हाम्रो भाग्यवाद कसरी विकासको बाधक छ ?
नेपालमा अर्थतन्त्रको मुख्य–मुख्य पक्षबारे तथ्याड्ढहरू पाइन्छन्, तर सामाजिक तथ्याड्ढहरू भने थोरै मात्र पाइन्छन् । देशको कुल जनसङ्ख्याको अनुमानित आँकडा नभएका होइनन् र जन्मदरमा आएका परिवर्तनलाई सूचीकृत गर्ने प्रयास पनि भएका छन् । तर अनौठो कुरो के छ भने विभिन्न जनजाति समूहको जनसङ्ख्या देखाउने तथ्याड्ढ पाइँदैन । मुलुकको जनसङ्ख्याभित्र खस र किराँत समूहको तुलनात्मक स्थिति कस्तो छ त्यसबारे हामी अनभिज्ञ छौँ ।
गुरूङ, मगर, लिम्बु, जिरेल वा थारु वास्तवमा कति छन् भन्ने पनि हामीलाई थाहा छैन । यस अज्ञानतालाई नेपाली जनताको चारित्रिक विशेषतालाई बङ्ग्याएर प्रस्तुत गर्ने काममा उपयोग गरिएको छ ।
वास्तविकता के हो त्यसको जानकारी नै नराखी नेपाललाई एकै खालको धार्मिक र सांस्कृतिक चरित्र भएको देशका रूपमा हेर्ने प्रशासनिक प्रवृत्ति रहेको छ । यस्तो चित्रण गलत हो ।
उच्च जातका हिन्दूलाई बहुसङ्ख्यक र मतुवालीहरूलाई अल्पसङ्ख्यकका रूपमा प्रस्तुत गर्ने गरिन्छ । त्यसैले बहुसङ्ख्यक मानिएको समूहको संस्कृतिलाई नै वैधानिक तवरमा राष्ट्रिय संस्कृति ठानिनु स्वाभाविक मानिन्छ र त्यसरी एउटै सिङ्गो राष्ट्रिय पहिचानलाई बलियो बनाउने क्रममा जनजाति समूहलाई जातको श्रेणीगत विभाजनभित्र पार्नुलाई पनि उत्तिकै स्वाभाविक मानिन्छ।
यस गलत दृष्टिकोणको एउटा कारण त जात व्यवस्थालाई वैधानिक हिन्दू अधिराज्यको अपरिहार्य शर्त मान्ने प्रवृति हो र अर्को चाहिँ पहिलो भाषाका रूपमा नेपाली भाषाको विस्तार हो । नेपाली सुरुमा पश्चिम नेपालका खसहरुले बोल्ने भाषा थियो । पछि खस साम्राज्य अन्तर्गतका भोटबर्मेली भाषाभाषीहरूले पनि यसलाई अँगाले र एकीकरण अगाडि काठमाडौँ उपत्यकामा पनि यसको महत्व बढ्दै गयो ।१
एकीकरणले धेरै हदसम्म भइरहेका कुराहरूलाई नै औपचारिकता दिने काम गरेको थियो तर पनि एकीकरणले नेपाली भाषालाई अझै पूर्वतर्फ फैल्यायो । त्यसै हुनाले धेरै किराँतहरू नेपाली भाषा बोल्छन् । त्यस अतिरिक्त गुरूङ, मगर, थारु र खसहरू मतुवाली हुन् र उनीहरूलाई उच्च जातका मानिँदैन । जनै धारण गरेर आफूलाई छेत्री बनाउनेहरूबाहेक अरू खसहरू मतुवाली हुन् ।
यसप्रकार हेर्ने हो भने बाहुन–छेत्री अल्पमतमा पर्न जान्छन् । अल्पसङ्ख्यक भईकन पनि उनीहरू शक्तिशाली छन् । बहुसङ्ख्यक शिक्षक, प्राध्यापक, पत्रकार, प्राज्ञ तथा बुद्धिजीवीहरू उच्च हिन्दू जातका बाहुन, छेत्री र श्रेष्ठ नेवारहरू छन् । श्रेष्ठ नेवारहरू पनि बाँकी नेपाली समाजलाई बाहुन–छेत्रीले जस्तै तहगत दृष्टिले हेर्छन्। नेपालबारे बाह्य विश्वलाई र बाह्य विश्वबारे नेपालीलाई जानकारी गराउने काम तहगत समाजमा विश्वास गर्ने यस्तै मानिसहरूद्वारा हुने गर्छ ।
परिणामस्वरुप, नेपाली कुराहरूलाई होच्याउने, राष्ट्रिय उपलब्धिहरूको अवमूल्यन गर्ने अनि हिन्दू जात प्रथाको जन्मभूमि भारत र त्यसको मैदानी इलाकाको भने बढीबढाउ गर्ने प्रवृत्तिले प्रश्रय पाएको छ । त्यस्तो प्रवृित्तले नेपाली सामाजिक परम्पराको सच्चा आधार भारतीय ब्राह्मणवादी ऐतिहासिक परम्पराभित्र खोज्ने गर्दछ । भाग्यवादी दर्शनले जन्माएको अकर्मण्यता र पराजयवादले नेपाली समाजलाई पुनर्जागृत गराउने सम्भावनालाई बाधा पु-याउँछ ।
तसर्थ, भारतीय प्रभावका मुख्य तत्वहरू भनेका नेपाली कुराहरूको अवमूल्यन, धार्मिक संस्कृतिको भारतीयकरण, लघुताभास र भाग्यवादी उदासीनता हुन् । सूचनाको प्रसार र शिक्षामा यस्तो प्रवृत्तिको पूर्ण नियन्त्रण हुनाका कारणले यिनै विचारले व्यापकता पाउँछन्। उच्च जातका हिन्दू र उनीहरूद्वारा प्रभावित मानिसहरूको सरकारी प्रशासनमा बलियो प्रतिनिधित्व रहेको छ । देशको राजनीतिक जीवनमा निजामती सेवाले ठूलो भूमिका खेलेको छ र बितेका तीस वर्षमा सरकारको खास अङ्ग रहँदै आएको छ ।
पुरोहित्याइँमा त बाहुनहरूको एकाधिकार छ, तर त्यसबाहेक उच्च जातका बाहुन–छेत्री र श्रेष्ठ नेवारहरूका लागि सरकारी जागिर रोजगारीको परम्परागत स्रोत बनेको छ । उनीहरू सरकारी सेवामा आवश्यक परे पनि नपरे पनि पद सिर्जना गरेर भए पनि ‘आफ्नो मान्छे’ को बलबाट सजिलै घुस्ने अपेक्षा राख्छन् । यसरी आफ्नो मान्छेको बलमा जागिर पाउनुलाई उच्च जातका मानिसहरू आफ्नो नैसर्गिक अधिकार ठान्छन् ।
