‘पाथीभरा’ होइन मुक्तिफोमाङ
हिजो लिम्बूले आगोको ज्वाला जस्तो बलेको डाँडोलाई ‘मुक्तिफोमाङ’ भने, पछिपछि अरूले पाथीजस्तो देखिने यही डाँडोलाई पाथीभरा भने । तर, आज सरकारी अभिलेखमै आधिकारिक रूपमा ‘पाथीभरा’ मात्र लेखिनु र ‘मुक्तिफोमाङ’ बिर्सनु सिंगो लिम्बूजातिको अपमान मात्र होइन, इतिहासकै बर्खिलाप हो ।
ताप्लेजुङको पाथीभरा मन्दिर पुग्न केवलकार राखिने समाचार आइरहेको २० वर्ष जति भइसकेको छ । हालैमात्र सुन्नमा आएको छ– ताप्लेजुङका समाजसेवी/राजनीतिज्ञ ध्रुवनारायण श्रेष्ठले केही वर्षअघि मात्र पाथीभरा दर्शन केवलकार प्रा.लि. दर्ता गरिसकेका छन् ।
यसअघि विराटनगरको सँघाई समूहले त्यो क्षेत्रका वन उपभोक्ता समूहसँग मिलेर केवलकार निमार्ण गर्न खोजेको पनि सुनिएको थियो । हाल भने पाथीभरा दर्शन केवलकार समितिले यती होल्डिङ कम्पनीसँग मिलेर काम गर्न गरिरहेको बुझिएको छ ।
यतिबेला स्थानीयहरू भने आफूहरूसँग परामर्श नलिई काम गरेको, रैथाने विश्वास, ज्ञान, पहिचान, परम्परागत किपट/खर्क र जैविक विविधता निमिट्यान्न पार्न खोजिएको भनेर चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
पाथीभरा देवीको संरक्षण र प्रचार प्रसारका लागि स्थानीय तवरमा पाथीभरा संरक्षण/सम्बद्र्धन समितिले जिल्ला समन्वय समितिसँग मिलेर काम गर्दै आइरहेको छ । पर्यटन मन्त्रालयले २०५३ सालमा नै ‘पाथीभरा क्षेत्र विकास समिति’ गठन गरेको थियो।
स्थानीयको विरोधबारे पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवा केही थाहा नभएको बताउँछन् । पाथीभरा संरक्षण/सम्बद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरे भने स्थानीय लिम्बू समुदायका दुई समूहले पाथीभरा नामको विषयमा असहमति राखेको बताए ।
लिम्बूका सत्तेहाङमा समूहले पाथीभराको नाम ‘मुक्कुमलुङ’ राखिनुपर्ने माग गरिरहेका छन् । उनीहरूले पाथीभराको फेदीदेखि टुप्पोसम्म मुक्कुमलुङको ब्यानर र बोर्ड राखेका छन् । यो समुहको नेतृत्व श्री लिङखिमले गरिरहेका छन् । अर्को युमा साम्यो समूहले पाथीभराको नाम ‘सेमुक्तु मुक्तुकोक्मा’ राखिनु पर्छ भनिरहेका छन् र यसको नेतृत्व राजेन्द्र अन्छङ्बोले गरिराखेका छन् ।
लिङ्खिमका अनुसार, पाथीभरा दर्शन केवलकार समितिले यती होल्डिङ समूहसँग मिलेर केवलकार राख्ने काम थालेको छ ।
सरकारको पाथीभरा क्षेत्र विकास समितिले २०७५ सालमा पाथीभरा क्षेत्रको भौगोलिक सिमाङ्कन बढाएर गुरुयोजना पनि तयार गरिसकेको छ ।
यता मन्त्रालयले सरोकारवालाहरूलाई थाहै नदिई प्रारम्भिक वातावरणीय परिक्षण (आईईई) पनि गरिसकेको रहेछ । आईईई प्रतिवेदनमा १० हजार भन्दा बढी रुख काटिने लेखिएको छ । यसले पर्यावरणलाई असरसँगै जैविक विविधता पनि मासिने नै भयो । क्षेत्रफल बढाइदा फुरुम्बो, लेछर्बो, लिङ्खिम, पतङवा लगायत लिम्बूहरूको परम्परागत किपट/खर्क मिचिएको छ ।
