अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई आफैं उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश
अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफैँ उपस्थित भएर जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ।
प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले कारबाहीको माग गर्दै निवेदन दिएका थिए। आज डा. मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतमै आएर जवाफ दिन आदेश दिएको हो।
निवेदक आचार्य र न्यौपानेले प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा बोलेका तीन वटा विषयलाई आधार बनाएर अवहेलनामा मुद्दा हालेका थिए। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गरेपछि ओलीले ‘बूढो बाजे वकीलले तमासा गरेको’ बताएका थिए। त्यस्तै उनले उक्त मुद्दाको बहसलाई पनि ‘वकीलहरुले फिटेको फिटै छन्’ भनेका थिए।
प्रतिनिधि सभा विघटनको मुद्दा विचाराधीन भए पनि ओलीले ‘अदालतले पुनःस्थापना गर्नै नसक्ने’ बताएका थिए। यी विषयलाई लिएर उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो।
त्यसैगरी अदालतको अवहेलनामा चार पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण शर्मा र सुशीला कार्की तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पनिे आफैँ अदालतमा उपस्थित भएर जवाफ दिन सर्वोच्चले आदेश दिएको छ। चार न्यायाधीशले विज्ञप्ति प्रकाशन गरी गलत धारालाई आधार बनाएर प्रतिनिधि सभा विघटन गरिएको उल्लेख गरेका थिए।
पूर्व सभामुख दमननाथ ढुंगानाले भने प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै भएको विरोध सभामा ‘संसद पुनःस्थापना नभए जनताले न्यायाधीशलाई सडकबाट तान्ने’ अभिव्यक्ति दिएका थिए।