केटुमा नेपालीको कीर्तिमान: दुई आरोहीको याेजना यसरी भयाे सफल
आठ हजार मिटरभन्दा माथिका १३ हिमाल हिउँदमा आरोहण भइसकेको थियो। पाकिस्तानको के टु मात्र आरोहण हुन बाँकी थियो। एक भेटमा निर्मल पुर्जा र मिङ्मा जी शेर्पाले बनाएको योजना सफल हुँदा नेपालीले विश्वकै दोस्रो अग्लो हिमालमाथि कीर्तिमानी आरोहण गरे।
जाडो सिजनमा पहिलोपटक पाकिस्तानको माउन्ट केटु (८६११ मिटर अग्लो) हिमाल आरोहण गरेर नेपाली टोली काठमाडौं फर्किएको छ। १० जना नेपाली आरोहीको टोलीले ३ माघ २०७७ को बिहान विश्वकै दोस्रो अग्लो हिमालको हिउँदको सिजनमा सफलतापूर्वक आरोहण गरेका विश्व कीर्तिमान कायम गरेका छन्। कीर्तिमानी आरोहीहरू मंगलबार काठमाडौं फर्कदा भव्य स्वागतसमेत भएको छ।
उक्त हिमाल हिउँदमा आराेहण गर्नु जाेखिमपूर्ण मानिन्छ। यस्नेताे याेजना नेपाली आरोहिका लागि चुनौतीपूर्ण भएको आरोहण टोलीका संयोजक निर्मल पुर्जा बताउँछन्। पुर्जाले ६ जना सदस्य रहेकाे टाेलीकाे नेतृत्व गरेका थिए भने अर्काे चार जनाकाे नेतृत्व मिङ्मा जी शेर्पाले गरेका थिए।
पुर्जा र मिङ्मा जी शेर्पाकाे अवधारणलाईलाई सफल बनाएर टोली नेपाल फर्किएको छ। केटु आरोहणको टोलीमा पुर्जा, मिङ्मा जी, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जि शेर्पा, ग्याल्जेन शेर्पा, पेमछिरी शेर्पा, दावा तेन्जिङ शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेम्बा शेर्पा र सोना शेर्पा थिए।
हिमाल आरोहणकै क्रममा निर्मल पुर्जा र मिङ्मा जी शेर्पाको मित्रता झाङ्गिएको थियो। युवा उर्जा भएका उनीहरु आरोहणको क्षेत्रमा नयाँ काम गर्नेबारे छलफल गरिरहन्थे। यही क्रममा उनीहरुबीच हिउँदमा केटु आरोहण गर्ने योजना बन्यो।
उनीहरुले आफ्नो योजना अरु साथीलाई पनि सुनाए। अनि टीम तयार भयो। जसमा १० सदस्य थिए। उनीहरुले १० जनालाई दुई समूहमा विभाजन गरेर आरोहण प्रयास थाले।
हिउँदमा केटुको आरोहण अहिलेसम्म हुन सकेको थिएन। आरोहण प्रयास गर्दा कयौँको ज्यान गइसकेको थियो। उनीहरुले आरोहण गरिरहँदा पनि एक स्पेनी आरोहीको मृत्यु भएको थियो। तर, जोखिम उठाउने साहसले नै उनीहरु कीर्तिमानी आरोही बन्न सफल भए।संयोगले दुवै समूह एक साथ हिमालको चुचुरोमा पुगेका थिए।
“नेपाली आरोहीले विश्वका आठ हजार मिटर माथिका केटु बाहेकका सबै हिमाल हिउँदको समयमा आरोहण गरिसकेका थिए,” पुर्जा भन्छन्, “एउटा केटु मात्रै नेपालीले जाडो मौसममा आरोहण गर्न बाँकी रहेकोले त्यो हिमालमा पनि पुग्ने उद्देश्यसहित हामी दुई जना आरोहीले बनाएको अवधारण सफल हुँदा कीर्तिेमान पनि कायम हुन पुगेको छ।”
नेपाली आरोही साहसी भएकाे अर्काे प्रमाण याे आराेहण पनि रहेकाे पुर्जा बताउँछन्। अहिलेसम्म कुनै पनि व्यक्ति जाडो मौसममा शिखरमा नपुगेको हिमाल चुम्ने आँट गर्नु र अहसजता तथा अप्ठोरोलाई चिर्दै सफलता पाउनु नै नेपाली आरोहीको लागि खुसीकाे विषय भएको पनि पुर्जा बताउँछन्।
कीर्तीमानी आरोहीलाई बालुवाटारमा आयोजित एक कार्यक्रममा स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उचित सम्मान गर्ने बताएका छन्। ओलीले नेपाली आरोहीलाई यति र उति नभनी गच्छे अनुसारको सहयोग र सम्मान गर्ने बताए।
यसअघि केटु आरोहण टोलीका संयोजक पुर्जाले नेपाली आरोहीलाई राज्यले उचित सम्मान गर्न चुकेको बताएका थिए। हरेक हिमाल अरोहणमा राज्यले लिने रोयल्टीको १० प्रतिशत अरोहण कोषमा राख्ने र सोही कोष परिचलान गरेर सहयोग गर्न सक्ने पनि उनले बताए।
पुर्जा भन्छन्, “राज्यले संकलन गर्ने रकम राज्यकै आरोहीलाई खर्च गर्ने व्यवस्था किन गराउन सक्दैन् ?” सरकारले चाहेको अवस्थामा आरोहीलाई उचित सम्मान र सहयोग गर्न सक्ने सुझाव आफूले दिएको पनि उनले बताए।