इन्टरनेटमा कसरी गोपनीयता कायम गर्ने ?
आज हामी स्मार्टफोन, स्क्रिनसट, इन्टनेट अफ थिंग्स् (आईओटी) डिभाइस अर्थात् इन्टरनेटमा जोडिएका उपकरण जस्तै घडी, स्पिकर, बत्ती आदिको दुनियाँमा छौं । हामीले प्रयोग गर्ने अधिकांश एप्लिकेसनले हाम्रा गतिविधि ट्रयाक गरेर सारा विवरणहरू (नाम, तस्बिर, भिडियो, ठेगाना, फोन नम्बर, साथीभाइ, आईपी अड्रेस, हाम्रा रुची, तिथिमिति, वित्तीय विवरण आदि) विज्ञापनदाता लगायतलाई बिक्रि गर्ने गर्छन् । यस्तोमा हाम्रो गोपनीयताको के हालत होला ? गोपनीयता भ्रमसरह बनेको छ ।
हालै ह्वाट्सएपले गोपनीयतासम्बन्धी नयाँ नीति सार्वजनिक गरेपछि यसका थुप्रै प्रयोगकर्ता सिग्नल र टेलिग्रामजस्ता साना मेसेजिङ एप्सतिर सरुवा भए । यस विषयले गोपनीयताबारे नयाँ तरंग ल्याइदिएको छ ।
यद्यपि, कुनै पनि नयाँ एप डाउनलोड गर्दा, नयाँ सफ्टवेयर राख्दा वा नयाँ बेवसाइटमा प्रवेश गर्दा हामीहरूमध्ये कतिले तिनको प्राइभेसी पोलिसी (गोपनीयता नीति) बारे ध्यान दिने गरेका छौं ?
“गोपनीयता अब सामाजिक नियम रहेन,” बाहिरफेरो यस्तो अभिव्यक्ति दिने फेसबुक संस्थापक मार्क जुकरबर्ग आफूले भने गोपनीयता खोज्दै क्यालिफोर्नियास्थित पालो आल्टोमा घरजग्गा किनेका छन् !
धेरैजनालाई सामाजिक सञ्जाल वा बेवसाइटहरूमा आफ्ना विवरण वा सूचनाहरू राख्दा के हुन्छ भन्नेबारे जानकारी छैन । जानकारी भए नै पनि आफ्ना व्यक्तिगत विवरण कसरी सुरक्षित राख्ने वा आफ्नो डिजिटल पदचाप कसरी कम गर्ने भन्नेबारे ज्ञान छैन ।
गोपनीयता खासमा योगजस्तै हो । यो अनुशासन मात्रै नभएर जीवनशैली हो । आफ्नो जीवनशैली कसरी व्यवस्थित गर्ने भन्नेबारे जान्न चाहनु हुन्छ भने केही उपाय यस लेखमा उल्लेख गरेको छु ।
वास्तविकता के हो भने इन्टरनेटमा हामी जति धेरै निजी वा सुरक्षित बन्न खोज्छौं, उति नै हाम्रो जीवन असुविधाजनक वा असहज बन्दै जान्छ । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा सजग हुने, मोबाइल फोन र ल्यापटपमा जथाभावी एप्सलाई सबैथोकको एक्सेस नदिने, आईओटी डिभाइसहरूबाट सकेसम्म टाढै बसेमा धेरै हदसम्म सुरक्षित रहन सकिन्छ ।
गोपनीयता खासमा योगजस्तै हो । यो अनुशासन मात्रै नभएर जीवनशैली हो । आफ्नो जीवनशैली कसरी व्यवस्थित गर्ने भन्नेबारे जान्न चाहनु हुन्छ भने केही उपाय यस लेखमा उल्लेख गरेको छु ।
