के हुन् त नेपाल विकासका अन्तर्विरोध ?
नेपालको समूल विकास नहुनुमा भाग्यवाद, जात व्यवस्था र यससँग जोडिएका तमाम विकृति चाकरी, आफ्नो मान्छे, भनसुन जिम्मेवार छन् । र, यसको स्रोत हिन्दु वर्णवादी अवधारणा नै हो।
मानवशास्त्री डोरबहादुर विष्टको चर्चित पुस्तक ‘फेटलिज्म एण्ड डेभलपमेन्ट’ (भाग्यवाद र विकास) मा नेपाली समाजलाई थला पारेको भाग्यवाददेखि चाकरी प्रथासम्मको चर्चा गरिएको छ।
विष्टका अनुसार, नेपालले विकासमा फड्को मार्न नसक्नुमा भाग्यवाद प्रमुख जिम्मेवार छ । उनको ठम्याइमा सोच, शैली र प्रविधिमा आधुनिक भएर विकासलाई पछ्याउन नसक्नु नेपाल र नेपालीको समस्या हो । नेपाली समाजको विकासका मुख्य अवरोधहरू भाग्यवाद, बाहुनवाद, चाकरी प्रथा, आफ्नो मान्छे र जात व्यवस्था रहेको उनको निष्कर्ष छ ।
‘कोही मान्छे किन दलित भएर जन्मिन्छ ? भाग्यमा त्यस्तै लेखेको हुनाले । महिला हुनु, गरीब हुनुको कारण के हो ? सबै भाग्यकै खेल । आफ्नो भाग्यमा जे छ, सबैले भोग्नैपर्छ ।’ यस्तै–यस्तै सुनेर हामी हुर्केका हौँ । भाग्यवादको यो पक्षलाई विष्टले ‘भाग्यवाद र विकास’ पुस्तकमा राम्ररी उजागर गरेका छन् ।
एक्काइसौँ शताब्दीको मानिस अझै पनि कुनै मन्दिर, मस्जिद, चर्च अगाडि पुग्दा आफ्नो हात छाती र टाउकोमा लगेर ढोग्छ । सोचेको पूरा भएकोमा र कामना पूरा होस् भनेर प्रार्थना र पूजा गर्छ । आफ्नो तमाम सुख र दुःखको कारण व्यक्तिले आफू, समाज र व्यवस्थाभित्र खोज्दैन । बरु सबै कुराको कारण र प्रभाव कुनै निराकार शक्तिमा निहित छ भनेर ढुक्क हुन्छ ।
विष्टका अनुसार, भाग्यवाद र विकासको अन्तरसम्बन्ध प्रगाढ छ । नेपाली समाजको विकास र प्रगति नहुनमा उनले भाग्यवादमै अल्झिएको संस्कार, विचार र अभ्यासलाई कारण मानेका छन् ।
डोरबहादुर विष्ट
चाकरी नेपाली समाजको अर्को महारोग हो । कुनै व्यक्तिप्रतिको समर्पण र विश्वसनीयता प्रकट गर्ने प्रभावकारी माध्यम चाकरी नै हो । विशेष गरी राणा शासनकालमा चाकरी प्रथाको व्यापक अभ्यास भयो । समयक्रममा मुलुकको व्यवस्था बदलिएर राजतन्त्र हुँदै गणतन्त्रमा आइपुग्दा पनि त्यो गलत अभ्यास हट्नु साटो झन् हाम्रो समाजको जीवन संस्कृति नै बनिसकेको छ ।
शक्तिमा रहेका व्यक्तिहरू आफ्नो गल्ती–कमजोरीमा कसैले औंला उठाएको सहँदैनन्, आफूबारे राम्रा कुरा मात्रै सुन्न चाहन्छन् । यही चिरा परेको ठाउँमा चाकरीले डेरा जमाएको छ । यसैलाई पेशा बनाएर एकथरी व्यक्तिहरू राम्रो पद, पैसा हत्याउन सफल छन् ।
विष्टले औंल्याएका यी कुरा बाहेक मुलुकको राजनीति, आर्थिक प्रणाली, सामाजिक व्यवस्था र यी तीन पक्षलाई चलायमान गर्ने वैचारिक धार समाज अग्रगमनका बाधक हुन् । विष्ट मानवशास्त्री भएकाले समाज र यसको अन्तर्विरोधलाई बुझ्ने उनको आफ्नै वैचारिक व्याख्या र बुझाइ छन्, जसलाई उनको सीमाका रूपमा हेर्नुपर्ने हुन्छ ।
