जलवायु परिवर्तन बुझ्न अंग्रेजी जान्नै पर्ने हो ?
जलवायु परिवर्तन सम्बन्धी सामग्री नेपालका सञ्चारमाध्यममा सन् १९९० को दशकदेखि नै देखा पर्न थालेको हो। तर, त्यस समयमा वातावरण ‘बिट’ थिएन। वातावरणभित्र पर्ने जलवायु परिवर्तन झनै उपेक्षित हुन्थ्यो। अहिले पनि जलवायु परिवर्तनलाई प्राथमिकता नदिँदा सञ्चारमाध्यमहरुले आममानिसलाई यो विषय बुझाउन सकेका छैनन्।
नेपालको सञ्चार क्षेत्रमा पछिल्लो दशक मात्रै छुट्टै 'बिट'को रुपमा वातावरण स्थापित भएको हो। वातावरण पत्रकार संघ (नेफेज) ले गरेको एउटा अनुसन्धान अनुसार, छापा पत्रिकामा दुई दैनिक पत्रिका नागरिक र रिपब्लिका ले मात्रै वातावरणका लागि ठाउँ छुट्याएका छन्।
केही वर्षयता जलवायु परिवर्तन सम्बन्धी समाचार सञ्चारमाध्यममा प्रायः देखिन्छ। तीमध्ये धेरैजसो राष्ट्रिय वा अन्तर्राष्ट्रिय घटनासँग सम्बन्धित हुन्छन्। जस्तै प्रतिष्ठित सँस्थाहरुको प्रतिवेदन सार्वजनिक भएपछि वा कोप जस्ता सम्मेलनका वेला वा कुनै उच्चपदस्थ अधिकारीले जलवायु परिवर्तनबारे केही अभिव्यक्ति दिए समाचार बन्छन्।
जलवायु परिवर्तनले नेपालका मानिसमा पारेको असरबारे गरिएको स्थलगत रिपोर्टिङ कमै पाइन्छ। त्यस्ता रिपोर्ट धेरैजसो गैरनेपालीले लेखिरहेका हुन्छन्। जलवायु परिवर्तन सम्बन्धी समाचारको सामग्री पनि समयसँगै बदलिँदै गएको छ। सन् २००० को दशकमा जलवायु परिवर्तन के हो भनेर बुझाउने र त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे समाचार धेरै पाइन्थे। पछिल्लो दशक जलवायु परिवर्तनसँग अनुकूलन गर्नेबारे पनि समाचार आइरहेका छन्।
त्यति हुँदाहुँदै पनि जलवायु परिवर्तनका समाचार कमै देखिन्छन्। किनभने यो विषय अरु नै शीर्षकमा धेरै आउँछन्। नेपालका धेरैजसो सञ्चारमाध्यममा वातावरण संरक्षण र प्राकृतिक प्रकोपबारे समाचार छापिइरहन्छन्। तर, धेरैजसो समाचारले जलवायु परिवर्तनलाई उल्लेख गर्दैनन्।
उदाहरणका लागि, काठमाण्डु पोष्टमा छापिएको हालसालैको बाढीको समाचारमा जलवायु परिवर्तनको उल्लेख छैन।
अनलाइन सञ्चार माध्यमहरुमा पनि जलवायु परिवर्तनमा चासो देखिन्छ। विशेषगरी महिला र आदिवासी समुदायमा जलवायु परिवर्तनको प्रभावबारे लेखहरु देखिन्छन्। अनलाइन सञ्चार माध्यममा पुरुष लेखक जत्ति नै महिला लेखकको संख्या देखिन्छ, जुन मुलधारका सञ्चार माध्यमभन्दा बढी हो।
रेडियोहरुमा पनि वातावरणसम्बन्धी स्थानीय चासोका समाचार आइरहन्छन्, तर धेरैजसो जलवायु परिवर्तनसँग सम्बन्धित हुँदैनन्। ३६० भन्दा बढी सामुदायिक रेडियो आबद्ध भएको सीआईएन (कम्युनिटी इन्फर्मेशन नेटवर्क) को वेबसाइटमा यो प्रवृत्ति देख्न सकिन्छ।
सीआईएनको समाचार कार्यक्रम साझा खबर थुप्रै सामुदायिक रेडियोहरुले बजाउने गर्छन्। साझा खबर का करीब एक चौथाई समाचार वातावरणका विषयमा हुन्छन्। त्यसमा प्राकृतिक प्रकोप, पानी, कृषि, आदि विषय पर्छन्। तर, ती समाचारमा जलवायुको उल्लेख हुँदैन। सन् २०२० को भारी वर्षा र सिन्धुपाल्चोकको पहिरो बारेको रिपोर्टले जलवायु परिवर्तन उल्लेख गरेका छैनन्।
