पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था गरिने : मन्त्री ढकाल
कोभिड–१९ महामारीबाट अर्थतन्त्रका अन्य क्षेत्रजस्तै सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था गरिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानसाथै उत्साहवर्द्धक गतिविधि सञ्चालनका लागि सरोकारवालासँगको समन्वयमा प्रवावकारी योजना कार्यक्रम ल्याइने बताए। पर्यटनमन्त्री ढकालले विदेशी पर्यटकको नेपाल आवागमनलाई सहज तुल्याउन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी अनअराइभल भिसाको व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए।
कोभिडविरुद्धको खोप लगाएर आएको विदेशी नागरिक निर्वाध रुपले नेपाल घुम्न पाउनुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको र त्यहिअनुरुप माथिल्ला निकायमा पत्राचार गरिएको उनको भनाइ थियो।
उनले स्वास्थ्य मापदण्ड पनि परिवर्तन गरिनुपर्ने बताए। “हिजो आफू स्वास्थ्य तथा जनस्ख्यामन्त्री हुँदा स्वास्थ्य प्रोटोकल बनाएको आज पर्यटनमा आउँदा नैतिक रुपमा आफैले बनाएको मापदण्ड खुकुलो बनाउनुपर्ने बाध्यता आइपरेको छ,” पर्यटनमन्त्री ढकालले भने, “तर, हिजोको जस्तो २५ जनाभन्दा बढी जम्मा हुन नपाउने भन्ने कुरा रहेन। आज सत्तारुढ तथा सत्ता बाहिरका राजनीतिक दलले ५०औँ हजार मानिस जम्मा गरेर दैनिकजसो सभा सम्मेलन गरिरहेका छन्, त्यसैले हिजोको मापदण्ड परिवर्तन गरेरै जानुपर्छ, मन्त्रालय यसमा लागिसकेको छ।”
महामारीबाट थलिएको पर्यटन प्रवर्द्धन आज पर्यटन विटका पत्रकारसँगको छलफल र सुझाव लिँदै पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने कार्यलाई यथाशीघ्र अघि बढाइने बताए। “म ठूलो महत्वकांक्षी आयोजना ल्याउने पक्षमा छैन, जति गर्न सकिन्छ राम्रो गरेर जाने हो, मन्त्री बद्लिए पनि नीतिमा निरन्तरता छ, यसअघिका मन्त्री पनि मेरा सहकर्मी भएकाले कतिपय रणनीतिक महत्वका काम समन्वयकासाथ निरन्तरता दिने पक्षमा छु,” मन्त्री ढकालले भने।
हाल ७२ घन्टे पिसीआर रिपोर्टकासाथ होटल क्वारेन्टिन बस्नुपर्ने झण्झटले विदेशी पर्यटक आवागमनमा असहज भएको भनी व्यवसायीले गुनासो गरिरहेकाबेला पर्यटनमन्त्री ढकालले मापदण्ड खुकुलो बनाउनुपर्ने बताएका हुन्।
पिसीआर नेगेटिभ रिपोर्टले निर्वाध रुपमा घुम्न पाउने र खोपलगाएर आएको विदेशीले सहज रुपमा नेपाल भ्रमण गर्नसक्ने व्यवस्थासहित मन्त्रालयले निर्णय गरी कोभिड– १९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई पत्राचार गरिएको र छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने मन्त्री ढकालले बताए।