प्रधानमन्त्री कप क्रिकेट : बागमतीले लगातार दोस्रो जित निकाल्दा प्रदेश–१ पुछारमा
काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।
गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश–१ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा बागमतीले सुदूरपश्चिम प्रदेशमाथि १८० रनको फराकिलो जित निकालेको हो। संघर्षपूर्ण जित निकालेको गण्डकीको जारी प्रतियोगितामा यो पहिलो जित हो।
यसअघि पहिलो खेलमा आर्मीसँग पराजय भोगेको गण्डकीका लागि विशाल पौडेलले बलिङतर्फ ह्याट्रिक गर्दा गण्डकीले समूह तालिकामा स्पष्ट दुई अंक जोडेको हो।
१०३ रनको सामान्य लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले ३७ ओभरमा ८ गुमाएर पूरा गरेको थियो। संघर्षपूर्ण जित निकाल्दा गण्डकीका ओपनर अर्जुन कुमालले ३५ रनको पारी खेल्दा दीपक डुम्रेले पनि समान ३५ रन नै जोडे।
अभिषेक थापाले अविजित १३ रनको स्कोर बनाए भने अन्य ब्याट्सम्यानले दोहोर अंकको स्कोर जोड्न सकेनन्। पराजित भएपनि किफायती बलिङ गरेको प्रदेश–१ का लागि शुभांकर उराले समान २/२ विकेट हात पार्दा दिपेश कँडेल र हेमन्त राईले एक/एक विकेट आफ्नो नाममा लेखाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर मात्र १०२ रन बनाउन सक्यो। प्रदेश–१ का लागि कप्तान सिद्दान्त लोहनीले २४ रन बनाए। मिनास थापा २२ रनमा आउट भए। शुभशंकर उराले १२, दीपक पासवानले ११ र दीपेश कँडेलले १० रन बनाए।
प्रदेश–१ को पारीलाई सस्तैमा समेट्न विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए। उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। यस्तै, सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए। जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ। गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ भने पराजित प्रदेश–१ को यो लगातार दोस्रो हार हो। प्रदेश–१ पुछारमा छ।
प्रतियोगिता अन्तर्गत सोमबारको अर्को खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १८० रनको फराकिलो अन्तरले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। बागमतीले दिएको ३०० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २१ ओभरको समाप्तिमा सबै विकेट गुमाएर मात्र ११९ रन जोड्न सक्यो।
सुदूरपश्चिमका नारायण जोशीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन। सुदूरपश्चिमका लागि अर्का खेलाडी अर्जुन साउदले ३१ रन जोड्दा किरण ठगुन्नाले २४ रन बनाए भने ६ खेलाडी शून्यमा पवेलियन फर्किएका थिए।
सुदूरपश्चिम प्रदेशलाई सस्तैमा समेट्न बागमतीका रामनरेश गिरिले ४ विकेट लिए। नन्दन यादवले २ तथा दिपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले १/१ विकेट आफ्नो लेखाए।
यसअघि पहिले ब्याटिङ गरेको बागमतीले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २९९ रनको स्कोर बनाएको थियो। युवा ब्याट्सम्यान पृथु बास्कोटाले ८४ रनको अर्धशतकीय इनिङ्स खेले। आदील खानले ६३ रनको योगदान गरे। कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन जोडे। पारस खड्का २० र आकाश थापाले १३ रन बनाए पवेलियन फर्किए। इशान पाण्डेले १७ रन जोड्दा रामनरेश गिरि १० रनमा अविजित रहे।
बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए। भोजराज भट्ट र सन्तोष भट्टले २/२ विकेट लिए। लगातार जित निकालेको बागमतीले २ खेलमा ४ अंक जोडेको छ। बागमती समूह ‘बी’ को शीर्ष स्थानमा अटाएको छ। यसअघि बागमतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको थियो भने पराजयबाट सुदूरपश्चिमले प्रतियोगिताको शुरूआत गरेको छ।
प्रतियोगितामा मंगलबार त्रिवि मैदानमा लुम्बिनी प्रदेश र प्रदेश–२ तथा मुलपानी मैदानमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।