‘आजाद भिसा’का नाममा कतारमा कामदार तस्करी
खाडी मुलुकमा ‘फ्रि भिसा फ्रि टिकट’ को नीतिलाई चुनौती दिंदै म्यानपावर कम्पनी र एजेन्टले चर्को रकम असुलेर नेपाली कामदारलाई कतार पठाउने संगठित धन्दा चलाइरहेका छन्।
फत्तेपुर, सप्तरीका संयोग पोखरेल युरोप जाने पटक–पटकको प्रयास विफल भएपछि वैदेशिक रोजगारीका लागि कतार जाने निधोमा पुगे । उनी एजेन्ट कमल सुनुवार मार्फत काठमाडौं तीनकुनेको केडी इम्प्लोइमेन्ट सर्भिसेज प्रालिको सम्पर्कमा पुगे ।
२६ जेठ २०७१ मा श्रम मन्त्रालयले मलेशिया र खाडीका कतार सहित ६ मुलुकमा ‘फ्रि भिसा फ्रि टिकट’ को नीति लागू गरेपछि म्यानपावर कम्पनीले कामदारबाट सेवा शुल्क वापत रु.१० हजार मात्र लिन पाउँछन् । तर, उनले कतारको क्रुज कम्पनीमा जहाजमा सामान लोड–अनलोडको काममा आकर्षक कमाइ हुने आश्वासनमा एजेन्ट सुनुवार मार्फत म्यानपावर कम्पनीलाई रु.१ लाख ५० हजार बुझाए ।
खाने–बस्ने निःशुल्क व्यवस्था र मासिक रु.४८ हजार तलब हुने सम्झाैता गर्दै कम्पनीले उनलाई १४ मंसीर २०७५ मा कतार उडायो, त्यहाँ पुगेपछि मात्र दलालले फसाएको उनलाई थाहा भयो ।
पोखरेल सहित १० नेपालीलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट पेम्बा शेर्पा नाम गरेका व्यक्तिले लेबर क्याम्पमा लगे । पोखरेल सहित सबै जना कामविहीन भएर डेढ महीनासम्म क्याम्पमा खाना र बासको असुविधा खेप्दै बसे ।
डेढ महीनापछि दोहास्थित एजेन्ट विशाल सिग्देलले लेबर क्याम्प पुगेर उनीहरूलाई भने, “नपठाऊ भन्दाभन्दै नेपालको एजेन्टले तिमीहरूलाई पठायो, म जिम्मा लिन सक्दिनँ ।”
उनीहरूले जसरी पनि काममा लगाइदिन भनेपछि सिग्देलले क्रुज कम्पनीमा काममा लगाइदिन सम्झैता गराएर फर्किए । तर, पोखरेलले सम्झैतामा उल्लेख भएका कम्पनीका मालिकलाई सम्पर्क गर्दा फोन लागेन, कम्पनीको वेबसाइट पनि खुलेन । कम्पनी नै नक्कली भएको थाहा पाएपछि उनले एजेन्टलाई सम्पर्क गर्दा चित्तबुझदो जवाफ दिन नसकेका सिग्देल सम्पर्कविहीन भए ।
अन्ततः सिग्देललाई फेला पारेपछि पोखरेलले आफूहरूलाई कतार पठाउने नेपालस्थित प्रमुख एजेन्ट डाकमान गुरुङको सम्पूर्ण विवरण लिए । त्यसपछि पोखरेलले नेपालमा आफन्त मार्फत गुरुङलाई पक्राउ गराए । तर, कतार पठाउँदा असुलेको रकम फिर्ता गर्ने वाचा गरेर प्रहरीबाट छुटेका गुरुङ सम्पर्कविहीन भए ।
उता पोखरेल सहितका १० कामदारले झ्ूटो आश्वासन दिएर कतार पठाउने म्यानपावर कम्पनी बन्द गराउनुपर्ने, सञ्चालकलाई मानव बेचबिखन मुद्दामा पक्राउ गर्नुपर्ने माग राख्दै कतारस्थित नेपाली दूतावासमा निवेदन दिए ।
यस्तै, ‘आजाद भिसा’ मा गएका उनीहरूले ‘पेम्बा शेर्पा र विशाल सिग्देललाई नक्कली भिसा कारोबार गरेको’ आरोपमा कारबाही गर्न माग गरे । ‘आजाद भिसा’ स्थानीय स्पन्सर र कम्पनीको मिलेमतोबाट निकालिने गैरकानूनी भिसा हो, जसलाई संगठित दलालले कामदारलाई झुक्याएर तस्करी गर्न प्रयोग गर्दै आएका छन् ।
कतारमा डेढ महीना अलपत्र परेर फर्किएका पोखरेल हिमाल सँग कुरा गर्दै कतार जानुअघि आफूले सुनुवारलाई दिएको रु.१ लाख ५० हजार अर्का एजेन्ट डाकमान गुरुङ हुँदै म्यानपावर कम्पनी केडी इम्प्लोइमेन्टकहाँ पुगेको बताउँछन् । गुरुङले पोखरेलबाट रु.१ लाख ५० हजार र अन्य नौ जनाबाट रु.२ लाख ५० हजारदेखि रु.३ लाख ५० हजारका दरले १० जनाबाट रु.३० लाख ५५ हजार असुलेका थिए ।
