रोकिएन क्यान्सरको औषधि लौठसल्लामाथि वनस्पति विभागको ‘ताण्डव नृत्य’
संसारमै पहिलोपटक नेपालबाटै रेकर्ड गरिएको लौठसल्लाको प्रजाति ट्याक्सस् माइरेई अहिले भए, नभएको बारे सरकारी अधिकारकै फरक मतका कारण क्यान्सरको औषधिमा उपयोगी यो वनस्पतिको खेती गर्ने किसान मात्र होइन वनस्पति विज्ञानका विद्यार्थीसमेत अन्योलमा परेका छन् ।
सन् २०१२ मा वनस्पतिविद् रामचन्द्र पौडेलले चीनको एक विश्वविद्यालयबाट ‘हिन्दुकुश क्षेत्रको लौठसल्लाका अवस्थिति’ विषयमा विद्यावारिधी गर्ने क्रममा नेपालमा लौठसल्लाको एक प्रजाति ट्याक्सस् माइरेई पाइने खुलासा गरे । त्यसअघिसम्म नेपालमा ट्याक्सस् कन्टोर्टा र ट्याक्सस् वालिचियना पाइने जानकारी मात्र थियो ।
पौडेलले काभ्रेपलाञ्चोकमा भेटिएको लौठसल्लाको नमूनाको डिएनए अध्ययनमा ट्याक्सस् माइरेई पत्ता लागेको थियो । नेपालमा लौठसल्लाको नयाँ प्रजाति पाइएको जानकारी सहितको आलेख अनलाइन ‘प्लोज वन’ जर्नलमा १२ अक्टोबर २०१२ मा प्रकाशित भयो ।
यो खबर नेपालका लागि दुई कारणले सुखद थियो । पहिलो, नेपालमा लौठसल्लाको यो प्रजाति रहेको न्युन आशंंका थियो, त्यसलाई यसले पुष्टि गर्याे । दोस्रो चाँहि ट्याक्सस् कन्टोर्टा र ट्याक्सस् वालिचियनामा भन्दा ट्याक्सस् माइरेईमा क्यान्सर उपचारमा प्रयोग हुने रसायन ट्याक्सोलको मात्रा बढी हुन्छ ।
तर, उतिबेलै नेपालकै एकाध वनस्पतिविद्ले पौडेलले ‘जंगलबाहिर रोपिएको नमूनालाई नै प्राकृतिक अवस्थामा पाइन्छ भनि गलत तथ्य सम्प्रेषण गरेको’ भन्ने आरोप लगाए । त्योबेला उनीहरुको ठहर थियो–नेपालमा प्राकृतिक रुपमा ट्याक्सस् माइरेई पाइँदैन ।
आठ वर्षपछि अहिले तिनै वैज्ञानिक नेपालमा रोपिएको वा प्राकृतिक कुनै पनि आधारमा नेपालमा ट्याक्सस् माइरेई नपाइएको निष्कर्ष सहितको हालैमात्र एक पुस्तक नै प्रकाशित भएको छ, जसमा सरकारको पनि मतैक्य छ ।
वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग मातहतको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरीले सन् २०२० को अक्टोबरमा प्रकाशित गरेको ‘अ ह्याण्डबूक अफ द जिम्नोस्पर्मस् अफ नेपाल’ पुस्तकका अनुसार, नेपालको सल्लाका २१ प्रजाति र ८ भेराइटी छन् । पुस्तकमा ट्याक्सस् माइरेईकाे नाम भने छैन । ट्याक्सस् माइरेईलाई ‘ट्याक्सस् वालिचियना भेराइटी माइरेई’ भनिएको छ । यस पुस्तकका लेखक हुन्– केशवराज राजभण्डारी, लज्मिना जोशी, रिता क्षेत्री र सुभाष खत्री ।
तर, सन् २०१७ जनवरीमै राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाकै अनुसन्धानकर्ताहरूले मकवानपुरको प्राकृतिक जंगलमा लौठसल्लाको प्रजाति ट्याक्सस् माइरेईको प्रशस्त रुख फेला पारेका थिए । यसैको आधारमा अप्रिल २०१७ अप्रिलमा ‘नेपालका लौठसल्ला’ शीर्षक पुस्तक प्रकाशित भएको थियो ।