सरकारी सेवाको आकार सदैव बढ्दै जानुको कारण सरकारी सङ्गठनभित्र कार्यबोझ बढ्नाले या उत्पादकत्व बढाउनका लागि होइन अपितु उच्च जातका मानिसहरूले रोजगारीका रूपमा सरकारी जागिरलाई रुचाउने हुनाले हो ।
कर्मचारीतन्त्रको सङ्गठनात्मक ढाँचाले चाकरीले खेल्न सक्ने भूमिकालाई प्रतिबिम्बित गर्दछ । प्रशासनिक अभ्यास र व्यवहार वर्ण–वर्गको धारणाबाट गहिरोसित प्रभावित छ र कर्मचारीका निर्णयहरू भाग्यवादी भावनाबाट पूरै निर्धारित नभए पनि त्यसबाट निर्देशित छन् ।
वैदेशिक सहायता निजामती सेवामार्फत् सञ्चालित हुने हुनाले यिनै भाग्यवादी मानिसहरू बाह्य स्रोत र तिनको वितरणको महत्वपूर्ण कडी बन्न पुग्छन् । यसै पनि नेपाल र बाह्य विश्वबीचको धेरैजसो सम्बन्धको मध्यस्थता उनीहरूबाट नै हुने गर्छ । यसबाट नेपालको विकासका सम्पूर्ण आयाम प्रत्यक्ष प्रभावित भएका छन् । उच्च जातका मानिसहरूको राजनीतिमा उत्तिकै प्रबल प्रतिनिधित्व छ ।२
तहगत समाजको संस्कृतिसित अभ्यस्त व्यक्तिहरूलाई बदलिँदो परिस्थितिसित आत्मसात् गर्न सबभन्दा गाह्रो परेको छ । उनीहरूमध्ये धेरैको अपेक्षा सबै कुरा उनीहरूलाई आफसेआफ प्राप्त हुन्छ भन्ने छ । उनीहरूनेपालीहरूमध्ये शायद सबैभन्दा पराश्रित होलान् ।
अलग–अलग राजनीतिक कार्यक्रम र अभियान बोकेका उनीहरू राजनीतिक रङ्गमञ्चमा खुबै सफल भएका छन् । तर यिनीहरूको असङ्गत र चलाखीपूर्ण अन्तरवैयक्तिक शैलीका कारण उनीहरूमध्ये धेरैजसो जनताबाट टाढा छन् र उनीहरू अमूर्त मुद्दाहरूलाई आधार बनाएर राजनीति गर्छन् । तीमध्ये थोरै मात्र जनताको पहुँचमा छन्, जनतासित उठबस गर्छन् र जनताको चित्त बुझ्ने गरी समस्याको ठोस समाधान खोज्छन् । तर धेरै चाहिँ जनताबाट टाढा रहेका छन् । उनीहरूको यो व्यवहार कहिलेकाहीँ क्रान्तिकारी भावनालाई प्रोत्साहित गर्ने कारण बन्छ ।
यस्ता व्यक्तिहरूले स्थापित र विकसित हुँदै गरेको राजनीतिक संयन्त्रमा भिडेर लाग्नुको साटो अमूर्त र काल्पनिक दर्शन अँगालेका क्रान्तिकारी र आदर्शमुखी प्रजातन्त्रवादीहरूका जत्थालाई बढाउँछन् । यी दुवै राजनीतिक दर्शन अँगाल्नेहरूको जनताका वास्तविक आवश्यकता र संस्कृतिसितको सम्पर्क थोरै हुन्छ । तिनै मानिस राजनीतिक प्रतिपक्षको मुख्य तत्व बन्न पुग्छन् ।
तहगत समाजको संस्कृतिसित अभ्यस्त व्यक्तिहरूलाई बदलिँदो परिस्थितिसित आत्मसात् गर्न सबभन्दा गाह्रो परेको छ । उनीहरूमध्ये धेरैको अपेक्षा सबै कुरा उनीहरूलाई आफसेआफ प्राप्त हुन्छ भन्ने छ । उनीहरू नेपालीहरूमध्ये शायद सबैभन्दा पराश्रित होलान् । पहिले–पहिले उनीहरूलाई भरथेग गर्ने समाजले अब त्यस्तो भरथेग उनीहरूलाई दिँदैन र उनीहरू यस कुरासित अभ्यस्त हुन सकेका छैनन् ।
आफ्नो संस्कारगत मूल्य–मान्यता भत्किएको र आफूलाई बदलिँदो संस्कृति अनुकूल बनाउन नसकेको अवस्था उच्च जातका मानिसहरूमा पाइन्छ । हुन त मतुवाली भन्ने शब्द रक्सी खाने र तल्ला जातका मानिने जनजाति समूहहरूका लागि प्रयुक्त हुन्छ । तर विडम्बना के छ भने अचेलभरि उच्च जातका मानिसहरूमा नै रक्सी खाने कुलत बढिरहेको पाइन्छ ।
हुन त उच्च जातका सबै हिन्दूहरू रुढिवादी छैनन्, तर तहगत पारिवारिक वातावरणमा हुर्किएका कारणले अधार्मिक व्यक्तिहरूसमेत भाग्यवादी दर्शनबाट प्रभावित भएका हुन्छन् । कोही–कोही आफ्ना निजी विचार र अनुभवका कारण भाग्यवादको प्रतिवाद गर्छन्, तापनि उनीहरूको प्रतिवाद अमूर्त शैलीको हुन्छ र त्यसमा तहगत जातको गन्ध पाइन्छ र उनीहरू पण्डितहरुझैँ व्यवहार गर्छन् ।
उनीहरू नास्तिक हुन सक्छन्, विदेशमा पढेका र देशदेशावर घुमेका हुन सक्छन् र विश्वविद्यालयका डिग्री प्राप्त गरेका हुन सक्छन् तर विकासप्रतिको उनीहरूका धारणा र उनीहरूका आचरणमा जातगत सिद्धान्तको प्रभाव भेटिन्छ । उनीहरू पराजित मानसिकता बोकेका अकर्मण्य हुन्छन् जो दरिद्र नेपाललाई देखेर यसको भविष्यप्रति निराश बन्छन् (हेर्नुहोस् खनाल, १९८७) ।