नेपाली कामदार तस्करी गरेर रकम असुल्ने गुरुङ र कतारमा नक्कली कम्पनी खडा गरेर ‘डिमान्ड लेटर’ पठाउने पेम्बा शेर्पा अहिलेसम्म कारबाहीको दायरामा आउन सकेका छैनन् । पोखरेल गुनासो गर्छन्, “विशाल सिग्देललाई समातेर बुझाउँदा समेत कतारस्थित नेपाली दूतावास र नेपालस्थित सरकारी निकायबाट कारबाहीको पहल भएन ।”
उता, कतारस्थित दूतावासले यो ठगी प्रकरणमा संलग्न व्यक्ति र संस्थालाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई गएको ६ माघ २०७५ मै पत्राचार गरेको थियो । तर, विभागले अहिलेसम्म कारबाही अगाडि बढाएको छैन ।
विभागको उदासीनता
कतारको डिजाइन कन्ट्राक्टिङ कम्पनीमा दुई वर्षदेखि १६ वर्षसम्म कार्यरत १९१ जना नेपाली कामदार अलपत्र परेका छन् । उनीहरूले कम्पनीबाट पछिल्लो तीन महीनाको तलब नपाएको र घर जान पनि नदिइएको भन्दै १० चैत २०७५ मा कतारस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए ।
दूतावासले त्यसै दिन यस सम्बन्धी जानकारी श्रम मन्त्रालय हुँदै वैदेशिक रोजगार विभागमा पठाएको थियो । तर, विभागले कामदार पठाउने कम्पनीहरूमाथि कुनै कारबाही गरेको छैन । यो विषय कतारको उच्च अदालतमा पनि पुगेको छ ।
कामदारको उजुरीपछि दूतावासले कम्पनीका प्रतिनिधिलाई बोलाएर छलफल गर्दा सञ्चालकले कम्पनीको आर्थिक अवस्था खराब रहेकाले कामदारलाई एकै पटक रकम दिन नसक्ने बताएका थिए ।
यस्तै, ३० पुस २०७५ मा कतारस्थित सेफ टेक ट्रेडिङ एण्ड कन्ट्राक्टमा काम गर्न गएका ११ नेपाली कामदारलाई कम्पनीले सम्झाैता अनुसारको काम नदिएर अलपत्र पार्यो । ती कामदारले २८ फागुनमा कतारस्थित नेपाली दूतावासलाई निवेदन दिएर आफूलाई पठाउने काठमाडौं गोंगबुको मित्रनगरस्थित शुभम् ओभरसिज मार्फत क्षतिपूर्ति भराई कारबाही गर्न माग गरे ।
कामदारको गुनासोपछि दूतावासले संलग्नलाई कारबाही गर्न त्यसै दिन विभागमा अनुरोध पार्यो। तर, विभागले कारबाही प्रक्रिया अघि नबढाएपछि कामदारहरूले आफैं अर्को कम्पनी खोजेर काम गर्न थालेका छन् ।
कतारस्थित नेपाली दूतावासका श्रम कन्सुलर शिवराम पोखरेलका अनुसार धेरै नेपाली ‘आजाद भिसा’ का नाममा कतार पुग्दा ठगिएका छन् । उनी भन्छन्, “आजाद भिसाका नाममा नेपाली कामदार झिकाउने कम्पनी आधिकारिक नै हुन्छन्, तर कम्पनीमा काम गर्ने अवसर हुँदैन ।” उनी कामदार कतार पुग्ने बित्तिकै सम्बन्धित कम्पनीले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिएर आफू जिम्मेवारीबाट पन्छिने र त्यसपछि कामदार ठगिने गरेको बताउँछन् ।
कतारस्थित नेपाली दूतावासबाट कामदार लैजान कम्पनीको ‘डिमान्ड लेटर’ प्रमाणीकरण भएपछि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले पूर्वस्वीकृति दिन्छ । दूतावासले प्रमाणीकरण गर्नुअघि कतार सरकारको चेम्बर अफ कमर्श मार्फत माग स्वीकृत हुने प्रावधान छ ।
म्यानपावर कम्पनीले पूर्वस्वीकृति लिएको दुई वर्षसम्म कामदार पठाउन पाउँछन् । श्रम कन्सुलर शिवराम भन्छन्, “झोले कम्पनी मार्फत डिमान्ड लेटर आउने गर्दा समस्या निम्तिएको हो । तर, अहिले दूतावासले डिमान्ड लेटर प्रमाणीकरणमा कडाइ गरेका कारण यस्तो समस्या छैन ।” उनी दुई वर्षअघि श्रम स्वीकृति लिएका कम्पनी मार्फत कतार पुगेका कामदार अलपत्र परेको बताउँछन् ।
