जर्जियाबाट गोपिनी गाउँ सम्झिँदा...
अगमका सिर्जनामा अमेरिकी होइन, भुटानी र नेपाली परिवेश नै झुल्किन्छ। त्यसैले त १३ वर्षदेखि अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा बसोबास गरिरहेका भए पनि कसैले ‘घर कहाँ हो?’ भनेर सोध्यो भने उनको मुखबाट फुत्त जवाफ आउँछ, ‘गोपिनी गाउँ।'
अमेरिकाको जर्जियामा घरजम गरेर बस्दै आएका अगम गुरुङ (४८)ले भरखरै म्युजिक भिडियो ल्याएका छन्, ‘हामी तमु जातिको।’ दुईवर्षदेखि हरेक महिना म्युजिक भिडियो ल्याइरहेका अगमका गीतमा भुटान र नेपालको परिवेश, कला र संस्कृति समेटिएको हुन्छ।
अगमका सिर्जनामा मौलिकता झल्किने शब्द र बाजाको प्रयोग हुन्छ। अगम भन्छन्, “जन्मेहुर्केको ठाउँ र भोगेको दुःख सम्झिँदा हृदयमा चल्ने हुण्डरीले सिर्जनाकर्ममा तानिरहन्छ।”
उनी अमेरिकामा बसेर पनि पर्वत, खोला, खोरिया र खर्कहरुसँग जोडिएका मानिसका कथ्य उनिरहेका हुन्छन्। उनी जन्मिएको देश भुटान र मौलिक परम्परा झल्को पाइन्छ, उनका सिर्जनामा। अगम थप्छन्, “दुःखी, निराश र करिब करिब बर्बाद विगतबाट उठेर आएकाले हुनसक्छ, सिर्जनामा पनि तिनकैै झल्को आउँछ।”
दुई वर्षमा उनले २४ म्युजिक भिडियो ल्याएका छन्। गीत आफैले कोरेका छन्, संगीत पनि भरेका छन्। अमेरिकाका विभिन्न ठाउँमा नेपालीभाषी समुदायले आयोजना गर्ने साँँस्कृतिक कार्यक्रमहरूमा उनका गीत प्रस्तुत हुन्छन्।
गोपिनी गाउँदेखि जर्जियाको यात्रा
सन् १९९१ को मध्यतिर हो, अर्थात जेठको चर्को घामले पोल्न सुरु भइसकेको थियो। दक्षिण भुटानको चिराङ जिल्लास्थित गोपिनी गाउँका २२ वर्षे तन्नेरी अगम गृहस्थीमा रमाउन थालिसकेका थिए। एक दिन गाउँमा मण्डलले भेला बोलाए। भुटानमा गाउँ प्रमुखलाई मण्डल भनिन्छ।
भेलामा मण्डलले सुनाए, ‘छिट्टै गाउँ नछोडे ठूलो कष्ट भोग्न तयार हुनुपर्छ।’ मण्डलको चेतावनीले मन चिसो पस्यो। त्रासको बादल मडारिन थाल्यो। “जेठको दिन थियो, मकैका बोट घुँडाघुँडाका थिए,” जर्जियामा त्यो दिन सम्झिदै अगम भन्छन्, ‘‘त्यसको भोलिपल्ट कपडाको सानो कुटुरो र बाटोमा बास बस्दा खानको लागि केहि माना अन्न बोकेर घर छोड्यौँ।’’
त्यतिवेला धानको बिऊ राख्ने समय भएको थियो। गाउँमा धेरैले धानको ब्याड राखेका थिए। उनी लख काट्छन्, “दुईदिनअघि मात्रै रोपाइँको लागि धानको ब्याड राखेका थियौँ, चराले सखाप पार्यो होला।”
गाउँघर छोड्नुअघि उनले के गरे होलान? पूर्वी आकाशमा घाम देखिनुअघिको बिहानी सम्झिँदै अगम भन्छन्, “बाख्रा, गाईबस्तुको घाँटीको दाम्लो खोलेर मकैबारीमा हुलिदिएँ। खोरबाट कुखुराको तधारो उघारिदिएँ र आँशु पुछ्दै उल्टा पाइला नहेरी लालाबाला च्यापेर हिडेँ।”
सिरसिरे हावा चलिरहेको त्यो बिहान उनले अझै पनि बिर्सेका छैनन्। उनीहरुसँग कुकुर पनि आएको थियो। त्यो कुकुरको नाम टमी थियो। खाना खाँदासँगै भाग बस्ने टमीले पनि दुईघन्टासम्म पछ्याएकै थियो।
घरको तस्वीर अझै पनि उनको मानसपटलमा ताजै छ। घरभित्रका सरसामान पनि उनले बिर्सिन सकेका छैनन्। केहीबेर गम्दै बोले, “हिड्नको हतारले सुतेको ओच्छ्यान पनि उठाउन भ्याएनाै।”
गोपिनी गाउँको घर छोडेपछिका केहिदिन अगम र उनको परिवारको बास रुखको फेदमा भयो। बिहान घामसँगै उठ्यो, जहाँ पुग्दा अध्याँरो हुन्छ, त्यहिँ सुत्यो। पछि आउनेहरुको लस्करले खबर सुनायो, ‘अगमको परिवार हिँडेको दुईदिनपछि सेनाले खालीघरमा चारैतिरबाट आगो लगायो र पूरै खरानी नहुञ्जेल पहरा दिइरह्यो।’
