होटल कर्मचारीको न्यूनतम पारिश्रमिक ५० प्रतिशतले कटौती, एक वर्षसम्म २ देखि ५ हजार पाउने
कोरोना कहरका कारण पर्यटक आगमन नभएर ठप्प भएका होटल क्षेत्रका मजदुरकाे तलब ५० प्रतिशतले कटाैती भएकाे छ। कर्मचारी काममा नलगाएको अवस्थामा न्यूनतम रु.२ देखि अधिकतम रु.५ हजार मात्रै दिने गरी होटल संघ र मजदुर संगठनबीच सहमति भएको छ।
यसअघि न्यूनतम रु.४ हजार ३०० देखि रु.१० हजारसम्म दिने गरी भएको २८ असारको सहमति १६ पुस २०७७ मा सकिएको छ। उक्त सहमति सकिएको र अझै एक वर्ष पर्यटक नआउने अनुमानका आधारमा पुनः एक वर्ष अर्थात १६ पुस २०७८ सम्मलाई नयाँ सहमति भएको हो।
काेरोना कहरका कारण पर्यटक आगमन नभएर व्यापार व्यवसाय ठप्प भएको भन्दै होटलका कर्मचारीले पाउने न्यूनतम पारिश्रमिक ५० प्रतिशतसम्मले कटौती गरिएको छ। होटल संघ नेपाल र सम्बन्धित होटल मजदुरसँगको सहमतिमा तारे होटलका कर्मचारीले पाउने न्यूनतम रकमलाई कटौती गरिएको छ।
होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील तीनवटा केन्द्रीय ट्रेड युनियन नेपाल स्वतन्त्र होटल तथा युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुँरा मजदुर संघ र नेपाल पर्यटन तथा होटल श्रमिक संघका अध्यक्ष र पदाधिकारीहरूबीच १३ माघ २०७७ मा एक समझदारी गरेर मजदुरले पाउने पारिश्रमिक निर्धारण गरिएको हाे। होटल संघ नेपालका अनुसार मजदुरले २८ असार देखि १६ पुस २०७७ सम्मको सम्झौता सकिएकोले र यो अवधिमा पनि होटल क्षेत्रको व्यापार व्यवसायमा सुधार नभएको हुँदा पुनः नयाँ सहमति गरेर पारिश्रमिक निर्धारण गरिएको छ।
सहमति अनुसार पाँचतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. ५०००, तारेकालाई रु.४ हजार तीनतारे रु.३ हजार दुईतारेलाई रु.२ हजार ५०० र एकतारे होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. २ हजार रकम उपलब्ध गराइने छ। पर्यटकस्तरीय होटल रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई भने आपसी समझदारीमा पारिश्रमिक दिइने छ।
मजदुरसँग हानले गरेको नयाँ सहमति अनुसार १६ पुस २०७८ सम्म तारे होटलका कर्मचारीलाई न्यूनतम रु.२ हजारदेखि अधिकमत रु.५ हजारसम्म दिइने सहमति भएको छ। सहमति अनुसार पाँचतारे होटल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु. ५ हजार उपलब्ध गराइने छ।
चारतारेकालाई रु.४ हजार, तीनतारे रु.३ हजार, दुईतारेलाई रु.२ हजार ५०० र एकतारे होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक रु.२ हजार उपलब्ध गराइने छ। पर्यटकस्तरीय होटल/रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीलाई भने आपसी समझदारीमा पारिश्रमिक दिने गरी सम्झाैता भएकाे हानले जानकारी दिएकाे छ।
यसअघि चैत २०७६ देखि १६ पुस २०७७ सम्म होटल सञ्चालन नहुँदा र घरमा बसेका मजुदरलाई न्यूनतम पारिश्रमिक दिने सहमति भएको थियो। उक्त सहमति अनुसार दुई सय कोठा भन्दा माथिका पाँचतारे डिलक्स होटलका मजदुरलाई मासिक रु.१० हजार र दुई सय भन्दा कम कोठा संख्या भएका पाँचतारे होटलका मजदुरलाई रु.९ हजार मासिक पारिश्रमिक दिइएको थियो।
