के थिइन् ‘मिस हली ?’
नेपाली पर्वतारोहणकी अभिलेखालय मानिने अमेरिकी नागरिक एलिजाबेथ हली समाचार संस्था रोयटर्स प्रतिनिधिका रूपमा सन् १९५७ मा पहिलोपटक नेपाल आएकी थिइन् । कालान्तरमा उनको परिचय नेपाली पर्वतारोहणकी प्रवद्र्धक बन्यो । अन्ततः आज जनवरी २६ कै दिन ९४ वर्षको उमेरमा नेपालमै उनको निधन भयो ।
नेपालमा ६१ वर्ष बिताएकी एलिजाबेथ हलीले नेपाली पर्वतारोहको प्रवद्र्धन त गरिन् नै, हिमालयन डेटाबेस निर्माण गरेर नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन मद्दत पुर्याइन्।
सन् १९६३ मा अमेरिकन एभरेष्ट एक्सपिडिसन टोली आरोहणबाट फर्केपछि आरोहण टोलीका सरदार काका आङछिरिङ र इक्विप्मेन्ट इन्चार्ज बुबा कोन्छुम्बी का साथमा काठमाडौं आएका थिए आजका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा। आरोहण टोलीमा गएका शेर्पा गाइड र सहयोगीसँग कान्तिपथस्थित तत्कालिन रोयल होटेल (हालको निर्वाचन आयोग)मा एक विदेशी महिला अन्तरवार्ता लिइरहेकी थिइन्।
मिस हलीसँग भएको पहिलाे भेट सम्झदै शेर्पा भन्छन्, “उनको निधनपछि अन्तर्राष्ट्रिय मिडियाले अमेरिकन एक्सपिडिसन टोलीको अन्तरवार्ता लिएर नेपाली पर्वतारोहणको तथ्यांक राख्न सुरु गरेकी भनेर उल्लेख गरेको थियो। त्यसपछि मात्रै थाहा पाएँ, मैले ५४ वर्षअगाडि पहिलो पटक भेटेको महिला तिनै महिलो पो रहिछिन् त मिस हली।
एडमन्ड हिलारीले सन् १९६१ मा सोलुखुम्बुस्थित खुम्जुङमा स्थापना गरेकाे खुम्जुङ माध्यमिक विद्यालयमा पढेकोले अंग्रेजी अलि राम्रो भएकाले आङछिरिङले शेर्पा र हलीबीच दोभाषेको काम गरेका थिए । त्यतिबेला उनको उमेर ११ वर्षको मात्र थियो ।
नेपाली पर्वतारोहणकी अभिलेखालय नै मानिने एलिजाबेथलाई सबैले मिस हली भनेर चिन्थे। पर्वातारोहणको ज्ञान राख्ने, सरकारी निकायसँग नभएको तथ्यांक उनैसँग हुने, आरोहणमा जाने र आउने दुबैको पहिलो भेट नै हलीसँग हुने भएकोले उनलाई पर्वतारोहणकी वीकीपीडीया भन्ने गरिएको पर्यटन व्यवसायी शेर्पा बताउँछन्।
सन् १९७२ मा अस्कल क्याम्पसबाट आइएस्सी सकेपछि शेर्पा माउन्टेन ट्राभल नेपालमा काम गर्न थाले। त्यसपछि हलीसँग औपचारिक रूपमै चिनजान भएको सम्झँदै उनी भन्छन्, “तर, पहिलोपटक रोयल होटलमा भेटेकी महिला र नेपाली पर्वतारोहमा रुची राख्ने महिला एकै हुन् भनेर मैले उनी बाँचुन्जेल थाहा पाइनँ।”
सन् १९८२ मा शेर्पाले एसियन ट्रेकिङ चलाउन थालेपछि हलीसँगको उनको भेट दिनदिनैजसो हुन थाल्यो। हली एसियन ट्रेकिङ तथा उनको होटल गौरीशंकर र गार्डेन होम आउने, पर्वतारोहीको गतिविधि खोज्ने र आरोहणमा जानुअघि नै शेर्पा तथा गाइडलाई भेट्ने र फर्किएपछि पनि अन्तरवार्ता लिने गर्न थालिन्।
