विद्यासुन्दरकाे सम्पदा संहार
नेपालमण्डलका रैथाने नेवार शाक्य आस्था अनि आनुवांशिक रूपमै सम्पदाको संरक्षक हुनुपर्ने हो। हाम्रा सामु यस्तो रणमैदान गोचर हुनु पर्ने थियो, जसमा एकातिर शाक्य सम्पदा संरक्षणनिम्ति अर्कोतिर भूमाफिया, जलमाफिया, ठेकेदार र बिचौलिया पौठेजोरी खेलिरहेका हुन्। बिडम्बना, अहिले शाक्य सम्पदा भक्षक र रैथाने नगरवासी सम्पदा रक्षकको रस्साकस्सीमा छन्।
शेखर खरेल
संयोगवशः अहिले दुई विद्या ‘न्यूजमेकर्स’ अर्थात् समाचारनिर्माता बनेका छन्। यी दुई पात्रले निर्माण गरेका समाचार भिन्न तर सकारात्मक छैनन्।
दुई विद्यामध्येका पहिलो, राष्ट्रपति विद्यादेवी भण्डारी संसदमाथि चलाइएको बुल्डोजरलाई हरियो झण्डा देखाएको कारण आलोचित छिन् भने काठमाडौं महानगरका नगरपिता अर्थात् मेयर विद्यासुन्दर शाक्य सम्पदामाथि वास्तविक बुल्डोजर चलाउने कुरुप कार्यले नगरवासीबाटै निन्दित छन्।
गएकाे ५ पुसमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पार्टीका सबै समिति र संसदीय दलमा समेत अल्पमतमा परेपछि प्रतिनिधि सभा विघटनको सिफारिश गरे।अहँकार र आवेगको अन्धवेगमा प्रम ओलीले आफ्नो सिफारिशमा संविधानको धारासम्म उल्लेख गर्न भुले (हुन त प्रधानमन्त्रीले संसद विघटन गर्ने धारा नै संविधानमा थिएन)।
तर, राष्ट्रपतिले विघटन द्रूत गतिमा सदर मात्र गरिदिइनन्, ओलीले छुटाएका धारा उल्लेख गरी विघटन पुष्ट्याइको थप फूलबुट्टा समेत भरिदिइन्। परिणामतः प्रम ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि संसद र अझ संविधानमाथि बलात् डोजर चलाएको आरोपको कारण अहिले न्यायालयदेखि सडकसम्म चुनौतीका औलाहरू उठेका छन्।
नगरपिता विद्यासुन्दर शाक्यको सम्पदा संहारको कथा बेग्लै छ। नेपालमण्डलका रैथाने नेवार शाक्य आस्था अनि आनुवांशिक रूपमै संपदाको संरक्षक हुनुपर्ने हो। खासमा हाम्रा सामु यस्तो रणमैदान गोचर हुनु पर्ने थियो, जसमा एकातिर शाक्य सम्पदा संरक्षणनिम्ति अर्कोतिर भूमाफिया, जलमाफिया, ठेकेदार र बिचौलिया पौठेजोरी खेलिरहेका हुन्। बिडम्बनाचाहिँ, अहिले शाक्य सम्पदा भक्षक र रैथाने नगरवासी सम्पदा रक्षकको रस्साकस्सीमा देखिएका छन्।
महानगरपालिकाले बनाउन खोजेको कमपोखरी पार्कको प्रस्तावित नक्शा ।
प्रसंग काठमाडौंको पुरातात्विक महत्वको कमलपोखरी पुननिर्माणको हो। काठमाडौं महानगरपालिका (कामपा) ले केही अघि कमलपोखरी पुननिर्माणको योजना सार्वजनिक गरेको थियो। कामपाको योजनामा पोखरीको यस्तो डिजाइन छ, जुन पोखरी र नगरको ऐतिहासिक महत्वसँग मेल खादैन। वरिपरि कंक्रिटका पेटी र बिचमा फोहरादार कंक्रिटकै कमलको फूलको डिजाइन नगरको ऐतिहासिकताबाट कम तर डिज्नेल्याण्डबाट बढी प्रभावित देखिन्छ।