स्थानीय समाजसेवी/राजनीतिज्ञ चित्रगुप्त सावा ताप्लेजुङको पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखेर मात्र केवलकार बनाइनुपर्ने बताउँछन्।
उनका अनुसार, पर्यटन मन्त्रालयका पदाधिकारीसँग आएको पुरातत्व विभागको टोलीले होम, यज्ञादी गर्ने ठाउँ र फाल्गुनन्दको मुर्ति तुरुन्तै हटाउन सल्लाह दिएको छ ।
उनले पाथीभरा नाम आफ्ना बाबु—बाजेले राखेकोले हिजोको मुन्धुमी/पौराणिक नामसँग मिलाएर पाथीभराको नाम ‘सेमुक्तु मुक्कुमलुङ पाथीभरा’ हुनुपर्ने बताए ।
पाथीभरा दर्शन केवलकार प्रा.लि.का अध्यक्ष ईश्वरी पौडेल भने केवलकार निर्माणमा स्थानीयको विरोध नभएको दाबी गर्छन् । उनको भनाइमा सबैले अहिले केवलकारको काम धमाधम अघि बढिरहेको छ ।
सरोकारवालाद्वय लिङ्खिम र अन्छङ्बोे भने पाथीभरा क्षेत्रको नाम पाथीभरा मात्रै राखिँदा लिम्बूको पहिचान नामेट हुने बताउँछन् । यदि यसो नगरिए दुई समूह मिलेर आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
के छ हज्शन पाण्डुलिपीमा ?
हिजोको पाथीभराको मुन्धुमी/पौराणिक नाम थाहा पाउन हज्शन पाण्डुलिपी पल्टाएर हेर्नुपर्ने हुन्छ ।
बेलायती विद्वान ब्रायन हज्शन नेपालका लागि रेजिडेण्ट भएर सन् १८२० मा नेपाल आएका थिए । उनी सन् १८४५ सम्म नेपालमा र १८४५ देखि १८५८ सम्म दार्जिलिङमा रहँदा उनले पूर्वी नेपाल र सिक्किमका लिम्बू गाउँहरूबाट लिम्बूजाति बारे सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरू संकलन गरेका थिए ।
हज्शनले मैवाखोलाका जोभानसिं फागो, छथर ताङ्खुवाका गुनमान खजुम र च्याङ्ग्रेसिं फेदाङमालाई लिम्बूका मुन्धुम, संस्कार, भाषा, इतिहास भन्न र लेख्न लगाएर अभिलेखिकरण गरेका थिए । यस्ता लिम्बूका सामाग्रीहरू हज्शन पाण्डुलिपिका रूपमा हाल इण्डिया अफिस लाइब्रेरी, लण्डनमा सुरक्षित छन् ।
हज्शन पाण्डुलिपिको खण्ड ८६ को पत्रमा सिरिजङ्गाले सिरिजङ्गा लिपिमा लेखेको लेखोटको लिप्यान्तर यस्तो यस्तो छ:
ओम श्री उगेनपोमा । ओम मारुङ साङसे साङ्से साङसे । ओम श्री मुवोकवामा रे तगि मो साङसे साङसे साङे । ओम मारूङ । ओम श्री लामारे तगि मो साङसे साङसे साङसे ओम मारुङ .. ओम श्री उगेन पोमा नु ओम श्री पण्डितहाङरे लाङबे नेमा यो सेवा हुक्सो नेमा सेवा चोङारो । ओम श्री नामले तगिमो श्री माङले तगि मो श्री जङ .. श्रीजङ्गारे याक्थुङहाङ साप्ला लतुङरो याक्थुङहाङरे निप्मा साप्मारो सेवा चोकमारो साङसाङ ओमा सेवा चोक्मारो ओम फक्ताङलुङमाङ माहादेवाजीउ केयुङ श्री मुक्तिफोमाङ केयुङरो साङ केयेप्लो श्री सिदिङचोक्मा माङ केयुङलो केजम थाङलारो ओम श्री चाङधुङबोमाङ केयुङलो । साप्ला नेरो श्री इसाङलेमा माङ केयुङरो । ...सेवा चोक्मारो । निङवा खाहुन साप्ला नाक्मारो सेवा चोक्मारो । इतुङ नोग ता र चोगुङलो । ........................
