सिजरिन–गीता : बिर्सिएका स्वर्णिम युगका 'स्वर्ण जोडी'
सिजरिन शाहले आफूले जितेका पदकहरु एउटा थैलीमा पोको पारेर थन्क्याएकी रहेछिन्। खोज्नलाई एकहप्ता लाग्यो, उनलाई।
गीता क्षेत्रीका पदक हराएका त थिएनन्, तर कागजको सानो बाकसमा गुटमुट्याएर राखेकी थिइन्।
उनीहरुले आफ्नो पदकको महत्व नबुझेका हुन् वा नेपाली खेलकुदले उनीहरुको योगदान नसम्झेको हो, संग्रहालयमा सजिनुपर्ने ऐतिहासिक अन्तर्राष्ट्रिय स्वर्ण पदक कतै हराएका थिए त कतै गुटमुटिएका थिए। ‘त्यो त ऐतिहासिक पदक हो नी, कता राख्नुभयो?’ भन्ने प्रश्नमा सिजरिनले भनिन्, “हुन त हो, तर खै कसैले वास्ता गर्ने होइनन्, सम्झिने पनि होइनन्। खै कता राखेछु।’’
गीतालाई भने आफूले जितेको पदकको महत्व थाहा छ। तीन दशकअघिको खेल जीवन सम्झिँदै उनी भन्छिन, “कति संघर्ष गरेर जितेको पदक पो हो। कहाँ बिर्सनु।’’
सिजरिन–गीता नेपाली खेलकुदका ऐतिहासिक टेबल टेनिस जोडी हुन्। नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेर इतिहास रच्ने जोडी।

श्रीलंकाको कोलम्बोमा सन् १९९१ मा भएको पाँचौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (त्यतिवेला साफ अहिले साग)मा यो जोडीले टेबल टेनिसको महिला टिममा स्वर्ण जितेको हो। र, नेपालका लागि सागमा पहिलो स्वर्ण जित्ने खेलाडी हुन सिजरिन र गीता।
स्वर्ण पदक भीडन्तमा भएको संघर्ष र शाहसको कथा पनि निकै रोमाञ्चक छ।
त्यो भिडन्त
पाँचौँ सागमा नेपाली टोली स्वर्ण पदकका लागि तड्पिरहेको थियो। आशा गरिएका खेलाडीहरुले पदक जित्न सकिराखेका थिएनन्। त्यहिवेला टेबल टेनिसमा चर्चित बनिरहेका सिजरिन र गीताले महिला टिम इभेन्ट्समा स्वर्ण पदकको खडेरी तोडे।
खेलको रोमाञ्च पनि कस्तो? सिनेमाको कथा जस्तो। ३-२ सेटले जितेको र अन्तिम समयसम्म चलेको त्यो भिडन्त रोमाञ्चक थियो। त्यो प्रतिस्पर्धा प्रत्यक्ष हेरेका त्यतिवेलाका खेलाडीहरु अझै पनि अपत्यारिलो मान्छन्।
फाइनलमा नेपालको प्रतिस्पर्धा शक्तिशाली भारतसँग पर्यो। त्यतिवेला टिम इभेन्ट्समा दुई–दुई सिंगल तथा एक डबल्स गरी पाँच सेट खेल्नुपर्थ्याे। खेल जित्न तीन सेट जित्नुपर्थ्यो।
पहिलो सिंगल्समा सिजरिन पराजित भइन्। गीताले दोस्रो सेट जितेर खेल बराबरीको स्थितिमा ल्याइन्। डबल्सको रुपमा रहेको तेस्रो खेलमा सिजरिन–गीताको जोडीले जित्यो र खेलमा नेपालले २–१ को अग्रता लियो।
अब बाँकी थियो दुई सिगंल्स। त्यसमा चौथो खेलमा सिजरिन फेरि हारिन् र भारतले खेल २–२ को स्थितिमा ल्यायो। अब पाँचौ तथा निर्णायक खेलमा गीता कोर्टमा उत्रिन्।
निर्णायक खेलको पहिलो सेट गीताले जितिन्। दोस्रो सेट अझ रोमाञ्चक बन्यो।
गीतालाई त्यो वेलाको घटना सबै ताजा छ। उनी भन्छिन्, “सबै देशका खेलाडीहरु त्यो सेट हेर्न झुम्मिएका थिए। हल्ला यति धेरै थियो कि मैले केही सुन्न सकिरहेकी थिएन। सबै देशका खेलाडीहरुले नेपालको पक्षमा हुटिङ गरिरहेका थिए।’’
अनि गीताले २२-२० को कडा टक्करमा प्रतिद्वन्दी भारतीय खेलाडीलाई परास्त गरिन्। नेपालले स्वर्ण पदक जित्यो। “मलाई विश्वास लागिरहेको थिएन, सपना जस्तै थियाे। सबैले अंगालो हालेर बधाई दिइरहेका थिए। मैले त जितिसकेको रहेछु,’’ गीता सम्झिन्छिन्, ‘‘खै कस्तो खुशी थियो, त्यो वेला। अहिले नि सम्झिँदा अचम्मको आभास हुन्छ।’’

