पूर्व एमालेको शक्तिमा दाहालको ‘धम्कीपूर्ण’ भाषा !
पूर्व एमालेमा आएको विभाजनलाई अवसर बनाएका नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिले तत्कालीन सशस्त्र युद्धको झल्को दिन थालेको छ।
अब हाम्रो आन्दोलन अलि आक्रामक हुनु पर्यो, भेजेटेरियन जस्तो हुनु भएन, बाघ र सिंह गर्जेजस्तो हुनुपर्यो। ...शाकाहारी आन्दोलनले अब पुग्दैन। शाकाहारी आन्दोलन त पार्टीभित्र कति गरियो, गरियो। त्यसले पुग्दैन।
- ४ माघको काठमाडौँ उपत्यकास्तरीय विद्यार्थी भेलालाई सम्बोधन गर्दै पुष्पकमल दाहाल
म त फेरि युद्धमा जाने कुरा छैन। तर, ओलीको कदम सही ठहरियो भने यसैगरी लाखौँलाख जनता सडकमा अपिल गरेर भए पनि निरंकुशता सच्याउने मेरो निरन्तर प्रयास रहन्छ। केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुन्छ भन्ने मलाई ठूलो चिन्ता छ।
- ९ माघमा काठमाडौँमा भएको सभालाई सम्बोधन गर्दै पुष्पकमल दाहाल
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपाको पुष्पकमल दाहाल तथा माधव नेपाल समूह सबैभन्दा आक्रामक देखिन्छ। आन्दोलनमा रहेका उनीहरु सर्वोच्च अदालतमा विचाराधीन यो मुद्दालाई लिएर ‘धम्कीपूर्ण’ भाषा प्रयोग गरिरहेका छन्।
शुक्रबार उक्त समूहले देशका विभिन्न जिल्लाबाट कार्यकर्तालाई काठमाडौं उतारेर ‘शक्ति प्रदर्शन’ गरेको छ। प्रदर्शनपछिको सभामा बोल्ने सबै नेताले प्रधानमनत्री तथा अर्को समूहका अध्यक्ष ओलीको आलोचना त गरे नै अदालतको विचाराधीन मुद्दा आफ्नो पक्षमा पार्न दबाब पनि दिए। अध्यक्ष दाहालले एक कदम अघि बढेर ‘शान्ति प्रक्रिया डिरेल हुने’ धम्कीको भाषा बोले।
तत्कालीन एनेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच एकीकरण हुनुअघि पनि उनी आमसभामा यस्तै भाषा प्रयोग गर्थे। तत्कालीन माओवादीहरु ‘शक्ति प्रदर्शन’ को नाममा आसपासका जिल्लाबाट काठमाडौँमा कार्यकर्ता उतार्ने गरेका थिए। ती सभामा दाहालको अभिव्यक्ति आक्रामक हुने गरेको थियो। शुक्रबार नेकपाको दाहाल–नेपाल समूहले त्यसैको झल्को दिएको छ।
२०६५ सालमा पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा गरेपछि सत्ताबाट बाहिरिएको झोंकमा तत्कालीन एमाओवादीले सिंहदरबार केन्द्रीत आन्दोलन गर्ने भन्दै कार्यकर्तालाई काठमाडौं उतारेको थियो। तत्कालीन प्रधानसेनापति रुक्मागत कटुवाललाई दाहालले प्रधानमन्त्रीका हैसियतमा गरेको बर्खास्तीलाई तत्कालीन राष्ट्रपति रामवरण यादवले बदर गरिदिएपछि उनी राजीनामा गर्न बाध्य भएका थिए।
त्यसअघि २०६१/६२ सालको जनआन्दोलनअघि पनि तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेसले उपत्यकाबाहिरबाट कार्यकर्ता काठमाडौँ ल्याएर प्रर्दशन गरेका थिए। तत्कालीन एमालेले यस्तो अभ्यासको शुरुआत गरेको थियो। पछिल्लो १३ वर्ष बाहिरबाट कार्यकर्ता उपत्यकामा उतारेर शक्ति प्रर्दशन गर्ने क्रम रोकिएको थियो।
तर, फेरि शुरु भएको यस्ता प्रदर्शनमा बोल्दा कार्यकर्ताको मनोबल बढाउन पनि दाहालले तत्कालीन सशस्त्र विद्रोहको स्मरण गर्न थालेका छन्। अदालतमा मुद्दा चलेका र दोषी प्रमाणित भएकाहरुको पक्षमा खुलम् खुला वकालत गर्न थालेका छन्।
शुक्रबारको आमसभामा दाहालले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका कालीबहादुर खामलाई आफूले संरक्षण गरेको बताए। “त्यो कालीबहादुर खाम विचरा आफैँले केही ग¥या त होइन। उसको मुद्दा ठीक ढंगले हल होस् भन्नका लागि १०÷१२ वर्षदेखि लागेकै थिएँ। उनलाई परेको गाह्रो, साह्रो हेर्न मैले लगातार बल गरेको छु,” दाहालले भनेका थिए।