यो लेखोटमा सिरिजङ्गाले बौद्ध गुरु पद्मसंभवलाई ‘ओम श्री उगेनपोमा’ भनेर प्रशस्ति गाएका छन् । उनले ‘मारुङ, मबोक्वामा’ भनेर आफ्ना मातृदेवीलाई पुकारेका छन् ।
सिरिजङ्गाले लामा गुरु, पण्डित गुरुहरूको चरणमा ‘साङ्से साङसे’ बास्नादार धूप बालेर करजोडी प्रणाम गरेका छन् । सूर्यदेवको भक्तिमा परेर उनले याक्थुङबा लिम्बूहरूको भाषा—लिपी बनाएको लेखेका छन् । भाषा—लिपि पुस्तकको आविष्कार गरेका छन् ।
सिरिजङ्गाले हाल कुम्भकर्ण भनिने फत्ताङलुङमाङ भनेका छन् । हिन्दू देवता महादेवको नाम पनि लिएका छन् । हाल पाथीभरा भनिने पहाँडलाई मुक्तिफोमाङ र सिरिङचोक भनिने पहाँडलाई सिदिङचोक्मामाङ भनेका छन् ।
त्यस्तै पाँचथरको च्याङथाप्पु भनिने पहाँडलाई चाङधुङबोमाङ र फालेलुङ भनिने पहाँडलाई इसाङलेमाङ भनेका छन् । याक्थुङ्बाहरूमाझ हिमाल/पहाँडरुपी देउ—देउता पुकार्दै/साक्षी राख्दै पुस्तक पढ्न र ज्ञानको खोजी गर्न आग्रह गरेका छन् । पुस्तक पढ्दा, ज्ञानको खोजी गर्दा सोचे जस्तै पुग्ने उपदेश दिएका छन् ।
यहाँनेर हाल पाथीभरा भनिएको पहाडलाई सिरिजङ्गाले मुक्तिफोमाङ भनेको स्पष्ट छ । त्यस्तै अर्को लेखोटको लिप्यान्तर पनि हेरौं:
सुसुवेंवाःवेवालिंवोषोलुंवाको कुमेंछिःफियमलुंमाः को छोरोः सुवाम्वेवा: तुतुरे तुरेरेमाको छोरो संमदांषेवाः लिंदांषेवाः मुसुलुं मुकुंमलुंमाको छोरी लाहादोंना...
तुतुरेरेमाको छोरो: लिंदांषेवा...
