टेलिकमको सिमकार्ड आफ्नो नाममा ल्याउन ग्राहक विवरण अद्यावधिक गर्नुपर्ने
नेपाल टेलिकमका ग्राहकले आफ्नो नाममा नरहेको सिमकार्ड आफ्नो नाममा ल्याउन प्रिपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक गर्नुपर्ने छ। आफ्नो नाममा सिमकार्ड भए नभएको जान्न ग्राहकले *९२२# डायल गर्नुपर्ने छ।
सिमकार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्ने छ।
अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैँले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी ग्राहक विवरण अद्यावधिक गर्न सकिन्छ। अद्यावधिक गर्दा ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरू सोही समयमा भेरिफाई पनि गर्नुपर्छ।
पोस्टपेड सिमकार्ड नामसारी गर्न पनि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ। अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा ती व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्छ।
सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो चाहिने टेलिकमले जानकारी दिएको छ। संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ। आवश्यक कागजातका साथ दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्नुपर्ने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन्।