पर्वत प्रेम
नेपाली पर्वतारोहणको बारेमा रुची राख्ने, तथ्यांक संकलन गर्ने र धेरै आरोही, शेर्पा तथा गाइडसँग भेटेर गरेको कुराकानीबाट लिएको ज्ञानलाई नै हलीले अभिलेखिकरण गरिन्। हरेक एक्सपिडिसनको टोलीको रेकर्ड राख्ने, नेपालको पर्वतारोहण र पर्वतीय पर्यटनको प्रवद्र्धन गर्न उनले ठूलो योगदान दिएर गएको शेर्पा सम्झन्छन्।
हलीले दिएको सूचना र राखेको तथ्यांककै आधारमा पर्वतारोहणमा जानेलाई सहज हुने मान्यता नै स्थापित भयो भने हिमाल आरोहणमा जानेलाई कुन स्टेपमा पुगेपछि जोखिम छ ? कुन खालको समस्या आउँछ ? कसले हिमाल आरोहण गर्यो वा गरेन भन्ने सबै जानकारी हलीबाटै पाइन थाल्यो।
हलीले तयार पारेको आधिकारिक विवरणलाई सन् १९८२ देखि हिमालयन डेटाबेस वेबसाइटमा संग्रहित गरिएको छ। नेपाल सरकारले तथ्यांक अद्यावधिक राख्नुभन्दा अघि नै यो वेबसाइटबाट सूचना पाइन्थो। उक्त वेबसाइटमा सन् १९०५ देखिका नेपाली पर्वतारोहणको तथ्यांक राखिएको छ। यो वेबसाइटमा हाल नेपालका सबै हिमाल आरोहणका सबै गतिविधिको तथ्यांक नियमित रूपमा अपडेट हुन्छ।
पर्वतारोहण गर्न जाने आरोहीको कोही साक्षी हुँदैन र आरोहीले झुट बोल्नु हुँदैन भन्ने सिद्धान्त हलीको थियो। कुनै एक आरोहीले दिएको तथ्यलाई अर्को नयाँ आरोहीले पछ्याउने हुँदा त्यस्तो विवरण र जानकारी सही हुनुपर्छ भन्दै हली आरोही, शेर्पा र गाइडसँग अन्तरवार्ता लिइरहन्थिन्। उनले पर्वतरोहणका लागि गरेको टिपोटहरू हिमाली इतिहासकार लिसा चोग्याल र मिकेल डनमको पहलमा ‘द नेपाल सिनः क्रोनिकल्स् अफ एलिजाबेथ हली’ नामको पुस्तकमा छापिएको छ।
कडा स्वभाव र प्रोफेशनल रूपमा काम गर्ने बानीका कारण पनि पर्यटन क्षेत्रमा उनी चीरपरिचित थिइन्। उनले आरोहीहरूसँग लिएका सूचना नै नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कडी भएको मिश्र सम्झन्छन्।
नेपालका हिमालबारे जानकारी राख्ने र देखिने खालका योगदान छाडेर गएकी हली झैं भूगोलविद डा. हर्क गुरुङलाई पनि नेपालले गुमाइसकेको छ । गुरुङ र हली जति नेपालको पर्वतारोहण बुझ्ने र यसबारे ज्ञान राख्ने पुस्ता अर्को आएको छैन।
अहिले आङछिरिङले नेपाली पर्वतारोहणमा तथ्यांक र गतिविधि संकलन गर्ने काम गरिरहेको भए पनि उनलाई आफ्नो योगदान पर्याप्त लाग्दैन ।
रोयटर्सको प्रतिनिधि भएर नेपाल आएकी मिस हली पर्वतारोहण मात्रै नभएर चीन, भारत र पाकिस्तानका हिमालको पनि सूचना राख्ने गर्थिन्। पर्वतारोहणलाई खास रुचीको विषय बनाएकी हली राजनीतिबारे पनि लेख्थिन्।