उनीहरूका लागि कुनै पनि नेपाली कुराहरू घटिया हुन्छ र नेपाली चीज देख्दा उनीहरूलाई लाज लाग्छ । उनीहरू परिष्कार र सभ्यताका स्रोतका रूपमा बाह्य संसारलाई हेर्छन् । उनीहरू कुनै पनि समस्याको बौद्धिकीकरण गर्छन्, त्यसलाई लम्बेतान विवादको विषय बनाउँछन् अनि निर्णय लिने बेलामा चाहिँ जिम्मेवारीबाट पन्छिन्छन् र मास्तिर देखाउँछन् । उनीहरूले विश्व संस्कृतिको जुन छिपछिपे ज्ञान पाएका हुन्छन् त्यसलाई उनीहरू अरू अशिक्षित र अज्ञानीहरूभन्दा आफू बेग्लै र विशिष्ट हुँ भनी देखाउने अवसरका रूपमा प्रयोग गर्छन् । उनीहरू चाकरीमा लाग्छन् र ठूलो पदमा पुगेपछि आफैंलाई र ‘आफ्ना मान्छे’ लाई बनाउनेतिर लाग्छन् । किनभने उनीहरूको विचारमा देशलाई बनाउन सकिँदैन ।
सबै शिक्षित मानिसहरू उच्च जातका हुँदैनन्, तर महत्वाकांक्षा बोकेको व्यक्तिगत प्रयासबाट शिक्षा तथा सम्मानजनक स्थान पाउन सफल जात व्यवस्थाभन्दा बाहिरबाट आएका व्यक्तिमा पनि उच्च जातको संस्कृति ग्रहण गर्नाले तहगत समाजको धारणा विकसित हुन्छ ।
हिन्दू उच्च जातको प्रभुत्वमा हुर्केको मूल्य प्रणालीले अहिले निम्त्याएको सबैभन्दा ठूलो खतरा नै यही हो । जात प्रथालाई सजिलै धर्म सापेक्ष नभएको आवरण दिन सकिन्छ र परम्परागत रूपमा जात व्यवस्था बाहिरका व्यक्तिहरूले यस मूल्य प्रणालीलाई पुनर्जीवन दिन सक्छन् । तर नेपाल संक्रमणकालको चरणबाट गुज्रिरहेको छ, अनि परिवर्तनलाई ठाउँ दिनका लागि परम्परागत सामाजिक संरचनाहरू बदलिँदै छन् र नयाँ–नयाँ सामाजिक सङ्गठनहरू अस्तित्वमा आइरहेका छन् ।
कसैकसैका लागि यो राम्रो अवसर हो, तर अवसर भनेको सबैले पाउनुपर्दछ । परिवर्तनको यस भेलमा के देखिएको छ भने बाहुनवादको प्रतिकूल विशेषता समाजका कुनै पनि वर्ग वा जातीय समूहको सदस्यले लागू गरेर अगाडि बढाउन सक्छन् ।
जात प्रथाको इतिहास भएका कारण धर्म सापेक्ष नभएको एउटा छुट्टै जात प्रथा विकसित हुने खतरा छ, यस्तो प्रथा जहाँ सामाजिक रूपले गतिमान व्यक्तिहरू आफ्ना प्रतिद्वन्द्वी वा पछाडिबाट नजिक आइपुगेको अर्को व्यक्तिको बाटो छेकेर आफ्नो स्थिति बलियो बनाउने गर्छ ।
उच्च जातका मानिस अल्पसङ्ख्यामा छन् अनि उनीहरूका मूल्य प्रणाली नेपालका बहुसङ्ख्यक जनतामाझ प्रचलित मूल्य प्रणाली होइन । तैपनि वर्ण सिद्धान्तको मुख्य आधारका रूपमा रहेका भाग्यवाद र तहगत जात प्रथा एकदमै प्रभावशाली मूल्य प्रणाली हो भनी बिर्सनु हुँदैन ।
वास्तविक विकास गर्ने हो भने विकासको रणनीति विदेशी पैसालाई पुनर्वितरण गरेर स्थानीय मानिसका हातसम्म पु-याउने उपाय मात्र हुनु हुँदैन, त्यो भाग्यवाद र तहगत सामाजिक प्रणालीको उछित्तो काढ्ने खालको हुनुपर्छ । किनभने भाग्यवाद र तहगत सामाजिक प्रणाली तथा विकास कहिल्यै सँगसँगै जान नसक्ने परस्पर विरोधी कुरा हुन् ।
भाग्यवादलाई मिल्काउनाले नेपाललाई कुनै नास हुनेवाला छैन । जातको तहमा आधारित भाग्यवाद नेपालीको आफ्नो हुँदै होइन यद्यपि कसैकसैले यस्तो ठान्ने गल्ती गर्छन् । त्यसैले नेपालका आफ्नै अन्य मूल्य प्रणाली छन् जो सम्भावनायुक्त छन् र जसप्रति भर पर्न सकिन्छ । ती भनेका देशका परम्परागत जनजाति समुदायका मूल्य प्रणाली हुन् । ती समुदाय तल्लो र उपल्लो तहमा बाँडिएका छैनन् र अनुशासित रूपमा कडा परिश्रम गर्ने उनीहरूको संस्कृति छ ।
उनीहरूमा आफ्नो सन्दर्भमा ग्लानिबोधको भावना हुन्छ, तर त्यस्तो ग्लानिबोधको भावना भाग्यवादी मानिसमा हुँदैन किनभने पुरेतलाई दान दिएर सारा ग्लानिबाट मुक्त होइन्छ भन्ने संस्कारमा उनीहरू हुर्केका हुन्छन् ।
काठमाडौँ उपत्यका बाहिर नेपालका अनेक जनजाति समुदायका मानिसहरू छन् । तर उनीहरूबारे हिसाब र विचार दुवै गरिएको छैन । उनीहरूको संस्कृतिलाई अपरिष्कृत र महत्वहीन मानिन्छ । यो एकदमै ठूलो भूल हो ।
नेपालका अन्य जनजाति समूहझैँ नेवार समुदायका ज्यापू किसान र अन्य व्यावसायिक समूहसित थुप्रै राम्रा कुराहरू छन् । उनीहरू विगतका दिनमा काठमाडौँलाई गौरवशाली बनाउने सिद्धहस्त शिल्पकार र दक्ष श्रमिकका सन्तान हुन् । यिनका रचनात्मकतालाई बेलाबेलामा दबाइएको थियो, तर अनुकूल वातावरण पाउनासाथ पुनर्जाग्रित भएको थियो ।
