न लावण्य देश थियो, न राजा नवराज
स्वस्थानी र यस्तै अन्य कथाहरुमा उल्लेख हुने देश, समाज, राजा तथा घटना विवरणलाई इतिहासकै रुपमा ग्रहण गर्नु हाम्रो इतिहासचेतको अभाव हो ।
इतिहासको कक्षा सकिएपछि विद्यार्थीहरुबीच लावण्य देश बारे जिज्ञासा उठेछ। विद्यार्थीहरू शिक्षकका रुपमा रहेको यो पङ्तिकारसँग सोध्न आए ।
मैले लावण्य देश इतिहास नभइ काल्पनिक ‘एकादेशको कथा’ भएको बताए । विद्यार्थीहरू छक्क परे । उनीहरू छक्क पर्नु मेरा लागि नौलो थिएन किनकि इतिहास बारे यस्ता थुप्रै भ्रमपूर्ण बुझाई आम बनेको छ ।
स्वस्थानी व्रतको कथा नेपाली समाजमा, विशेष गरी काठमाडौं उपत्यकामा व्यापक छ । उक्त कथामा लावण्य देश र राजा नवराजको उल्लेख छ । तर, यो इतिहाससम्मत कुरा होइन ।
केही सय वर्षअघि मात्रै रचित यो कथाको ऐतिहासिक महत्व नभए पनि चर्चा र विवादको विषय बन्नुको मूलकारण यसमा रहेको नैतिक तथा धार्मिक सन्देश हो । यो कथाको सिर्जना वा व्रत परम्पराको सुरुवात के कति कारणले कहिलेदेखि भयो भन्ने खोजी हुनसक्छ तर कथाकै ऐतिहासिकता पुष्टि गर्ने कुनै पनि स्रोत, सामग्री उपलब्ध छैन ।
स्वस्थानी र यस्तै अन्य कथाहरुमा उल्लेख हुने देश, समाज, राजा तथा घटना विवरणलाई इतिहासकै रुपमा ग्रहण गर्नु हाम्रो इतिहासचेतको अभाव हो ।
नेपाली समाजमा कतिपय पढेलेखेका तथा जिम्मेवार निकायमा पदासिन व्यक्तिहरु समेत काल्पनिक कथाकहानी र इतिहासको भेद छुट्याउने जमर्को गर्दैनन् । इतिहासका अध्येताहरूका अनुसार रामायण, महाभारत दुई महाकाव्य पनि साहित्यिक आख्यान नै मान्दछन्, ऐतिहासिक घटना होइन । यी दुई महाकाव्यसँग सम्बन्धित कुनै पनि कुराको ऐतिहासिक तथा पुरातात्विक दृष्टिले पुष्टि हुनसकेको छैन बरु त्यसको ‘हाइपोथेसिस’मा गर्ने अध्ययनले अरु नै कुरालाई प्रकाश पार्ने गर्दछ ।
केही अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले रामायणमा वर्णित राज्य अयोध्या भारतमा नभएर नेपालको चितवनतिर रहेको दाबी गरे । यसको मुख्य आधार रामायणमा वर्णित जनकपुर र अयोध्याको दूरी थियो । तर वास्तविकता त के हो, जनकपुरस्थित जानकी मन्दिर स्वयं ऐतिहासिक तथा पुरातात्विक दृष्टिले पुष्टि भइसकेको छैन ।
भारतमा भनिएको अयोध्याले पच्चीस सय वर्षअघिसम्म आफ्नो पहिचान स्थापना गर्न सकेको थिएन । गौतम बुद्ध (इ.पू. ५६३–४८३)को समयमा यो भूमि निर्जन स्थल थियो भने पछि नगर विकासका क्रममा यसको नाम साकेत राखिएको थियो । अयोध्या भनिएको स्थान बाबरी मस्जिद हो अथवा राम जन्मभूमि भनेर पुरातात्विक उत्खनन् गर्दा पनि अध्येताहरु बुद्धको समयभन्दा अगाडि जान सकेनन् । यसको अर्थ त्यसअघि त्यहाँ कुनै मानवीय गतिविधि नहुनु हो ।
महाभारतमा वर्णित पाण्डव गुप्तवास बसेको, विराट राज्यका सेनापति किचकलाई भीमद्वारा वध गरिएको स्थल भनिएको झापाको किचकबधलाई सोही रुपमा पहिचान दिलाउन तथा प्रमाणित गर्न प्रत्येक वर्षजस्तो पुरातात्विक उत्खनन् गराइन्छ । तर, यो भूमिको इतिहास पनि दुई हजारवर्षभन्दा पुरानो देखिन्न ।