यो लेखोटमा सुसुवेङ लालावेङका तरुनी/श्रीमतीहरू फियामलुङ्माका छोरा सुहाम्फेबा, तुतुरे तुरेरेमाका छोरा साङदाङखेवा लिङदाङखेवा र मुसुलुङ मुक्कुमलुङ्माकी छोरी लाहादोङना भनेर टिपोट गरिएको छ ।
वास्तवमा ‘मुक्कुमलुङ्मा’ कुनै पहाडको नाम नभएर मुन्धुमी पहिलो महामानव मजिङ्ना खेयोङ्नाका छोरा सुसुवेङ लालावेङकी श्रीमती हुन् ।
सुसुवेङ लालावेङ याक्थुङ्बा लिम्बूका पहिलो पुरुष पुर्खा हुन । मुन्धुममा उनलाई सुसुवेङ लालावेङ वा सुसुवा लिलिम भनेर पुकारिन्छ ।
यी दुई लेखोट हेर्दा पाथीभराको मुन्धुमी नाम ‘मुक्तिफोमाङ’ पुष्टि हुन्छ । मुक्तिफोमाङको मुन्धुमी महत्व छ ।
लिम्बू जातिको आदिम ज्ञान भनेको नै मुन्धुम हो । हिजो पुर्खाले बाँच्नका लागि प्रकृतिसँग सामना गरेका घटनाहरू पुस्तौं—पुस्ता दर सन्तानहरूमा मौखिक रूपमा लिम्बूका देवारीहरू फेदाङ्मा, साम्बा, येबा/येमाहरूले आजसम्म फलाक्दै/गाउँदै आईरहेका छन् । पुर्र्खाहरूको स्तुति-पुकार गरेमा प्राकृतिक विपत्तिबाट बच्न सकिने भन्ने लिम्बू जातिमा आजसम्म पनि विश्वास/मान्यता छ ।
लिम्बूको मिङ्स्रा (वंश/पुस्तौली) पहिलो पुर्खादेखि माथिका नाम पहाड, ओढार, खोला, नदी/पोखरी, पशुपंक्षीसँग जोडिन्छन् । लिम्बूहरूका पुर्खाहरूको ‘आत्मा’ पोखरी, नदीखोला, ओढार, पहाड, हिमाल, रुखपात, पशुपंक्षीजन्य वा सिंङ्गो प्रकृतिमा बसेको विश्वास गर्छन् ।
पाथीभरा डाँडाको फावाखोलातिर बोख्खिमका मादेन लिम्बूका खर्कहरू जोडिएका छन् । ती खर्कहरूलाई अझै पनि मुक्ते खर्क भनेको सुनिन्छ । अथवा ‘मुक्तिफोमाङ’ बाट ‘मुक्ते’ अप्रभंश हुँदै गएको प्रष्ट हुन्छ ।
लिम्बू जातिका लागि प्रकृति पवित्र छ । त्यस्ता पवित्रस्थलहरू बढीजसो पहाड, हिमाल, खोला, नदी, पोखरीसँग सम्बन्धित छन् । यस्ता ठाउँहरू मुन्धुमी ज्ञानबाट निर्देशित छन् र यस्ता ठाउँहरू नै आज मुन्धुमीस्थलका रूपमा पवित्र छन् ।
जब फेदाङ्मा, साम्बा, येबा/येमाहरू मुन्धुम वाचन गर्न थाल्छन्, आफ्नो थान/साङ्भेदेखि मुन्धुम उठाएर खोलानाला, वनजंगल, पशुपंक्षी, किरा फट्याङग्रा पुकार्दै औलबाट लेकतिर लाग्छन् र माथि मुक्तिफोमाङमा पुगेपछि आराम गर्छन् ।
जाँडपानी, खाजा खान्छन् र मुक्तिफोमाङदेखि मुनि आफ्ना गाउँघरतिर फर्केर आफ्नो कुलपरिवारको जीवन, मरण, सुब्य फाब्य के कसो छ जोखना हेर्छन्, सुखसमृद्धि र संरक्षणका लागि आफ्ना आदिम पुर्खासँग बल माग्छन् । बाढी पहिरोबाट गाउँघरलाई बचाउन, लागाइएका अन्नबाली फलोस्, फुलोस् भनेर पुर्खाहरूस“ग बल माग्छन् । यसरी मुक्तिफोमाङसँग लिम्बूजातिको विश्वास/आस्था गाँसिएको छ ।
पाथीभरा डाँडाको फावाखोलातिर बोख्खिमका मादेन लिम्बूका खर्कहरू जोडिएका छन । ती खर्कहरूलाई अझै पनि मुक्ते खर्क भनेको सुनिन्छ । अथवा ‘मुक्तिफोमाङ’ बाट ‘मुक्ते’ अप्रभंश हुँदै गएको प्रष्ट हुन्छ ।
