कोभिड १९ विरुद्धको खोप अभियान शुरु, स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई प्राथमिकता
नेपालमा आजदेखि कोभिड १९ विरुद्धको खोप अभियान शुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गरेका छन्।
सात वटै प्रदेशका अस्पताल तथा खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको छ। अभियानको पहिलो चरणमा देशभरका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई खोप दिइने छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी र अर्का चिकित्सक डा. अनुप बास्तोला खोप लगाइसकेका छन्। यो नेपालकै पहिलो कोभिड अस्पतालका रुपमा सञ्चालित छ।
भारतबाट अनुदान स्वरुप सरकारले केही दिनअघि १० लाख डोज खोप नेपाल ल्याएको थियो। आज ७५ जिल्लाका १२० स्थानबाट खोप लगाउन सुरु गरिएको छ। १८ माघभीत्र ७७ जिल्लाका ३०० भन्दा बढी खोप केन्द्रबाट खोप लगाइने छ।
खोप शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाइलाई नयाँ चरणमा उठाएका बताए। कोभिड १९ विरुद्धको लडाइलाई सार्थक बनाउने क्रमको सुरुवात भएको भन्दै प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको अभियानमा लागेका स्वास्थ्यकर्मी, स्वमसेवक, सुरक्षाकर्मी तथा स्थानीय तहका जनप्रतिनिधिहरुको प्रशंसा गरे।