नेपालमा लगानी गर्न एसीडी राष्ट्रलाई आग्रह
एशिएन कर्पोरेशन डाईलग मेम्बर कन्ट्रिज (एसीडी)का देशलाई नेपालमा लगानी गर्न नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा द्वि–राष्ट्रिय एवं एनआरएन समन्वय फोरमका अध्यक्ष देशबन्धु बस्नेतले आग्रह गरेका छन्। बस्नेतले सदस्य राष्ट्रलाई नेपालमा लगानी गरेर लाभ लिन यस्तो आग्रह गरेका हुन्।
एसियाली सहयोग संवाद (एसीडी) को ७ माघमा ‘दि इकोनिमक स्टेट अफ प्ले इन द एसियन कोअपरेसन डायलग मेम्बर कन्ट्रिज’ विषयक सो भर्चुअल सम्मेलन भएको थियो। सो सम्मेलनमा नेपालको तर्फबाट सम्बोधन गर्दै बस्नेतले एसीडी राष्ट्रहरूबीच क्षेत्रीय र अन्तरदेशीय सम्पर्क सुधार गर्नु आवश्यक रहेको बताए।
उनले यसका यातायात पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै राजमार्ग, रेलवे, एयर–लिंक, समुद्री मार्गहरू, साथसाथै एसीडीका सदस्यहरूबीच डिजिटल कनेक्टिभिटी हुनुपर्नेमा पनि जोड दिए। बस्नेतले सफ्टवेयर (सीमापार नीति सम्बन्धित) र हार्डवेयर (व्यापार सुविधा पूर्वाधारसँग सम्बन्धित) दुबै सम्पर्क पक्ष निर्माण गर्नुपर्ने र दिगो हुनुपर्ने बताए।
बस्नेतले व्यापार वृद्धिको लागि जनस्तरमा सम्बन्ध सुधार, पर्यटनमा जोड दिन आवश्यक रहेको बताउँदै एसीडी देशहरूबीच राम्रो हवाई कनेक्टिभिटी थालनी गर्नुपर्ने पनि बताए।
बस्नेतले टर्की एशिया र युरोप बीचको केन्द्र भएको बताउँदै टर्कीको पहुँँच यूरोपसम्म भएकाले एसीडीले ईयूसँगको सम्बन्ध पनि बिस्तार गर्न सक्ने बताउँछन्।
नेपालको टर्कीसँग सीधै टर्की एयरवेजको सम्पर्क भएको नेपालले टर्कीलाई युरोप र सम्बन्धित एसीडी राष्ट्रहरूको प्रवेशद्वारको रूपमा उपयोग गर्न उत्सुक रहेको उनको भनाइ छ।
नेपाल भूपरिवेष्ठित देश भए पनि भारतका दुइ पूर्वी बन्दरगाह कोलकाता र विशाखापटनमा पहुँच रहेको छ। चीनले पनि नेपाललाई तेस्रो मुलुकमा ट्रान्जिटका लागि सात वटा बन्दरगाह (चीन भित्र सुख्खा बन्दरगाह, र समुद्री बन्दरगाह, टियानजिन र शेन्जेन समुद्र सहित) प्रयोग गर्नका लागि पहुँच दिएको छ। यसले गर्दा नेपालमा लगानी गरेर तेस्रो मुलुकसँगको पहुँचमा समस्या नरहेको बुझाइ बस्नेतको छ।
नेपालमा भएको विविध सम्भावनाकै कारण व्यापार, पर्यटन र लगानीको लागि नेपालमा आकर्षक गन्तव्य पनि हो । बस्नेतले एसीडी राष्ट्रका सबै सदस्यहरू तथा लगानीकर्ताहरूलाई नेपालमा व्यापार गर्न आग्रहपनि गरे।
सो कार्यक्रमलाई टर्कीका वाणिज्य मन्त्री रुसहर पिकेन, एसीडीका महासचिव डा.प्रोन्चाई डान्भिभातनालगायतले सम्बोधन गरेका थिए।