मध्यमवर्ग किन तानिए शेयर बजारमा ?
अधिकांश नेपालीका लागि अनजान रहँदै आएको शेयर बजार मध्यम वर्गको कौतूहल, आकर्षण र अवसरको केन्द्र बन्न थालेको छ। देशको अर्थतन्त्र थला परेका वेला शेयर बजारले किन चमक पाइरहेको छ? अहिलेको अभूतपूर्व छलाङ कति जोखिमपूर्ण छ? यी विषय नबुझी लगानी गर्दा ‘मूल्यपासो’मा पर्न सक्ने जानकारहरु बताउँछन्।
कोरोनाभाइरसले अर्थव्यवस्थाको गति ठप्प बनाएका वेला पनि पछिल्लो एक वर्षमा मात्रै शेयर बजारमा लगानीकर्ताहरुको सम्पत्ति करीब रु.१४ खर्बले थपियो। बितेको एक महीनामा मात्रै लगानीकर्ताले झण्डै रु.४ खर्ब कमाए। राजनीतिक अन्यौल र अर्थतन्त्रमा निराशाका बीच पनि शेयर बजारमा भने अभूतपूर्व रौनक छ। त्यसैले, शहरीया मध्यम वर्गमाझ पछिल्लाे समय शेयर बजार छलफलको विषय हुन थालेकाे छ।
शेयरमा लगानीको होड यसरी बढेको छ कि ब्यांक तथा वित्तीय संस्थाका ढोकामा शेयर खरिदको अनलाइन खाता खोल्न थामिनसक्नु भीड हुन्छ। विभिन्न कम्पनीको प्राथमिक शेयर किन्न मागको कयौं गुणा बढी आवेदन परिरहेको छ। दोस्रो बजारमा पनि शेयर किनबेच गर्नेको संख्या चुलिएको छ। एक हिसाबले शेयर बजारमा एकाध महीनाबीच नै कायापलट आएको छ ।
पुँजीवादको प्रतीक मानिएको शेयर बजारमा अभूतपूर्व उछाल आउँदा यसबारे अनजान सर्वसाधारणलाई पनि यो बजार एकैसाथ कौतुहल र आकर्षणको केन्द्र बनेको छ। यसअघि कहिल्यै कारोबार नगरेका समेत आफ्नो बचतलाई विभिन्न कम्पनीका शेयर किन्नमा खन्याइरहेका छन्। पूँजीबजारमा अहिले यस्तो अभूतपूर्व चमक छ, जसको आकर्षणले जो कोहीलाई तानिरहेको छ । बजारमा कहिलेसम्म यस्तो चमक रहन्छ र लगानीकर्ताको उत्साह कायम रहन्छ भन्ने अनुमान गर्न सजिलो छैन।
शेयर किन्ने खाता २६ लाख वटा
नेपाल पूर्वाधार ब्यांकले २ माघमा अहिलेसम्मकै ठूलो रु.८ अर्ब ८ करोड बराबरको प्राथमिक शेयर निष्कासन गर्यो। यसमा मागभन्दा २.४ गुणा बढी अर्थात करीब रु.१८ अर्ब १३ करोडको आवेदन पर्यो। यसअघि चन्द्रागिरी हिल्सले गरेको शेयर निष्कासनमा मागको १७ गुणा बढी आवेदन परेको थियो ।
यसै वर्ष जनरल इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर जारी गर्दा मागभन्दा करीब सात गुणा बढी आवेदन परेको थियो। गत असारमा अजोड फाइनान्सको शेयरमा पनि मागभन्दा ६ गुणा बढी आवेदन परेको थियो। अर्थात, बजारमा कम्पनीहरुले जति शेयर जारी गरिरहेका छन्, ती सबै हारालुछमा बिक्री भइरहेका छन्।
शहरमा मात्र होइन, गाउँमा पनि शेयरमा लगानी गर्नेको संख्या बढोत्तरी भएको छ। शेयर बजारका पुराना लगानीकर्ता अमृतनाथ रेग्मी अहिलेको आकर्षण देखेर आश्चर्यचकित छन्। चार दशकदेखि शेयर कारोबारमा संलग्न रेग्मी भन्छन्, “शेयरमा लगानीकर्ताको अहिलेजस्तो बाढी आउने अनुमान गरेको थिइनँ।”