विष्टको विश्लेषण छ, नेपाली समाजको विकास द्रुत रूपमा नहुनुमा मूलत भाग्यवादी चिन्तन नै बाधक हो । भाग्यवादी भाष्यलाई फलाउने र थोपर्ने काम चाहिँ हिन्दु धर्म र ब्राह्मणवाद (बाहुनवाद) ले ग-यो । भाग्यवादको प्रभाव समाजको शिक्षा, प्रशासन, राजनीति, सरकार, विदेशी दातृ निकाय सबै क्षेत्रमा व्याप्त छ । जसको कारण नेपाली समाजको प्रगतिको बाटो मात्रै अवरुद्ध भएन, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत अत्यधिक परनिर्भरता बढ्यो ।
३० वर्षअघि लेखिएको ‘फेटलिज्म एण्ड डेभलपमेन्ट’ (सन् १९९१) पुस्तकको निष्कर्ष आज पनि नेपालको सामाजिक, सांस्कृतिक विषयमा सान्दर्भिक छन् । किनकि यी पक्षमा नेपाली समाज अपेक्षित मात्रामा प्रगतिशील हुन सकेको छैन ।
मूलतः विष्टद्वारा प्रेषित नेपाली समाजको धर्म, संस्कृति, वर्ग, जात व्यवस्थाबारेका विचारहरू सामान्यीकरण, एकपक्षीय र पूर्वाग्रही भएको भन्दै आलोचना भएको छ।
अझै पनि चुलो छोएको, अन्तर्जातीय विवाह गरेको नाममा कैयौं दलितमाथि दुव्र्यवहार, यातना र हत्याको सिलसिला चलिरहेकै छ । महिलालाई बोक्सीको नाममा कुटपिट तथा हत्या गर्ने, दाइजो नदिएको निहुँमा जलाउने, बलात्कारजन्य हिंसा, घरेलु हिंसा जस्ता कुसंस्कार घटेको छैन ।
‘भाग्यवाद र विकास’ अत्यधिक पढिएको र सन्दर्भ सामग्री बनाइएको पुस्तक हो । यसमा सन् १९५१ देखि १९८० सम्म नेपालले अवलम्बन गरेको विकास सम्बन्धी नीतिबारे आलोचनात्मक विश्लेषण गरिएको छ । पुस्तक बहसमा जति आएको छ, यसभित्र समेटिएका अवधारणाबारे त्यति नै विभिन्न व्यक्ति र कोणबाट खरो आलोचना पनि भएको छ । मूलतः विष्टद्वारा प्रेषित नेपाली समाजको धर्म, संस्कृति, वर्ग, जात व्यवस्थाबारेका विचारहरू सामान्यीकरण, एकपक्षीय र पूर्वाग्रही भएको भन्दै आलोचना भएको छ ।
विकासको अवरोध जात व्यवस्था
नेपाली समाजमा जात व्यवस्थाले सिर्जना गरेको पिरामिड सोपानतन्त्र अझै पनि कायमै छ । दक्षिण एशियामा ३ हजारभन्दा बढी र नेपालमा करिब १५ सय वर्षको हिन्दु वर्ण (जाततन्त्र) को इतिहासले जातका आधारमा उच्च र निम्न तह सुनिश्चित हुने र अउल्लंघनीय श्रम व्यवस्था कायम गर्यो । जसले मानिसलाई ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रका आधारमा स्थानमान गरायो ।
शूद्रको काम आफूभन्दा माथि तीन जातको सेवा गर्नुपर्ने भनियो । उनीहरूले सम्पत्ति जोड्न नहुने, गहना लगाउन नहुने जस्ता नियमहरू बनाएर समाजमा सबैभन्दा हेलित र बहिष्कृत बनाइयो ।
तस्बीर: हिमाल आर्काइभ
जति तल्लो जात उति तल्लो वर्ग, जति माथिल्लो जात उति माथिल्लो वर्ग । जनजातिभित्र ‘नमासिन्या र मासिन्या मतवाली’बीच सानो र ठूलोको स्तरीकरण गर्दै समाजका सबै मानिसलाई जातका आधारमा विभाजन गर्ने काम कथित हिन्दु उच्चजातीय शासकले गर्यो ।
