भाग्यवाद कि कर्मवाद ?
जीवनलाई भाग्यको भरोसामा छाड्ने सामाजिक मनोवृत्तिले मानवीय क्षमता र सम्भावनालाई गिज्याएको मात्र छैन, कर्मलाई नै अवमूल्यन गरेको छ।
नेपाली समाजमा मान्यजनले आफूभन्दा सानालाई आशीर्वाद दिँदा ‘भाग्यमानी भएस्’ भन्ने प्रचलन छ। विवाहित महिलालाई ‘सौभाग्यवती भवः’ भन्ने चलन पनि व्यापक छ। हिन्दु समाजमा सिन्दूरलाई सौभाग्यकै प्रतीक मानिन्छ। केही काम भएन वा बिग्रियो भने ‘भाग्यमा नभएको’ भनेर चित्त बुझाइन्छ। भाग्यसँगै कर्मको कुरा पनि उठ्छ। ‘कर्मै खोटो’ वा ‘भाग्य बिग्रिएको’ भनेर कुनै कुरा हुनु वा नहुनुको कारक मानिन्छ।
समाजको भाग्यवादी प्रवृत्तिको झल्को कला–साहित्य तथा गीत–संगीतमा पनि भेटिन्छ। अरुणा लामाले गाएको चर्चित गीत ‘पोहोर साल खुशी फाट्दा’मा ‘तेरो भाग्य यति नै हो भोगचलन गरिसकिस्’ भनेर नियतिलाई दोष मात्र दिइएको छैन, ‘भावीले निधारमा कर्म लेखिदिने मसी के हो ?’, ‘भाग्य तोक्ने कसी के हो ?’ भनेर भाग्यको गाथा नै गाइएको छ। तर, समाजमा गरिने यी र यस्ता भाग्यको कुराप्रति प्रश्न खासै गरिँदैन। लेखेको पाइन्छ, देखेको पाइँदैन भन्ने लेखान्तमा निर्भरताले मानवको अपार श्रम शक्तिलाई गिज्याए झैं लाग्छ। भाग्यको सहारा लिने प्रचलन र प्रवृत्तिले कर्मलाई अवमूल्यन गर्दै आएको छ।
परम्परागत सोचको खण्डन गर्दै नयाँ ज्ञान प्रकाश पार्ने गौतम बुद्धले ‘भाग्य’ भन्ने कुरालाई ठाउँ नै दिएनन्। उनले ‘कर्म’को पनि नयाँ भाष्य बनाई यसलाई व्यक्तिसँग सम्बन्धित भनेर बुझाइदिएका छन्। कर्म अनुसार फल हुने र यसमा कसैको हस्तक्षेप वा प्रभाव नपर्ने बताउनु बुद्धको दार्शनिक र क्रान्तिकारी अभिव्यक्ति हो।
कुनै अमूक शक्ति वा विधाताले सबैको भाग्य पहिल्यै निर्धारण गरिसक्ने र सोही अनुसार मानिसहरू जिउने परम्परागत मान्यताविरुद्ध बुद्धले त्यस्तो कुनै शक्ति हुँदै नभएको प्रष्ट पारे। वैदिक धर्म–दर्शन वा समाजमा मात्रै नभएर अन्य समाजमा पनि भाग्यको कुरा पाइन्छ। यी जम्मै मूल्य–मान्यता विरुद्ध बौद्ध दर्शनको सन्देश अन्तर्निहित छ।
भाग्यमा लेखिएको भए स्वतः पाइन्छ भन्ने जीवनदर्शन बुझाउन अनेक शास्त्र तथा पौराणिक कथाहरू रचिएका छन्। शास्त्र तथा शास्त्रमा आधारित पौराणिक कथा बाहेक समाजले आफ्नो सुविधा अनुसार पौराणिक चरित्र अगाडि सारेर थप कथाहरूको सिर्जना गर्ने गरेबाट यहाँको जनजीवन भाग्यमा कति आश्रित रहेछ भन्ने अनुमान हुन्छ। भाग्यवादी जीवनदर्शन र मनोविज्ञान अनुसार आफ्नो भाग्य बलियो बनाउन विभिन्न देवीदेवताको भक्तिभाव गर्ने/गराउने अभ्यास चलिआएकै छ।
भाग्यसँग जोडिएका शब्दहरू र तिनको सामाजिक पकड पनि गहिरो छ। जसले व्यक्तिको आफ्नो प्रयास र लगनभन्दा भरोसा र संयोगहरूमा विश्वास गर्न एकोहोर्याउँछ। त्यस्तै एक प्रचलित शब्द हो, ‘भाग्योदय’।