एकसय भन्दा बढी कोठा भएका चारतारे डिलक्स होटलका मजदुरलाई मासिक रु.८ हजार ४५५ र चारतारे होटलका मजदुरलाई रु.८ हजार दिइएको थियो। यस्तो पारिश्रमिक तीनतारे होटलका मजदुरलाई रु.५ हजार र दुईतारेकालाई रु.४ हजार ३०० मासिक दिने दिइएको थियो। एकतारे र पर्यटक स्तरका मजदुरको हकमा भने होटल व्यवस्थापन र मजदुरले आपसी सहमतिमा पारिश्रमिक निर्धारण गर्ने उल्लेख थियो।
हानले मजदुर संगठनसँग गरेको नयाँ सहमति अनुसार श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजिकरण बनाउन न्यूनतम रकम हरेक महीना दिइ नै रहने सहमति भएको हो। सहमति अनुसार सन् २०२१ भर चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता श्रमिक तथा कर्मचारीहरूलाई उपलब्ध गराउन नसकिने उल्लेख छ।
होटल सञ्चालनका लागि चक्रीय प्रणालीमार्फत आवश्यकताको आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीहरूलाई काममा लगाइने, काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीहरूलाई निजहरूले खाइपाइ आएको पारिश्रमिक पाउने पनि सहमति भएकाे हानले जानकारी दिएकाे छ। काममा नबोलाइएको अवस्थामा मात्रै तोकिएको सहमति अनुसार रकम उपलब्ध गराउने उल्लेख छ। यस सहमतिको समयावधिभरी ब्यांकेट बाहेकका सेवामा तालिमे करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई काममा नलगाउने उल्लेख छ।
२८ असार देखि १६ पुस २०७७ सम्मको सम्झौता सकिएकोले १६ पुस २०७८ सम्मका लागि पुनः नयाँ सहमति गरेर भएकाे हाे।
सम्झौताअनुसार कुनै श्रमिक तथा कर्मचारीहरूलाई एक महीनामा न्यूनतम १५ दिनभन्दा कम, जति दिन कार्य गर्ने हो त्यति दिनको खाइपाइ आएको पारिश्रमिक भने दिइने छ। बाँकी दिन यो सहमतिमा तोकिएको न्यूनतम रकमको अनुपातमा हुन आउने थप रकम दिइने पनि उल्लेख छ। नियमित १५ दिनभन्दा माथि कार्य गर्न लगाइएमा खाइपाइ आएको कार्यदिनको पारिश्रमिक उपलब्ध गराइने द्वीपक्षीय सहमतिमा छ।
सहमति अवधिभरी काममा नबोलाइएको समयमा बिदाको सुविधा श्रमिक तथा कर्मचारीले दावी गर्न नपाउने सहमति कार्यान्वयन गर्न हान र ट्रेड युनियन संघहरूबीच गठन भएको अधिकार सम्पन्न संयुक्त कार्यदल बनाउने भएकाे छ
सम्झौता अवधिमा कुनै कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेको अवस्थामा लिन पाउने, उमेरको हदको कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुँदा बन्दाबन्दीअगाडि खाइपाइ आएको सुविधा दिई सेवा अन्त्य गर्ने र सेवाको अवधि रोजगारीको अन्त्य भएको दिनसम्म गणना गरिने पनि सम्झौतामा उल्लेख छ।
सम्पूर्ण होटल प्रतिष्ठानहरू र त्यहाँ कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता गराउनु पर्नेछ। सामाजिक सुरक्षा काेषमा गत साउनसम्मका सरकारले नै पैसा पठाएकाेले अब भने सम्बन्धित हाेटल व्यवसायीले नै काेषमा मजदुरले खाइपाइ आएकाे आधार तबलबाट उक्त रकम पठाउनुपर्ने सहमति भएकाे पनि अखिल नेपाल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका महासचिव मुक्ति दाहालले बताए। यस सहमतिलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम विभाग, श्रम कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा जानकारी गराउनुपर्ने छ।