सास फेर्न (न)पाउने अधिकार !
भद्रगोल सार्वजनिक यातायत, अव्यवस्थित सडक, थेगी नसक्नु मानिस तथा घरभित्र र बाहिरको धुवाँधुलोले काठमाडौँ निसास्सिएको छ। गर्नु पर्ने काम नगरिदिँदा, नगर्नु पर्ने काम गरिदिँदा र भइरहेका राम्रा काम बन्द गरिदिँदा काठमाडौँको वातावरण बिग्रनुसम्म बिग्रेको हो।
दैलेखकी रेखा थापा बीबीएसको पढाइ सकेर काठमाडौँ आउन चाहन्थिन्। तर, उनको इच्छा पूरा हुन सकेन। पैसा नभएर होइन, काठमाडौँको वातावरणले गर्दा। “उपचार गराउन आउँदासमेत डाक्टरले चाडैँ घर फर्कन भन्नुहुन्छ। यहाँको धुवाँधुलोले सास फेर्न गाह्रो हुने हुदाँ काठमाडौँ मेरा लागी होइन,” थापा भन्छिन्।
काभ्रेका रामबहादुर शाही १२ वर्षअघि एक्कासी अस्पताल भर्ना हुनुपर्यो। उनलाई दमको समस्या देखापर्यो। समय बित्दै जाँदा अक्सिजनविना १५/२० मिनेट सास फेर्न नसक्ने भए, उनी। पुख्यौंली थलो काभ्रेको हावापानीमा शाहीलाई निकै सजिलो हुन्छ। तर, साँगा कटेपछि फेरी उस्तै गार्हाे। छोरा हरिशरण शाहीका अनुसार, गाउँमा बिजुली गइरहने हुँदा अक्सिजन चार्ज नहुने कारण उनीहरु बाध्य भएर काठमाडौँ बस्नु परेको छ।
यता राजधानी टेक्न साथ श्वासप्रश्वासको समस्या बल्झने हुँदा सानुबाबु महर्जन छोरीसँगै अमेरिका बस्न थालेको पाँच वर्ष भयो। “काठमाडौँ आउँदा अक्सिजनसँगै लिएर हिड्नु पर्छ। विदेशमा हुँदा चिसोतातो मौसममा पनि केही हुँदैन। औषधि पनि खान नपर्ने। ईच्छा भएर पनि बुबा नेपाल आउन पाउनुभएन,” छोरा सुशील मर्हजनले भने।
वायु प्रदूषणले कहाँ र कसरी असर पुर्याउँछ भनेर यकिन जानकारी छैन। शरीरमा सुगर र ब्लड प्रेसर जसरी नाप्न सकिन्छ वायु प्रदूषणले पारेको असर त्यसरी नाप्न सकिदैन। रगत र पिसाबमा वायुबाट गएका हानिकारक कण पाइए भने यसलाई वायु प्रदूषणको असर भन्न सकिने छाती रोग विशेषज्ञ डा. राजु पंगेनी बताउँछन्।
हेल्थ इफेक्ट इन्स्टिच्यूट र इस्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभालुएसनको अनुमान अनुसार नेपालमा वायु प्रदूषणले गर्दा दिनैपिच्छे ११४ जनाको मृत्यु हुने गरेको छ। यस हिसाबले, वर्षेनी ४२ हजार नेपाली वायु प्रदूषणले गर्दा मर्ने गर्छन्।
प्रा.डा. भगवान कोइरालाका अनुसार दमबाट मृत्यु हुने करीब ४३ प्रतिशत मानिसको मृत्युको कारण वायु प्रदूषण हो। विषाक्त हावाले क्यान्सर, हृदयघात, दम जस्ता रोग लगाउन सक्छ।
“हावामा विष मिसिँदा स्वास्थ्य समस्या भएकालाई थप मार पर्छ नै, पेटभित्रको बच्चालाई समेत यसको असर पर्छ,” डा. कोइराला भन्छन्।
काठमाडौँ : हावा बढी प्रदूषित भएको शहर
