पार्टी एकता अभियान घोषणा सभामा गौतमले भने- विभाजनमा ओली र दाहाल बराबर जिम्मेवार
नेकपा विभाजनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बराबर जिम्मेवार भएको उपाध्यक्ष वामदेव गौतमले बताएका छन्। आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै उनले दाहाल र ओलीबाहेक ठूलो हिस्सा एकताकै पक्षमा रहेको बताए।
बुधबार ललितपुरमा आयोजना गरिएको एक कार्यक्रममा उनले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन्। दाहालको नेतृत्वमा भएको ठूलो हिस्सा र ओलीबाहेक उक्त समूहको ठूलो हिस्सा एकताकै पक्षमा रहेको उनको भनाइ छ। गौतमले आफू सिर्जनात्मक काम गर्न लागेकाले सफल हुने दाबी पनि गरे।
घोषणा अभियानमा बोल्दै उनले सके पार्टी अभियान गर्ने नभए छिन्नभिन्न गर्नेबारे जनतालाई बुझाउन अभियान चलाइएको बताए। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दा फैसला हुनेवित्तिकै केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्षबाट धेरै मानिस आफ्नो अभियानमा आउने उनले विश्वास व्यक्त गरे।
उनले पार्टी विभाजन भएर निर्वाचनमा जाँदा हार्ने निश्चित भएको बताउँदै आफूले पनि विगतमा नेकपा माले विभाजन हुँदा फुटेर शक्ति आर्जन हुन्छ भन्दै भाषणा गरे पनि असफल भएको स्मरण रे। “फुटेर निर्वाचनमा जाँदा विजयी हुन्छु भन्नु दिवा सपना मात्र हो,” उनले भने।
पार्टी विभाजनको सुरुवात गत वर्ष ४ मंसिरको सचिवालय बैठकबाट भएको गौतमको भनाइ छ। पार्टी एकता गर्दा आलोपालो प्रधानमन्त्री गर्ने सहमति भए पनि दाहालले आफैँ ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री हुने प्रस्ताव गरेपछि विभाजनको शुरुआत भएको उनले बताए। “हाम्रो पार्टी विभाजन गर्ने सन्दर्भमा दाहाल र ओली बराबर जिम्मेवार छन्” उनले भने।