काठमाडौं उपत्यका तथा वरिपरि कुनै बेला किराँत राज्य भएको र भारतबाट आएका लिच्छवि शासकहरुले आक्रमण गरी उनीहरूलाई पूर्वतर्फ धपाएको भन्ने कथन पुष्टि गर्ने ऐतिहासिक आधार पनि अहिलेसम्म भेटिएको छैन । यो कुराको केही संकेत वंशावलीमा पाइए पनि यसलाई ऐतिहासिक सामग्रीका रुपमा मान्यता प्राप्त छैन । बरु लिच्छविभन्दा अघि यहाँ बर्मा थरका राजाहरुले राज्य गरेको कुरा ऐतिहासिक रुपमा पुष्टि भएको छ ।
लिच्छविहरुले उपत्यकामा एक्कासी आक्रमण गरेकोे नभएर यहाँ स्थायी बसोवास गरेरै आफ्नो स्थिति सुदृढ बनाएको र क्रमशः शासन सत्तामा हात हालेको पुष्टि हुन्छ । ऐतिहासिक स्रोतहरुको अध्ययनबाट बर्मा वा लिच्छविहरुअघि नै काठमाडौंमा एउटा सम्पन्न र व्यवस्थित शासन व्यवस्थाको विकास भइसकेको देखिन्छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न राज्यमाथि विजय प्राप्त गर्दै राज्य विस्तारका क्रममा तामाङ राज्यहरु पनि मासेको कुरा सुन्न पाइन्छ । तर तामाङ राज्य भनेर छुट्टै वा स्वतन्त्र राज्यहरुको अस्तित्व देखाउने ऐतिहासिक सामग्री अझसम्म पाइएको छैन ।
स्वतन्त्र राज्य बन्न त्यहाँ राजा वा शासक हुनुपर्दछ र ति शासकले अन्य राज्यसँग सोही हैसियतमा सन्धि–सम्झौता गरेको पनि देखिनु पर्दछ । बरु तामाङ राज्य भनिएका भूभागहरु मल्ल राजाहरुको अधिनमा रहेको र स्थानीय अधिकारी नियुक्त गरेको देखिन्छ ।
तामाङ राजाका रुपमा अगाडि सारिने रिञ्जिङ दोर्जेले पनि राजाको हैसियतले कुनै अन्य शासकसँग सम्पर्क राखेको वा काम गरेको पाइँदैन । पृथ्वीनारायण शाहका सेनासँग उनको लडाइँ हुँदा उनी तिमाल क्षेत्रका स्थानीय अधिकारी मात्रै थिए ।
काठमाडौं उपत्यकाभित्रकै कीर्तिपुर पनि अन्यजस्तै एक स्वतन्त्र राज्य थियो भन्ने कतिपयको बुझाइ छ । तर कीर्तिपुरसँगै मकवानपुरको ठूलो भूभाग पाटन राज्यअन्तर्गत पर्दथ्यो ।
पाटनका राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले आफू राजा हुन नपाउँदै जीवन बित्ने हो कि भन्ने आशंकाले बाबुविरुद्ध विद्रोह गरी राज्य टुक्र्याएका थिए । त्यसपछि उनी कीर्तिपुरमा बस्न आएको त पाइन्छ तर त्यसको ७२ दिनपछि नै राजा सिद्धिनरसिंहले छोराको नाममा गद्दीत्याग गरेका थिए ।
लायकू शब्दले राजदरबार अवस्थित क्षेत्र भन्ने अर्थ दिन्छ र यो एउटै राज्यभित्र एकभन्दा बढी पनि हुनसक्छ । कीर्तिपुरमाथि गोरखाको आक्रमण हुँदा यहाँ स्थानीय शासक मात्रै थिए । ‘कीर्तिलक्ष्मी’ को नामबाट स्थानीय समाजमा चर्चित पात्र र उनी बारे जति काम भएपनि ति पात्र बारे पुष्टि गर्ने आधिकारिक सामग्री पनि पाइएको छैन ।
इतिहास बन्न प्रमाण र पुष्टि हुनुपर्छ । कुनै पनि ऐतिहासिक स्रोत, सामग्रीले पुष्टि नगरेसम्म त्यसले इतिहासको मान्यता पाउँदैन । तर, हामीकहाँ जुनसुकै कुरालाई इतिहास भनिहाल्ने, त्यसमा गौरव गर्दै इतिहास संरक्षणका नाममा स्रोतसाधन परिचालन गर्ने गलत प्रवृत्ति हावी छ ।