लिच्छविकालमा एक हजार वर्षसम्म उनीहरूले राज्यलाई थामे अनि मध्यकालको विखण्डित अवस्थामा पनि उपयुक्त वातावरण पाउनासाथ उनीहरूले आफ्नो सर्वोत्तम गुण देखाए । यदि उनीहरूले सामाजिक रूपमा दबाइएको वा हेला गरिएको अनुभव गरेमा र यदि उनीहरूको शिल्पले उचित मोल नपाएमा उनीहरूको सिर्जनशीलता र उद्यमशीलता अगाडि आउने छैन ।
तर उनीहरूका मूल्य र आदर्शले प्रोत्साहन र मौका पाएमा यिनीहरू ठूला स्रोत हुन सक्नेछन् जसको अहिले पूर्ण उपयोग हुन सकेको छैन । उनीहरू काममा प्रतिबद्ध छन् । उनीहरूमा उत्प्रेरणाको अभाव छैन, उनीहरूलाई केवल प्रोत्साहन चाहिएको छ । तर भाग्यवादको कारण समाजमा रहेको आम सुस्तीलाई नहटाएसम्म यो हुन सम्भव छैन ।
काठमाडौँ उपत्यका बाहिर नेपालका अनेक जनजाति समुदायका मानिसहरू छन् । तर उनीहरूबारे हिसाब र विचार दुवै गरिएको छैन । उनीहरूको संस्कृतिलाई अपरिष्कृत र महत्वहीन मानिन्छ । यो एकदमै ठूलो भूल हो । यस पुस्तकको पहिलो अध्यायमा उल्लेख गरिएझैँ यहाँका विभिन्न जनजाति समुदायका मानिसहरू इन्डो–आर्यन खस र तिब्बती–बर्मेली किराँत दुई हाँगामा बाँडिएका छन् र नेपालको दक्षिणी भागमा द्रविड मिश्रणको समूह फाट्टफुट्ट छन् ।
सांस्कृतिक हिसाबले पनि जनजाति समुदायमा विविधता छ । केही शिकार गरेर जीवन यापन गर्छन् भने कोही पशुपालक छन् र बहुसङ्ख्यक कृषिमा आश्रित छन्। हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, मनाङे र थकाली जस्ता समुदाय भने व्यापारमा निपुण छन् ।
यी विभिन्न जनजाति समूहहरू एकापसमा धेरै कुरामा फरक छन् । तापनि उनीहरूको मूलभूत मूल्य–मान्यता र सामाजिक सङ्गठनमा समानता छ । किसानहरू गाउँले समाजमा बस्छन् । गाउँहरू तुलनात्मक हिसाबले अलग एकाइका रूपमा बसेका हुन्छन्, तिनीहरूको निश्चित भौगोलिक सीमा हुन्छ । गाउँले किसानहरूको उनीहरु बसोबास गर्ने र उनीहरूले खनजोत गर्ने भूमिसित घनिष्ठ सम्बन्ध रहेको हुन्छ ।
विशेषगरी जापानले हासिल गरेको सफलताको एउटा मुख्य कारणमा यस्ता सामूहिक निजत्वमा आधारित सामाजिक सङ्गठन र आर्थिक–व्यापारिक क्षेत्रमा त्यसको प्रयोग हो । कतिले यसलाई जापानी व्यवस्थापनको सफलता ठानेर यस कुरालाई नबुझी अनुपयुक्त सांस्कृतिक वातावरणमा सैद्धान्तिक रूपमा प्रयुक्त गर्न खोजेका छन् जस्तो अमेरिकीहरूले जापानी व्यवस्थापनका अभ्यासहरूलाई आयात गर्न खोजे ।
उनीहरू आफ्नो जीवन निर्वाहका लागि जमिनमाथि निर्भर हुन्छन्। त्यसका लागि जमिनको स्याहार–सम्भारमा ध्यान दिनुपर्छ र जमिनलाई उर्वर राखिराख्ने उपायप्रति पनि उनीहरू चनाखो रहनुपर्छ। आफ्नो भरण–पोषणलाई सुनिश्चित गर्न मानिसहरूले लामो समय लगाएर उपयोगी र व्यावहारिक प्रविधिहरू विकसित गरेका छन् जसबाट जमिनको उत्पादकत्व कायम रहिरहन्छ। यी कृषि प्रविधिलाई सहयोग पु-याउन प्रकृतिको शक्तिलाई जादु र आध्यात्मिक नियन्त्रण प्रणालीद्वारा पूजा प्रार्थना, बलि र अन्य हिसाबबाट खुसी पार्ने तरिका विकसित गरेका छन् ।
यसका साथै पुर्खाहरूले सामञ्जस्यपूर्ण समाजको विकास गरिदिएकोमा पुर्खाहरूप्रति ऋणी र अनुगृहित भएको भावना उनीहरूमा छ। नेपालमा सर्वप्रचलित विश्वास के छ भने हरेक कुलका पुर्खा एउटै आध्यात्मिक एकाइमा समाहित हुन्छन् जसलाई कुलदेवता भनिन्छ । कुलदेवता प्रकृतिका देवतासँग एकाकार हुन्छन् । फलस्वरुप मानवीय र प्राकृतिक दुवै किसिमका वस्तुहरूबीचको सम्बन्धमा एकात्मता हुन्छ । यसले उत्पादकत्व बढाउन मात्र होइन, प्रकृति संरक्षण र वातावरण सुधारमा समेत सघाउ पु-याउँछ ।
गाउँघरका सबै मानिस एक अर्कालाई चिन्दछन् । एक अर्काको योग्यता र स्वभावबारे पनि उनीहरू परिचित हुन्छन् । जसरी मानिहरू जमिनमाथि पूर्ण निर्भर हुन्छन् त्यसरी नै गाउँलेहरूबीच पारस्परिक निर्भरता हुन्छ । जमिन, जङ्गल र जलको व्यवस्थापन तथा तिनको उपयोग मिलेर गर्छन् ।