सामाजिक गतिविधिमा उत्तिकै रुची राख्ने गरेको पर्यटन व्यवसायी वसन्त मिश्र सम्झन्छन्। कडा स्वभाव र प्रोफेशनल रूपमा काम गर्ने बानीका कारण पनि पर्यटन क्षेत्रमा उनी चीरपरिचित थिइन्। उनले आरोहीहरूसँग लिएका सूचना नै नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कडी भएको मिश्र सम्झन्छन्।
कडा मिजास, हक्की स्वभाव
कामप्रतिको निरन्तरता, प्रतिवद्धता र लगाव नै हलीले नेपाली पर्वतारोहणमा पुर्याएकाे योगदान हो। हलीको पर्वतारोहणप्रतिको रुचीले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सहयोगी भएको नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा खुम्बिला ट्रेक्स एक्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक जिम्बाजाङ्बु शेर्पा बताउँछन्।
हली पर्वतारोहणमा रुची राख्ने मात्रै नभएर एडमन्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रष्टमार्फत् सामाजिक कार्यमा पनि जोडिएकी थिइन्। सन् १९६० मा ट्रष्ट स्थापना भएदेखि नै हलीले कार्यकारी अधिकृत भएर काम गरेकी थिइन्।
खुम्जुङ माध्यमिक विद्यालय पढ्दादेखि नै मिस हलीसँगको सम्पर्कमा रहेका जिम्बा १५ वर्षकै उमेरदेखि हलीको काममा खटिएका थिए।
हुलाक कार्यालयमा गएर चिठीपत्र ल्याउनेदेखि सामाजिक कार्यमा समेत जिम्बा हलीसँगै हुन्थे । लामो समयको चिनजान र संगत भएका शेर्पा हलीलाई कडा मिजासकी, हक्की स्वभावकी महिलाको रूपमा सम्झन्छन् ।
उनलाई हलीको स्वाभाव र काम गर्ने तौरतरिका मनपथ्र्यो । कार्यालयको काममा सँगसँगै साइकलमा निस्कँदा उनले दिने हौसला र उत्प्रेरणा अहिले पनि याद आउने गरेको जिम्बा बताउँछन्।
हली पर्वतारोहणमा रुची राख्ने मात्रै नभएर एडमन्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रष्टमार्फत् सामाजिक कार्यमा पनि जोडिएकी थिइन्। सन् १९६० मा ट्रष्ट स्थापना भएदेखि नै हलीले कार्यकारी अधिकृत भएर काम गरेकी थिइन्।
नेपालमा यसको सम्पूर्ण जिम्मा उनको थाप्लोमा थियो। यसले गर्ने विद्यालय सञ्चालनदेखि विभिन्न समाज सेवाका कामको जिम्मा हलीले लिएको ट्रष्टका वित्त तथा वित्त व्यवस्थापन अधिकृत बबिनराज तण्डुकार बताउँछन्।
हिलारीले सन् १९६१ मा सोलुमा स्कुल स्थापना गरेर विद्यार्थीलाई शिक्षा दिन थालेपछि ट्रष्ट सुरु गरेका हुन्। हलीको काम गराईको विश्वास र लगावबाट विदेशी प्रभावित हुन्थे। ट्रष्टले सञ्चाल गर्ने विद्यालय, अस्पताल, स्वास्थ्य क्लिनिकदेखि थुप्रै सामाजिक कार्यमा हली सक्रिय रूपमा सहभागि हुने गरेको पनि तण्डुकार सम्झन्छन्।
हलीले नेपाली पर्वतारोहणमा पुर्याएको योगदानको कदर गर्दै सरकारले सन् २०१४ मा नेपाल–चीन सीमानामा पर्ने हुम्ला जिल्लाको ६,१८२ मीटर अग्लो पाेटा नर्थ नामक हिम शिखरलाई ‘पीक हली’ नामाकरण गरेको छ। याे हिमाल सन् २००८ र सन् २०१६ मा गरी दुई पटक आराेहण भएकाे छ।