गंगादत्त भट्ट, रामचन्द्र पौडेल, तीर्थराज पाण्डेय र रमेश बस्नेतलिखित उक्त पुस्तकमा नेपालमा ट्याक्सस् कन्टोर्टा, ट्याक्सस् माइरेई र ट्याक्सस् वालिचियना पाइने लेखिएको छ ।
यो लेख नेपालमा ट्याक्सस् माइरेई छैन भन्ने कतिपय वनस्पतिविद्हरूको ठोकुवा किन र कसरी अवैज्ञानिक छ भन्नेमा केन्द्रीत छ ।
विश्वमै पहिलोपटक नेपालमै भेटिएको थियो माइरेई
ट्याक्सस् माइरेई वनस्पतिको नमूना सर्वप्रथम डब्लूआर प्राइसले सन् १९१२ मा चीनबाट संकलन गरेका थिए । सन् १९१४ मा यसको नाम सुगा माइरेई राखियो। तर, सुगा माइरेईको विवरण सुगा जातिसँग मेल खाएन।
सन् १९६० मा यसलाई सुगा जातिबाट ट्याक्सस् जातिमा स्थानान्तरण गरियो र नाम दिइयो– ट्याक्सस् माइरेई । तर, बेलायतको रोयल बोटानिकल गार्डेनका डा. मार्क वाट्सन भने ट्याक्सस माइरेई चीनमा भन्दा अघि नेपालमा पाइएको बताउँछन् । उनका अनुसार, नाथानियल वालिचले नेपालको लौठसल्लाको प्रजातिलाई अनुसन्धान जर्नलमा प्रकाशित गरे पनि नेपालबाट लौठसल्लाको नमूना संकलन गर्ने चाहिं फ्रान्सिस ब्यूकानन् ह्यामिल्टन हुन् ।
वाट्सनका अनुसार, ह्यामिल्टनले यी नमूना १६ अक्टोबर १८०२ र २१ जनवरी १८०३ मा संकलन गरेका थिए, जसलाई उनले ट्याक्सस् लोस्वा (नेवारी शब्द) नाम राखेका थिए । तर, त्यसको प्रकाशन भने हुन सकेन।
सन् २०१८ मा वाट्सनले ब्यूकाननको उक्त नमूना अध्ययन गर्ने मौका पाए । उक्त नमूना ट्याक्सस् माइरेई भएको पत्ता लाग्यो । “यस हिसाबमा ट्याक्सस् माइरेई विश्वमै सबैभन्दा पहिले नेपालबाट संकलन भएको देखिन्छ”, वाटसनले यसलेखकसँग भनेको छन्, “ ह्यामिल्टनले नामकरण गरेको त्यो नमूना त्यहीबेला प्रकाशित भएको भए आज ट्याक्सस् माइरेईको वैज्ञानिक नाम ट्याक्सस् लोस्वा हुने थियो ।”
भ्रमको खेती
ट्याक्सस् माइरेईलाई ट्याक्सस् वालिचियना भेराईटी माइरेई भनिदिँदा के त्यस्तो फरक पर्छ र ? नाम पनि उस्ताउस्तै छ । बोट पनि केही हदसम्म उस्तै देखिन्छ । कतिपय पाठक मात्र होइन विद्यार्थीहरूलाई पनि यस्तै लाग्नसक्छ।
तर, वनस्पति विज्ञानका अनुसार यी प्रष्टरुपमा फरक दुई प्रजाति हुन् । उदाहरणका लागि झण्डै ध्वाँसे चिुतवा र चितुवा जत्तिकै । नचिन्नेले त ध्वासे चितुवालाई नै चितुवा भन्छन् । कसैले चिुतवालाई ध्वासे चितुवा भनेर लेख्यो भने जंगलमा चितुवा स्वरुप र आनीबानी फरक परिहाल्ने पनि होइन । यस्तै ट्याक्सस् माइरेईलाई ट्याक्सस् वालिचियना भेराईटी माइरेई लेखिदिदा तिनीहरुमा रहेको ट्याक्सोलको मात्रा घटबढ हुने होइन ।
गम्भीर कुरा चाँहि, पछिल्लो पुस्तकका आधारमा ट्याक्सस् माइरेईलाई ट्याक्सस् वालिचियना भेराइटी माइरेई लेखिँदा कृषक परिबन्दमा पर्छन्, आम्दानीबाट बञ्चित हुन्छन् । राज्यले पनि आयश्रोत गुमाउँछ । वनस्पति तथा वन विज्ञानका विद्यार्थी दिग्भ्रमित हुन्छन । सरकारको वैज्ञानिक अनुसन्धानप्रति अन्तर्राष्ट्रिय रुपमा सन्देह उत्पन्न हुनसक्छ ।