गाउँ उत्पादनशील र मेलमिलापयुक्त सामाजिक समूह हो । त्यसभित्र व्यक्तिले आफ्नो निजत्वको विकास गर्छ जुन निरन्तरता पाएको खास सामाजिक सञ्जालमा अडिएको हुन्छ ।
धेरैजसो अवस्थामा त्यस्तो निरन्तरता साझा कुलदेवतासित गाँसिएको हुन्छ र यसैमा वंशभित्रका सबै सामाजिक पात्रहरू अन्तमा समाहित हुन्छन् । निजत्वको भावना अलग्गै हुँदैन । कुनै व्यक्ति आफ्नो कार्यप्रति निजी रूपमा जिम्मेवार हुँदैन र निजी कार्यमा उसको नियन्त्रण पनि हुँदैन । निजी निजत्व समूहसित गाँसिएको हुन्छ । यस्तै समान अवस्था पूर्वी एसियामा पाइन्छ जसबारे विस्तारपूर्वक अध्ययन गरिएको छ । यो अगाडि उल्लेख गरिएको आफ्नो मान्छे प्रक्रियाभन्दा भिन्न खालको हुन्छ।
पूर्वी एसियाली समाजमा केहीको दृष्टिमा सामूहिक निजत्व रहेको छ जुन पश्चिमी समाजमा पाइने व्यक्तिवादी निजत्वको विपरीत हुन्छ । विशिष्ट तवरले निर्मित यस्तो खालको निजत्व नेपालमा पनि मौजुद छ । यो निजत्व रचनात्मक र उत्पादक प्रयास निम्ति सक्षम छ र यसको सफलताको सम्भावना कति ठूलो छ भन्ने कुरा त जापानी, कोरियाली अनि ताइवान र सिङ्गापुरका जनताले देखाइसकेका छन्।
विशेषगरी जापानले हासिल गरेको सफलताको एउटा मुख्य कारणमा यस्ता सामूहिक निजत्वमा आधारित सामाजिक सङ्गठन र आर्थिक–व्यापारिक क्षेत्रमा त्यसको प्रयोग हो । कतिले यसलाई जापानी व्यवस्थापनको सफलता ठानेर यस कुरालाई नबुझी अनुपयुक्त सांस्कृतिक वातावरणमा सैद्धान्तिक रुपमा प्रयुक्त गर्न खोजेका छन् जस्तो अमेरिकीहरुले जापानी व्यवस्थापनका अभ्यासहरुलाई आयात गर्न खोजे । त्यसैले समूहप्रति प्रतिबद्ध रहने निजी निजत्व र सहकारीमूलक प्रयासबाट हुने फाइदाको सम्भावना नेपालको आन्तरिक सफल विकासका लागि महङ्खवपूर्ण कारक हुन सक्छ ।
निश्चय पनि जापानीहरुको सामूहिकताको प्रवृत्ति र नेपालको सामूहिकता समरुपी छैनन् । उनीहरुको सामूहिकता सम्भवतः नेपालको भन्दा बलियो होला र तिनलाई बल पु-याउने धेरै कारक नेपालमा छैनन् । मुख्यतः जापानी समाजमा उत्प्रेरणाले खेल्ने भूमिकाको कुरा छ ।
जापानी पुरूषहरू आमाबाबुप्रति, खासगरी आमाप्रति जिम्मेवारीको बलियो भावनाबाट निर्देशित हुन्छन् (डोई १९६२) । जिम्मेवारीको यस भावनालाई ग्लानिबोधका रूपमा आत्मसात् गर्दै त्यसलाई बलियो तर उत्पादनशील कार्यमा प्रयोग गरेका छन् (डेभोस, १९७२) । उच्च जातका हिन्दू नेपालीमा यस्तो ग्लानिबोध हुँदैन । त्यसैले उनीहरूले उत्प्रेरणाको स्रोत अन्यत्र खोज्नुपर्छ । यस विचारलाई अघि बढाउँदै विभिन्न तहका मानिसहरूमा कामप्रतिको उत्प्रेरणा जगाउने कारण पत्ता लगाउन थप अध्ययन गर्न सकिन्छ ।
प्राचीन इतिहासमा नेपालका मानिसहरूबारे पहिलो उल्लेख तिब्बती पठारका व्यापारिक वस्तुहरूको सन्दर्भमा गरिएको पाइन्छ । पछि मात्र नेपालका मानिसहरू आफ्नो उद्यमशीलताका कारण प्रसिद्ध हुन पुगे ।
जापानीहरूको सफलताबारे पत्ता लागेका अरू कारणमा कठोर परिश्रम गर्न सक्ने र सहन सक्ने क्षमता हुन् । त्यसका साथै केही पनि सजिलैसित पाइँदैन र कुनै कुरा पाउनलाई अनेकौँ पुस्तासम्म प्रयत्न गर्नुपर्ने हुन सक्छ भन्ने भावनाबाट उनीहरू निर्देशित हुन्छन् । यी दुवै गुण नेपाली जनजाति समुदायमा पाइन्छन् । नेपालको प्राकृतिक सौन्दर्य अनुपम भए पनि यसको भू–बनोट बसोबासका लागि दुष्कर छ ।
यसको कठोरपनले नेपालीहरूमा सहनशक्ति बढाउन ठूलो भूमिका खेलेको छ । धेरैजसो भूभागमा कठोर परिश्रम गरेर मात्र व्यक्ति, परिवार र समुदायको गुजारा चल्छ । त्यसैले जापानीहरूलाई सफल बनाउने धेरै महत्वपूर्ण गुणहरू नेपालीहरूमा पनि विकसति भएका छन् ।
गण्डकी क्षेत्रका थकाली समुदाय कैयौँ पुस्तादेखि आफ्ना सम्पत्ति र दर्जा बढाउन समूहगत रूपमा प्रयत्नशील छन् (विष्ट, १९७१) । उनीहरूको भनाइमा थकाली नाम नयाँ हो र ठकुरी शब्दको अपभ्रंशबाट बनेको हो । यसबाट उनीहरूको मनसाय र मिथ्याभिमान बुझ्न सकिन्छ । विडम्बना के हो भने उनीहरू आफ्नो जात बदल्न चाहन्छन् र मतुवाली भएर बसिरहन चाहँदैनन् । नेपाली जात प्रथामा यस्तो हुन सम्भव छ ।