मानवशास्त्री विष्टका अनुसार, मध्यकालमा नेपाल व्यापार र हस्तकलामा राम्रो अवस्थामा थियो । तर, झन् पछि झन् व्यापार, उद्योग र राष्ट्रिय पूँजी निर्माणमा परनिर्भर हुँदै गयो ।
स्वाभाविक छ, भाग्यवादको भाष्यले कर्मलाई उपेक्षा गर्न प्रेरित गर्छ, उत्पादनलाई महत्वहीन बताउँछ, श्रमद्वारा निर्मित आर्थिक उपलब्धि र विकासलाई हतोत्साही गर्छ । हिन्दु समाजमा श्रम गर्नु भनेको तुच्छ हुनु हो, परिश्रम गर्नु लाजको विषय हो । तसर्थ गफ गरेर, षड्यन्त्र र चाकरी गरेर खाने प्रवृत्तिले मान, सम्मान प्राप्त गर्ने संस्कारको विकास ब्राह्मणवादले गर्यो ।
दलित समुदायबारे अपूर्ण व्याख्या
पुस्तकमा दलित समुदायका बारेमा विष्टको कतिपय विश्लेषण अपूर्ण र एकपक्षीय छ । अन्य जातिको तुलनामा दलित समुदाय परिश्रमी भएकाले उनीहरूको द्रुत गतिमा आर्थिक विकास भएको छ भन्ने विश्लेषण गलत र आधारहीन देखिन्छ । यथार्थ भने ठीक उल्टो छ ।
नेपाली समाजमा अझै ४२ प्रतिशत दलित समुदाय गरीबीको रेखामुनि बाँचिरहेका छन् । २५ लाख भूमिहीनमध्ये १७ लाख दलित समुदायका व्यक्तिहरू छन् । आर्थिक वञ्चितिकरण, असमावेशी र सामाजिक न्यायमा न्यून पहुँच दलित समुदायको सबैभन्दा ठूलो चुनौती बनेको छ । यो अवस्था रातारात सिर्जना भएको हैन ।
तर, विष्टले दाबी गरे झैं अढाई सय वर्षको हिन्दु वर्णवादी शासनको मुख्य निर्णय गर्ने ठाउँमा खसआर्य वर्चश्व रहेको कुरा जायज छ । पटकपटकको राजनीतिक परिवर्तनपछि पनि शासन व्यवस्थामा हिन्दु वर्णवादी पुरुष वर्चश्व कायमै छ । २००७ सालदेखि २०७७ सम्म देशको प्रमुख कार्यकारीमा २१ जना ब्राह्मण पुरुष अनुहार पालैपालो प्रधानमन्त्री बने ।
ब्राह्मणपछि क्षेत्री शासक बनेको लामो फेहरिस्त छ । तर, तिनले विकासको नाममा के गरे ? देशको आर्थिक कायापलट गर्न, समानता र समतामूलक समाज निर्माण गर्न र मुलुकलाई समृद्ध बनाउन तिनको के भूमिका रह्यो ?
विष्टले विश्लेषण गरेको समयको तीन दशक पछाडि आउँदा पौने एक करोड नेपाली रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतामा छन् । देश आर्थिक रूपमा पूर्णरूपमा परनिर्भर हुने स्थितिमा पुगेको छ । शासन व्यवस्थामा चरम असमावेशीकरण, स्रोत साधनमा उत्पीडित समुदाय र वर्गको बहिष्करण, सामाजिक न्यायको कन्तबिजोग र राज्यको स्रोतमा मुठीभर मानिसको खेलोमेलो रह्यो ।
महिला सम्बन्धी एकपक्षीय बुझाइ
विष्टले महिलाका सन्दर्भमा गरेको कतिपय विश्लेषण पनि तर्कसंगत छैनन् । महिलामाथि शोषण र उत्पीडन रहेको र त्यसभित्र पनि खसआर्य महिला बढी उत्पीडित रहेको उनी स्वीकार्छन् ।
विष्टका कतिपय विश्लेषण सतही देखिन्छन्। जस्तै, जनजाति महिलाहरू आफूलाई जबर्जस्ती घिसारेर बिहे गर्दा गर्व गर्छन् भन्ने उनको बुझाइ छ।
