२५० मेगावाटको सौर्य ऊर्जा स्थापना गरिने, आयोजना बनाउन २२ अर्ब खर्चनुपर्ने
बाँकेको कोहलपुर र कपिलबस्तुको बाणगंगामा २५० मेगावाट क्षमताको सौर्य ऊर्जा स्थापना गरिने भएको छ।
कोहलपुर र वाणगंगामा १२५/१२५ मेगावाटका दुई वटा सौर्य ऊर्जा परियोजना स्थापना गर्न लगानी बोर्ड र सौर्य ऊर्जा उत्पादक कम्पनी राइजेन इनर्जी सिंगापुर जेभीबीची सम्झदारी पत्रमा हस्ताक्षर भएको छ।
नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापना गर्न लागिएको हो । उक्त ऊर्जा परियोजना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न १३ माघ (मंगलबार) एक समझदारी पत्रमा हस्ताक्षर भएको लगानी बोर्डले जानकारी दिएको छ।
२५० मेगावाटको उक्त परियोजनाको कुल क्षमता मध्ये २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने भएको छ।
परियोनजाको लागत १८ करोड ९५ लाख अमेरिकी डलर (करिब रु.२२ अर्ब १७ करोड) अनुमान गरिएको छ। उक्त ऊर्जा परियोजना स्थापनका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र राइनेजको तर्फबाट दक्षिण एसिया विकास प्रवन्धक वाङ कियाङले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने छ। लगानी बोर्डले ५ असार २०७७ मा राइजेनलाई उक्त प्रतिवेदन बनाउन अनुमति दिएको थियो।
साैर्य ऊर्जा उत्पादनकाे लागि सरकारबाट अनुमति पाएका मध्ये यो परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना भएको लगानी बोर्डका उपसचिव तथा सहप्रवक्ता रमेश अधिकारीले बताए।