उनीहरूको यस चाहनाको आर्थिक आधार व्यापारिक कारोबार हो । उनीहरूले तिब्बती पठार जाने महत्वपूर्ण व्यापारिक मार्गमा आफूलाई स्थापित गरे र आफ्नो अवस्थितिको सकेसम्म बढी फाइदा उठाउने तरिका निकाले । तर आफूलाई ठकुरीको दर्जामा पु-याउने उत्कण्ठाले गर्दा उनीहरू भाग्यवादी तहगत प्रणालीतर्फ आकर्षित हुन गए जसरी कर्णालीबेसीका सामन्ती खस र काठमाडौँ उपत्यकाका नेवार बुर्जुवाहरू केही शताब्दीअघि आकर्षित भएका थिए (सोही पुस्तक) ।
उहिलेदेखि नेपालका जनजाति समुदाय व्यापारिक गतिविधिमा सफलतापूर्वक लाग्दै आएका छन् । प्राचीन इतिहासमा नेपालका मानिसहरूबारे पहिलो उल्लेख तिब्बती पठारका व्यापारिक वस्तुहरूको सन्दर्भमा गरिएको पाइन्छ । पछि मात्र नेपालका मानिसहरू आफ्नो उद्यमशीलताका कारण प्रसिद्ध हुन पुगे । तर भारतबाट भित्र्याइएको भाग्यवादी वर्ण सिद्धान्तअनुसार व्यापारिक गतिविधिलाई प्रदूषित पेसा मानेर होच्याउने गरिन्थ्यो ।
यसलाई पसिना काढ्नुपर्ने मात्र नभई पूरै भौतिकवादमा लिप्त हुने कार्य मानिन्थ्यो । त्यसै हुनाले व्यापारीहरूलाई तल्लो जातमा राखिएको थियो । यसले गर्दा चीनमा कन्फुयुसियसको प्रभाव परेको समयमा जस्तो भएको थियो त्यसरी नै व्यापार वाणिज्यप्रति मानिसहरूको झुकाव र दक्षता ओइलायो । चिनियाँहरू परम्परागत कन्फुयुसियसवादको बन्देजबाट उम्किएपछि (जस्तै— प्रवासमा रहेका चिनियाँहरू उम्किए) व्यापारिक गतिविधिप्रतिको उनीहरूको स्वाभाविक सीप फेरि जागेर आयो जसको परिणाम चमत्कारपूर्ण रहेको छ । जन्म आधारित जात प्रथा र भाग्यवादको नकारात्मक चङ्गुलबाट उम्कन सकेमा नेपालीहरूको सम्बन्धमा पनि यो कुरा लागू हुन सक्छ ।
जनजाति समुदायमा केही अत्यन्त महत्वपूर्ण मानवीय र सांस्कृतिक स्रोतहरू मौजुद छन् । उनीहरू अत्यन्त परिश्रमी, अध्यवसायी र लामो दुःख–कष्टबाट खारिएका छन् ।
उनीहरूमा सहयोगी भावना हुन्छ, सामूहिक भलाइका लागि खटेर काम गर्छन् र सफल व्यापारी हुन सक्ने आवश्यक गुणहरू छन् । तर यी गुण र स्रोतहरूको सदुपयोग गर्नुको सट्टा तिनलाई एकातिर पन्छाइएको छ, उपेक्षा गरिएको छ र नष्टै पारिएको छ । तिनका ठाउँमा पण्डित्याइँका सारा अवगुणहरू थोपरिएका छन् ।
परिश्रमलाई तिरस्कार गर्ने, उँचनीचको मान्यता बोक्ने, अरूलाई दल्न रूचाउने, निष्क्रिय र परनिर्भर भएर बस्ने तथा भाग्यवादमा भर पर्ने ती अवगुणहरू हुन् । उदाहरणका लागि, ठूलो प्रचारबाजीका साथ गरिने सामूहिक व्रतबन्ध जस्ता समारोहबाट उँचनीचको खराब असर पर्न जान्छ र समग्र नेपाली समाजको समतामूलक आधारलाई यसले भत्काउँछ ।
विभिन्न जनजाति समुदायको संस्कृति मेटाउने कामको औचित्य पुष्टि गर्ने एउटा मुख्य तर्कमध्ये बलियो राष्ट्रिय पहिचान विकास गर्नुपर्ने आवश्यकता हो । केही पण्डितहरूको तर्कमा जात प्रथासहितको मान्यतामा आधारित सांस्कृतिक एकरूपता ल्याउन सके मात्र बलियो राष्ट्रिय पहिचानको निर्माण हुन सम्भव छ । तर राष्ट्र जस्तो बृहत्तर सामाजिक निजत्व निर्माणका लागि बहुलवादलाई समस्याका रूपमा हेरिनु हुँदैन ।
जातीय बहुलवाद केही हदसम्म हरेक समाजको वास्तविकता हो । बहुलवाद आफैंमा राष्ट्रियताको निर्माणमा अड्चन हुन सक्दैन, यद्यपि भिन्नभिन्न समूहबीचको सम्बन्धका कारण त्यस्तो अड्चन सिर्जना हुन सक्छ । यस अवस्थामा माथिल्लो जात र वर्गका मानिसहरूले आफूलाई बहुलवादभित्रको एक हिस्सा मात्र हौँ भनी बुझ्नुपर्छ । उनीहरू पनि अल्पसङ्ख्यक जातीय समूहमध्येकै एक हुन् ।
त्यसैले यसको समाधानको रूपमा एक अल्पसङ्ख्यकको मूल्य प्रणाली अरू अल्पसङ्ख्यकमाथि थोपर्नमा जोड दिनु हुँदैन, खासगरी त्यस्तो मूल्य प्रणाली जसले समाजलाई उँचनीचको तहमा बाँड्दछ र आफैंलाई माथि र अरू समूहलाई तल राखेर हेर्दछ ।
अरूबाट दुई हजार वर्षदेखि यस समाधानको प्रतिकार हुँदै आएको छ । उनीहरूले आफ्नो आत्मसम्मान र मर्यादा जोगाउने यही एक मात्र उपाय थियो । माथिल्लो वर्ग र जातका एउटा सानो सङ्ख्याले बहुसङ्ख्यक जनतालाई समाजको तल्लो तहमा राखेर व्यवहार गरिरहनाले नेपालीहरूको इज्जत र आत्मसम्मान कायम रहन सक्दैन ।