उनको सम्झनामा २०४० र ५० को दशकमा लगानीकर्ताहरु सीमित हुँदा कम्पनीहरुले प्राथमिक शेयरमा आवेदन दिएजति शेयर किन्न पाइन्थ्यो। त्यति वेला साधारण शेयर जारी गर्ने ब्यांकहरु ती शेयर बिक्री नै नहुने हो कि भन्ने धरमरमा हुन्थे। सीमित कारोबारी मात्रै हुने भएकाले दोस्रो बजारमा पनि मागको ठूलो चाप थिएन।
व्यापार गर्न समुद्रमा जहाज लिएर हिँड्ने डच इष्ट इन्डिया कम्पनीले १७औँ शताब्दीको शुरुमा पहिलो पटक प्राथमिक शेयर जारी गरेको इतिहास छ। भारतमा करीब १०० वर्षअगाडि नै धितोपत्र कारोबार हुने स्टक एक्सचेन्ज शुरु भएको थियो। नेपालमा १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल ब्यांक लिमिटेडको शेयर जारी भएको थियो।
२०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भएपछि नेपालमा शेयर किनबेच संस्थागत रुपमै शुरु भयो। तर, सर्वसाधारणले यसबारे सुन्न थालेको धेरै भएको छैन। २०५० सालमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थापना भएपछि मात्रै सूचिकृत कम्पनीको संख्या थपिएर बजारले व्यवसायिक गति समात्न थालेको हो।
२०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भएपछि नेपालमा शेयर किनबेच संस्थागत रुपमै शुरु भयो। तर, सर्वसाधारणले यसबारे सुन्न थालेको धेरै भएको छैन। २०५० सालमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थापना भएपछि मात्रै सूचिकृत कम्पनीको संख्या थपिएर बजारले व्यवसायिक गति समात्न थालेको हो।
२०६० को दशकको शुरुआतसम्मै स्टक एक्सचेन्जमा पुगेर शेयरका दलालहरुले आफ्ना ग्राहकको माग बमोजिम शेयर खरिद बिक्री गर्थे। २०६४ मा कम्प्युटरकृत स्वचालित कारोबार शुरु भएपछि शेयर खरिद बिक्रीको आदेश दिन नेप्से पुग्नुपर्ने बाध्यता हट्यो।
शेयर बजारमा ठूलो बदलाव चाहिँ २०७५ कात्तिकमा भयो। नेप्सेले स्वचालित विद्युतीय कारोबार प्रणाली शुरु गरेपछि अनलाइन प्रविधिमार्फत मोबाइल वा कम्युटरको सहायताले जहाँसुकै बसेर शेयर कारोबार गर्न सकिने भयो। यसबाट धितोपत्र दलाल कम्पनीको कार्यालयमै पुगेर शेयर किनबेच गर्नुपर्ने बाध्यता हट्योे। अनि अरु नै पेशामा आवद्द र शेयर बजारको अनुभव नभएका पनि आकर्षित भए।
कोरोनाभाइरसको संक्रमण रोक्न गत चैतमा बन्दाबन्दी लगाइपछि यस्तो कारोबार गर्नेको संख्यामा अभूतपूर्व वृद्धि भयो। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अहिले दुई लाख ६० हजारले अनलाइनमार्फत कारोबार गर्ने स्वीकृति लिएका छन्। एक वर्षअघि २० हजारको हाराहारीमा सीमित थियो। यसले प्राथमिक शेयर मात्रै होइन शेयरको दोस्रो बजारमा कारोबार गर्नेको संख्या पनि अचाक्ली बढिरहेको देखाउँछ।