गएको २० पुसमा काठमाडौँका बासिन्दाले डरलाग्दो वायु प्रदूषणको सामना गर्नुपर्याे। अमेरिकी एअर क्वालिटी सूचकमा देखिए अनुसार, २० गते राति ९ बजे वायु प्रदूषणको अवस्था बताउने एउटा सूचक ‘पीएम २.५’ को मात्रा प्रति घनमिटर झण्डै ७०० पुग्यो।
‘पीएम २.५’ भन्नाले हावामा रहने अत्यन्त साना धुलोका कणलाई बुझिन्छ। यस्ता धुलोका कणलाई पार्टिकुलेट म्याटर (पीएम) भनिन्छ। २.५ माइक्रोमिटरभन्दा साना धुलोका कण हाम्रो शरीरमा सजिलै पस्छन् र स्वास्थ्य समस्या ल्याउँछन् भनिन्छ ।
हावाको गुणस्तर राम्रो हुँदा यो सूचक ५० सम्म हुन्छ। यो सूचक ५१ देखि १०० सम्म हुँदा हावालाई ठीकठीकै मानिन्छ, १५० सम्म पुग्दा स्वास्थ्य समस्या भएकालाई असर पर्छ। २०० सम्म पुगे हावा सबैका लागि अस्वस्थकर हुन्छ। ३०० पुगे जोखिमपूर्ण र ३०० भन्दा माथि गए घातक मानिन्छ।
अर्थात्, २० पुसमा काठमाडौँबासीले सास फेरेको हावा घातक थियो।
भोलिपल्ट २१ पुसमा हावाको गुणस्तर केही राम्रो भयो। तर, त्यति वेला पनि हावा हामीलाई सास फेर्न चाहिने जति राम्रो थिएन।
प्रदूषण उत्कर्षमा पुगेको पर्सिपल्ट काठमाडौँ घमाइलो त थियो, तर हावा स्वस्थकर थिएन। २२ पुस बिहान ८ देखि ९ बजेसम्म नेपाली टाइम्सले काठमाडोँ उपत्यकाका विभिन्न ठाउँमा हावाको गुणस्तर जाँचेको थियो। ती सबै ठाउँमा हावाको प्रदूषणमा पीएम २.५ को मात्रा ३०० भन्दा माथि थियो।
एक वर्षअघि मन्त्रिपरिषदले पारित गरेको कार्ययोजनामा हावामा पीएम २.५ को मात्रा ३०० भन्दा बढी भए विपदकाल घोषणा गर्ने भनिएको छ। ती दिनमा सरकारले विपतकाल घोषणा गरेन। तर, त्यो विपतकालै थियो।
कसले घोल्यो हावामा विष ?
यसरी वायु प्रदूषण गराउने कारण एउटा मात्र छैन। यसको प्रमुख कारण गाडीबाट निस्कने प्रदूषण हो।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विज्ञान विभागले सन् २०१७ मा गरेको एक अध्ययन अनुसार डिजेलबाट चल्ने र पुराना गाडी काठमाडौं उपत्यकामा वायु प्रदूषणका मुख्य स्रोत हुन्। काठमाडौंका ६ ठाउँमा चलेका १२ हजार गाडीमा गरिएको उक्त अनुसन्धानअनुसार डिजेलबाट चल्ने गाडीले सबैभन्दा बढी प्रदूषण गरेका थिए। पिकअप भ्यानले सबैभन्दा बढी अर्थात् २६ प्रतिशत, ट्रकले २५ प्रतिशत, टिपरले १६ प्रतिशत, ट्यांकरले १२ प्रतिशत, ट्याक्टरले ९ प्रतिशत, बसले ९ प्रतिशत, मिनिबसले २ प्रतिशत र माइक्रोबसले १ प्रतिशत प्रदूषण गर्छन्।
२०५६ सालमा काठमाडौँ उपत्यकामा गुड्ने गाडीको धुवाँ जाँच गर्न थालियो। तोकिएको मापदण्ड पूरा गर्ने गाडीलाई हरियो स्टीकर दिन थालियो। यस्तो स्टिकर नभएका गाडीलाई निश्चित ठाउँमा चल्न नदिने बनाइयो। तर, धुवाँ जाँच अहिले नाम मात्रको छ।