यसको एक मात्र परिणाम घृणा, राष्ट्रिय पहिचानको ठाउँ जातीय पहिचान र राज्यप्रति आक्रोस तथा अझ वैमनस्यताको भावना हुन जान्छ । वास्तवमा यस्तो प्रक्रिया विश्वभरि नै देखिएको छ । अल्पसङ्ख्यक मानिसहरू पहिचान प्राप्त गर्न लड्छन् र उनीहरूको पहिचान महत्वपूर्ण छ भनी सार्वजनिक रूपमा स्वीकार गरियोस् भन्ने माग गर्छन् । उनीहरू प्रगति चाहन्छन्, आफ्नो जीवनस्तर बढेको हेर्न खोज्छन्, उनीहरूको भूमिकाले समुचित मान्यता पाउने गतिलो राजनीतिक व्यवस्था र बृहत्तर सामाजिक न्यायको माग गर्दछन् (गीत्र्ज, १९७३) ।
तहगत जात प्रथा मान्ने माथिल्ला जातका मानिसले जोड दिएको जस्तो राष्ट्रिय पहिचानले त वास्तवमा राष्ट्रिय पहिचानको निर्माणमा बाधा पु-याउँछ । भाग्यवादी तहगत जात प्रथालाई लागू गरेर राष्ट्रियताको आकांक्षाको समाधान निक्लन सक्दैन । दुःखको कुरा, नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलबारी बनाउने दूरदर्शी राजा पृथ्वीनारायण शाहको सल्लाहको बेवास्ता भएको छ । उनको राज्याभिषेकमा लिम्बु, राई, तामाङ, गुरूङ, थारु र धिमाल जस्ता जनजाति समूहका पुरोहितहरूद्वारा अभिषेक गरिँदा उनी खुसी हुने थिए होलान् तिनलाई जात व्यवस्थाको सङ्कुचित दायरामा दबाएर राख्नमा होइन ।
राष्ट्रले कुनै एक खास समूहको हितभन्दा माथि उठ्नुपर्छ तब मात्र राष्ट्र सबैलाई मान्य हुन्छ । राष्ट्रले सबैका आकांक्षालाई समेट्न सक्नुपर्छ र राष्ट्र सबै समुदायलाई आधुनिक समाजमा सफलतासाथ रूपान्तरण गर्ने वाहन र बल बन्नुपर्छ । अरू समुदायको उपेक्षा गर्नु भनेको भविष्यमा समस्या निम्त्याउनु हो । समाजको रूपान्तरणको पक्रिया सजिलो छैन न त यसको कुनै पूर्वनिर्धारित मार्ग नै छ ।
परसंस्कृति लाद्नाले धेरै बेफाइदा गर्ने खतरा छ । यसले समस्या खडा गर्छ र पछि त्यो समस्या बढ्दै गएर त्यसको चित्तबुझ्दो समाधान पत्ता लगाउन मुस्किल पर्छ । सामाजिक भूल संस्थागत हुन जान्छ र नेपालको भावी पुस्ताले यस समस्यालाई विरासतका रूपमा बोक्नु पर्नेछ । जति चाँडै जनजाति समुदायका समस्याहरूको पहिचान हुन्छ, त्यति नै राम्रो हुन्छ । तर तिनका समस्यालाई मिहिनेत र निष्पक्षताका साथ वस्तुगत रूपमा हेरिनुपर्छ ।
नेपाल परिवर्तित हुँदै जाँदा र विभिन्न जनजाति समाज बदलिँदै जाँदा रैथाने संस्कृति पनि संशोधित हुँदै जान्छ वा त्यसलाई छाड्दै लगिन्छ । त्यस अवस्थामा शून्यपनको सिर्जना हुन्छ र त्यसले चिन्ता पनि जन्माउँछ ।
राजा देशका लागि सकारात्मक शक्तिका स्रोत हुन् र राष्ट्रत्वको पक्रियालाई अघि बढाउने सक्रिय उत्प्रेरक बन्न सक्छन् । किनभने सबै नेपालीमा पिताउपर निर्भर हुने प्रवृत्ति पाइन्छ । त्यसले सामाजिक सङ्गठनको तहमा राजतन्त्र भनेको सर्वोच्च उपकारी पितातुल्य शक्ति हो भन्ने दृष्टिकोण उत्पन्न गराउँछ । यसबाट नेपालीको मन ढुक्क हुन्छ र राष्ट्रिय पहिचान विकसित गर्ने आधार मिल्छ ।
यस साझा पितृत्वको उदारताबाट लाभ उठाउने सबै जना राष्ट्रमा समावेश हुन्छन् । यो परिवार, गाउँ, कुल र जनजाति समूहकै पूर्णरुप हुनेछ जसले सम्पूर्ण जातजाति समूहलाई समेटेर सबैलाई एउटै साझा अँगालोमा ल्याइदिन्छ । यसो गर्नु अति उत्तम हुन्छ किनभने यसले समूह–समूहबीचको सम्बन्धलाई सुमधुर पारिदिन्छ । तर कुनै एउटा सांस्कृतिक समूहलाई महत्वपूर्ण मान्नु र अरूलाई उपेक्षा गरिनु बुद्धिमानी ठहरिदैन । किनभने यसले कम महत्व पाउने समूहहरूमा असुरक्षाको भावना जगाइदिन्छ ।
केही उच्च जातका मानिसले जनै लगाउने व्रतबन्ध समारोहलाई अहिले अभियानका रूपमा प्रचारित गरिरहेका छन् । त्यस्तो कार्यले मध्ययुगमा राजाको संरक्षकत्व पाएको थियो र तिनका आफ्नै औचित्य थिए । तर हरेकलाई समान व्यवहार गर्नु आजको मान्यता हो, जसले गर्दा राष्ट्रिय एकात्मतामा सबैको योगदान हुन सकोस् ।
एउटा सार्थक राजनीतिक प्रणालीमा कुनै एउटा सुविधाभोगी समूहको मात्र हकडक चल्न सक्दैन, न त यो सिद्धान्तविहीन चाकरीवालहरूको चाप्लुसीको आधारमा नै चल्ने हुन्छ । आर्थिक विकास र राष्ट्रिय एकात्मता सबैभन्दा महत्वपूर्ण प्राथमिकता हुन गएको इतिहासको अहिलेको घडीमा योग्यता र इमानदारीले ठाउँ पाउनै पर्छ चाहे त्यस्ता गुणहरू अपरिष्कृत नै किन नहुन् ।