वास्तविकता के हो त ? यसबारे वनस्पति विज्ञानमा प्रयोग हुने केही शब्दहरु– प्रजाति, उप–प्रजाति, भेराइटी र फर्माबारे सामान्य जानकारी हुनु आवश्यक छ ।
एउटा भूगोलको कुनै एक प्रजाति अर्कै भूगोलमा फरक स्वरुपको हुन सक्छ । फरक निकै भएमा त्यसलाई उप–प्रजाति मानिन्छ । थोरैमात्र फरक भए भेराइटी अनि त्योभन्दा पनि कम फरक भए फर्मा मान्ने चलन छ ।
वनस्पतिको वैज्ञानिक नामाकरण विधि जन्तु नामाकरणको तुलनामा फितलो भएको चाँहि साचो हो । यसकारण नामाकरणमा त्रुटि भइरहन्छ । तर, यसमा बदनियत भने हुनुहुँदैन ।
ट्याक्सस् वालिचियना भेराइटी माइरेईको पहिलोपटक नामाकरण चीनमा भएको देखिन्छ । सन् १९९७ मा प्रकाशित लि नानलिखित ‘नोट्स अन् जिम्नोस्पर्मस् वनः ट्याक्सोनोमिक ट्रिटमेन्ट्स अफ सम चाइनिज कोनिफर्स’ लेखमा चीनबाट सल्लाका दुई प्रजातिसहित अन्य ११ भेराइटी र तीन फर्मा पत्ता लगाइएको विवरण छ । यसमा नेपालसँग सम्बन्धित ट्याक्सस वालिचियना भेराइटी माइरेई र ट्याक्सस् फुवना छन् । यही जानकारी सन् १९९७ मा प्रकाशित ‘फ्लोरा अफ चाइना, भाग–४’ मा पनि समावेश छ ।
तर, नानले गरेको यो नामाकरण एउटा (ल्यारिक्स पोन्टानिनी भेराइटी चाइनेन्सिस्) बाहेक सबै गलत पुष्टि भइसकेको छ । यसको जानकारी रोयल बोटानिक गार्डेन्स क्यु, लन्डनको प्लान्टस् अफ द वल्र्ड अनलाइन पोर्टलमा हेर्दा थाहा हुन्छ । यसबाट नानले नामाकरण गरेको ट्याक्सस् वालिचियना भेराइटी माइरेई पनि गलत भएको पुष्टि हुन्छ ।
अन्य प्रकाशनहरूले पनि ट्याक्सस् वालिचियना भेराइटी माइरेई सही ठान्दैन । नेदरल्याण्ड्सका प्रख्यात सल्लाविज्ञ एल्जोस फार्जाेनलिखित ‘अ ह्याण्डबूक अफ द वल्र्डस् कोनिफर्स’ (सन् २०१० र २०१७) पुस्तकमा यो सल्लाको वैज्ञानिक नाम ट्याक्सस माइरेई नै लेखिएको छ (पृष्ठ १०१४–१०१६) । ‘फ्लोरा अफ ताइवान’ पुस्तकमा पनि ट्याक्सस् माइरेई नै लेखिएको छ ।
यसैगरी, नानले पत्ता लगाएको ट्याक्सस् फुवना सन् १८४८ मै ज्ञात भइसकेको ट्याक्सस् कन्टोर्टा थियो । ‘फ्लोरा अफ चाइना’ मा पट्याक्सस् फुवना नै लेखिएको भए पनि ‘अ ह्याण्डबूक अफ जिम्नोस्र्पम्स् अफ नेपाल’ मा ट्याक्सस् फुवनाको साटो ट्याक्सस् कन्टोर्टा लेखिएको छ । तर, आश्चर्य चाँहि के छ भने ट्याक्सस् माइरेईको सन्दर्भमा भने नानकै लेखलाई प्रमुख आधार मानिएको छ ।
रोचक चाँहि राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाले नै सन् २०१५ जनवरीमा प्रकाशित गरेको केशवराज राजभण्डारी, गंगादत्त भट्ट, रिता क्षेत्री र संजीवकुमार राईलिखित ‘क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस्, सप्लिमेन्ट– १’ मा समेत नेपालमा ट्याक्सस् माइरेई पाइने (प्राकृतिक जंगलमा होइन, रोपेको अवस्थामा छ) भन्ने लेखिएको थियो ।
