जलवायु परिवर्तनविरुद्ध युवा महिलाको नेतृत्व
जलवायु परिवर्तनको जोखिमबारे जानकार नयाँ पुस्ताका केही महिला नेपालमा जलवायु परिवर्तनसम्बन्धी चेतना जगाउन सक्रिय छन्।
क्लाइमेट इन्टर्याक्टिभकी क्लाइमेट प्रोग्राम एसोसिएट बिन्दु भण्डारी, हिमालयन क्लाइमेट इनिसिएटिभकी प्रमुख कार्यकारी अधिकारी सिलसिला आचार्य, पावर शिफ्ट नेपालकी संस्थापक सागरिका भट्ट र नेप्लिज युथ फर क्लाइमेट एक्सनकी संयोजक श्रेया केसीले युवाहरूलाई जलवायु परिवर्तनबारेमा शिक्षित गर्दै परिवर्तनका लागि अभियानहरूको नेतृत्व गरिरहेका छन्।
एक पुस्ता अघिसम्म पनि नेपालमा जलवायु परिवर्तनका बारेमा चेतना र बुझाइ निकै कम थियो र त्यो शब्द नै कुनै विदेशी शब्दजस्तो लाग्थ्यो। नेपाल जलवायु परिवर्तनको जोखिमबाट अत्यन्त प्रभावित देशमा सूचीकृत गरिँदा पनि नेपालमा त्यसबारेमा कम बुझाइ देख्दा बिन्दु भण्डारीलाई नराम्रो लाग्थ्यो।
"सन् २०१४ मा जलवायु परिवर्तनमा काम गर्न शुरू गर्दा म स्नातक तहमा पढ्दै थिएँ, तर पनि मलाई यी विषयका बारेमा खासै थाहा थिएन। जलवायु परिवर्तनबाट बढी पीडित हुने मानिसहरूमा झन् कम ज्ञान होला र त्योसँग जुझ्ने उपाय पनि कम होला भन्ने कुराले मलाई चिन्ता भयो," भण्डारी भन्छिन्।
भेटेरिनरी विज्ञानकी विद्यार्थी भण्डारीले आफूले पढ्ने विषय र जलवायु परिवर्तनमा सम्बन्धहरू देख्न थालिन्। "हामी जलवायु परिवर्तनको अग्रपंक्तिमा छौँ," उनी भन्छिन्, "तर त्यसको मतलब हामी पीडित मात्रै हौँ भन्ने पनि होइन। नेपाल समृद्ध र उत्थानशील छ र यो एउटा अवसर पनि हो।"
भण्डारीले अमेरिकी विश्वविद्यालय एमआईटीमा स्थापित क्लाइमेट इन्टर्याक्टिभमा काम गर्न थालिन्। क्लाइमेट इन्टर्याक्टिभले कार्यशाला र अन्तरक्रियात्मक खेलहरूका माध्यमबाट मानिसहरूलाई जलवायु परिवर्तनका बारेमा सिकाउँछ।
त्यसमा हरितगृह वाष्पहरू घटाउने प्रस्तावका परिणामहरू सिमुलेट गरेर कम्प्युटरमा हेर्न सकिन्छ र क्लाइमेट इन्टर्याक्टिभको सफ्टवेयरमा परिवर्तनका नमूना पनि हेर्न सकिन्छ।
यो प्रोग्राम निःशुल्क उपलब्ध छ तर यसलाई चलाउन केही तालीम आवश्यक हुन्छ। भण्डारी यो सफ्टवेयर विद्यालयहरूमा लैजान्छिन्। साथै, वन, ऊर्जा, कर्पोरेट क्षेत्र लगायतका विभिन्न पेशा र उमेर समूहका मानिसबीच यो खेल खेलाइसकेकी छिन्। भण्डारीले नेपालमा औसतमा ३० जना सहभागी भएका तीन दर्जनभन्दा बढी तालीम दिइसकेकी छिन्।
युवा वर्गसम्म पुग्नु हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) की प्रमुख कार्यकारी अधिकारी सिलसिला आचार्यको पनि प्राथमिकता हो। एचसीआईले तीन दिने र पाँच दिने तालीमहरूमा जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने मानिसका अनुभवहरू बाँडेर युवा वर्गलाई शिक्षित गर्ने काम गर्छ। हालसम्म एचसीआई ११ सयभन्दा बढी युवासम्म पुगिसकेको छ। कोभिड–१९ का कारण आवागमनमा भएको कडाइले उनीहरूको कामलाई अझ मद्दत पुगेको छ। हाल उनीहरू एकै अनलाइन कक्षामा ६ सयभन्दा विद्यार्थी समक्ष पुगिरहेका छन्।
"हामी विद्यार्थीहरूलाई पैसा कमाउन मात्रै होइन दिगो अवधारणाहरू लागू गर्न सिकाउँछौँ," आचार्य भन्छिन्, "हामीले ६० जना युवालाई स्थानीय तहको फेलोशिप प्रदान गरेका छौँ। उनीहरूले समस्याको पहिचान गर्नुपर्ने र समाधानको उपाय डिजाइन गर्नुपर्ने हुन्छ। हामी उनीहरूलाई डिजाइन गर्नमा सहयोग गर्छौं र स्थानीय तहले त्यसलाई व्यवहारमा लागू गर्न आर्थिक सहयोग गर्छ।"
आचार्यले दिगो जीवनशैलीतर्फ उन्मुख थुप्रै अभियानको नेतृत्व गरेकी छिन्। एचसीआईको हाम्री बहिनी परियोजनाले कम अवसर भएका महिलालाई रोजगारी दिने क्रममा थुप्रै महिलालाई घरेलु कामदारका रूपमा सूचीकृत गर्ने र रोजगारी दिलाउने काम गरेको छ।
