कोरोनामा अमेरिकाका नेपालीभाषीलाई के भयो ?
कोभिडले हामीमा ठूलो कम्पन ल्यायो । परोक्ष र भर्चुअल भन्ने शब्द व्याप्त भयो । क्यानडा–अमेरिकामा चलेका धेरैजसो नेपाली–कक्षाहरू परोक्ष भए । किताब विमोचन, कवि सम्मलेन, छलफल आदि सामाजिक सञ्जालमा देखेर हो कि कोभिडकालमा बढी नै भए ।
अमेरिकामा सन् २०२० मार्च लाग्दालाग्दै कोरोना भाइरस चम्किएको थियो । अस्पताल–अस्पताल गएर दोभाषे सेवा दिने मजस्ता मान्छेका लागि अप्ठ्यारो समय थियो । डर थियो । त्यसैले घरबाहिर गएर गर्ने काम करिब बन्द गरिएको थियो ।
त्यसो भए, अप्रिल २६ का दिन म के गर्दै थिएँ ? झट्ट सम्झना आएन । किन मलाई अप्रिल २६ नै सम्झनु परेको छ ? अप्रिल २६ को मात्र के कुरा सन् २०२० नै आएको र गएको कसरी बित्यो, त्यो मस्तिष्कको कुनै कुनामा बसेको होला ज् ! फुर्सदमा पानाहरू पल्टिए झैं आउलान !
वर्ष २०२० शुरू हुँदा त्यस्तो थिएन । अरू वर्ष जस्तै योजना, मेरो र सिंगो नेपालीभाषी समुदायका थिए । म हुल नरूचाउने भए पनि सञ्चारकर्ममा यतिका वर्ष बिताएकाले यो समुदायका कामले कहीँ कतै छोइहाल्छ । हो त्यस्तै योजनामा आफू कतै जोडिन पुगिन्छ भन्ने थियो ।
एउटा थियो, अमेरिकी जनगणनामा नेपालीको सहभागिता । जनगणना वर्ष सकिएको छ । जनगणनामा नेपालीको कस्तो र कसरी सहभागिता भयो, परिणाम २०२१ मार्चमा देखिएला ।
पछिल्ला जनगणनाका कुरा गर्दा सन् १९९० ले अमेरिकामा नेपालीको संख्या २ हजार ६ सय १६, सन् २००० ले ९ हजार ३ सय ९९ र सन् २०१० को अमेरिकी जनगणनामा ५९ हजार ४ सय ९० देखाएको थियो, जुन वास्तविक नेपालीको संख्या भन्दा निकै कम हो । अमेरिकाका आधिकारिक निकायहरूको अनौपचारिक बुझाइमा यहाँ चारदेखि पाँचलाखसम्म नेपाली हुनुपर्छ ।
शुरूमा जसको मृत्यु भए पनि समाचार बने । दुई दर्जनभन्दा बढीको मृत्युपछि गन्ती गर्न छाडेजस्तो भयो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले अमेरिकामा रहेका नेपालीको संख्या सन् २०१७ को जनवरीमा पहिलोपटक सार्वजनिक गर्दै भनेको थियो, “अमेरिकामा दुई लाख ५१ हजार नेपाली छन् ।“ यसो भनेको पनि चार वर्ष भइसक्यो ।
संसारलाई छपक्क कोभिडले छोप्दा न्युयोर्क धेरै प्रभावित भयो । न्युयोर्क र न्युजर्सीका नेपाली आक्रान्त भए । सबैभन्दा पहिले अनिल सुब्बाको निधनबाट नेपाली मूलका बासिन्दामा कोरोनाको प्रभाव देखियो । शुरूमा जसको मृत्यु भए पनि समाचार बने ।
दुई दर्जनभन्दा बढीको मृत्युपछि गन्ती गर्न छाडेजस्तो भयो । पेन्सलभेनिया ह्यारिसवर्गकी चन्द्र ढकालको मृत्यु नेपालीभाषी भूटानीमा संभवत पहिलो थियो । नेपालीभाषी भूटानी युवालाई पनि यसले छाडेन ।