सन् २०१७ मा प्रकाशित ‘नेपालका सल्ला’ (सन् २०१७) पुस्तकमा त अझ नेपालमा ट्याक्सस् माइरेई पाइने मात्र होइन सचित्र बयान समेत गरिएको छ । पुस्तकमा यो प्रजाति मकवानपुरको प्राकृतिक जंगलको १६ भिन्न ठाउँबाट संकलन गरिएको र नमुना समेत गोदावरीमा संग्रह गरिएको जनाएको छ । यस्तैं, काभ्रेप्लान्ञ्चोक, सिन्धुली, दोलखाबाट संकलन गरिएका माइरेईका १७ वटा नमुना संग्रह पनि गोदावरीमै राखिएको जानकारी दिइएको छ ।
आफ्नै अनुसन्धान र प्रमाणित तथ्यलाई वनस्पति विभाग किन स्वीकार्न तयार छैन ? किन गलत सिद्ध भइसकेको तथ्यलाई नै आधार मानेर तथ्य तोडमतोड गर्ने प्रयास गर्दैछन् ? किन विभागका वैज्ञानिकहरू ट्याक्सस् माइरेईप्रति भ्रमको खेती गरिरहेका छन् ? जवाफ माग्नुपरेको छ ।
भ्रमको असर
ट्याक्सोल क्यान्सर उपचारमा प्रयोग गरिने रसायन हो । सन् १९६२ मा अमेरिकामा लौठसल्लाको ट्याक्सस् बे्रविफोलिया प्रजातिको काण्डको बोक्राबाट यो रसायन पत्ता लागेको थियो । सन् १९९२ यता यो रसायन प्रयोगगरी बनाइएका औषधि स्तन, फोक्सो र पाठेघरको क्यान्सर उपचारमा प्रयोग हुन्छ ।
औषधीय गुण र बिक्री हुने भएकै कारण नेपालमा जडिबुटी खेतीपाती गर्ने तथा सामुदायिक वनका प्रतिनिधि लौठ सल्ला प्रति आकर्षित छन् । ट्याक्सस् माइरेई र ट्याक्सस् वालिचियनाको पात तथा मुन्टा क्रमशः प्रतिकेजी २८० र २०० रुपैयाँ जतिमा जंगलमै बिक्री हुन्छ । ट्याक्सस कन्टोर्टामा ट्याक्सस् वालिचियनामा भन्दा कम मात्रामा ट्याक्सोल रसायन पाइन्छ । त्यसैले यसको किनबेच नगन्य मात्रामा हुन्छ।
ललितपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका दर्जनौं नर्सरीमा ट्याक्सस् माइरेईको कटिङबाट बिरुवा उत्पादन गरिएको छ । नवलपरासीमा यसको रसायन प्रसोधन गर्ने उद्योग नै स्थापना भएको छ । उषा तण्डुकार, सज्जद आलम र प्रमेशबहादुर लाखेलिखित एक अनुसन्धानात्मक लेखका अनुसार, अनुसार, जुन र नोभेम्बरमा माइरेईको संकलित पात तथा मुन्टामा बढी रसायन हुन्छ ।
नेपाल सरकार दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धी (साइटिस) पक्ष राष्ट्र हो । यसैले, सरकारले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३’ जारी गरेको छ । ऐनको दफा ३७ अनुसार ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली २०७६’ पनि जारी भइसकेको छ ।
विश्व प्रकृति संरक्षण संघ (आइयूसीएन) का अनुसार, ट्याक्सस् कन्टोर्टा र ट्याक्सस वालिचियना इन्डेजर्ड अर्थात् संकटापन्न प्रजाति हुन् । वनस्पति विभागले सन् २०१७ मा प्रकाशित गरेको ‘चेकलिष्ट अफ साईटिस लिष्टेड फ्लोरा अफ नेपाल’ पुस्तिकामा ट्याक्सस् फुवना र ट्याक्सस् वालिचियना साइटिस अनुसूची २ मा सूचिकृत छ ।
‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली, २०७६’ अनुसार, अब लौठसल्ला संकलन गरी बिक्री वितरण गर्ने आधार लगभग समाप्त भएको छ । किनभने सरकारी प्रकाशनले नेपालमा ट्याक्सस माइरेईलाई ट्याक्सस् वालिचियना भेराईटी माइरेई बनाएको छ । यो भनेको साईटिसको अनुसूचीमा भएको ट्याक्सस् वालिचियना नै हो ।
अब जंगलमा लौठसल्लाका हाँगा, पात संकलन गर्न नपाइने भएको छ । नियमावली अनुसार, बोटबाट मुन्टासहितको हाँगाबिगा काट्न त परको कुरा विश्वविद्यालयमा अध्ययन गर्न पात सहितको एक फिट जति लामो सानो हाँगोको नमुना संकलन गर्न, पनि सरकारको अनुमति लिनु पर्छ ।
वैज्ञानिकद्वारा नै विज्ञानकाे नै वेवास्ता
‘नेपालको लौठसल्ला’ पुस्तकमा नेपालबाट संकलन गरिएको ट्याक्सस् माइरेईको नमुना डिएनए अध्ययन अनुसार बारकोडिङ गरिएको तस्बीरसमेत राखिएको छ। प्रजाति विशेषको बारकोडिङ संसारका विभिन्न देशबाट संकलन गरेको नमुनासँग लगभग उस्तै हुन्छ । यसहिसाबमा ट्याक्सस् वालिचियनाको बारकोडिङ फरक देखिन्छ, जुन पुस्तकमा स्पष्ट देखिन्छ ।
तर, वनस्पति विभागले गत अक्टोबरमा मात्र प्रकाशित ‘अ ह्याण्डबूक अफ जिम्नोस्पर्मस् अफ नेपाल’का लेखकहरूले बारकोडिङ समेतलाई नजरअन्दाज गरेको देखियो । पुस्तकमा ट्याक्सस् माइरेई भन्न नमिल्ने गरी पातको आकार मात्र अलिकति फरक रहेको बताइएको छ ।
डिएनए अध्ययनको नतिजा नै प्रस्तुत भइसकेको अवस्थामा ‘पात अलिकति घुमेको छ’ भनेर लेखिनुको अर्थ हुँदैन । तर, दक्षिणएसियामै वनस्पति नामाकरण, व्याख्या र वर्गीकरणमा अग्रणी स्थान बनाएका वरिष्ठ वनस्तपतिविद् केशवराज राजभण्डारी नै प्रमुख लेखक रहेको पुस्तकमा यस्तो भ्रामक जानकारी कसरी समावेश हुनपुग्यो ? चिन्ताको विषय बनेको छ । यसले वन मन्त्रालयको दक्षतामा पनि प्रश्नचिन्ह खडा गरेको छ ।
बोटानिकल सोसाइटी अफ नेपालले सन् २०२० को फेब्रुअरीमा मोहन शिवाकोटी, प्रमोदकुमार झा, संगीता राजभण्डारी र संजीवकुमार राई सम्पादित ‘प्लान्ट डाइर्भसिटी इन् नेपाल’ पुस्तक प्रकाशन गर्याे। पुस्तकमा केशवराज राजभण्डारी, लाज्मिना जोशी, सुभाष खत्री र रिता क्षेत्री लिखित ‘जिम्नोस्पर्मस् अफ नेपालः स्टेटस् एण्ड डिस्ट्रिब्युसन’ शीर्षक लेख पनि समावेश छ । यो लेखमा पनि ‘नेपालमा ट्याक्सस् माइरेई छैन’ भनिएको छ ।
२२ सावन २०७७ मा हिमालखबर डटकममा यो पंक्तिकारकै क्यान्सरको औषधि लौठसल्लामा विज्ञहरुकै 'लपनछपन' शीर्षकको लेख छापियो । लेख त्यतिबेला प्रकाशित भयो, जतिबेला ‘अ ह्याण्डबूक अफ जिम्नोस्पर्मस् अफ नेपाल’ प्रकाशनको क्रममा थियो ।
