ट्रम्पले छाडे ह्वाइट हाउस, जाँदाजाँदै भने- हामी कुनै पनि रुपमा फर्किने छौँ
अब केही घन्टासम्म मात्र अमेरिकी राष्ट्रपति रहने डोनाल्ड ट्रम्पले राष्ट्रपति भवन ह्वाइट हाउस छाडेका छन्। उनी फ्लोरिडाका लागि प्रस्थान गरेका छन्।
ट्रम्प एयरफोर्स वानबाट फ्लोरिडाका लागि प्रस्थान गरेका हुन्। उनी यो जहाजमा संभवतः अन्तिमपटक यात्रा गरेको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पलाई फ्लोरिडामा छाडेपछि एयरफोर्स वन जहाज मेरिल्याण्ड जानेछ। त्यसपछि नयाँ राष्ट्रपति जो बाइडेनले प्रयोग गर्नेछन्।
ट्रम्प फ्लोरिडाको पाम बिचस्थित आफ्नो मार-आ-लोगो रिसोर्टमा बस्ने जनाइएको छ। उनको साथमा पत्नी मेलानिया ट्रम्प पनि फ्लोरिडा प्रस्थान गरेकी छिन्। ट्रम्पले यसअघि नै आफू जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका थिए।
अबको केही घन्टामा नयाँ राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा हुने समारोहमा सपथ ग्रहण गर्ने कार्यक्रम छ। उक्त सपथ ग्रहणमा ट्रम्प सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स सहभागी हुनेछन्।
ह्वाइट हाउसका एक प्रवक्ताले बताएका छन् कि ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडनका लागि एक पत्र लेखेर सन्देश छोडेका छन्। तर, ट्रम्पले ह्वाइट हाउसमा दिएको आफ्नो बिदाइ भाषणमा नयाँ राष्ट्रपति बाइडेनको नाम लिएनन्। उक्त भाषणमा उनले आफ्नो कार्यकालको प्रशंसा गरे।
उनले भनेका छन् कि राष्ट्रपति हुनु ठूलो सम्मानको विषय हो। कोरोना महामारीको बारेमा ट्रम्पले भने, “मैले जे गरेँ त्यो मेडिकल चमत्कार हो र त्यो हो, खोप।” कोरोनाभाइरसलाई उनले फेरि एक पटक चीनको भाइरस बताए।
जाँदाजाँदै उनले भने, “हामी कुनै पनि रुपमा फर्किने छौँ।” बिदाइ भाषणपछि उनी ह्वाइट हाउसबाट हेलिकप्टरमा बाहिरिएका थिए।