तर, पारिवारिक रूपमा महिलाहरू शक्तिशाली हुन्छन् भन्ने कुरा भ्रमपूर्ण छ । पारिश्रमिकबिना दैनिक १८ घण्टा श्रममा जोतिने १९.७ प्रतिशत नेपाली महिलाको हातमा जम्मा ५ प्रतिशत मात्र जमीन छ (आईएलओ) । अहिलेसम्म आइपुग्दा सम्पत्तिमा नेपाली महिलाको स्वामित्व जम्मा २६.३ प्रतिशत छ ।
अझै नेपाली महिला पुरुषसरह वंशजको अधिकार, शिक्षा, रोजगारी र सम्पत्तिमा समान अधिकारका लागि संघर्षरत छन् । आजभन्दा ३० वर्षअघिको नेपाली महिलाको सामाजिक–आर्थिक अवस्था चरम असमान र बहिष्कृत नै थियो भन्न कुनै हिसाब गरिराख्नै पर्दैन ।
विष्टका कतिपय विश्लेषण सतही देखिन्छन् । जस्तै, जनजाति महिलाहरू आफूलाई जबर्जस्ती घिसारेर बिहे गर्दा गर्व गर्छन् भन्ने उनको बुझाइ छ । अब्बल जनजाति महिलालाई नै पुरुषहरूले छोपेर (जबर्जस्ती कब्जा) गरेर बिहे गर्छन् भन्ने मान्यतालाई विष्टले जनजाति महिलाको गर्वको विषय भनेर स्थापित गर्न खोजेका छन्।
मेला वा जात्रामा गएको बेला कहिल्यै नदेखेको, उमेर र प्रेमभावले नजोडिने पूर्णतया अनमेल विवाह ठीक भन्नु चरम पितृसत्तात्मक चिन्तन हो ।
समाज बुझ्ने भिन्न वैचारिकी
संसार र समाजको प्रत्येक वस्तु र गतिलाई बुझ्ने मूलतः दुई वटा अवधारणा छन्, आदर्शवाद र भौतिकवाद । भाग्यवादको मुख्य वैचारिकी भनेकै आदर्शवाद हो, जसको स्रोत धर्मशास्त्र हो । वेद, मनुस्मृति र भगवद्गीता हिन्दुहरूको दर्शन र आदर्श हो ।
भगवद्गीताले भन्छ, ‘सबै इच्छाबाट मुक्त होऊ’, ‘कर्म गर, फलको आशा नगर’ । यो दर्शनले आफ्नो क्षमता, ऊर्जा र प्रयासमा विश्वास गर्न सिकाउँदैन ।
यहाँनेर विष्टको भनाइ सान्दर्भिक लाग्छ । उनका अनुसार, भाग्यवादले मानिसलाई अगाडि बढ्न, प्रगति गर्न मात्रै रोक्दैन, निराश र गैरजिम्मेवार पनि बनाउँछ । जब खुशी, समृद्धि र परिणाम हाम्रो वशमा छैन भने कोही किन मिहिनेत गर्छ वा जिम्मेवार बन्छ ?
विष्टको ठम्याइमा हिन्दु समाज आजका लागि चिन्तित छैन, बरु मरिसकेपछि स्वर्ग जान पाइन्छ वा पाइँदैन भन्ने कुरामा चिन्तित देखिन्छ । यो विश्लेषण यथार्थपरक लाग्छ ।
कार्ल माक्र्स धर्मलाई अफिम भन्छन् । माक्र्सका अनुसार, धार्मिक संरचनाहरूले मानिसलाई प्रश्न गर्न नसक्ने बनाउँछन् । समाजमा जे–जस्ता विकासक्रम र अन्तरविरोध छन्, धर्मले त्यसलाई स्वाभाविक प्रक्रिया हो भनेर स्थापित गर्छ । तसर्थ धर्मले अग्रगमन र क्रान्तिका लागि अवरोध गर्ने उनको निचोड छ ।
संसारको इतिहास हेर्दा थाहा हुन्छ, शुरूमा धर्मको कल्पना वा स्थापना स्वार्थकेन्द्रित नभए पनि विस्तारै शासकहरूले यसलाई आफ्नो स्वार्थ अनुकूल शोषण गर्ने हतियार बनाए । नेपालको सन्दर्भमा पनि वर्णवादी शासकहरूले धर्मलाई आफ्नो पकड बलियो बनाइराख्न भरमग्दुर प्रयोग गरे।
राजालाई सर्वपुज्य रूपमा स्थापित गर्न विष्णुको अवतार भनियो । जतिसुकै नालायक र भ्रष्ट भए पनि राजाको छोरा नै राजा हुनुपर्ने बाध्यकारी चलनको स्रोत हिन्दु धर्मशास्त्रले निर्देशित गरेको धर्मशास्त्र र मनुस्मृति नै हुन् ।
