वामदेवको एकता अभियानः नेकपाका दुवै समूहको अविश्वास
नेकपाको विभाजनपछि वामदेव गौतमले पार्टी एकता अभियान घोषणा गरे पनि तत्काल एकीकरणको सम्भावना नरहेको दुवै समूहको बुझाइ छ।
नेकपाको विभाजनपछि कुनै समूहमा नदेखिएका वामदेव गौतमले गएको बुधबार आफ्नै नेतृत्वमा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरे। अभियान घोषणा सभामा उनले विपरित दिशातिर फर्केका नेकपाका दुई समूहलाई मिलाएर एकताबद्ध पार्टी निर्माण गर्ने बताए। नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा माधव नेपाल समूहका धेरै नेता आफ्नो अभियानमा समाहित हुने दाबी पनि गौतमले गरे।
तर, दुवै समूहका दोस्रो तहका नेताले समेत गौतमको अभियानलाई महत्व दिएका छैनन्। त्यति मात्र नभइ कार्यकर्ता तहसम्म विभाजनको असर देखिएको छ। गौतमको एकता अभियान धेरै ढिला भइसकेको अधिकांशको निष्कर्ष छ।
दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय पार्टीमा आरोपपत्र दायर गरिएको वेला गौतमले एकताका लागि निर्णायक भूमिका निर्वाह गर्न नसकेको बताउँछन्। उनी भन्छन् “वामदेवजीको एकता अभियान भाले मेवाको बोट जस्तै हो। न फल्छ, न काठ काम लाग्छ। अब दुई पार्टी एक हुनसक्ने सम्भावना नै छैन।”
दुवै समूहका दोस्रो तहका नेताले समेत गौतमको अभियानलाई महत्व दिएका छैनन्। त्यति मात्र नभइ कार्यकर्ता तहसम्म विभाजनको असर देखिएको छ। गौतमको एकता अभियान धेरै ढिला भइसकेको अधिकांशको निष्कर्ष छ।
ओली समूह पनि गौतमको अभियानले कुनै अर्थ नराख्ने बताउँछन्। उक्त समूहका नेता एवम् स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली पवित्र भावनाले नै गौतमले अभियान घोषणा गरे पनि तत्काल परिणाम दिने सम्भावना कम रहेको बताउँछन्। “उहाँले धेरै ढिलो गर्नुभयो। जति वेला पार्टीमा आन्तरिक समस्याहरु उत्कर्षमा थिए त्यति वेला उहाँले निर्णायक ढंगले मुख खोल्दिनुभएको भए स्थिती फरक हुनसक्थ्यो,” ज्ञवाली भन्छन्, “उहाँको भूमिका र क्रियाकलापले नै प्रचण्ड र माधव कमरेडहरुलाई त्यो स्थानमा पुग्नका निम्ति बल पुग्यो।”
तर, एकता अभियान घोषणा सभामा आफूले शुरुदेखि एकता गर्दा भएको सहमति अनुरुप अघि बढ्ने विषयलाई उठाएको गौतमले दाबी गरे। उनले नेतृत्व आलोपालो प्रणाली अवलम्बन गर्ने सहमतिबाट एकता प्रक्रिया अघि बढ्ने बताए।
साढे दुई वर्षअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा ओली र दाहालले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेका थिए। ४ मंसिर २०७६ मा बसेको सचिवालय बैठकले दाहालको प्रस्तावमा पाँच वर्ष नै ओलीले सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियो। “मैले प्रधानमन्त्रीले सहमति अनुरुप काम गर्नु भएन भनेर पार्टीभित्र शुरुदेखि आलोचना गर्दै आएँ, तर दाहालले नै (ओलीलाई) पाँचै वर्ष सरकार चलाउनुस् भनेर कुरा बिगार्नुभयो,” गौतम भन्छन्, “त्यसै वेलादेखि पार्टीमा विभाजनको बीजारोपण भएको हो।”