विभिन्न कम्पनीका प्राथमिक शेयर निष्कासनमा आवेदन दिन पछिल्लो एक सातामा मात्रै करीब एक लाखभन्दा धेरैले धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख गरिने डिम्याट खाता खोलेका छन्। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, डिम्याट खाता खोल्नेको संख्या करीब २६ लाख नाघिसकेको छ।
पछिल्लो ६ महीनामा करीब आठ लाख ५० हजार नयाँ खाता खुलेको सीडीएसका प्रवक्ता सुरेश न्यौपाने बताउँछन्। नयाँ डिम्याट खाता खुल्नुको अर्थ शेयर खरिद गर्नेको संख्या बढ्नु हो। डिम्याट खाता खोल्नेमध्ये कयौं दोस्रो बजारमा समेत कारोबारका लागि छिर्ने अनुमान गरिन्छ। आफैंले शेयर किन्न मिल्ने मेरो शेयरको खाता पनि १४ लाखभन्दा धेरै खुलेका छन्। यसरी नयाँ लगानीकर्ता शेयर खरिदमा छिर्दा पूँजीबजारलाई विस्तार र दरिलो बनाउन मद्दत गर्ने शेयर बजारका जानकार तथा लगानीकर्ता रेग्मी बताउँछन्।
अर्थतन्त्र अप्ठ्यारोमा, शेयर बजारलाई सजिलो !
कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा गहिरो आघात पुगेकै वेला शेयर बजारले भने लगातार कीर्तिमानी उचाइ कायम गरिरहेको छ। गत मध्य असारबाट शेयर बजार परिसूचक उकालो चढ्न थालेको हो। मध्य असारमा एक हजार १७८ सम्म ओर्लिएको शेयर बजार परिसूचक नेप्से त्यस यता लगातार बढेर ७ माघमा दुई हजार ३४२ विन्दुमा पुगेको छ। नेप्सेमा सूचिकृत कम्पनीमा लगानीकर्ताको शेयरको कुल मूल्य (बजार पुँजीकरण) पनि बुधबारसम्म रु.३१ खर्ब ५५ अर्ब पुगिसकेको छ।
पूँजीबजारलाई सामान्यतः अर्थतन्त्रको अवस्था नाप्ने ‘ब्यारोमीटर’ मानिन्छ। यसलाई देशको अर्थतन्त्रको ऐनाका रूपमा हेरिन्छ। तर, नेपालको शेयर बजारले भने समाज र अर्थतन्त्रमा अप्ठ्यारो परेका वेला अघि बढ्ने चरित्र समातेको छ।
२०७२ सालको भूकम्पअघि शेयर बजार परिसूचक नेप्से एक हजार विन्दुभन्दा तलै थियो। भूकम्पपछि बजार तहसनहस हुने अनुमान थियो। तर, लगातार सुधारको बाटो समात्यो र परिसूचक एक हजार ८८१ विन्दु नाघ्यो। २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि र पहिलो संविधानसभाले संविधान बनाउन चुकेको अस्थिरता वेला पनि शेयर बजारले सुधारको बाटो समातेको थियो। यही प्रवृत्तिलाई औंल्याएर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेयर बजारलाई ‘जुवा घर’को संज्ञा दिएका थिए। पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले पनि शेयर बजार अनुत्पादक क्षेत्र भएको टिप्पणी गरेका थिए ।