नेफेजको अनुसन्धानले पनि नेपाली सञ्चारमाध्यमको यो प्रवृत्ति पुष्टि गरेको छ। अनुसन्धान भन्छ– गर्मी याम र वर्षा याममा बाढी र पहिरो सम्बन्धी समाचार धेरै देखिन्छन्। शरद ऋतुमा आगलागी सम्बन्धी समाचारले प्राथमिकता पाउँछन्। तर, पत्रिकाहरुले यस्ता प्राकृतिक प्रकोपलाई कसरी कम गर्नेबारे पर्याप्त समाचार र समीक्षा दिएका छैनन्। यी विषयका बारेमा विचार, विश्लेषण र सम्पादकीय छँदै छैनन् भन्दा पनि हुन्छ।
जलवायु परिवर्तन सम्बन्धी समाचार टेलिभिजनमा नियमित रुपमा देखिँदैन। नेपालमा सबैभन्दा बढी दर्शकसम्म पहुँच भएको नेपाल टेलिभिजनमा सन् २०१८/१९ मा वातावरण सम्बन्धी थुप्रै कार्यक्रम प्रदर्शन गरिएका थिए। तर, तीमध्ये कुनै पनि जलवायु परिवर्तनबारे थिएनन्।
“हामीले वन तथा वातावरण मन्त्रालय वा यस क्षेत्रमा काम गर्ने अन्य संघ, सँस्था वा सरोकारवालाहरुसँग मिलेर वातावरण सम्बन्धी कार्यक्रम निर्माण गर्छौं। त्यस्ता कार्यक्रम हामी आवश्यकता अनुसार र लगानी उपलब्ध भएमा बनाउँछौं। तर ती नियमित छैनन् ", नेपाल टेलिभिजनकी कार्यक्रम प्रमुख अलका चुडाल भन्छिन्।
छापा माध्यममा पनि यस्तै हुने गरेको नेफेजको भनाइ छ। नेफेजले वातावरण सम्बन्धी दुईवटा पत्रिका प्रकाशित गथ्र्यो, हाकाहाकी र फेस टु फेस । ब्रिटिश दातृ निकाय डीएफआईडीको सहयोगमा ती पत्रिका धेरै वर्ष चले। तर, दातृ निकायको लगानी रोकिएपछि बन्द भए। “सन् २०१९ देखि हामीले पत्रिका अनलाइन मात्र प्रकाशित गर्न थाल्यौं, किनकी पत्रिका प्रकाशन गर्ने लगानी हामीसँग थिएन," नेफेजका अध्यक्ष कसमस विश्वकर्मा भन्छन्।
अनलाइन सञ्चार माध्यमहरुमा पनि जलवायु परिवर्तनमा चासो देखिन्छ। विशेषगरी महिला र आदिवासी समुदायमा जलवायु परिवर्तनको प्रभावबारे लेखहरु देखिन्छन्। अनलाइन सञ्चार माध्यममा पुरुष लेखक जत्ति नै महिला लेखकको संख्या देखिन्छ, जुन मुलधारका सञ्चार माध्यमभन्दा बढी हो।
नेपाली र अंग्रेजी सञ्चारमाध्यमका सामग्रीमा धेरै फरक छन्। अंग्रेजी सञ्चारमाध्यममा अक्सर यस विषयका विज्ञहरुले लेख्छन्। ती लेखमा बढी प्राविधिक जानकारी पाइन्छ। उदाहरणका लागि, पानीका विषयविज्ञ अजय दीक्षितले नेपाली टाइम्स पत्रिकामा जलवायु परिवर्तनका विविध प्राविधिक विषयमा लेख्ने गर्छन्। तर, नेपाली भाषामा लेखिने अधिकांश समाचार विशेष घटनासँग सम्बन्धित हुन्छन्। ती समाचार गैर विज्ञ पत्रकारले लेख्छन् वा एजेन्सीहरुबाट अनुवादित गरिन्छन्।
यी प्रवृत्तिबाट के देखिन्छ भने जलवायु परिवर्तन सम्बन्धी जानकारी शहर केन्द्रित र अंग्रेजी भाषाका जानकारप्रति लक्षित छ। अंग्रेजी भाषाका सामग्रीले यो विषय बुझ्न धेरै मद्दत गर्छन्, तर ती सामग्री नेपालका धेरैजसो मानिसका पहुँचमा छैन। नेपाली भाषाका सामग्रीमा स्थानीय चासोका विषय वातावरण, कृषि, वन, प्राकृतिक प्रकोप आदिबारे धेरै जानकारी पाइन्छ। तर, त्यसमा जलवायु परिवर्तन सम्बन्धी जानकारी भने कम पाइन्छ।
अंग्रेजी बोल्ने शहरी बासिन्दाका लागि जलवायु परिवर्तनबारे जानकारी लिने अरु पनि बाटो छन्। जस्तै, फिल्म प्रदर्शन र प्राज्ञिक लेखहरु। ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ मा जलवायु सम्बन्धी थुप्रै वृत्तचित्र देखाइन्छन्। केही शुल्क तिरेर पढ्न पाइने प्राज्ञिक लेखहरुमा धेरै विषयबारे विवरण पाइन्छन्।