अर्को ‘नो थ्यांक्स’ अभियानबाट यो काम वातावरणसँग पनि सम्बन्धित छ। प्लास्टिकका झोला विरुद्धको ‘नो थ्यांक्स’ अभियान अन्तर्गत त्यस्ता महिलाले कपडाका झोला सिलाउने र बेच्ने गर्छन् जुन थुप्रै सुपरमार्केटमा उपलब्ध छन्।
यस्ता किसिमका सार्वजनिक अभियान सञ्चारमाध्यममा बढी देखिन थालेकf छन् र तिनीहरूले धेरै मानिसलाई जलवायु परिवर्तनका मुद्दा बुझ्न सघाइरहेका छन्। पावर शिफ्ट नेपालकी संस्थापक सागरिका भट्टले केही यस्ता अभियानको नेतृत्व गरेकी छिन्। पावर शिफ्ट नेपालले जलवायु परिवर्तन र शहर, लैंगिकता, पर्वत, कृषि आदिको सम्बन्धका विषयमा शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गर्छ र ती कार्यक्रम १८-२४ वर्षीय महिलाप्रति लक्षित छन्। पावर शिफ्ट नेपालले अनुसन्धानका आधारमा अभियानहरू सञ्चालन गर्ने गर्छ।
"पावर शिफ्ट नेपालले नेपालमा खनीज तेलका लागि ड्रिलिङका विरुद्धमा अभियान सञ्चालन गरेको छ। हामीले वातावरण प्रेमीहरूसँग विद्युतीय सवारी साधनमा कर वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरिरहेका छौँ। यस्ता कार्यक्रम र अभियानले बृहत्तर जनमानसमा जलवायु परिवर्तनको मुद्दा बुझाउन मद्दत गरेको छ," भट्ट भन्छिन्।
पावर शिफ्ट नेपालले आयोजना गरेका विरोध प्रदर्शनहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा देखिएका छन्। यसले खनीज तेलबिनाको शहरी क्षेत्र कसरी बनाउने र नवीकरणीय ऊर्जातर्फ कसरी लाग्ने भन्ने विषयमा पनि अभियानहरू सञ्चालन गरेको छ।
पावर शिफ्ट नेपालले नेपालका जलवायु परिवर्तन सम्बन्धी नीतिहरूको विश्लेषण पनि गरेको छ र नेपालका कमै नीतिले मात्रै जलवायु परिवर्तनका मुद्दामा महिलाका विशेष आवश्यकतालाई सम्बोधन गर्छन् भन्ने कुरा औंल्याएको छ।
यस्तो किसिमको चेतना र अभियानमा वृद्धि हुँदै जाँदा नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले भर्खरै जलवायु परिवर्तन सम्बन्धी लैंगिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना पारित गरेको छ । धेरै अभियानकर्मीले यसलाई उपलब्धिका रूपमा लिएका छन् ।
यस्तो किसिमको चेतना र अभियानमा वृद्धि हुँदै जाँदा नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले भर्खरै जलवायु परिवर्तन सम्बन्धी लैंगिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना पारित गरेको छ। धेरै अभियानकर्मीले यसलाई उपलब्धिका रूपमा लिएका छन्।
जलवायु परिवर्तन अझै पनि नेपालमा परिचित शब्द भइसकेको छैन। तर यो क्षेत्रमा स्वयंसेवकका रूपमा काम गर्ने युवाको जोशले भने भविष्यलाई केही आशा दिएको छ। नेप्लिज युथ फर क्लाइमेट एक्सन त्यस्तै स्वयंसेवीहरूको समूह हो।
युवाहरूको यो सञ्जालले बालबालिका र युवाहरूलाई जलवायु परिवर्तनका बारेमा चेतना फैलाउने काम गर्छ र यसले अनुसन्धान, अभियान र कार्यक्रम पनि सञ्चालन गर्छ। यो समूहको "क्लाइमेट टक" भन्ने कार्यक्रम युट्युबमा राखिन्छ र "ग्रीन डिस्कसन" नामक छलफल कार्यक्रम विद्यालय र कलेजहरूमा गरिन्छ।
"हाम्रो सचिवालय क्लिन इनर्जी नेपालमा छ र हामी कुनै लगानीबिना काम गर्छौं। कुनै कार्यक्रमका लागि आर्थिक सहयोग चाहिँदा हामी संघसंस्थासँग माग्छौं। त्यसरी काम गर्न सजिलो त छैन तर वातावरणका लागि हाम्रो उत्साहले हामीलाई प्रेरित गर्छ," समूहकी संयोजक श्रेया केसी भन्छिन्।
जलवायु परिवर्तनले दुर्गम ग्रामीण क्षेत्रका महिलालाई बढी प्रभावित गर्ने भएता पनि यसबारेको चेतना भने शहरी क्षेत्रहरूबाट फैलिरहेको छ। जलवायु परिवर्तनका बारेमा जानकार र यस क्षेत्रमा काम गर्न उत्साही महिलाले नेपालमा जलवायु परिवर्तनको बुझाइमा परिवर्तन ल्याइरहेका छन् र अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत नेपालको भनाइ राख्न मद्दत गरिरहेका छन्।
(सेवा भट्टराई एफसिडिओको आर्थिक सहयोगमा ब्रिटिश काउन्सिल नेपालले सञ्चालन गरिरहेको रोड टु कोप २६ परियोजनाका लागि परामर्शदाता हुन्।)