जानकारहरुका अनुसार अहिले बजार लगातार बढ्नुमा सबैभन्दा मुख्य कारण ब्यांकको सस्तो ब्याजदर हो। दोहोरो अंकमा रहेको ब्यांकिङ क्षेत्रको ब्याजदर अहिले एकल अंकमा झरेको छ। गत वर्ष ब्यांकका विभिन्न नामका बचत खातामा सर्वसाधारणले ६ प्रतिशतभन्दा माथिसम्म ब्याजदर पाउँथे। तर, अहिले ब्याजदर त्यसको आधामा झरेको छ। मुद्दती निक्षेपमा पनि यही गतिमा ब्याजदर घटेको छ। त्यसैले, ब्यांकमा थोरै ब्याजमा रकम थन्क्याउनुभन्दा शेयर बजारमा लगानी बढिरहेको छ।
अर्कातिर, ब्यांकको ब्याजदर सस्तो भएको कारण ऋण झिकेर लगानी गर्नेको संख्या बढेको शेयर बजारका विश्लेषक रविन्द्र भट्टराई बताउँछन्। “ऋण लिएर लगानी गर्दा बजारबाट पाउने प्रतिफल धेरै हुने आकलनका कारण धेरैलाई बजारले लोभ्याएको छ”, उनी भन्छन्।
पूर्व ब्यांकरसमेत रहेका विश्लेषक अनलराज भट्टराई पनि अन्य क्षेत्रमा तत्काल अवसर नदेखिएका कारण शेयर बजारमा नयाँ लगानीकर्ता भित्रिइरहेको बताउँछन्। प्रविधिले बढाएको सहज पहुँचका कारण पनि शेयर बजारमा चहलपहल बढाएको छ। आफैंले अनलाइन कारोबार गर्न स्वीकृति लिनेको संख्या दुई लाख ६० हजार नाघेको छ। यसले बजारमा शेयरको खरिद माग बढाएको छ।
यसबाहेक, प्राथमिक बजारबाट किनेर दोश्रो बजारमा बेच्दाको अल्पकालीन उच्च मुल्यगत लाभ र अन्य क्षेत्रमा रोजगारीको अभावले बनाएको फुर्सदले पनि लगानीकर्ता बढेका छन्। त्यस्तै पुराना लगानीकर्ता र कारोबारीको बजारमा पुन प्रवेश, बजार पहुँचले कारोबारमा सहज, बजारको बढ्ने चक्र शुरु जस्ता कारणले बजारलाई उचाल्न सहयोग गरेको लगानीकर्ता दिलिप मुनाकर्मी बताउँछन्।
जोखिम कति ?
शेयर बजारलाई जति अवसरको क्षेत्र मानिन्छ, उतिकै जोखिमपूर्ण पनि मानिन्छ। शेयर बजारको लगानी सधैं फाइदाजनक हुन्छ भन्ने सोच्नु बुद्धिमत्तापूर्ण नभएको लगानीकर्ता मुनाकर्मीको भनाइ छ। बजार लगातार बढिरहेका बेला अवसर देखेर रकम खन्याउने लगानीकर्ता फस्न सक्छन्। “कम्पनीको व्यवसाय नबढ्ने तर, मूल्य मात्र बढ्दा गहिरो अध्ययनबिना छिरेका लगानीकर्ता मूल्यपासोमा फस्ने सम्भावना बढी हुन्छ,” उनी भन्छन्। बजारमा नाफा कमाएर बेचिहाल्ने ध्याउन्नले छिर्नुभन्दा दीर्घकालीन लगानी गर्नु कम जोखिमपूर्ण भएको उनी बताउँछन्।
शेयर बजारबारे यौटा प्रसिद्ध भनाइ छ, “जब जुत्ता पालिस गर्नेले शेयर बजारमा लगानीको ‘टिप्स’ दिन थाल्छ, बजारबाट बाहिरिनु उत्तम हुन्छ।” अर्थात्, आधारभूत ज्ञानविना नै लगानी खन्याउनेको बढ्दो प्रवृत्तिले बजारलाई अधोगतिमा धकेल्ने जोखिम हुन्छ। “बजार सधैँ माथि जाँदैन, त्यसैले कारोबारमा थप सचेततासँगै जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ”, मुनाकर्मी भन्छन्।