यी प्रवृत्तिबाट के देखिन्छ भने जलवायु परिवर्तन सम्बन्धी जानकारी शहर केन्द्रित र अंग्रेजी भाषाका जानकारप्रति लक्षित छ। अंग्रेजी भाषाका सामग्रीले यो विषय बुझ्न धेरै मद्दत गर्छन्, तर ती सामग्री नेपालका धेरैजसो मानिसका पहुँचमा छैन। नेपाली भाषाका सामग्रीमा स्थानीय चासोका विषय वातावरण, कृषि, वन, प्राकृतिक प्रकोप आदिबारे धेरै जानकारी पाइन्छ। तर, त्यसमा जलवायु परिवर्तन सम्बन्धी जानकारी भने कम पाइन्छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि त्यस्तै प्रवृत्ती देखिन्छ। ती सञ्चारमाध्यममा सगरमाथा वा हिमालय जस्ता लोकप्रिय विषयमा धेरै रुचि देखिन्छ भने स्थानीय तहमा जलवायु परिवर्तनको प्रभावबारे कमै समाचार देखिन्छ। यस क्षेत्रमा काम गर्ने संस्था आईपीसीसीले सन् २०१९ मा हिमालयहरु पग्लिँदै गरेको विषयमा एउटा प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनलाई द गार्डियन, इण्डियन एक्स्प्रेस, द डिप्लोम्याट, सीएनएन लगायत थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशन गरेका थिए।
नेपाललाई जलवायु परिवर्तनले सबैभन्दा प्रभावित पार्ने १० देशको सूचीमा अक्सर राखिन्छ। तर, जलवायु परिवर्तनबाट पीडित देशका रुपमा नेपालको भनाई भने अन्तर्राष्ट्रिय मञ्चहरुमा कमै देखिन्छ। नेपालमा जलवायु परिवर्तन सम्बन्धी धेरैजसो समाचार गैर नेपाली पत्रकारले लेख्छन्। कुनै कुनै सञ्चारमाध्यमले एजेन्सीका समाचारहरु पनि राख्छन्। अन्ततः नेपाली पत्रकारले लेखेका समाचार निकै कम हुन्छन्। औसत नेपाली मानिसमा जलवायु परिवर्तनको प्रभावबारे समाचार अझ कम लिखन्छन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको यस्तो प्रवृत्तिको प्रभाव नेपालमा देखिन्छ। अनुसन्धानहरुका अनुसार, धेरै मानिसले जलवायु परिवर्तनका प्रभाव थाहा पाइरहेका हुन्छन्, तर त्यसको कारण भने थाहा हुँदैन। प्रायः मानिसले मौसमी घटनामा परिवर्तन, नयाँ किसिमका घाँस, झार र कीराहरुको आगमन, ऋतु शुरु र अन्त्य हुने समयमा परिवर्तन जस्ता जलवायु परिवर्तनका असरलाई याद गरिरहेका हुन्छन्। यस्ता घटनालाई उनीहरुले जलवायु परिवर्तनका नामले भने चिन्दैनन्। आफ्नै तरीकाले बुझिरहेका हुन्छन।
“जलवायु परिवर्तन भन्ने शब्द नै गैर सरकारी सँस्थाहरुको एजेण्डा हो, र यो परियोजनाहरुमा सीमित छ भन्ने बुझाइ रहेको छ। त्यस्ता संस्थाको लगानी भएमा मात्रै काम हुन्छ भन्ने बुझाइ छ," द काठमाडौं पोस्ट् की पूर्व वातावरण पत्रकार प्रगति शाही भन्छिन्।
जलवायु परिवर्तनबारे सीमित बुझाइ सञ्चारमाध्यममा यसबारेमा कम जानकारी हुनुसँग सम्बन्धित छ। पानीसम्बन्धी विज्ञ अजय दीक्षितले यो प्रवृत्ति लामो समयदेखि देखिरहेका छन्। “कोप जस्ता सम्मेलनमा हरेक वर्ष तिनै मानिसहरु जान्छन्, र त्यस्ता विज्ञले प्राविधिक भाषामा बोल्छन्। सञ्चारमाध्यममा लेख लेख्ने उनीहरु नै हुन्छन्। पत्रकारहरुले पनि उनीहरुकै अन्तर्वार्ता लिन्छन्। औसत मानिसले यस विषयमा सजिलै नबुझिने शब्द पढ्नु वा सुन्नु पर्ने हुन्छ। यस कारणले सम्बन्धित निकायहरुको बुझाइ र मानिसहरुको बुझाइमा धेरै फरक परेको छ," दीक्षित भन्छन्।
(सेवा भट्टराई एफसिडिओको आर्थिक सहयोगमा ब्रिटिश काउन्सिल नेपालले सञ्चालन गरिरहेको रोड टु कोप २६ परियोजनाका लागि परामर्शदाता हुन्।)