नेपाल फर्किने लर्को
म्यानपावर कम्पनीहरूबाट राम्रो काम र तलब–सुविधाको प्रलोभनमा कतार पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ । पछिल्लो समय त्यहाँ अलपत्र परेका १४ जनालाई विभिन्न सात म्यानपावर कम्पनीले कारबाहीमा पर्ने डरले टिकट पठाएर चैतमा नेपाल फर्काए ।
उनीहरूलाई अल हाया रिक्रुटमेन्ट प्रालि, भीभी इन्टरनेशनल प्रालि, जुगल इन्टरनेशनल ओभरसिज, आरोही एचआर सोलुसन प्रालि, राइट–वे इन्टरप्राइजेज, रोयल गण्डकी म्यानपावर प्रालि र इन्टरनेशनल सर्भिसेज् प्रालिले आकर्षक पारिश्रमिक दिने सम्झैता गरी कतार पठाएका थिए ।
तर सम्झौता विपरीत कम तलब–सुविधा पाइने भएपछि उनीहरूले काम गर्न अस्वीकार गरेका थिए । उनीहरूले म्यानपावर कम्पनीलाई रु.२ लाख ५० हजारदेखि रु.३ लाखसम्म बुझएका थिए । कतारमा रहेका बाङ्लादेशी र नेपाली एजेन्टहरूले म्यानपावर कम्पनीहरूमा पठाएको ‘डिमान्ड लेटर’ का आधारमा उनीहरू गएका थिए ।
कतारस्थित नेपाली दूतावासका श्रम कन्सुलर पोखरेल बिचौलिया म्यानपावर कम्पनी र कतारस्थित एजेन्टको मिलेमतोमा नेपालीहरू ठगिने गरेको बताउँछन् । दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको त्रैमासिक कार्यसम्पादन प्रतिवेदनले कतारमा अलपत्र नेपालीहरू ठूलो संख्यामा नेपाल फर्किरहेको देखाउँछ ।
कतारको अक्वा मास्टर्स कम्पनीमा कार्यरत ४८ नेपाली कामदार तलब नपाएका कारण सेप्टेम्बर २०१८ मा फर्किएका थिए । कम्पनी सञ्चालक कतारबाट साइप्रस बसाइँ सरेपछि उनीहरूको चारदेखि ६ महीनासम्मको तलब रोकिएको थियो ।
महीनौंदेखि तलब नपाएपछि तनावमा परेर जोरपाटी अत्तरखेल, काठमाडौंका ४६ वर्षीय इमानसिंह जिम्वाले त १७ सेप्टेम्बर २०१८ मा कतारमै पासो लगाएर आत्महत्या गरेका थिए ।
यस्तै, १५० नेपाली कामदार कार्यरत कम्पनी ह्याम्टन इन्टरनेशनलमा लामो समय तलब नपाएपछि अधिकांश स्वदेश फर्किसकेका छन् । १३० नेपाली कामदार कार्यरत अर्को कम्पनी बारविन ट्रेडिङ एण्ड कन्ट्राक्टिङ तीन महीनाको तलब दिन बाँकी रहँदै बन्द भयो । उक्त कम्पनीका अधिकांश कामदार पनि नेपाल फर्किसकेका छन् ।
कम्पनी बन्द भएर तलब रोकिने, तोकिएको तलब नदिने र कम्पनीले दुव्र्यवहार गर्ने आदि समस्याका कारण नेपाल फर्किने कामदारको सूची लामो छ । कम्पनी बीचैमा बन्द भएर कामदार अलपत्र पर्ने समस्या बढिरहेको छ ।
वैदेशिक रोजगारीका अध्येता एवं समाजशास्त्री डा.गणेश गुरुङ छिमेकी मुलुकहरूले लगाएको आर्थिक नाकाबन्दीका कारण त्यहाँको समग्र अर्थतन्त्रमा असर पर्दा रोजगारदाता कम्पनी बन्द भएको र कतिपय घाटामा चलिरहेको बताउँछन् । उनी सरकारी निकाय र कतारस्थित नेपाली दूतावासले कम्पनीको अवस्था हेरेर मात्र कामदार पठाउनुपर्ने सुझउँछन् ।
“तर, म्यानपावर कम्पनी र एजेन्ट मात्र होइन, सरकारी अधिकारीको समेत मिलेमतोमा कामदार ठग्ने प्रवृत्तिका कारण समस्याग्रस्त कम्पनीमा काम गर्न अनुमति दिने क्रम रोकिनसकेको छैन”, उनी भन्छन् ।
यसैबीच, कतारमा नेपाली कामदारले भोगिरहेको समस्या समाधान गर्न दुई देशबीच श्रम सम्झैता नवीकरण गर्ने तयारी भइरहेको छ । कतारस्थित नेपाली दूतावासका अनुसार म्यानपावर र रोजगारदाता कम्पनीको भूमिका तथा दुई देशका सरकारको उत्तरदायित्वबारे सम्झैता मार्फत स्पष्ट पार्न खोजिएको छ ।