बजार जति विस्तार भए पनि ठूला लगानीकर्ताको प्रभाव तथा भित्री सूचनाका आधारमा बजारमा गरिने चलखेल घटेको छैन। जसलाई बोर्डका प्रवक्ता गिरी पनि नकार्दैनन्। कतिपय कम्पनीमा आन्तरिक सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ भइरहेको अनुमानका कारण बोर्डले अनुसन्धान गरिरहेको गिरी बताउँछन्।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी पनि ह्वारह्वार्ती बढेको बजार उसैगरी घटेर लगानीकर्ता पासोमा पर्न सक्ने जोखिम देख्छन्। उनी शेयर बजारका लगानीकर्ताहरुलाई आफूले लगानी गर्न खोजेको कम्पनीको वित्तीय स्थितिलगायत विषयमा गहिरो अध्ययन गर्न सल्लाह दिन्छन्। “लगानीकर्ताले कम्पनी हेरेर, त्यसको वित्तीय अवस्था मूल्यांकन गरेर लगानी गर्नुपर्यो, हल्ला र अनुमानका भरमा गरिएको लगानी जोखिमपूर्ण हुन्छ”, उनी भन्छन्।
बजार जति विस्तार भए पनि ठूला लगानीकर्ताको प्रभाव तथा भित्री सूचनाका आधारमा बजारमा गरिने चलखेल घटेको छैन। जसलाई बोर्डका प्रवक्ता गिरी पनि नकार्दैनन्। कतिपय कम्पनीमा आन्तरिक सूचना चुहाएर ‘इन्साइडर ट्रेडिङ’ भइरहेको अनुमानका कारण बोर्डले अनुसन्धान गरिरहेको गिरी बताउँछन्। कतिपय कम्पनीमा ठूला लगानीकर्ताले स्वार्थअनुसार मूल्य बढाउन चलखेल गर्ने गरेको आरोप छ।
विश्लेषक भट्टराई पनि बजार जसरी बढेको छ, उसैगरी ओरालो झर्ने जोखिमलाई बिर्सन नहुने बताउँछन्। यद्यपि, बजार बढ्ने चक्र अझै कायम रहन सक्ने उनको अनुमान छ। शेयर बजारका पुराना लगानीकर्ता निर्मल प्रधान बजार कहाँ पुगेर थामिन्छ भन्ने प्रष्ट नभए पनि अझै उकालो चढ्ने अनुमान गर्छन्। “तर लगानीकर्ताले आँखा चिम्लेर लगानी खन्याउन हुँदैन, कतिपय प्रतिफल दिने क्षमता नै नभएका कम्पनीमा ह्वाह्वार्ती लगानी गरिरहेका छन्, जुन शुभसंकेत होइन”, उनी भन्छन्।
नेप्सेका प्रवक्ता तथा शेयर बजारका विषयमा गहिरो सुझबुझ भएका पराजुली जोखिम लिएर लगानी गर्नु मानव जीवनकै अभिन्न पाटो भइसकेकाले लगानीकर्तालाई जोखिम लिनबाट बन्देज लगाउन कठिन हुने बताउँछन्। तर, लगानीकर्ताको संरक्षणलाई भने नियामकले बिर्सन नमिल्ने उनको भनाइ छ। बरु अन्य देशको जस्तो लगानीकर्ता र कारोबारीलाई छुट्याउने तथा बजारमा लगानीका नयाँ उत्पादन थपिदिएर विविधीकरण गर्न बाँकी नै रहेको उनी बताउँछन्।
पुँजीबजार ठूला उद्योग, व्यवसाय तथा पूर्वाधार निर्माणका लागि रकम संकलनको वित्तीय संयन्त्र भएकाले यो आधुनिक अर्थतन्त्रका लागि महत्वपूर्ण रहेको पराजुली बताउँछन्। उनी भन्छन्, “लगानीकर्ताको संख्या थपिँदै जाँदा पुँजीबजारमा अदृश्य चलखेलको प्रभाव कमजोर हुन्छ, अहिले बजारप्रति बढिरहेको सर्वसाधारणको विश्वास लगानीकर्ता र अर्थतन्त्र दवैका लागि लाभदायक छ।”