नेपाल परिवर्तित हुँदै जाँदा र विभिन्न जनजाति समाज बदलिँदै जाँदा रैथाने संस्कृति पनि संशोधित हुँदै जान्छ वा त्यसलाई छाड्दै लगिन्छ । त्यस अवस्थामा शून्यपनको सिर्जना हुन्छ र त्यसले चिन्ता पनि जन्माउँछ । परम्परागत संस्कृतिको जोड एकताभाव र मेलमिलापको विकासमा रहेको छ र कुनै पनि समाजमा यी कुरालाई सुनिश्चित गर्नका लागि स्थिरता र निश्चितता आधारभूत उपकरण हुन् ।
अहिलेलाई नेपालले परिवर्तन र अनिश्चिततासित बाँच्न सिक्नुपर्छ । सामाजिक स्वास्थ्य तन्दुरूस्त राख्नलाई लचिलोपना आवश्यक पर्छ । काठमाडौँ उपत्यकाको भद्दा र रुढिग्रस्त माथिल्लो वर्ग र जातको शिष्ट शहरी समाजभन्दा जनजाति समुदायको सरल संस्कृतिमा अत्यन्त बढी लचिलोपना पाइन्छ । नेपालको भविष्यको आशा उनीहरूमा निहित छ । तर उनीहरू नाजुक संसाधन हुन् र तिनलाई धान्न कुनै निर्भरयोग्य स्रोतको टेवा तथा निर्देशन चाहिन्छ ।
नेपाली युवाहरूलाई समाजको भावी मार्गबारे प्रश्न गर्न प्रोत्साहित गरिनुपर्छ । उनीहरूमा आत्मविश्वास र राष्ट्र गौरवको भावना जतनसाथ उमार्नु छ जसलाई वर्तमानमा भाग्यवादले कुँजो पारेको छ । यो काम मुस्किल जरूर छ तर असम्भव भने छैन किनभने विश्वको इतिहासमा यस्ता उदाहरणहरू धेरै छन् । यो कष्टदायी हुन सक्छ तर अत्यावश्यक भएको छ । विलियम ओफुल्सले हर्मन हेसको ‘स्टेपेनउल्फ’ बाट उद्धृत गरेको अनुच्छेद यहाँ दोहाे-याउनु सान्दर्भिक देखिन्छ:
हरेक युग, हरेक संस्कृति, हरेक रीतिरिवाज र परम्पराको आफ्नै चरित्र, आफ्नै कमजोरी, आफ्नै शक्ति, आफ्नै सुन्दरता तथा कुरूपता हुन्छन् र तिनले समयक्रममा कष्ट भोग्छन् र धैर्यसाथ खराब कुरालाई पनि झेल्छन् । दुई युग, दुई संस्कृति र दुई धर्म एक अर्कामाथि खप्टिन जाँदा मानव जीवन साँच्चिकै दुःखपूर्ण र नारकीय बन्न पुग्छ ।
अहिलेको समयमा एउटा पूरै पुस्ता दुई युग र दुई जीवनशैलीबीच फसेको समय हुन्छ । फलस्वरुप यसले आफैंलाई बुझ्ने शक्ति गुमाउँछ। त्यस्तो समयमा कुनै मानक, सुरक्षा र सम्मति हुँदैन । संक्रमणकालको कष्टबाट उम्कने एक मात्र बाटो भनेको जतिसक्दो चाँडो नयाँ युगको निर्माण गर्नु हो जसले गर्दा हामी दुई युगबीचको चेपुवामा पर्दैनौँ (ओफुल्स, १९७७) ।
मलाई कुनै पनि विचारवान्, इमानदार र भविष्यमुखी बुद्धिमान् मानिसले एकैछिनका लागि पनि ‘नयाँ युग’ भाग्यवादी र जातको तहमा विभाजित समाजको युग हो भनेर विश्वास गर्लान् जस्तो लाग्दैन । यद्यपि यस्तो धारणालाई सावधानीका साथ र उत्साहपूर्वक दुई शताब्दीसम्म मलजल गरेर हुर्काइएको थियो, वाक्पटु र बाचाल विद्वान् तर भाग्यवादी पण्डितहरूले पुष्ट्याइँ गरेका थिए र उन्नाइसौँ शताब्दीको मध्यतिर निरङ्कुश शासन प्रणालीद्वारा आफ्नो निहित स्वार्थका लागि कानुन बनाएर यसलाई लागू गरिएको थियो ।
आज हामी भावी सन्ततिका लागि काम गरिरहेका छौँ, भारतको प्राचीन हिन्दू समाजद्वारा विकसित तहगत वर्ण व्यवस्थाका जराजीर्ण मूल्यहरूको पुनर्उत्थानका लागि होइन । हाम्रा भावी पुस्ता विश्व आर्थिक व्यवस्थाभित्र आफूलाई सबैभन्दा तन्नम र पिछडिएको जातिको पहिचान बोकेर हिँडुन् भनेर पनि हामी काम गरिरहेका छैनौँ।
टिप्पणी र प्रसङ्ग
१) तिब्बत–बर्मेली भाषा बोल्ने जनसमुदायको ठूलो हिस्साले मातृभाषाका रूपमा नेपाली बोल्न थालेपछि पनि नेपालीभाषीको यो प्रतिशत कुल जनसङ्ख्याको ५१ प्रतिशत थियो । बाँकी ४९ प्रतिशत मानिसहरूले नेपालीबाहेक अरू मातृभाषा बोल्ने कुरा सन् १९६१ को जनगणनामा उल्लेख भएको थियो (हेर्नुहोस् विष्ट, १९७२) ।
२) सन् १९६३ देखि १९८८ सम्म राष्ट्रिय पञ्चायतका सदस्य हुने कुल ५०१ जनामध्ये ३८० जना अर्थात् ७६ प्रतिशत उच्च जात समूहका बाहुन, छेत्री, ठकुरी, राजपूत, श्रेष्ठ र यादव थिए ।
(डोरबहादुर विष्टलिखित ‘फेटलिज्म एण्ड डेभलपमेन्ट’ पुस्तकको नेपाली अनुवाद ‘भाग्यवाद र विकास’ को निष्कर्ष खण्ड । डोरबहादुर विष्ट परिवारले एक वर्षअघि मात्र प्रकाशित गरेको पुस्तकको अनुवाद वसन्त थापाले गरेका हुन् ।)