भगवद् गीताको चर्चित कथन छ, ‘कर्म गर, फलको आशा नगर।’ जसको पेटबोलीले भन्छ, कर्म गर्नु मानिसको कर्तव्य हो, र कुनै ईश्वरीय शक्तिले दिएको फल अनुसार जिउनु नै जीवन हो। यसलाई संसाररूपी रंगमञ्चमा विधाताले तय गरेको नाटकलाई आत्मसात् गर्नु पनि भन्न सकिन्छ। अर्थात् सारमा यसले पनि भाग्यमा नै जोड दिएको छ। तर, बौद्ध दर्शनले त्यस्तो ईश्वरीय शक्तिको अस्तित्वलाई नै नकार्छ। यो दर्शनले भन्छ, निश्चित कर्मको सुनिश्चित फल हुन्छ र यसमा कसैको इच्छा वा अनुकम्पाले असर पार्दैन।
भाग्यसँग जोडिएका शब्दहरू र तिनको सामाजिक पकड पनि गहिरो छ। जसले व्यक्तिको आफ्नो प्रयास र लगनभन्दा भरोसा र संयोगहरूमा विश्वास गर्न एकोहोर्याउँछ। त्यस्तै एक प्रचलित शब्द हो, ‘भाग्योदय’। सोचेको भन्दा बढी उन्नति हुँदै जानुुलाई भाग्योदय भन्ने गरिन्छ। भाग्योदय भएका मान्छेलाई भाग्यमानी भनिन्छ। आफ्नै मिहिनेत, दक्षता वा अनुकुल वातावरणलाई जस नदिई भाग्यकै उपज मान्नु स्वयंको अवमूल्यन हो। यसले आत्मगौरव गर्न र प्रेरित हुन दिँदैन, बरु भक्त बनाइदिन्छ।
‘भाग्यहीन’ शब्दले उपलब्धि हासिल गर्न नसक्ने, प्रगति नगर्ने र जस्तोसुकै मिहिनेत गरे पनि फल प्राप्त गर्न नसक्ने अर्थ दिन्छ। कोही व्यक्ति असफल भए असफलता नै उसको नियति भनेर अर्थ्याइन्छ, जसले सफलतातिर बढ्न तगारोको काम गर्छ। भाग्यवादले बरु सम्पूर्ण ऊर्जा र मनस्थितिलाई शिथिल बनाउनुका साथै कर्महीन बनाइदिन्छ।
भाग्यकै पर्याय उर्दूमा ‘नसीब’ र अंग्रेजीमा ‘लक’ शब्दको प्रयोग व्यापक छ। कतिपय बौद्ध सन्दर्भमा अस्वाभाविक र नमिल्दो पाराले ‘भाग्य’ शब्दको प्रयोग हुनुको अन्तर्य अंग्रेजी लेखमा प्रयोग हुने ‘लक’ शब्दको अनुवाद हुने गरेको पाइन्छ। बौद्ध धर्मदर्शनको अन्तर्यसँग आत्मसात् नगरी आफ्नै परिवेश वा पृष्ठभूमि अनुसार यसलाई बुझ्न खोज्दा यस्तो गल्ती हुन पुग्छ। मौलिक बौद्ध साहित्यमा भाग्यको प्रसङ्ग नभए पनि अनुवाद वा प्रभावमा रहेका लेखनमा यस्तो पाइनु अंग्रेजी हुनेबित्तिकै आधिकारिक मान्ने प्रवृत्ति कारक हो।
पूर्वजन्म र पुनर्जन्म तथा देवीदेवताको स्थान बौद्ध धर्मदर्शनमा पनि छ। यसकै आधारमा यो धर्म अन्य धर्मसम्प्रदायभन्दा फरक नभएको गलत बुझाइ पनि पाइन्छ। भाग्य र कर्मको कुरा प्रष्ट पार्न यही गलत बुझाइमाथि छलफल गर्नु नितान्त जरुरी छ।
आधुनिक विज्ञानले प्राणीको शुरूआत पृथ्वीको उत्पत्तिपछि भएको मान्छ भने बौद्ध दर्शनले विगतमा यस्ता पृथ्वीहरूको उत्पत्ति र विनाश अनेकौं पल्ट भइसकेको देखाउँछ। यो दर्शनले प्राणीको शुरूआत कहिलेदेखि र किन भयो भन्ने सम्बन्धमा चर्चा गर्नुको औचित्य देख्दैन। यस अनुसार पूर्वजन्म र पुनर्जन्महरू अनन्त छन्। यही गतिलाई बुद्धले दार्शनिक रूपमा दुःख भनेका हुन्। तृष्णाका कारण जीवन–मरणको चक्रले निरन्तरता पाइरहेको र तृष्णाको क्षय गरेर दुःखको अन्त्य गर्न सकिन्छ भन्ने कुरा नै बौद्ध दर्शनको मुख्य सार हो।