तस्बीर: हिमाल आर्काइभ
राजतन्त्र ढलेर गणतन्त्र स्थापना भएयता राजावादीहरूले धर्मनिरपेक्षताको विरुद्ध हिन्दु राष्ट्रको मागको वकालत गर्दै आएका छन् । यसको चुरो कुरो पनि भाग्यवाद र जात व्यवस्थालाई कट्टर बनाउने पत्रु अवधारणा हो, जसको ध्येय समाजलाई पूर्ववत् सामन्ती संस्कार र पश्चगमनको बनोटमा पुर्याउने सिवाय केही हैन ।
वर्णवादी हिन्दु सामाजिक–सांस्कृतिक व्यवस्थाअनुसार शासन गर्ने शुरूआती व्यक्तिसहित आज यसैको आवरणमा टाउको उठाउर्नेहरू नेपाली समाजको अग्रगमन विरोधी तप्का हुन् भन्ने विष्टको तर्कसँग सहमत हुन सकिन्छ ।
तर, विष्टले भनेजस्तो भाग्यवाद र बाहुनवाद मात्रै विकासको प्रगतिका बाधक हैनन् र हुन सक्दैनन् । कुनै पनि परिघटनामा अग्रगति वा पश्चगतिका लागि व्यक्तिको क्रियाकलाप वा चिन्तनले भूमिका खेल्न त सक्छ, तर प्रधान हुँदैन । तसर्थ नेपालको समूल विकास नहुनुमा भाग्यवाद, जात व्यवस्था र यससँग जोडिएका तमाम विकृति, चाकरी, आफ्नो मान्छे, भनसुन जिम्मेवार छन् । र यसको स्रोत हिन्दु वर्णवादी अवधारणा नै हो ।
विष्टले भाग्यवादले शिथिल बनाएको आधुनिक विकासको प्रगतिलाई जनजाति समुदायमा भएको सामाजिकता र समुदाय केन्द्रित उत्पादनमुखी आर्थिक सांस्कृतिक मूल्य–मान्यतामा केन्द्रित गर्न सक्नुपर्छ भन्ने बलियो मत राखेका छन्, जुन सकारात्मक छ ।
पूँजीवादी विकासप्रतिको मोह
विष्ट अलि बढी पश्चिमा संस्कृति र सामाजिकीकरणतर्फ आकर्षित देखिन्छन् । उनको ठम्याइ छ, क्रिश्चियन धर्म, इस्लाम, बुद्ध धर्म लगायत अन्य संस्कृतिमा व्यक्तिकेन्द्रित अनुशासन, आत्मालोचना, आर्थिक उत्पादन र जोहो सम्बन्धी असल अवधारणा छ ।
मानव समाजको अस्तित्व र विकास सम्बन्धी मूलतः दुई विश्व दृष्टिकोण छन्, चेतनालाई प्रधान मान्ने प्रत्ययवाद र पदार्थलाई प्राथमिक मान्ने भौतिकवाद । सबै धर्मसम्प्रदाय मूल रूपमा अतिभूतवादी प्रत्ययवादको दार्शनिक मान्यताको जगमा उभिएका हुन्छन् । आजको दिनमा पनि धेरै शासकहरूले जनतामाथि दमन र शोषण गर्न धर्मलाई सहारा बनाएका छन् ।
एक धर्मलाई अर्को धर्म विरुद्ध उक्साएर होस् वा व्यक्ति–व्यक्तिबीच धार्मिक असहिष्णुता फैलाएर होस्, शासकहरू हजारौँ वर्षदेखि आफ्नो दुनो सोझ्याउन सफल भएका छन् । पछिल्लो समय छिमेकी मुलुक भारतको शासकले हिन्दुवादको तुरुपद्वारा जातीय र धार्मिक अल्पसंख्यकहरूमाथि गरिरहेको चरम दमन र हिंसाले सीमा नाघेको छ ।
वर्तमान विश्व साम्राज्यवादले धर्मलाई सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्ति लगायत सबै प्रकारका आन्दोलन रोक्ने हतियारका रूपमा प्रयोग गरिरहेको छ । वर्तमान विश्वमा चरम नश्लीय राष्ट्रवादको बीजारोपणले भारत, अमेरिका र नेपालमा पनि फासीवादको उदय भइरहेको छ, जसको बीउ धार्मिक अन्धता र कट्टरता नै हो ।