प्रकाशोन्मुख पुस्तकमा ट्याक्सस् माइरेई सम्बन्धी विवाद सुल्झाउनुपर्ने दायित्वबोध गर्दै वनस्पति विभागले त्रिभुवन विश्वविद्यालय, वनस्पति विभागको पूर्व विभागीय प्रमुख तथा वनस्पति समाज नेपाल अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षमा पाँच सदस्यीय सुझाव समूह गठन ग¥यो ।
लौठसल्ला बारे शिवाकोटी सुझाव समूह (कार्यदल) नयाँ भने थिएन । २०७२ सालमै तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालयका सह–सचिव डा. खेम भट्टराईको संयोजकत्वमा नेपालमा कुन कुन प्रजातिको लौठ सल्ला पाइन्छ भन्ने थाहा पाउन पाँच सदस्यीय अध्ययन कार्यदल बनेको थियो । त्यसबेला प्रजातिका अलावा सुल्झाउनुपर्ने अर्को समस्या पनि थियो, त्यो थियो– नेपालमा पाइने भनिएको ट्याक्सस् बाकटा ।
वन नियमावली २०५१ को तेस्रो संशोधन २०६२ मा ट्याक्सस् बाकटाको पात,डाँठ,सिन्का निकासी दस्तुर प्रतिकेजी २५ रुपैयाँ लेखिएको थियो । त्यही नियमावली २०७० सालमा चौथो संशोधन भयो । त्यसबेलासम्म नेपालमा अर्को लौठ सल्ला प्रजाति थपिएको थियो– ट्याक्सस् वालिचियना । ट्याक्सस् वालिचियनाको निकासी दस्तुर पनि प्रतिकेजी २५ रुपैयाँ नै लेखिएको थियो ।
तर, यो लेखकले अध्ययनमा नेपालमा कहिल्यै ट्याक्सस् बाकटा पाइएको छैन । एशियामा इरानसम्म पाइने यो युरोपेली प्रजातिबारे यो लेखकको एक लेख एक राष्ट्रिय दैनिकमा पनि प्रकाशित भयो ।
डा. भट्टराई नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन अनुसार १० साउन २०७२ मा वन मन्त्रालयको सचिवस्तरिय निर्णयबाट नेपालमा लौठसल्लाका तीन प्रजाति ट्याक्सस् कन्टोर्टा, ट्याक्सस् माइरेई र ट्याक्सस् वालिचियना पाइने निष्कर्ष निकालियो ।
२५ कार्तिक २०७२ मा वन नियमावली २०५१ को पाँचौ पटक संशोधन भयो । संशोधनमा ट्याक्सस् कन्टोर्टा, ट्याक्सस् माइरेई र ट्याक्सस् वालिचियनाको निकासी दस्तुर प्रतिकेजी ३० रुपैयाँ लेखियो ।
अहिले सरकारले वन ऐन २०७६ जारी गरेको छ । ऐन अनुरुप नयाँ नियमावली पनि चाँडै बन्ने पक्का छ । नियमावली जारी गर्नु अघि लौठसल्लाका प्रजातिबारे मन्त्रालयलाई आधिकारिक जानकारी गराउने निकाय वनस्पति विभाग नै हो । तर, अहिले विभागकै प्रकाशनमा ट्याक्सस् माइरेईले ठाउँ पाएको छैन । त्यसको अर्थ अब नेपालमा लौठसल्लाका दुई प्रजाति ट्याक्सस कन्टोर्टा र ट्याक्सस वालिचियना मात्र पाइन्छ भनि लेखिने निश्चितप्रायः छ ।
नेपालमा भइरहेको, किसानले खेति गरिरहेको, लाभ पाइरहेको र सरकारसमेतले कर संकलन गरिरहेको ट्याक्सस् माइरेई अब पाइदैंन भन्दा फाइदा कसलाई हुन्छ ? के समग्र वनस्पति विज्ञानलाई फाइदा पुग्छ ? अहँ पुग्दैन–उपलब्ध वैज्ञानिक तथ्य यही भन्छ ।
त्यसो भए के यो वनस्पतिविद्हरुकै लहडबाजी र अहं तुष्टिको लडाईँ हो त ? फेरि पनि जवाफ दिने पालो सरकार र विज्ञहरूकै हो ।
–मादेन वनस्पतिविद् हुन् ।