जीवनमा जति पनि कर्म गरिन्छ, त्यसको फल सोही जन्ममा र पुनर्जन्महरूमा भोग्ने कुरा पनि बौद्ध धर्मदर्शनको मान्यता छ। वर्तमानमा कोही दीनदुुःखी छ भने पूर्वजन्मको फल भन्दै चुप लागेर बस्न यो धर्मले अनुमति दिँदैन, बरु कर्मण्य भई पूर्वजन्मको कर्मविपाकबाट हुने क्षतिलाई न्यून गर्न तथा वर्तमान र भविष्यलाई राम्रो पार्न प्रोत्साहित गर्छ। यो जीवनमा गरेको पुण्य कर्मकै बलमा मृत्युपछि सुगति प्राप्त हुन्छ भन्नुको तात्पर्य बौद्ध दर्शन अनुसार मृत्युपछि तत्कालै मान्छे नै भएर जन्म लिने वा देवलोक तथा ब्रह्म लोकहरू प्राप्त गरी देवता बन्ने हो।
नेपाली समाज भाग्यवादी भनिए पनि कतिपय सन्दर्भमा यथार्थवादी पनि हुन खोजेको पाइन्छ। ‘भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अडिँदैन’ भन्ने नेपाली उखानले भाग्यवादको खण्डन गर्न खोज्छ। तर, आम मानसिकता, त्यसै अनुसारको अभ्यास तथा संस्कार र संस्कृतिले यी सोचाइलाई हुर्कन दिएको पाइँदैन।
सञ्चित पुण्यबलले बनेका देवताहरूलाई प्राप्त हुने देवलोक स्थायी हुँदैन। बरु स्वभावतः सञ्चित पुण्यको क्षय हुने र त्यसपछि अन्य लोकहरूमा जानुपर्ने हुन्छ। पुण्य बढाउन मनुष्य योनिमा मात्रै संभव भएका कारण मृत्युपछि देवलोक प्राप्तिको कामना प्रायः गरिँदैन। यस अनुसार देवीदेवताले कसैको भाग्य निर्धारण गर्नु त के, आफ्नै लागि पनि केही गर्न सक्दैनन्। अनेकौं संख्यामा विभिन्न नामका देवताको अस्तित्व माने पनि साधारणतः बौद्ध समाजमा तिनीहरूको उल्लेख नगरिनुको कारण यही हो।
नेपाली समाज भाग्यवादी भनिए पनि कतिपय सन्दर्भमा यथार्थवादी पनि हुन खोजेको पाइन्छ। ‘भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर अडिँदैन’ भन्ने नेपाली उखानले भाग्यवादको खण्डन गर्न खोज्छ। तर, आम मानसिकता, त्यसै अनुसारको अभ्यास तथा संस्कार र संस्कृतिले यी सोचाइलाई हुर्कन दिएको पाइँदैन। माथिल्लो जात र तल्लो जात भनेर जातिवाद थोपर्नु वा स्वीकार्नु पनि भाग्यवादी नै हुनु हो।
गौतम बुद्धले चार वटा आर्यसत्यलाई प्रकाश पारेको भनेर धेरै प्रशंसा गरिन्छ। तर, यो भाग्यवादबाट नभएर कर्मवादबाट निर्देशित छ। दर्शनको क्षेत्रमा गौतम बुद्धको मौलिक देन भनिने र अनौपचारिक रूपमा पाँचौं आर्यसत्य पनि भन्न सकिने ‘प्रतीत्यसमुत्पाद दर्शन’ कार्यकारणमा आधारित छ। यही अनुसार कुनै परमसत्ता वा ईश्वरीय शक्तिको अस्तित्व अस्वीकार गरिएको हो। शून्यवादी बौद्ध दर्शन अनुसार पनि यहाँ कसैको पनि स्वअस्तित्व छैन र यस अवस्थामा भाग्य र विधाता भन्नु मिथ्या कल्पना मात्र हो।