कोभिडले अमेरिकामा नेपाली बसोबासको अवस्थामा कम्पन ल्यायो । त्यसमा पनि न्युयोर्क र न्युजर्सीका नेपालीलाई बढी । कोभिडले आक्रान्त धेरै नेपाली यो विश्व राजधानीसँग बिदा मागेर लाखापाखा लागे । उनीहरू सरेका राज्यमा पेन्सलभेनिया, नर्थ क्यारोलाइना, टेक्सस, ओहायो छन् । टेक्ससमा सबभन्दा धेरै नेपाली छँदैछन् भने ओहायो र पेन्सलभेनियामा सबैभन्दा धेरै नेपालीभाषी भूटानी ।
परोक्ष र भर्चुअल भन्ने शब्द व्याप्त भयो । क्यानडा–अमेरिकामा चलेका धेरैजसो नेपाली–कक्षाहरू परोक्ष भए । किताब विमोचन, कवि सम्मलेन, छलफल आदि सामाजिक सञ्जालमा देखेर हो कि कोभिडकालमा बढी नै देखिए । सम्मेलनहरू भएनन्, मान्छे झुम्मिएनन्, जुम आदिमा भेला भए ।
कोभिड भए पनि सांस्कृतिक केन्द्रको रहर पूरा गरेरै छाडे, नेपाली र भूटानी दुवैले । अमेरिकाको भर्जिनिया राज्य र यस आसपासका नेपालीहरूले सांस्कृतिक केन्द्रका लागि भवन किने । १७ लाख डलरको लागतमा उक्त भवन भर्जिनियाको मनाससमा छ । ३.१ एकड क्षेत्रफल भएको उक्त भवनमा करिब २ सय ५० देखि ३ सयसम्म सवारी साधन पार्किङ्ग गर्न सकिन्छ ।
अमेरिकामा शरद ऋतु नलाग्दै नेपालीहरू सम्मेलनको मेलोमा जुट्थे । एसोसिएसन अफ नेप्लिज इन मिड–वेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन इन साउथ–इस्ट अमेरिका (नासा) ले गर्दै आएको संयुक्त सम्मेलन, द एशोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को सम्मेलन आदि सबै परोक्ष भए ।
सन् १९८२ मा स्थापना भएको आन्मा र सन् १९९१ मा स्थापना भएको नासाको उक्त संयुक्त सम्मेलन अमेरिकी लेबर डे (सेप्टेम्बरको पहिलो सोमबार) मा सकिने गरी आयोजना गर्छन् । नासाले अमेरिकाका दश राज्यः फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, टेन्नेसी, अलाबामा, मिसिसिपी, अर्कान्सास, लुजियाना र केन्टकीका नेपालीलाई समेट्छ भने आन्माले मध्य–पश्चिमका राज्यमा बस्ने नेपालीलाई समेट्छ ।
सन् १९८३ जुलाईमा स्थापित एएनएले अमेरिकी स्वतन्त्रता दिवस (जुलाई ४) मा आफ्नो सम्मेलन गर्दै आएको छ । नासा, अमेरिकामा एनआरएन अमेरिका र ’एएनए’ पछि तेस्रो ठूलो र प्रभावशाली नेपाली संस्था हो । यी नेपाली सम्मेलनहरूले नेपालीभाषी भूटानीहरूलाई पनि समेट्दैन ।
कोभिड भए पनि सांस्कृतिक केन्द्रको रहर पूरा गरेरै छाडे, नेपाली र भूटानी दुवैले । अमेरिकाको भर्जिनिया राज्य र यस आसपासका नेपालीहरूले सांस्कृतिक केन्द्रका लागि भवन किने । १७ लाख डलरको लागतमा उक्त भवन भर्जिनियाको मनाससमा छ । ३.१ एकड क्षेत्रफल भएको उक्त भवनमा करिब २ सय ५० देखि ३ सयसम्म सवारी साधन पार्किङ्ग गर्न सकिन्छ ।
उता पेन्सलभेनियाको ह्यारिसवर्गमा हिन्दू धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) ले आफ्नै भवन किन्यो । १२ हजार ५७२ वर्ग फिटमा फैलिएको उक्त भवनको मूल्य १० लाख अमेरिकी डलरमा २ लाख ५० हजार डाउन पेमेन्ट गरिएको थियो । भवनको प्रयोग नेपाली भाषा कक्षालाई नियमित गर्ने, साहित्य–कक्षा चलाउने, सबै धार्मिक कार्यहरू गर्ने, आदिमा गरिने भनिएको छ । दुवै खरिद फेब्रुअरीमा भए ।