त्यतिवेला महिला टिम स्पर्धामा नेपाली टिमका खेलाडी गीता र सिजरिनसँगै बैकल्पिक खेलाडीका रुपमा पूजा थापा र नीलम तुलाधर थिए।
स्वर्णिम कालखण्ड
सन् १९८० को दशकमा महिला खेलाडीलाई खेलकुदको प्रतिस्पर्धात्मक माहोलमा घुलमिल हुन सजिलो थिएन। तैपनि सिजरिन र गीताले घरको अवरोध झेल्नु परेन।
सिजरिनको सम्पन्न परिवारमा त अझ सजिलो थियो। १२ दाजुभाइ-दिदीबहिनीमा कोही न कोही खेलकुद क्षेत्रमा संलग्न थिए। टेबल टेनिस बोर्ड घरमै थियो।
अनि सीमित खेलमात्र खेलिने त्यो दशकमा टेबल टेनिस निकै लोकप्रिय खेल पनि थियो। त्यसमा आक्रामक शैलीमा खेल्ने सिजरिन र रक्षात्मक सुझबुझ खेल्ने गीता उत्कृष्ट खेलाडीका रुपमा उदाए।
विदेशी प्रशिक्षक, लगातारको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता र नियमित प्रशिक्षण त्यो वेलाको टेबल टेनिसका आकर्षक पक्ष थिए। त्यस्तो माहोलमा सिजरिन-गीताले तहल्का नै मच्चाए। सिजरिनले सागमा आठ पदक जितिन् । गीताको नाममा ६ वटा साग पदक छन्।
तेस्रो दक्षिण एसियाली खेलकुददेखि नै उनीहरुले पदक जित्न थालेका थिए। सिजरिन र धर्ममान बज्राचार्यको जोडी मिक्स डबल्समा तेस्रो सागमा नै स्वर्ण नजिक पुगेको थियो। तर, १९-१४ को अग्रता लिइसकेको खेलमा पनि यो जोडीले हार ब्यहोर्नुपर्यो।
बज्राचार्य सम्झिन्छन्, “स्वर्ण जित्ने देशको राष्ट्रिय गीत बजाउनेमा नेपालीहरु रहेछन्। उनीहरुले नेपालले जित्ने पक्का भयो भनेर राष्ट्रिय गीत बजाउने समेत तयारी गरिसकेका रहेछन्। पछि थाहा पाउँदा कति दुःख लाग्यो कति।’’
यिनै सफलताका कारण त्यो समयलाई टेबल टेनिसको स्वर्णयुग भन्ने गरिन्छ। अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य भन्छन्, “त्यो वेला थुप्रै पदक आए। सबको आफ्नै महत्व छ। तर, सिजरिन-गीताले जितेको स्वर्ण भने ऐतिहासिक हो। जसले त्यो समयलाई टेबल टेनिसको स्वर्णिम समय बनाइदियो।’’
गुमनाम
पाँचौँपछि गीताले साग खेलिनन्। विश्व च्याम्पियनसिप चाँहि खेलिन् । सिजरिनले चाँही सातौँ सागसम्म खेलिन् र सन्न्यास लिइन्। अनि विस्तारै उनीहरुले पाएका सफलताहरु पनि बिर्सिदै गए। न कसैले सोध्यो, न सम्झ्यो। गुमनाम भयो स्वर्णिम जोडी।
कतिसम्म भने नेपालमै सन् १९९९ मा भएको आठौँ सागमा कतैबाट निम्तो नआएपछि टेबल टेनिस हेर्ने हुटहुटीले दुबै लैनचौर टेबल टेनिस हल पुगेछन्। न टिकट न पास। स्वयंसेवक युवा टेबल टेनिस खेलाडीहरुले नै चिनेनन्, सिजरिन र गीतलाई। गेटबाटै फर्काइदिएछन्।
त्यो घटना सम्झिँदै गीता भन्छिन्, “कति नमिठो भो त्यतिवेला । चित्त दुख्यो। हामी त पहिलो गोल्ड मेडलिस्ट हौं नि। तर, के गर्ने आफूलाई चिनाउन धक लाग्यो।’’
सिजरिन सम्झिन्छिन्, “हाम्रा पालामा त्यस्तै थियो। अहिलेजस्तो न जित्नेलाई नगर परिक्रमा गराइन्थ्यो, न त एयरपोर्टमा स्वागत नै। स्वर्ण जित्दा पनि त हामी एयरपोर्टबाट सिधै घर आएका थियौं।’’
सम्मानको संस्कार
अहिले दुवैजना समय फेरिँदै गएको महसुस गर्छन्। दुवै समय-समयमा टेबल टेनिस हल पुगिरहन्छन्। सिजरिनले त भेट्रान्समा प्रतिस्पर्धा गरेर स्वर्ण पनि जितिसकिन्। अझै खेलिरहने धोको छ।

उनीहरुको एउटै मात्र भनाइ छ, ‘हामीलाई केही चाहिँदैन। बस्, पुराना खेलाडीहरुलाई वेला–वेलामा सम्झिदिउन्। सम्मान गर्ने संस्कार विकास होस।’
गत वर्ष भएको १३औँ सागमा दुवै जना खेल हेर्न गएका थिए। त्यहाँ युवा खेलाडीको जोश र उनीहरुको आधुनिक टेनिसको ज्ञान देखेर दुवै दंग परे।
अर्को स्वर्णको चाहना
स्वर्ण विजेता जोडीको एउटा चाहना छ, अर्को स्वर्ण। उनीहरुले स्वर्ण जितेको ३० वर्षसम्म पनि टेबल टेनिसमा न अर्को स्वर्ण पदक आएको छ न त त्यसयता कुनै पनि नेपाली खेलाडीले भारतीय खेलाडीलाई हराएका छन्। यसले उनीहरुलाई दुःखी बनाइरहेको छ।
उनीहरुको चाहना अब युवा खेलाडीले पनि त्यस्तै स्वर्ण इतिहास रच्न सकून्। दुवैजनाको एउटै श्वर छ, ‘‘हामीले जस्तै युवाले खेलाडीले पनि स्वर्ण जित्न सकून, कामना छ। हाम्रो इच्छा छ, आफ्नै आँखाले त्यो दृष्य हेर्न पाउ।’’