परम्परा र संस्कृति प्रतिकूलको यस्तो डिजाइनको साटो नगरकै प्राचीनता झल्किने पोखरी बनाइनुपर्ने आवाज सम्पदाप्रेमी अभियन्ता र नगरवासीले उठाए। तर, मेयर शाक्य र कामपाले नगरवासीको आवाज एक कानले सुनेर अर्को कानले उठाइदियो। अभियन्ताहरू संघर्षको मोर्चामै उत्रिएर पुननिर्माण प्रकरणले कानूनी रूप धारण गरिसकेपछि सम्पदा र पुरातत्व संरक्षणको अभिभारा बोकेको पुरातत्व विभागले कामपालाई पुननिंमार्ण तत्कालै रोक्न पत्र लेख्यो।
विभागले गएको ५ माघमा कामपालाई परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरेर कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्न निर्देशनात्मक पत्र काटेको थियो। तर, विभागले निर्माण रोक्काको पत्र काटेको रात नै कामपाले कमलपोखरीमा एस्काभेटर लगाएर माटो खन्ने र ट्रकमा हालेर बाहिर ओसार्ने काम गर्याे।
कमलपोखरी प्रकरण मेयर शाक्यको सम्पदामाथिको धावाको पहिलो घटना होइन। यसअघि कामपाले रानीपोखरीमा एस्काभेटर चलाएर पोखरीको माटो फाल्ने तथा कंक्रिटको संरचना बनाउन शुरू गरिसकेको थियो। पोखरीको क्षेत्रफल खुम्चाउदै क्याफे खोल्नेसम्मको अविवेकी कार्यको स्थानीयवासी र अभियन्ताले सशक्त प्रतिकार गरे। बालगोपालेश्वर मन्दिर सिमेन्ट र फलामे डन्डीको प्रयोग गरेर बनाइदै गरेको देखेपछि राजा प्रताप मल्लले नै निर्माण गरेको शिखर शैलीको मन्दिर बनाइनु पर्ने माग इतिहास र सम्पदाविद्ले गरे।
रानीपोखरीको सिकाइ कमलपोखरीको हकमा लागू हुन सकेन। किनकि, कामपा कमलपोखरीको विशुध्द व्यापारीकरणको उद्देश्यमा देखिएको छ। पोखरीलाई पौडी पोखरीयुक्त ‘रिक्रियसनल सेन्टर’ बनाउने कुरासम्म सुनियो। नगरवासीको विरोधपछि कामपा पुननिर्माण निम्ति तयार भयो, तर मुनाफाको उद्देश्य त्याग्न भने सकेन।
कामपाविरूध्द नागरिक अभियन्ता हस्तक्षेपको तहमा उत्रिए। व्यापक विरोध र प्रतिकारको परिणाम कमपा आफ्नो निर्णय फिर्ता लिन बाध्य भयो। र, रानीपोखरीले आफ्नो मौलिक स्वरूप प्राप्त गर्याे।
तर, रानीपोखरीको सिकाइ कमलपोखरीको हकमा लागू हुन सकेन। किनकि, कामपा कमलपोखरीको विशुध्द व्यापारीकरणको उद्देश्यमा देखिएको छ। पोखरीलाई पौडी पोखरीयुक्त ‘रिक्रियसनल सेन्टर’ बनाउने कुरासम्म सुनियो। नगरवासीको विरोधपछि कामपा पुननिर्माण निम्ति तयार भयो, तर मुनाफाको उद्देश्य त्याग्न भने सकेन।
रानीपोखरी झै कमलपोखरीको पुननिर्माणको पृष्ठभूमि फरक छ। रानीपोखरी २०७२ सालको महाभूकम्पवाट क्षतविक्षत बन्न पुगेको थियो। यता कमलपोखरी भने चारैतिरबाट अतिक्रमणमा पर्दै आयो। कमल फुल्ने नभएर फोहर र मलमूत्र विसर्जनको अघोषित सेप्टिक ट्याङ्क बन्न पुग्यो। त्यसैले कमलपोखरीको पुननिर्माण रानीपोखरी झै जटिल छैन।
