आन्तरिक पर्यटन पुनरूत्थान गर्न धम्पुस पीक आरोहण
कोभिड-१९ महामारीले सुस्ताएको पर्यटनलाई आन्तरिक पर्यटकमार्फत् प्रवर्द्धन तथा पुनरूत्थान गर्न धम्पुस पीक आरोहण गरिएको छ। गण्डकी प्रदेश अन्तर्गत पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको संयुक्त पहलमा दुई महिलासहित ६ जना नेपालीको टोलीले धम्पुस अरोहण गरेका हुन्।
मुस्ताङको ६०१२ मिटर अग्लो धम्पुस पीकको नेपाली टोलीबाटै सफल आरोहण भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले जानकारी दिएको छ। पर्यटन विभागबाट अनुमति लिएर गएका उक्त टोलीलाई पर्वतारोहण संघको प्राविधिक सहयोगमा नेपाली टोलीले ३ माघमा उक्त हिमालको सफल आरोहण गरेका हुन्।
आरोहण दलका संयोजक जीवनराज सापकोटा रहेका छन्। पीक आरोहणका लागि २६ जनाको टोली गएको भएपनि जना जनाले मात्रै आरोहण गर्न सफल भएको बोर्डले जानकारी दिएको छ। यो पीकको सफल आरोहण गर्नेमा मुस्ताङका टासी पासाङ गुरुङ, मनाङकीका मनु गुरुङ, काश्कीका दिपेशबाबु सुवेदी र सुदीप गौतम, म्याग्दीका सनकुमार जुग्जाल र स्याङजाका हिराकुमारी मल्ल रहेका छन्।
आरोहण दलका संयोजक सापकोटाका अनुसार अत्यन्त तीब्र गतिको हावाका कारण अन्य पर्वतारोहीहरू शिखर नजिकै पुगेर पनि फर्कन बाध्य भएका थिए। पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणि रहेता पनि आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर नेपालीहरूलाई पनि तुलनात्मक रूपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पीक अरोहण गर्न सकिन्छ भन्ने सन्देश यो आरोहणले दिएको छ।
हाल आन्तरिक पर्यटकहरू दृश्यावलोकन पदयात्रा, प्याराग्लाइडिङ, राफ्टिङ, जंगल सफारी जस्ता पर्यटकीय गतिविधिमा अत्याधिक रमाउने गरेका छन् भने धम्पुस पीकको सफल आरोहणले अब आन्तरिक पर्यटकहरूका लागि पर्वतारोहण पनि आर्कषक पर्यटकीय उपजको रूपमा स्थापित हुने नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक काशीराज भण्डारीले बताए।
गण्डकी प्रदेशमा रहेको फ्रेन्च नागरिक मौरिस हसजोगले सन् १९५० को जुनमा अन्नपूर्ण प्रथम (८०९१) चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेको भएतापनि हाल धेरै कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिमश्रृंखलामा रहेका शिखरहरूको आरोहण गर्ने गरेका छन्।
अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको रोजाईमा ८००० मिटर भन्दा अग्ला हिमालका अलवा नेपाल पर्वतारोहण संघले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्याण्ड पिक, पिसाङ पीक पर्दछन।