यसअघि धनगढीमा भएको एक सभामा प्रधानमन्त्री केपी ओलीले कालीबहादुर खामलाई दाहालले अलपत्र पारेको प्रसंग जोडेका थिए। दाहालले पूर्व लडाकुहरुलाई अलपत्र बनाएको ओलीको आरोप थियो। त्यसकै जवाफमा प्रहरीको फरार सूचीमा रहेका खामका लागि आफूले बल गरिरहेको दाहालले बताएका हुन्।
दाहालमा बढेको आत्मविश्वास
अहिले नेकपामा आएको विभाजनबाट पुष्पकमल दाहाललाई घाटाभन्दा फाइदा नै छ। यहीकारण उनले शक्ति बढेको महसुस गरेको विश्लेषकहरुको भनाइ छ।
दाहालले नेतृत्व गरेको तत्कालीन नेकपा माओवादी २०६५ सालदेखि क्षयीकरण हुन शुरु भएको थियो। २०६४ सालको पहिलो संविधानसभाको प्रत्यक्ष निर्वाचनतर्फ १२० सिटमा विजयी भएर सबैभन्दा ठूलो दल बनेको थियो। तर, मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दलगायत नेता पार्टीबाट बाहिरिएपछि तत्कालीन माओवादीको क्षयीकरण शुरु भएको थियो।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा दाहालको दल तेस्रो बन्यो। २०७४ सालको स्थानीय तहको निर्वाचनमा आइपुग्दा त काठमाडौ उपत्यकामा प्रचार प्रसार गर्ने कार्यकर्ताको समूह निकै सानो बन्यो। उम्मेदवारको जमानत नै जफत हुने अवस्थासम्म आयो। साख गुमाउँदै गएको पार्टीलाई दाहालले ३ जेठ २०७५ मा तत्कालीन नेकपा एमालेसँग एकता गराए।
कुनै वेला माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा सामेल भएका विश्लेषक मुमाराम खनाल पार्टी खिइँदै गएर सानो समूह मात्र रहेपछि नै दाहालले तत्कालीन एमालेसँग एकीकरण गरेको बताउँछन्। “शक्ति कमजोर भएपछि नै एमालेसँग एकीकरण गरेर शक्तिशाली बन्न दाहाल तयार भएका हुन्, त्यहाँ कुनै सिद्धान्तको कुरा थिएन। विशुद्ध स्वार्थले एकीकरण भएको हो,” खनाल भन्छन्।
अहिले नेकपाको पूर्व एमाले पंक्तिमा आएको विभाजनले दाहाललाई ठूलो मासको नेता बनाइदिएको छ। त्यही विभाजित पूर्व एमालेको शक्तिको आडमा दाहालले फेरी ‘ध्वंसको भाषा बोल्न थालेका छन्। ‘शाहाकारी नभएर मांसाहारी आन्दोलन गर्ने’, ‘संसद पुर्नस्थापना नभए शान्ति प्रक्रिया डिरेल हुने’ र ‘सडकबाटै संसद पुर्नस्थापना गर्ने’ जस्ता धम्किपूर्ण र विरोधाभास अभिव्यक्ति त्यसैको परिणाम भएको विश्लेषकहरुको भनाइ छ।
शक्ति प्रर्दशनको सन्देश
दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन मार्फत अहिले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि दबाब दिइरहेका छन्। उनीहरुले बारम्बार अदालतले प्रतिनिधि सभालाई निरन्तरता नदिए सडकबाटै पुनःस्थापना गर्ने बताइरहेका छन्। त्यसैगरी चुनाव चिन्ह सूर्यको विषयमा पनि निर्वाचन आयोगमाथि दबाब बनाइरहेका छन्।
दाहालले पटक पटक संसद पुर्नस्थापना भएन भने ‘विध्वंस हुने’ चेतावनी दिइरहेका छन्। झलनाथ खनाल, योगेश भट्टराई र घनश्याम भुसालका अभिव्यक्ति पनि त्योभन्दा फरक छैनन्। शुक्रबारको सभामा पनि दाहालले अप्रत्यक्ष रुपमा त्यस्तै ‘धम्कीको भाषा’ प्रयोग गरे।
प्रतिनिधि सभा पुनःस्थापना नभए शान्ति प्रक्रियामा प्वाल पर्ने अभिव्यक्ति त्यसैको उदाहरण हो। राजनीतिक विश्लेशक पुरुषोत्तम दाहाल अदालतमा विचाराधीन मुद्दामा सडकबाट ‘यसो गर’ भन्नु नै गलत भएको बताउँछन्। लोकतान्त्रिक विधि पद्धती मान्ने दलले विचाराधीन मुद्दामा सडकबाट कराउन नसुहाउने उनको भनाइ छ।
वामपन्थी विश्लेषक मुमाराम खनाल प्रतिनिधि सभा विघटन सदर हुने डरका कारण नै दाहाल–नेपाल समूहले सडकमा ठूलो जनमत देखाउन खोजिरहेको बताउँछन्। उता भर्खरै विभाजित भएको नेकपामा कुन समूह ठूलो र आधिकारिक भन्ने विवाद पनि चलिरहेको छ। दाहाल–नेपाल समूहले आफू नै आधिकारिक भएको र आफ्नो पक्षमा कार्यकर्ता रहेको देखाउन पनि शक्ति प्रर्दशन गरिरहेको उनको भनाइ छ।