अझै कम्तिमा सात महिना पुग्ने अन्नपात भकारीमै थियो। नानीहरुलाई साउँ अक्षर चिनाउन किनिदिएका कपी पेन्सिल टेबुलमै थिए। अघिल्लो रात खाना खाएर धोइपखाली चुल्होको आडमा राखेका भाँडाकुँडा, दहि र महीले भरिएका ठेकी जहाँको त्यहिँ थिए।
एक सातापछि भारतको आसामबाट मोटरको प्रबन्ध गरेर काँकडभिट्टा ओर्लिनुअघि उनले नेपालको नाममात्रै सुनेका थिए।
काँकडभिट्टामा खुलेको शरणार्थी समन्वय एकाइमा भुटानबाट खेदिएर आइरहेका सयौँ मानिसको लस्करमा उभिएर दर्ता हुने प्रतिक्षामा खुला आकाशमूनि दुईदिन बिताए । त्यसपछि उनीहरुलाई पूर्वी मोरङको शनिश्चरेमा महेन्द्र राजमार्गनजिकै खुल्न लागेको शरणार्थी शिविरमा लगियो।
दुईसातापछि आफन्त र चिनजानका मान्छेहरुसँगै बस्न उनको परिवार २२ किलोमिटर पूर्व झापाको बेलडाँगी शिविरमा स्थानान्तरण भयो। अभावपूर्ण १७ वर्ष विताएको उनको ठेगाना अहिले पनि कण्ठै छ, ‘बेलडाँगी–१, सेक्टर जी, छाप्रो नं.२६४।’
शिविरमा बाँस र खरले बनाएका छाप्राहरुको बाक्लो बस्तीमा अगमको परिचय सामाजिक ब्यक्तिको रुपमा स्थापित भयो। उनी थोरै आय आर्जनका लागि शिविरमा बाँसका चोया काढेर धरेलु प्रयोगका सामग्री बनाउने, कम्पोस्ट मलको लागि गँड्यौला पाल्न थाले। युवालाई एकत्रित गरेर फुटबल क्लब स्थापना गरे।
त्यसले शरणार्थी शिविरमा धेरैको थोरथोरै भएपनि आर्थिक गतिविधि र ब्यक्तित्व विकासमा टेवा पुगिरहेको हुन्थ्यो। त्यसमै अभ्यस्त भइसकेका थिए। यस्तैमा जीवन बित्छ होला भन्ने सोचेका उनलाई पुनर्वासले भने अमेरिका पुर्यायो।
लय समात्दै
मध्यम बर्गीय परिवारले पुर्ख्याैली थलोबाट हठात् उठिबास लाग्नुको पीडा। दुइटा अन्तर्राष्ट्रिय सीमा पार गरेपछि पुगिएको मुलुकमा शरणार्थी। १७ वर्ष सहायताको भरमा बाँच्नु पर्दाको कष्टकर दैनिकी। र, त्यसपछि पुनर्वासले अडिने सुविधासहितको बसोबासको प्रबन्ध।
उनलाई लाग्छ, जीवनको एक चक्र पूरा भएको छ। खासमा अगमको जीवनले बल्ल लय समात्दै छ। अमेरिकी जीवनमा भिज्दै गरेका अगम भन्छन्, “रौरव दुःखबाट मुस्किलले जीवनलाई उठाउँदै छु।”
अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा अगम र उनकी पत्नी टीकाले पसल चलाइरहेका छन्। यसको नाम ‘नेपाली फुडमार्ट’ हो। नेपाली भान्सामा चाहिने सामग्री किन्न वरपरका बासिन्दा यहि पसलमा आँउछन्।
छोराछोरीहरु अञ्जु (२८), विनोद (२६) र मञ्जु (२४)को विवाह भइसकेको छ। आमा कर्णमाया (८०) र बुवा मनबहादुर (८४) कहिँले काही गोपिनी गाउँका दिन सम्झाउँछन्।
अगमले कतै सुनेका थिए, ‘मानिसको सबैथोक लुटिए पनि उसको भविष्य लुटिएको हुँदैन्।’ त्यसैलाई स्मरण गर्दै उनी भन्छन्, ‘‘कस्तै दुःखमा पनि हिम्मत र आँट जोगाउन सक्नु पर्दाेरहेछ। उभिने ठाउँ खोज्दै विगतमा रोएको भए पनि हामीले बाँच्ने उम्मेद र हिम्मत जोगाएका थियौँ।”
त्यहि बाँच्ने उम्मेदले उनलाई सिर्जनामा तल्लिन बनाएको छ। उनका सिर्जनामा अमेरिकी होइन, अझै पनि भुटानी र नेपाली परिवेश नै झुल्किन्छ। त्यसैले त १३ वर्षदेखि अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा बसोबास गरिरहेका भएपनि कसैले ‘घर कहाँ हो?’ भनेर सोध्यो भने अगमको मुखबाट फुत्त जवाफ आउँछ, ‘गोपिनी गाउँ।”