अन्त्यमा,
मानवशास्त्री विष्टको बुझाइमा आधुनिक विकासको अर्थ पूँजीवादी विकास हो । तर, आजको विश्व भूमण्डलीकृत पूँजीवादले व्याख्या गरेको विकास कसको लागि र कस्तो भन्ने प्रश्न मुख्य बनेको छ ।
विश्वको ८० प्रतिशत धन दुई प्रतिशत मानिसको नियन्त्रणमा छ । बाँकी ९८ प्रतिशत मानिसको जीवन चरम गरीबी, अभावमा हुनु पूँजीवादी व्यवस्थाको असफलता हो । विकसित देशहरूले धनी हुन बनाएका विकासका मोडलहरूले तेस्रो विश्व र गरीब मुलुकका लागि आर्थिक संकट थपिरहेको छ ।
नेपालमा विकासका विभिन्न मोडल अभ्यास भए, जुन मूलतः ट्रिकल डाउन मोडल (केन्द्रबाट निर्देशित) नै लागू भए । आजको नेपाली अर्थतन्त्र बजार र व्यक्तिलाई छाडा छोडिएको, नाफाकेन्द्रित नवउदारवादी आर्थिक प्रणाली हो । यस मोडलको निरन्तर अभ्यासले मुलुकको अर्थतन्त्र पूर्णरूपमा परनिर्भर बन्न पुगेको छ ।
विकासको अवरोधक जात व्यवस्थामा आधारित असमानता मात्रै छैन, वर्गीय, क्षेत्रीय, लैंगिक, भाषिक उत्पीडन पनि विकासका बाधक हुन्। तर, विष्ट नेपालको अर्थराजनीति, परिर्वतन र विकसित विभिन्न अवधारणाप्रति मौन छन्।
विष्टले मुलुकको विकास नहुनुमा भाग्यवाद, चाकरी, जात व्यवस्था, लगायतलाई प्रमुख अवरोध उल्लेख गरेका छन् । तर, माथि उल्लिखित तमाम अवधारणाको जग विचारधारा र त्यसको अर्थराजनीतिक पक्षलाई मसिनो गरी केलाउन उनी चुकेका छन् ।
१०४ वर्षे राणाकालमा फूले–फलेको चाकरी प्रथा र आफ्नो मान्छे संस्कृति ३० वर्षे शासन चलाएको राजा खलकको नेतृत्व र पञ्चायती राजतन्त्रमा हराभरा बन्यो । जसप्रति विष्टले आँखा चिम्लिन पुगेका छन् ।
जातका आधारमा विभाजित हिन्दु समाजमा यसकै आधारमा श्रम, मान, प्रतिष्ठा निर्धारण हुन्छ । निश्चित जातभित्र पनि शासक वर्गले नै शोषणका तानाबाना र षड्यन्त्र बुनेका हुन् । परिवर्तित अवस्थामा बजार र पूँजीवादी व्यवस्था समेत हिन्दु जात व्यवस्थासँग घुलमिल भएको छ, जसको विस्तार संसारभरि भएको छ । तर, जातको आधारमा हुने विभेदका स्वरूप परिवर्तन भएका छन् ।
विकासको अवरोधक जात व्यवस्थामा आधारित असमानता मात्रै छैन, वर्गीय, क्षेत्रीय, लैंगिक, भाषिक उत्पीडन पनि विकासका बाधक हुन् । तर, विष्ट नेपालको अर्थराजनीति, परिर्वतन र विकसित विभिन्न अवधारणाप्रति मौन छन् । यसलाई उनको सीमा बुझ्नुपर्छ ।
मानिसले आफ्नो इतिहास आफैँ बनाउँछ, (माक्र्स, द एटिन्थ ब्रुमेर, १८५२) तर आफू अवस्थित ऐतिहासिक र वस्तुगत परिवेशमा टेकेर इतिहासको निर्माण हुन्छ । आलोचनात्मक चेतयुक्त वृत्तमा प्रचलित एउटा भनाइ छ, ‘जब प्रश्नहरू सकिन्छन्, त्यस कुराको अगाडि जाने सम्भावना पनि समाप्त हुन्छ ।’ तसर्थ नेपाल र नेपालीको प्रगतिका बाधक तत्वहरूमाथि प्रश्न र फेरि पनि प्रश्न गर्दै अग्रगमनतर्फ बढ्नुको विकल्प छैन ।