‘मुक्तिफोमाङ’ को अर्थ ‘मुक्ति’ भनेको रापिलो आगोको ज्वाला र ‘फोमाङ’ भनेको अग्निदेवता भन्न खोजिएको हो । मुक्तिफोमाङमा बिहान घाम झुल्किँदा होस् वा बेलुकी अस्ताउँदा मुक्तिफोमाङ आगोको ज्वाला भएर बलेको जस्तो देखिने स्थानीयहरू बताउँछन् ।
स्थानीयलाई वेवास्ता
अचम्म के छ भने पाथीभरा क्षेत्रमा न सरकारका प्रतिनिधि यसो गर्यौ भन्छन् न केवलकार बनाइरहेकाहरू खुलेर केही बताउँछन् । यसबाट स्थानीय सरोकारवालाहरूलाई थाहै नदिई काम गर्न खोजिएको प्रष्ट हुन्छ ।
वातावरण संरक्षण ऐन, २०७६ मा अनिवार्य रूपले पूरक वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गर्नुपर्ने व्यवस्था छ, जसअनुसार कुनै पनि योजनाको आवश्यकता अनुसार स्वरुप परिमार्जन गर्न, संरचना स्थानान्तरण गर्न वा फेरबदल गर्न सकिन्छ । आयोजनाले पूरक वातावरणीय प्रभाव मुल्याङ्कन गरी प्रतिवेदन सार्वजानिक गर्न जरुरी छ ।
सरकार र केवलकार समितिले स्थानीय, सरोकारवाला, सामुदायिक वन र स्थानीय सरकारको परामर्श लिएर, सहकार्य गरेर मात्र केवलकारजस्तो परियोजना सञ्चालन गर्नुपर्ने देखिन्छ । सरोकारवालाहरूले पनि केवलकार निमार्णकर्तासँग तुरुन्त ईआईए माग गर्नुपर्छ र अध्ययनपश्चात छलफल अघि बढाउनुपर्छ ।
आज भौतिक विकासका नाममा भइरहेको वातावरणीय विनाशले वनजंगलका सिमसार, गाउँघरका कुवा—धारो सुकेका छन् । खोला खहरे भएका छन् । तापक्रम बढ्नाले फागुनमा फुल्ने गुराँस पुसमा फूल्न थालेको छ । हिजोको भौगोलिक हावापानीमा गडबड हुन थालेको छ, जीव र वनस्पतिको ‘इकोसिष्टम’ खल्बलिएको छ ।
यसबाट जोगिन आज विश्व पर्यावरण संरक्षणमा जुटेको छ । आदिम, रैथाने ज्ञानको खोजीमा लागेको छ । हिजो रैथानेहरूले पानीको मुल कसरी बचाइराखे, वनजंगल कसरी जोगाए, गाउँघरलाई कसरी पहिरोबाट जोगाए, पशुपंक्षी/वनस्पतिसँग उनीहरूको कस्तो सम्बन्ध थियो, आदिम ज्ञान, जिवन दर्शन कस्तो थियो भन्नेबारे जिज्ञासा राख्न थालिएको छ।
नेपालका हामी बाहुन/क्षेत्री, राई, लिम्बू जो भए पनि प्रकृति पूजक नै थियौं र हौं । प्राकृतिक सौन्दर्यलाई प्राकृतिक स्वरुपमा नै राख्न सकिएमा मात्र पर्यावरण र जैविक विविधता बचाउन सकिन्छ ।
हिजो लिम्बूले आगोको ज्वालाजस्तो बलेको डाँडोलाई ‘मुक्तिफोमाङ’ भने, अरूले पाथीजस्तो देखिने डाँडालाई पाथीभरा भने । तर, पाथीभरा भनिंदैमा सरकारले समेत ‘मुक्तिफोमाङ’ बिर्सिन मिल्दैन । सरकारी अभिलेखमा आधिकारिक रूपमा ‘पाथीभरा’ मात्र लेखिनु सिंगो लिम्बूजाति माथिको अपमान मात्र होइन, इतिहासकै बर्खिलाप हो ।
(माबुहाङ तेह्रथुमको लालीगुराँस नगरपालिकाका नगरप्रमुख हुन् ।)