एकातिर पूर्वाधार निर्माण, अर्कोतिर प्रतियोगिता
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश–५ मा पूर्वाधारहरू हतारमा निर्माण गरिंदा तिनको गुणस्तरसँगै प्रतियोगितापछि काम पूरा हुनेमा प्रश्न उठेको छ।
गएको मंसीरमा आयोजना गर्ने भनिएको आठौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता दुई पटक स¥यो । त्यसको एक मात्र कारण थियो– खेल पूर्वाधार समयमै नबन्नु । जसका कारण प्रदेश–५ का लागि अनुकूल मौसम मंसीर महीना छोडेर अहिले वैशाखको हपक्क गर्मीमा प्रतियोगिता भइरहेको छ ।
२७ चैतदेखि प्रतियोगिताका खेलहरू शुरु भई ५ वैशाखमा उद्घाटन भइसक्दा समेत अहिले पनि चिन्ता पूर्वाधार निर्माणकै छ । कतिपय पूर्वाधार अझै बनिसकेका छैनन् । ठेकेदार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्राविधिकहरू दिनरात खटिइरहेकै छन् ।
प्रतियोगिताको उद्घाटन र समापन समारोह हुने मुख्य खेलस्थल नेपालगञ्ज रङ्गशालाको भीआईपी प्यारापेटमा उद्घाटनका दिनसम्म पनि निर्माण चलिरहेको थियो । पौडी पोखरीमा बल्ल टायल बिछ्याउने काम भएको छ । दाङको बेलझुण्डी रङ्गशालामा सेन्थेटिक ट्र्याक बिछ्याइए पनि त्यसमा लाइन मार्किङ गर्न नभ्याउँदा चुनाले नै रेखा कोरिएको छ ।
यस्तो हतारको काम प्रायः सबै निर्माणस्थलमा देखिएको छ । खेल पूर्वाधार निर्माणका लागि तीन महीनादेखि नेपालगञ्जमा खटिएका राखेपका इन्जिनियर विश्वामित्र सञ्ज्याल भन्छन्, “हामी दिनरात जुटिरहेका छौं । पौडी पोखरीमा टायल बिछ्याउने काम सकियो, खेल हुने दिनसम्ममा पानी भरिसक्नेछौं । अन्य पूर्वाधारहरू निर्माण हुँदै गर्छ । तर कम्तीमा खेलका बेला काम चल्ने गरी पूर्वाधार बनाउने हाम्रो उद्देश्य हो ।”
दुई वर्षअघि पूर्वाञ्चल क्षेत्रले सातौं राष्ट्रिय खेलकुद आयोजना गरेका बेला आठौं संस्करणको जिम्मा पाएको प्रदेश–५ ले प्रतियोगिता निर्धारित समयमै गर्ने प्रतिबद्धता जनाएको थियो । यसअघि चौथो राष्ट्रिय प्रतियोगिताको आयोजना गरिसकेको नेपालगञ्ज र वरपरका जिल्लामा पुराना पूर्वाधार छँदैथिए, तर तिनीहरूको मर्मत गरिएको थिएन । धेरै नयाँ पूर्वाधार आठौं संस्करणकै निम्ति बनाइएको छ र बन्ने क्रम जारी छ ।
आठौं राष्ट्रिय खेलकुदका निम्ति बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र दाङमा गरी २१ वटा विभिन्न महत्वपूर्ण खेल पूर्वाधार खडा भइसकेको छ । भीआईपी प्यारापेट सहितको नेपालगञ्ज रङ्गशाला, पौडी पोखरी, सेन्टेथिक ट्र्याक र प्यारापेट सहितको बेलझुण्डी रङ्गशाला, जुडो एकेडेमी, शूटिङ रेञ्ज मुख्य पूर्वाधार निर्माण हुन् ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष तथा भौतिक पूर्वाधार निर्माणका संयोजक भीम ओली अहिले भइरहेका छिटपुट आलोचनाले फरक नपार्ने टिप्पणी गर्छन् । उनी भन्छन्, “हामीले ५० वर्षका लागि पुग्ने गरी खेल पूर्वाधार निर्माण गरेका छौं । प्रदेश–५ ले भविष्यमा कुनै पनि ठूलो खेल आयोजना गर्ने ल्याकत राख्छ, मुख्य विषय यही हो ।”