उक्त अध्ययनले निकालेको अर्को निष्कर्ष अझ रोचक छ। त्यो के भने, गाडीहरूले ठीक समयमा सर्भिसिङ मात्रै गर्दा पनि ‘पीएम २.५’ ६६ प्रतिशतले घट्छ।
नेपालमा डिजेलको खपत वर्षेनी बढिरहेकाले वायु प्रदूषण अझै बढ्न सक्ने अनुमान वातावरणविद् प्रा.डा. केदार रिजालको छ।
आर्थिक वर्ष २०६५/६६ मा नेपालमा पाँच लाख लिटरभन्दा कम डिजेल खपत भएकोमा २०७५/७६ मा बढेर एक करोड ७१ लाख लिटर पुग्यो। साथै, डिजेल र पेट्रोलबाट चल्ने गाडी पाँच वर्षमा दोब्बर भए। काठमाडौं उपत्यकामा गाडी वर्षेनी २२ प्रतिशतका दरले बढिरहेका छन्।
२०५६ सालमा काठमाडौँ उपत्यकामा गुड्ने गाडीको धुवाँ जाँच गर्न थालियो। तोकिएको मापदण्ड पूरा गर्ने गाडीलाई हरियो स्टीकर दिन थालियो। यस्तो स्टिकर नभएका गाडीलाई निश्चित ठाउँमा चल्न नदिने बनाइयो। तर, धुवाँ जाँच अहिले नाम मात्रको छ। उपत्यकामा तोकिएको मापदण्ड पूरा गरेर हरियो स्टिकर पाएका र मापदण्ड पूरा नगरेका गाडी कति छन् भन्ने तथ्याङक यातायात विभागसँग छैन।
फोहर जलाउने कामले पनि वायु प्रदूषण गर्न डाइअक्सिन जस्ता हानिकारक पदार्थ निकाल्छ। उपत्यकाका पाँचवटा नगरपालिकामा वर्षेनी सात हजार टन अर्थात् एक दिनमा २० टन फोहोर जलाइन्छ। यसरी जलाइएको फोहरले हावामा वर्षेनी ५५ टन पीएम २.५ र ६० टन पीएम १० फाल्छ।
फोहोर जलाउनु अवैधानिक काम हो। यसो गर्नेलाई ६ महीनासम्मको जेल सजाय र रु.५ हजारदेखि १ लाखसम्म जरिवाना छ। तर, वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी भन्छन्, “नियम पालन गराउन सोचेजस्तो सजिलो छैन। मानिसलाई मनाउन सा¥है कठिन रहेछ।”
प्रदूषण जहाँ गरियो त्यहाँ मात्रै बस्दैन। भारत र पाकिस्तानका विभिन्न शहरमा प्रदूषित हावा काठमाडौँसम्म आइपुग्छ। यो अन्तरदेशीय विषय हो। “कुन देशबाट कति प्रतिशत प्रदूषित वायु नेपाल आउँछ भनेर अध्ययन नभएकाले ती देशसँगको छलफलमा यस्तो विषय उठ्दैन,” वातावरणविद् केदार रिजाल भन्छन्।
- प्रदूषण नगर्ने प्रविधि मास्नु
प्रदूषण नगर्ने प्रविधि मास्नु पनि अहिले वायु प्रदूषण बढ्नुको एउटा कारण हो। आजभन्दा झण्डै १०० वर्षअघि चन्द्रशमशेरले धुर्सिङदेखि काठमाडौँसम्म २२ किमि लामो रोपवे बनाएका थिए। पछि सन् १९६४ मा अमेरिकी सहयोगमा यसलाई विस्तार गरेर हेटौडादेखि काठमाडौँसम्म ४२ किलोमिटर लामो बनाइयो। पुरानो रोपवेले एक घण्टामा २५ टन सामान ओसाथ्र्यो भने विस्तारपछि एकघण्टामा ७६ टन सामान ओसार्ने भयो। यसले काठमाडौँ आउने दुईतिहाइ सामान ओसार्ने गरेको थियो।
रोपवे बिजुलीबाट चल्थ्यो। यसले ट्रकले जस्तो धुवाँ फाल्दैनथ्यो। तर, राणा शासनकालमा बनेको र पञ्चायतकालमा विस्तार गरिएको रोपवेलाई प्रजातन्त्रकालमा नचल्ने बनाइयो। त्यसले बोक्ने सामान ट्रकले बोक्न थालेपछि प्रदूषण बढ्ने नै भयो।