विभाजनमा ‘वामदेव फ्याक्टर’
पार्टी एकीकरण भएको झण्डै साढे दुई वर्षमा नेकपा विभाजनको स्थितीमा आइपुग्नुमा कुनै विचार वा सिद्धान्त कारण छैनन्। केवल नेताहरुबीचको भागबण्डा र पदीय बाँडफाँडमा विवाद छ। खासगरी नेकपाका शीर्ष नेताहरु प्रधानमन्त्री ओली, दाहाल र नेपालबीचको पदीय भागबण्डाले नै अहिलेको स्थिती आएको हो।
पार्टीमा विवादको प्रवेश भने वामदेव गौतमकै कारण भित्रिएको थियो। १५ फागुन २०७६ को सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गर्यो। प्रधानमन्त्री ओलीको अपेक्षा र अनुमानविपरित उनलाई राष्ट्रिय सभा सदस्य बनाउन दाहाल र नेपालले प्रस्ताव राखेका थिए।
ओली सम्मिलित उक्त बैठकले उक्त प्रस्तावको पक्षमा निर्णय गरे पनि त्यसको दुई घण्टा नबित्दै ओलीले गौतमलाई राष्ट्रियसभामा पठाउन नसक्ने बताए। ओली २१ फागुनदेखि राष्ट्रिय सभाको कार्यकाल सकिन लागेका अर्थमन्त्री युवराज खतिवडालाई नै पुनः सांसद बनाएर अथमन्त्रीका रुपमा नै निरन्तरता दिन चाहन्थे। तर, नौ सदस्यीय सचिवालयका सात जना प्रधानमन्त्रीको योजनाविरुद्ध उभिए। इश्वर पोखरेलले मात्र उनलाई साथ थिए।
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न ओलीले प्रस्ताव गर्दा अस्वीकार गरेकाे दुई महीनापछि नै गाैतम दाहाल र नेपालको प्रस्तावमा राष्ट्रियसभाको सदस्य बन्न तयार भए। त्याे प्रस्ताव आकस्मिक रुपमा सचिवालय बैठकमा पेस हुनुलाई ओलीले षडयन्त्रका रुपमा बुझे।
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न ओलीले प्रस्ताव गर्दा अस्वीकार गरेकाे दुई महीनापछि नै गाैतम दाहाल र नेपालको प्रस्तावमा राष्ट्रियसभाको सदस्य बन्न तयार भए। त्याे प्रस्ताव आकस्मिक रुपमा सचिवालय बैठकमा पेस हुनुलाई ओलीले षडयन्त्रका रुपमा बुझे।
गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णयपछिको नेकपाको विवाद गएको भदौसम्म लम्बियो। पार्टीभित्रको समीकरणका कारण गौतमलाई राष्ट्रिय सभामा पठाउन ओली बाध्य भए। तर, राष्ट्रिय सभाको सदस्य भएर प्रधानमन्त्रीपछिको दोस्रो वरियतामा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गौतमको योजनामा उनको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दा प्रक्रियाले अवरोध गर्यो।
त्यसबीचमा खतिवडाको कार्यकाल सकिएपछि रिक्त अर्थमन्त्रीमा प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई नियुक्त गरे। यो निर्णयबाट गौतम ओलीसँग बिच्किए। अनि दाहाल र नेपालसँग मिलेर ओलीविरुद्ध झन् कडा रुपमा प्रस्तुत भए। गौतमको त्यही प्रस्तुति र सक्रियताले नै दाहालले २८ कार्तिकमा ओलीविरुद्ध विभिन्न आरोप सहितको १९ पेजको प्रस्ताव सचिवालयमा दर्ता गरे।
