दाहाल–नेपाल भन्छन्, ‘जनतामाथि हाम्राे भरोसा छ’
नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सबैभन्दा ठूलो अदालत जनता भएको भएका बताएका छन्। उनीहरुले आफूहरुलाई जनतामाथि भरोसा भएको जनाएका छन्।
विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताए। उनले भने, ‘‘प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको होइन, लोकतन्त्रमाथि नै हमला गर्नुभएको छ।’’
पार्टी एकीकरण भएको तीन वर्ष नपुग्दै बीचमै पार्टी फुटेको चर्चा गर्दै अध्यक्ष दाहालले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई लत्याइएको बताए। अध्यक्ष दाहालले पार्टीमा दुईतिहाई बहुमत रहेकोले यो पार्टी हाम्रो हो भन्दै सर्वोच्चले लोकतन्त्र र संविधानको भावनाअनुसार फैसला गर्ने विश्वास व्यक्त गरे।
नेपाली जनतालाई रोजगार र सम्मान दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै दाहालले भने, “सबैभन्दा ठूलो अदालत जनता नै हो, त्यसैले जनता माथि आफ्नो भरोसा छ।”
त्यस्तै, नेकपाका अर्का अध्यक्ष नेपालले देशभर प्रतिगमनविरुद्ध आवाज उठिरहेको चर्चा गर्दै संविधानसभाले निर्माण गरेको संविधानको घाँटी न्याक्ने काम भएको बताए। अध्यक्ष नेपालले आन्दोलन, सङ्घीयता र लोकतन्त्रलाई सिध्याउने खेल भएको बताए।
उनले संसद् विघटनको सम्बन्धमा सर्वोच्च अदालत संविधान र जनताको भावनाअनुसार फैसला गर्ने विश्वास आफूमा रहेको भन्दै निर्वाचन आयोगले पनि नियम र कानूनअनुसार निर्णय गर्ने भएकोले पार्टी हाम्रै पक्षमा रहने दावी गरे।
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको केन्द्रीय र स्थायी कमिटिमा आफूहरुको पक्षमा दुइतिहाई बहुमत रहेकोले निर्वाचन आयोगले सोहीअनुसार पार्टीको वैधानिकता प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले जनआवाजलाई सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि सुन्नुपर्ने धारणा राख्दै संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको दावी गरे।
विरोध सभामा नेकपाका नेता योगेश भट्टराई, शिवकुमार मण्डल र भीम आचार्यले सरकारको कदमले मुलुकमा द्वन्द्व निम्त्याउने बताउँदै उक्त कदम सही नभएको तर्क गरेका थिए।