सन् २०२० मा दिवेश पोखरेलले नेपाली मूलमा नाम ऊँचो बनाए । मेमा उनले अमेरिकन आइडलको सिजन १८ मा दोस्रो उपाधि हात पारे । आर्थर गनका नामले परिचित पोखरेल सन् १९९७ अक्टोबर २४ मा काठमाडौंमा जन्मेका उनी २०१४ मा मात्र अमेरिका आएका हुन् । उनी कन्सास राज्यको विचिटामा बस्छन् । अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन् ।
सन् २०२० मा अमेरिकामा नेपाली विद्यार्थीको संख्या १२ औं स्थानमा रह्यो । इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनद्वारा प्रकाशित ओपन डुअर्स प्रतिवेदनले सन् २०१९ मा ३ दशमलव ८ प्रतिशत विद्यार्थी घटेर पनि १२ हजार ७ सय ३० देखाएको थियो । आर्थिक वर्ष सन् २०१८/०१९ यो संख्या १३ हजार २ सय २९ थियो ।
यो संस्थाले अमेरिकी विदेश मन्त्रालयको ’ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्स’ सहयोगमा वर्षेनि उक्त प्रतिवेदन प्रकाशित गर्छ ।’ ओपन डुअर्स’ मा सन् १९९५/९६ देखि अमेरिका आएका नेपाली विद्यार्थीको तथ्यांक पाइन्छ ।
सडकभन्दा पानीसँग सम्बन्धित दुर्घटना अपत्यारिला देखिएका छन् । यस्ता घटनालाई ख्यालै गरिएको छैन । यसले १९ देखि २५ वर्षका धेरै युवालाई टाढा लगेको छ ।
उत्तर अमेरिकाका दुई मुलुक अमेरिका र क्यानडामा सडक दुर्घटनाबाट ठूलै धनजनको क्षति हुने गर्छ । सन् २०२० लागेको सात दिन नबित्दै न्युयोर्कमा पुरूषोत्तम पन्थीकी श्रीमति मिना तथा छोरालाई फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा १० वर्षका छोरा श्रीजलको निधन भयो ।
क्यानडामा भएका दुई सडक दुर्घटनाको विषयमा गैर आवासीय नेपाली संघ (एनआरएनए) निकै संवेदनशील देखियो । क्यानडामा नेपाली मूलका मानिस अमेरिकाको तुलनामा थोरै छन् । सन् २०१६ को जनगणनाअनुसार क्यानडामा नेपालीभाषीको संख्या १९ हजार २९० छ । यसमा नेपाली र नेपालीभाषी भूटानी दुवै पर्छन् । नेपाल मूल राष्ट्र भएका नेपालीको संख्या अनौपचारिक रूपमा भन्नुपर्दा ५० हजार भनिन्छ ।
टोरन्टो–इटोविकोकमा अगस्ट ११ मा भएको सवारी दुर्घटनामा ३ वर्षीय रायन भट्टराईको निधन भएको थियो । बाटो काट्दा उक्त दुर्घटना भएको थियो । परिवारका अरू घाइते भए ।
त्यस्तै नोभेम्बर १६ बिहान आवश्यक सामान लिन बजार निस्केका बेला हरि अधिकारीलाई ह्यामिल्टनमा बाटो काट्दै गर्दा ट्रकले ठक्कर दियो । सिकिस्त घाइते उनको उपचारका क्रममा निधन भयो । यता अमेरिकामा नोभेम्बर सुरेश श्रेष्ठको निधन भयो । अधिकारी नवलपरासीको गैंडाकोटका थिए भने श्रेष्ठ गोरखाका ।
तर, सडकभन्दा पानीसँग सम्बन्धित दुर्घटना अपत्यारिला देखिएका छन् । यस्ता घटनालाई ख्यालै गरिएको छैन । यसले १९ देखि २५ वर्षका धेरै युवालाई टाढा लगेको छ ।