२०३१ सालमा चीन सरकारको सहयोगमा काठमाडौँको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म ट्रली बस चल्न थाल्यो। ट्रली बसले एक दिनमा १० हजारसम्म यात्रु बोक्ने गथ्र्यो। २०५२ सालमा दाताको सहयोगमा १० वटा बस थपिए।
पञ्चवर्षीय योजनामा ट्रली बस सेवा विस्तार गर्ने भनियो। काठमाडौँबाहिर विराटनगरदेखि धरानसम्म ४४ किलोमिटर बाटोमा पनि ट्रली बस चलाउने भनियो। नेपाल यातायत संस्थानले काठमाडौँको चक्रपथमा, सातदोबाटो–गोङ्गवु–रत्नपार्क–त्रिपुरेश्वर–कलंकी–सम्म ट्रली बस चलाउन अध्ययन गरायो। तर, पुस २०५८ मा संकटकाल लागेका वेला सरकारले ट्रली बसको माउ संस्था नेपाल यातायात संस्था भङ्ग गरिदियो।
३० वर्षसम्म राजधानीबासीलाई सेवा दिएको उक्त बस बन्द भयो। सो बसका कुडा करकट अहिले त्यसको मुख्य कार्यालय मिनभवनमा थन्किएका छन्। बस चलाउन ठड्याइएका खम्बा जरैसमेत उखेलेर भक्तपुर सल्लाघारीको चउरमा लडाइएका छन्।
यसरी, जनताको हित नचाहने भनिएको निरंकुश व्यवस्थामा शुरु भएको, वायु प्रदूषण नगर्ने ट्रली बसलाई प्रजातन्त्रकालमा मासियो। “ट्रली मासिनु दुर्भाग्य हो। यसको सेवा आजसम्म सम्झनयोग्य छ। आज ट्रली हुन्थ्यो भने काठमाडौँ कस्तो हुन्थ्यो होला भन्ने लाग्छ,” वातावरण विभागका प्रवक्ता जोशी भन्छन्।
विद्युतीय सावारीलाई छैन प्राथमिकता
काठमाडौँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ ले एक वर्षभित्र बिजुलीबाट चल्ने सवारी साधनको प्रर्वद्धन गर्ने कुरा उल्लेख गरेको थियो। तर, २०७७/७८को बजेटमा सरकारले बिजुलीबाट चल्ने गाडीमा ४०–६० प्रतिशत कर थप्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर २० वटा विद्युत चार्जिङ स्टेसन बनाउने वाचा गरेका थिए। त्यस्तो स्टेशन बनाउने जमिनको अझसम्म टुंगो लागेको छैन।
“सरकारको काम कारवाहिले विद्युतीय गाडी ल्याउ भन्दैन। कर थपेर जनताको ढाड सेके पनि अब बाँकी के भन्ने? प्रदूषणलाई सरकारले समस्या मानेकै छैन,” डा .रिजाल बताउँछन्।
प्रदूषण कम गर्न काठमाडौँ महानगरपालिकाले दुई वर्षअघि स्मार्ट काठमाडौँ नारा ल्यायो। महानगरपालिकाको सार्वजनिक निजी साझेदार विभागका अनुसार यही क्रममा महानगरभित्र फोहर फाल्ने ६० वटा भाँडा राखियो। यो भाँडामा वायुको गुणस्तर नाप्ने यन्त्र पनि राखिएको थियो। त्यसले विभिन्न ठाउँको हावाको गुणस्तर देखाउँथ्यो। ६० वटा यस्ता भाँडालाई रु.३ करोड ६० लाख परेको थियो। तर, यीमध्ये अधिकांश अहिले चल्दैनन्।