हिजोको पोखरी कस्तो थियो भनेर बताउन सक्ने बुढापाका जीवित छन्। पुराना तस्वीरहरू उपलब्ध हुन सक्दछन्। पोखरीको सांस्कृतिक महत्व र वास्तुकलाबारे बताउन सक्ने सम्पदा र वास्तुविद हामीसँग छन्।
पोखरी पुननिर्माणलाई लिएर संस्कृति तथा वास्तुविद् र अभियन्तासँग छलफल गर्न सकिन्छ। नगरवासी समेटेर सार्वजनिक सुनवाइ गर्न सकिन्छ। यसो हुँदा विकास र पुननिर्माणप्रति नगरवासीको सहयोग जुट्छ नै अपनत्वको भाव पनि अभिवृध्दि हुनेछ। विकास आफैंमा सरकार र नागरिक साझेदारीको विषय भएकाले यस्तो विकास प्रयास पारदर्शी र दिगो हुनेछ। नगरपालिकाले विकास निर्माण व्यापक जनसहभागिता सहित दिनको उज्यालोमा गर्न सक्नेछ, चोरले झै मध्यरातमा एस्काभेटर र डोजर चलाउन पर्ने छैन।
तर, पुरातत्वको आदेश लत्याउदै र सम्पदाको मजाक बनाउदै हाम्रा मेयर साहेव कसका लागि कस्तो संरचाना बनाउदै हुनुहुन्छ त्यस वारे नगरवासीको त कुरा छिडौं स्वयं कामपा उपमेयर हरिप्रभा खड्की अनभिज्ञ देखिन्छिन्।
विद्यासुन्दर शाक्य
२०७२ सालको महाभूकम्पले ध्वस्त सम्पदा पुननिर्माणमा समुदायको अग्रसरता र साझेदारीका राम्रा उदाहरण नभएका होइनन्। भक्तपुरमा स्थानीयको सम्पदा संरक्षण र पुननिर्माणमा स्वतस्स्फूर्त साझेदारीदेखि बौद्धनाथ पुननिर्माणको आर्थिक संकलनदेखि चुस्त दुरुस्त पुनर्निर्माणमा स्थानीय समुदायको नेतृत्वदायी भूमिका तारिफ अनि अनुकरणयोग्य छ।
तर पुननिर्माण र निर्माणबिचको भेद र महत्व बुझ्न नसक्दा पुननिर्माणका नाममा नव(निर्माण र स्मारकका नाममा टावर र पाण्डाल नबनेका होइनन्। उदाहरणका लागि, अहिले बन्दै गरेको २२ तले धरहरालाई कुन हिसाबले पुननिर्माण भन्नेरु अग्लो टावर बनाएरै विकास र समृध्दिको धाक लगाउने भए, ठेक्का लगाउदै ७७ जिल्लामै सिमेन्ट र फलामेछड निर्मित एक-एक धरहरा बनाइदिए भइहाल्यो। त्यसैले नवनिर्मित धरहरा अब हाम्रा पूर्खाका धरोहर रहेन। पुराना कर्णप्रिय गीतको भद्दा रिमिक्स झै यो सम्पदा नभएर फगत एक भ्युटावर हो।
नेपालमण्डल आफैमा एक खुला संग्रहालय हो। हिजो हाम्रा पुर्खा यस वैभवशाली शहरका जीवन्त सम्पदाको छायाँमा हुर्किए। आज हामी ‘रेप्लिका कल्चर’ मा हुर्किदैछौं। हाम्रा पूर्वजले सम्पदाको सानिध्यता त्यसरी लिए, जसरी मानिस प्राकृतिक वासस्थानमा पशुपन्छी देख्दा रोमाञ्चित हुन्छ।
हाम्रो पुस्ताका लागि अद्यापि पुर्खाद्वारा निर्मित सम्पदा शेष छन्। तर, जुन गतिमा सम्पदामाथि अतिक्रमण हुँदैछ, कतै प्राकृतिक वासस्थानवाट पशुपन्छी लोप भए झै आउने पुस्ताका निम्ति सम्पदा संग्रहालय र पोस्टरमा खोज्नु पर्ने त होइन ?
बेलैमा सचेत नहुने हो भने त्यो दिन नआउला भन्न सकिन्न।