उक्त प्रस्ताव सचिवालयका आफूसहित झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ गरी पाँचै जना नेताको पनि भएको गौतमले बताएका थिए। ओलीले प्रस्ताव फिर्ताका लागि गरेको आग्रहलाई दाहालभन्दा झन कडा रुपमा गौतमले प्रतिवाद गरेका थिए। उनले प्रधानमन्त्रीको रानीनामासमेत मागेका थिए। नौ सदस्यीय सचिवालयमा ओली अल्पमतमा परे र त्यहींबाट नेकपाको विभाजन प्रक्रिया शुरु भयो।
दाहाल–नेपाल समूहमा रहेका केन्द्रीय नेताहरु नै यदि गौतमले उक्त प्रस्ताव फिर्ता गर्न पहल गरेको भए आज नेकपा र देश यो स्थितीमा नहुने बताउँछन्। आफ्नो नाम उल्लेख नगर्ने दाहाल–नेपाल समूहका एक केन्द्रीय सदस्य भन्छन्, “त्यति वेलै वामदेवजी ओलीतिर लागेको भए सचिवालयमा उहाँको बहुमत पुग्थ्यो, दाहाल आफ्नो प्रस्ताव फिर्ता गर्न बाध्य हुन्थे। पार्टी विभाजनको प्रमुख कारण नै वामदेव हुन्। अहिले एकताको कुरा गरेर के गर्नु?” नेकपाको विभाजनपछि तटस्थ बसेका केन्द्रीय सदस्य लालबाबु पण्डितले त खुल्ला रुपमा पार्टी विभाजनको कारकमध्ये गौतम पनि एक रहेको बताउँदै आएका छन्।
वामदेवले गुमाएको अवसर
निर्वाचनमा पराजय भए पनि वामदेव गौतमलाई नेकपा जोगाउने ठूलो अवसर प्राप्त भएको थियो। तर, उनले त्यसलाई उपयोग नै गरेनन्। बरु पार्टीभित्र अन्य नेताबीच हुने खटपटको कारक नै गौतम बने। यसले गौतमको शाख झनै खस्कायो।
गौतमले अहिले जसरी नेकपालाई एक बनाउने आफ्नो एकमात्र लक्ष्य रहेको बताइरहेका छन्, त्यो अवसर यसअघि नै गुमाइसकेका छन्। उनी एकीकृत नेकपाको संगठन विभाग प्रमुख थिए। त्यतिले नपुगेर उनका लागि विधानमै नभएको उपाध्यक्ष पद खडा गरिएको थियो।
२०७४ सालमा बर्दियाबाट प्रतिनिधि सभाको निर्वाचन हारेपछि उनी फुर्सदिला थिए। फुर्सदको समयमा उनले पार्टी एकीकरणका बाँकी कामलाई देशव्यापी रुपमा टुंग्याउन सक्थे। तर, त्यो अवसरको पनि सदुपयोग गर्नतिर लागेनन्।
ओली समूहका एक अर्का स्थायी कमिटी सदस्यका अनुसार गौतमले पार्टी एकीकरणका बाँकी काम आफ्नो नेतृत्वमा सम्पन्न गर्न देशव्यापी अभियान सञ्चालन गरेर सचिवालयमा पनि खबरदारी गरेको भए आउँदो कार्यकालका लागि प्रधानमन्त्री वा अध्यक्षमा दाबी गर्न सक्ने अवस्था हुन्थ्यो। उनी भन्छन्, “सचिवालयमा बसेर च्याँखे थाप्ने काम गर्नुभयो, कहिले कता कहिले कता। त्यसले आफ्नो हाइटलाई आफैं खसाल्ने काम भयो।”
पार्टी एकीकरण अभियानका सह–संयोजक हरी पराजुली भने गौतमले अन्त्यमा ओली र दाहालको दुई पक्षीय बैठकमा दाहाललाई प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि नमानेको बताउँछन्। “वामदेव कमरेडले शुरुदेखि पार्टीलाई एक बनाउन पहल गर्नुभएको हो, तर उहाँको प्रयासले काम गरेन,” उनी भन्छन्।
गौतम स्वयम पनि आफ्नो प्रयासले नै वैशाखमै फुटिसक्ने पार्टी पुससम्म एक भएर आएको बताउँछन्। “वैशाखमै प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थियो, मैले रोकेको हुँ,” गौतमले केहीदिन अघि एक टेलिभिजन कार्यक्रममा भनेका थिए।