निर्माण पूरा हुनेमा आशंका
संघीय सरकारले प्रदेश–५ मा राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण गर्न रु.१ अर्ब बजेट विनियोजन गरेको छ, जुन यो प्रतियोगिताको इतिहासमै ठूलो रकम हो । राष्ट्रिय खेलकुदलाई लक्षित गरी पूर्वाधार निर्माण गरिए पनि सबै काम वैशाखभित्र टुङ्ग्याउने गरी सम्झौता भएको होइन ।
जस्तो, पौडी पोखरीको ठेक्काको अन्तिम मिति आगामी १७ जेठसम्म छ । दाङको बेलझुण्डी रङ्गशालाको काम अर्को वर्षसम्ममा मात्र पूरा हुनेछ । ‘चेञ्जिङ रुम’ सहितको दुईतले भवन र ५०० सिट क्षमताको भीआईपी प्यारापेट निर्माण पूरा हुन एक वर्ष थप समय चाहिने र त्यसलाई आगामी आर्थिक वर्षको बजेटले समेट्नुपर्ने भनिएको छ ।
हतारमा निर्माण गरिएका पूर्वाधारको गुणस्तर कस्तो होला भन्ने प्रश्न त छ नै, प्रतियोगिता सकिएपछि निर्माण कार्यले निरन्तरता पाउने हो कि होइन भन्नेमा धेरैको चिन्ता छ । विगतका उदाहरणले नै यस्तो शंका गर्ने ठाउँ दिएको हो । सातौं राष्ट्रिय खेलकुदका बेला पूर्वाञ्चलमा थालिएको पूर्वाधार निर्माण अझैसम्म अपुरो छ ।
धनगढीको छैटौं राष्ट्रिय खेलकुदपछिको निर्माण पनि पूरा भएको छैन । सफ्ट टेनिसको पूर्व राष्ट्रिय खेलाडी रहेकी नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा मगर भन्छिन्, “हतारहतारमा पूर्वाधार बनाउँदा गुणस्तरमा सम्झौता गरियो कि भन्ने चिन्ता छ । प्रतियोगिता सकिएपछि निर्माण अलपत्र पर्ने हो कि भन्ने चिन्ता पनि यहाँका बासिन्दामा छ ।”
राखेपका सदस्य–सचिव केशवकुमार विष्ट पूर्वाधार निर्माणको पूरै बजेट आइनसकेको र खेल सकिएपछि पनि निर्माण जारी रहने बताउँछन् । उनी भन्छन्, “सबै काम अहिले हुने होइन ।
राष्ट्रिय खेलकुद अवरुद्ध नै नहोस् भन्ने मात्र हाम्रो प्रयास हो ।” सदस्य–सचिव विष्टले भने झैं बजेट निकासा हुन बाँकी रहँदा बजेट अभावले नै काम अपुरो रहने जोखिम पनि कतिपय नेपालगञ्जवासीहरू देख्छन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेशहरूले आ–आफ्नो दाबी गर्ने क्रम देखिएको छ । यसको कारण आफ्नो प्रदेशमा खेल पूर्वाधार बन्छ भन्ने चाहना नै हो । हालसम्मको राष्ट्रिय खेलकुदमा पूर्वाधारका लागि सर्वाधिक बजेट पाएको प्रदेश–५ मा स्थानीयबाट व्यक्त चिन्ता र चासो सम्बोधन भएमा यो प्रदेश खेल पूर्वाधारको हिसाबले समृद्ध हुनेछ ।