पहिलो कुरा, कुनै पनि ब्राउजरलाई स्वतः पासवर्ड सेभ गर्ने वा व्यवस्थापन गर्ने अनुमति दिनु हुँदैन । सजिलो हुन्छ भन्दैमा कमजोर पासवर्ड राख्ने वा सबैतिर एउटै पासवर्ड प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । धेरैवटा पासवर्ड सम्झिन गाह्रो हुन्छ भने पासवर्ड म्यानेजरको प्रयोग गर्न सकिन्छ । केही निःशुल्क उपलब्ध पासवर्ड म्यानेजरहरूमा लास्टपास, नर्डपास, रिमेम्बियर, बिटवार्डेन र स्टिकी पासवर्ड आदि छन् । म आफू चाहिँ लास्टपास प्रयोग गर्छु ।
अर्को कुरा, कुनै पनि सञ्जाल वा एप्लिकेसनमा सेक्युरिटी क्वेस्चनको उत्तर लेख्दा साँचो कुरा नलेख्नु राम्रो हुन्छ । जस्तो कि– तिनले सोध्ने ‘तिम्रो आमाको विवाहअघिको थर के हो ?’, ‘तिमीले पढेको प्राथमिक विद्यालयको नाम के हो ?’, ‘तिम्रो प्रिय खान कुन हो ?’ जस्ता प्रश्नको उत्तर हाम्रा साथीभाइलाई थाहा हुनसक्छ । तसर्थ, यस्ता प्रश्नको सिधासिधा उत्तर लेख्दा कसैले ह्याक गरिदिन सक्छ ।
आफ्नो वाईफाईको राउटर सुरक्षित छ/छैन भन्नेमा पनि हेक्का राख्नुपर्छ । यसका लागि डब्लुपीएटु सेक्युरिटी प्रयोग गर्नुपर्छ । लग इन गर्ने बेला केही समय व्यतित हुने भए पनि हरेक एप्लिकेसनको टु–फ्याक्टर अथेन्टिकेसन अन राख्नुपर्छ ।
गुगलको ‘माई एक्टिभिटी’ पेजका सबै गतिविधि डिसेबल गरिदिएको राम्रो । बेवसाइटहरूमा आफ्नो ठेगाना नखुलाउनु बेस हुन्छ र सकिन्छ भने लोकेसन ट्रयाकर डिसेबल गरिदिनुपर्छ । सामाजिक सञ्जालमा अपरिचितलाई साथी नबनाउनु, पब्लिक पोस्ट नगर्नु वा पब्लिक पेजहरूमा कमेन्ट नगर्नु बुद्धिमानी हुन्छ ।
सन्देश आदानप्रदानका लागि एसएमएस पनि सुरक्षित माध्यम होइन । सुरक्षाका हिसाबले हिजोआज सिग्नल म्यासेन्जर चर्चित भइरहेको छ । ह्वाट्सएपले सारा सूचना फेसबुकलाई दिन्छ भनेर हल्ला फैलिए पनि खासमा यसमा आदानप्रदान गरिने सन्देश इन्ड–टु–इन्ड इन्क्रिप्टेड अर्थात् प्रेषक र प्रापकबाहेक मध्यस्थकर्ताले बुझ्न नमिल्ने गरी कोडमा परिवर्तन हुन्छ । तसर्थ, यो अझै केही हदसम्म सुरक्षित छ ।
फेसबुक मेसेञ्जर, गुगल ह्यांग्आउट्स र जुम मजाले चलाएर ह्वाट्सएप चाहिँ अनइन्स्टल गर्नुको कुनै अर्थ छैन । कोरोना महामारी शुरु भएपछि चर्चामा आएको जुम अहिले गोपनीयता चुहावटको विवादमा फसिरहेको छ । तपाई साँच्चै गोपनीयताप्रति गम्भिर प्लेटफर्म खोज्दै हुनुहुन्छ भने लिनफोन, जीत्सी मिट र मम्बल प्रयोग गर्न सक्नुहुन्छ ।
गुगल क्रोम, सफारी वा फायरफक्सजस्ता ब्राउजरले हामीलाई ट्रयाक गर्न वा भनौं हाम्रा गतिविधि निगरानी गर्न हाम्रा कम्प्युटरमा कुकिज (स–साना विवरण) जम्मा गरिदिन्छन् । तिनलाई हटाउन टेम्पोररी डेटा क्लियर गर्दै रहनुपर्छ । र, आवश्यक परे इन्कग्निटो मोडमा काम गर्न सकिन्छ । यसमा ब्राउजिङ हिस्ट्री अर्थात् हाम्रा गतिविधि सेभ हुँदैनन् र कुकिज पनि जम्मा हुँदैनन् ।
