफ्नो जन्मस्थल, घर र योजना बारे बताउँथे । आफ्नो जन्मस्थलमै अनुसन्धान केन्द्र खोल्ने उनको इच्छा थियो ।
नेपाल फर्केर देशकै लागि केही गर्ने उनको योजना पछिल्लो समयमा साक्षात्कार पनि हुँदै थियो । नेपाल खुला विश्वविद्यालयमा नियुक्ति पाएपछि उनी आफ्नो प्राज्ञिक सञ्जालको भरपूर प्रयोग गरी आफ्ना विद्यार्थीहरू र विश्वविद्यालयलाई कसरी लाभ दिलाउन सकिन्छ भन्ने चिन्तनमा दत्तचित्त थिए ।
विदेशमा सिकेको ज्ञानलाई मातृभूमिमा प्रयोग गर्नुपर्छ भन्ने मान्यताका पक्षपाती लक्सम्बाको नेपालको प्राज्ञिक उन्नयनका क्षेत्रमा धेरै योजनाहरू थिए । अचानकको उनको महाप्रस्थानले ती योजनाहरू अधूरै रहे । तर ५९ वर्षकै छोटो दैहिक यात्रामा उनले समाज र युवा पुस्तालाई प्रशस्त प्रेरणा र सन्देश छोडेर गएका छन् ।
कोरोना भाइरसका कारण नेपालमा लकडाउन शुरु भएपछि लक्सम्बा छोराबुहारी र नातिनातिनी भेट्न बेलायत आएका थिए । बेलायतबाटै अनलाइनमार्फत विश्वविद्यालयका विभिन्न सेमिनारहरू सञ्चालन गर्दै थिए ।
पछिल्लोपटक जनवरी ८ तारिखका दिन सेन्टर फर नेपाल स्टडिज युकेको बैठकमा लक्सम्बासित पंक्तिकारको भर्चुअल भेट भएको थियो । उनले इङल्याण्ड र वेल्समा मार्च २१ तारिखमा हुन गइरहेको जनगणनामा नेपाली समुदायलाई सहभागी गराउन सिएनएस युकेको अभियानका लागि मलाई रिसर्च एसोसिएटमा नियुक्ति गरिएपछि स्वागत गरेका थिए ।
विदेशमा सिकेको ज्ञानलाई मातृभूमिमा प्रयोग गर्नुपर्छ भन्ने मान्यताका पक्षपाती लक्सम्बाको नेपालको प्राज्ञिक उन्नयनका क्षेत्रमा धेरै योजनाहरू थिए । अचानकको उनको महाप्रस्थानले ती योजनाहरू अधूरै रहे । तर ५९ वर्षकै छोटो दैहिक यात्रामा उनले समाज र युवा पुस्तालाई प्रशस्त प्रेरणा र सन्देश छोडेर गएका छन् ।
(लेखक नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष हुन् ।)