इन्धनले प्रदूषण बढाउने हुँदा सरकारले पेट्रोलमा प्रतिलिटर ५० पैसा कर पनि लिने गरेको छ। यही शीर्षकमा मासिक रु.६ करोड ५० लाखभन्दा बढी संकलन हुन्छ। वातावरण विभागका अनुसार यो रकम प्रदूषण कम गर्न उपयोग भएको छैन।
कुनै समय काठमाडौँमा पेट्रोलियम पदार्थबाट चल्ने टेम्पो चलाइन्थो। त्यस्ता टेम्पोलाई बिजुलीले चल्ने बनाइयो। सफा टेम्पो नाम पाएका ती टेम्पोले प्रदूषण गर्दैनथे। तर, तिनको सफलताबाट सिक्नुका सट्टा तिनलाई हटाउन वेला वेलामा कोसिस हुने गरेकाे छ।
यसरी गर्नु पर्ने काम नगरिदिँदा, नगर्नु पर्ने काम गरिदिँदा, भइरहेका राम्रा काम बन्द गरिदिँदा काठमाडौँको वातावरण बिग्रनुसम्म बिग्रेको छ। यसको मार मानिसलाई परेको छ।
झण्डै चार वर्षअघि काठमाडौँ महनगरपालिकाका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले चुनावी अभियानका क्रममा तीन वर्षभित्र काठमाडौँ उपत्यकामा केबलकार, मोनोरेल र बिजुलीबाट चल्ने चुस्त गाडी चलाउने वाचा गरेका थिए। त्यसो भएको भए पेट्रोलियम पदार्थबाट चल्ने गाडी कम हुन्थे र हावामा भइरहेको प्रदूषण घटथ्यो। तर, यी विषय गफैगफमा उडे।
कुनै समय काठमाडौँमा पेट्रोलियम पदार्थबाट चल्ने टेम्पो चलाइन्थो। त्यस्ता टेम्पोलाई बिजुलीले चल्ने बनाइयो। सफा टेम्पो नाम पाएका ती टेम्पोले प्रदूषण गर्दैनथे। तर, तिनको सफलताबाट सिक्नुका सट्टा तिनलाई हटाउन वेला वेलामा कोसिस हुने गरेकाे छ।
नेपाल प्रहरीले गाडी चलाउने मानिसले रक्सी खाएको छ कि छैन भनेर जाँच्थ्यो। त्यस्तो भेटिए उसलाई जरिवाना तिराउँथ्यो। ट्राफिक नियमसम्बन्धी कक्षा लिन लगाउँथ्यो। यो अभियानले रक्सी खाएर गाडी चलाउन रोकेको थियो। प्रहरीको त्यो सफलताबाट पाठ सिकेर सडकमा हिँड्ने गाडीको प्रदूषण जाँच गर्ने र त्यसमा फेल हुनेलाई बाटो हिँड्ने नदिने, प्रदूषण र यसको असरबारे कक्षा लिन लगाउने हो भने वायू प्रदूषण निकै घट्न सक्छ। रक्सी खाएकालाई गाडी चलाउन नदिने अभियानलाई घुसले असफल पार्न सकेन भने यस्तो अभियानलाई पनि असफल पार्न सक्दैन।
भद्रगोल सार्वजनिक यातायत, अव्यवस्थित सडक, थेगी नसक्नु मानिस र घरभित्र र बाहिरको धुवाँ धुलोले काठमाडौँ निसास्सिएको छ। “अरु केही नदिए पनि सास त शुद्ध फेर्न देऊ,” डा.कोइराला माग गर्छन्।
तर, राम्रा प्रविधि मास्नेलाई ‘ती प्रविधि किन मासिस् ?’ भनेर नसोध्ने, वायु प्रदूषण कम गर्न गर्नुपर्ने कामको जिम्मा पाएकालाई ‘ती काम किन गरिनस् ?’ भनेर नसोध्ने हो भने सरकारले हामीलाई शुद्ध सास फेर्न नदिने पक्का छ।
- हिमालमिडियाले निर्माण गरिरहेको र डिसहोम (सरोकार च्यानल, १३०) बाट प्रत्येक साता सोमबार राति ८:३० बजे प्रशारण भइरहेको भिडियो म्यागाजिन 'सग्लो समाज' को चाैथाे अंक ‘बिखालु हावा’ मा आधारित सामग्री।