डकडकगो भन्ने ब्राउजर निकै सुरक्षित मानिन्छ । यसले प्रयोगकर्ताको विवरण जम्मा गरेर विज्ञापनदातालाई बेच्ने काम गर्दैन । स्टार्टपेज डटकम र सियर्स डट मीले पनि गोपनीयता कायम गर्छन् । गुगल सर्चको सट्टा यी प्रयोग गर्दा हुन्छ ।
बिहान उठेदेखि राती सुत्नुअघिसम्म हामी मोबाइलै हेरिरहेका हुन्छौं । यो हामीसँग हरदम सबैभन्दा नजिक रहने भौतिक सामग्री हो । यसकारण मोबाइललाई सबैभन्दा कडा नियन्त्रणमा राख्नु हाम्रा लागि अति जरुरी छ ।
मोबाइलको एप्लिकेसन सेटिङमा गएर तिनलाई के, के कुरा चाहिने हो त्यसका लागि मात्रै अनुमति खुला गरिदिनुपर्छ । अटोमेटिक सफ्टवेयर अपडेट अन राखेको राम्रो किनभने पुरानो भर्सन सुरक्षाका हिसाबले संवेनदनशील हुन सक्छन् ।
एन्ड्रोइड ८.० र आईओएस १४ वाला पछिल्ला फोनहरूमा म्याक अड्रेस अनियमित बनाउन सकिन्छ । यसो गर्दा कतैतिरबाट पनि मोबाइल डिभाइस ट्रयाक गर्न सहज हुँदैन जसका कारण सार्वजनिक स्थलमा उपलब्ध वाईफाईसमेत ढुक्कैले चलाउन सकिने भयो ।
आवश्यक परेको बेलाबाहेक अन्य समयमा ब्लुटुथ, वाईफाई, एनएफसीजस्ता वायरलेस डेटा ट्रान्सफर टेक्नोलजीहरू सबै डिसेबेल गर्नुपर्छ । भएभरका एप्स डाउनलोड नगरेको बेस । जति थोरै एप्स उति धेरै सुरक्षा ! यस मामिलामा थोरै नै धेरै हो भन्ने हेक्का राख्नुपर्छ ।
माथि उल्लेखित सुझावहरू मोबाइल, डेस्कटप, ल्यापटप सबैका लागि उपयुक्त हुन्छन् । कम्प्युटरमा ब्लिचबिट डाउनलोड गरेमा यसले टेम्पोररी डेटा मिल्काउन मद्दत गर्छ । सिस्टम र डिस्क सफा गर्न पनि यसलाई प्रयोग गर्न सकिन्छ ।
स्मार्टवाच, फिटनेस ब्यान्ड, गुगल ग्लास, जीपीएस सुज जस्ता जिउमा लगाउन मिल्ने टेक डिभाइस तथा ग्याजेटहरू गोपनीयताका दृष्टिले स्वस्थकर हुँदैनन् । यीमार्फत् हाम्रा सूचना र विवरणहरू तेस्रो पक्षसम्म पुग्न सक्छन् । ह्याकरका लागि अझ सहज हुन्छ । यिनै डिभाइसमार्फत् हाम्रो फोन र कम्प्युटरभित्र प्रवेश गरेर उनीहरूले सारा विवरण हात पार्न सक्छन् ।
सम्भव छ भने भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवकर्ट प्रयोग गर्नु उत्तम हुन्छ । भीपीएन राखेपछि हाम्रो कम्प्युटर, फोन र अन्य डिभाइसको इन्टरनेटमा पहिचान हुन सक्दैन । यसले हाम्रा सन्देशहरू इन्क्रिप्ट (कोडमा परिवर्तन) गरिदिने भएकाले कसैले इन्टरसेप्ट गरेमा वा चोरिहालेमा पनि तिनले हाम्रा सन्देश पढ्न, बुझ्न सक्दैनन् । इन्टरनेट सेवा प्रदायकले समेत हाम्रा गतिविधि थाहा पाउँदैनन् । केही विश्वसनीय भीपीएनहरूमा सर्फसार्क, प्रोटोन भीपीएन, आईभीपीएन, मलभाड र विन्डस्क्राइब छन् ।