अलि मसिनोसँग हेर्ने हो भने धेरै अघिसम्म नजाऔं । सन् २०१९ र २०२० लाई मात्र हेरौं । पानीसँग सम्बन्धित दुर्घटनामा परेर अमेरिकामा ज्यान गुमाउने नेपालीमूलका युवाको संख्या बढेको देखियो ।
जून २०१९ मा टेक्सस राज्यमा २३ वर्षीया पूजा थापा, जुलाई २०१९ मा म्यासाचुसेट्स राज्यमा १७ वर्षीय अपूर्व देवकोटा, मे २०२० मा मेरिल्याण्ड राज्यमा २५ वर्षीय आशिष केसी, जुलाई २०२० मा टेक्सस राज्यमा १९ वर्षीय हिकारू गौतम तथा १९ वर्षीय त्रीशरण खत्री एउटा दुर्घटनामा, जुलाईमै टेक्ससमै २३ वर्षीया अश्मिता खनाल अर्को दुर्घटनामा र अगस्त, २०२० मा मिनेसोटामा २४ वर्षीय आशुतोष दाहालको निधन भयो । अगस्त २७ मा क्यानडाको ओटावा बस्ने जगन्नाथ र उर्मिला ओझाका छोरा सौगातको २९ वर्षको उमेरमा बाथरूममा निधन भएको थियो ।
अप्रिलको २६ लाई सिफारिश गरिएका औषधी फिर्ता गर्ने राष्ट्रिय दिवसका नामले चिनिन्छ । यो दिवसको उद्देश्य डाक्टरले लेखिदिएका तर मिति नाघेका वा काम नलाग्ने औषधीको सुरक्षित, सुविधाजनक, र जिम्मेवारपूर्ण विसर्जन गर्नु (तह लगाउनु) का साथै यस्ता औषधीको संभावित दुरुपयोगप्रति आमनागरिकलाई सचेत गराउनु हो ।
छायामा परे, केही निधन । डा. सुखदेव साह, प्रा.डा. विष्णुप्रसाद पौडेलको । पौडेल अप्रिलमा बित्नुभयो । नेपाललगायत दक्षिण एसियासँग अमेरिकाको सम्बन्धमा नेपाली प्रतिनिधित्व गर्दै आएका पौडेलको ८९ वर्षको उमेरमा निधन भयो । डा. साहको निधन अक्टोबर ११ मा ७८ वर्षको उमेरमा भयो । सन् १७७३ मा अमेरिकाको यूनिभर्सिटी अफ हवाईबाट अर्थशास्त्रमा विद्यावारिधी गरी अन्तर्राष्ट्रिय मुद्रा कोषमा वरिष्ठ अर्थशास्त्रीका रूपमा सन् २००२ सम्म काम गरेका थिए । दुवै भर्जिनियामा बस्थे ।
म अप्रिल २६ को प्रसंगमा थिएँ । हो, त्यसबेला फरक खालको तनाव थियो । मलाई नेपाली भाषा–सम्पादनको केही काम आएको थियो । त्यसैमा व्यस्त थिएँ । मैले अप्रिल २६ आएको र गएको पत्तै पाइँन ।
मैले गर्छु भनेर सोचेको काम नगरेकाले मलाई त्यो दिन याद आएको हुनुपर्छ । अप्रिलको २६ लाई सिफारिश गरिएका औषधी फिर्ता गर्ने राष्ट्रिय दिवसका नामले चिनिन्छ । यो दिवसको उद्देश्य डाक्टरले लेखिदिएका तर मिति नाघेका वा काम नलाग्ने औषधीको सुरक्षित, सुविधाजनक, र जिम्मेवारपूर्ण विसर्जन गर्नु (तह लगाउनु) का साथै यस्ता औषधीको संभावित दुरुपयोगप्रति आमनागरिकलाई सचेत गराउनु हो ।
यसरी औषधी तह लगाउने समय र विभिन्न स्थानमा यस्ता औषधी फिर्ता गर्ने वा तह लगाउने ठाउँ तोकिएका हुन्छन् । धेरै त यस्ता औषधी थिएनन्, जे जति थियो, फ्याँक्नु थियो ।
सन् २०२० को अप्रिल २६ गयो, अब यस वर्ष खोप आएको छ । कोभिडको तनाव कम छ । ‘न्यू नर्मल’मा केही सजिलो महसुस भएको छ । पोहोर आइतबार परेको रहेछ, बिदाको दिन थियो । यस वर्ष सोमबार परेको छ, कामको दिन, बिर्सन्न भन्नेमा पक्का छु ।
(कोइराला अमेरिकामा निस्कने 'अक्षरिका 'नेपाली न्युजलेटरका सम्पादक हुन् ।)