डोरबहादुर हुनु र नहुनु
डोरबहादुर विष्टलिखित पुस्तक ‘भाग्यवाद र विकास’ले मानवशास्त्रको नेपाली स्कूल स्थापनाको जुन प्रयत्न गरेको थियो, नेपाली मानवशास्त्रले त्यस्तो मौलिक सैद्धान्तिक दृष्टिकोणसहित नेपाली समाजको व्याख्या र विश्लेषण गर्ने परम्परालाई समृद्ध पार्न नसक्नु हाम्रो सीमा रह्यो।
डोरबहादुर विष्टको पुस्तक ‘भाग्यवाद र विकास’ प्रकाशन भएको तीन दशक भएको छ। गत वर्ष यसको नेपाली अनुवाद पनि प्रकाशन भयो। यी तीन दशकसम्म पनि विष्ट र उक्त पुस्तककोे सामयिकता र सान्दर्भिकता कम भएको छैन।
यो पुस्तक सन् १९९१ मा प्रकाशन भएको थियो, त्यसै वर्ष मैले विष्टलाई भेट्न पाएको थिएँ। समाजशास्त्र/मानवशास्त्र विभाग स्थापना गर्ने क्रममा विष्टको महत्वपूर्ण भूमिका थियो भन्ने पढेका/सुनेका हामी उनलाई प्रत्यक्ष भेट्न पाउँदा हर्षविभोर भएका थियौँ। त्यतिबेला म उक्त विभागमा स्नातकोत्तरको विद्यार्थी थिएँ।
हामीले विष्टका व्यक्तिगत र व्यावसायिक जीवनका बारेमा जेजति सुनेका थियौँ, त्यसले गर्दा उनीसँगको भेट हाम्रा लागि एक प्रकारको उत्सव जस्तै भएको थियो।
उनीसँगको पहिलो भेट भने समाजशास्त्र/मानवशास्त्र विभागले त्यसै वर्ष आयोजना गरेको एक सेमिनारमा भएको थियो, जहाँ उनी प्रमुख वक्ता (कि नोट स्पिकर) थिए। उनलाई प्रत्यक्ष सुन्दा र उनको हस्तलिखित भाषणको फोटोकपी बोकेर साँझमा घर फर्कँदा कुनै पुरस्कार पाए जस्तो महसुस भएको थियो।
यसपछिका केही भेट सुखद र स्मरणीय रहे। त्यो सम्भव भएको थियो, हाम्रा एक नर्वेली प्राध्यापकको रुचि र सौहार्दतामा।
जावलाखेलस्थित् सदर चिडियाखानाको पश्चिम–दक्षिण पर्खाल बाहिर कुनोको कुनै एक घरमा नर्वेको बर्गेन विश्वविद्यालयका मानवशास्त्रका प्राध्यापक गुनार हाल्याण्डको अफिस थियो, जसलाई हामी बर्गेन हाउस भन्थ्यौँ। त्यहाँ हुने अनौपचारिक छलफल र साँझमा हुने जमघटमा प्राध्यापक विष्टसँग हाम्रो भेट हुन्थ्यो। हाल्याण्ड नेपालमा रहेका बेला र विष्टको उपलब्धता हुँदा त्यस्तो जमघट नियमित जस्तै हुन्थ्यो।
हामी त्यतिबेला एमएको थेसिस लेख्ने क्रममा थियौँ र हामीले उनै हाल्याण्डले निर्देशन गर्ने त्रिभुवन बर्गेन ह्युमन इकोलोजी प्रोगामबाट अनुसन्धानवृत्ति पाएका थियौँ। उक्त भेटका क्रममा विष्टको सरलता र सहजपनले मलाई आकर्षित गरेको थियो। चिटिक्क पारेर लगाएको शर्टपाइन्ट, मिलाएर कोरेको जुल्फी र हँसिला विष्ट भव्य लाग्थे। उनी युवा विद्यार्थीलाई प्रोत्साहन गर्थे।
दुःखद के भने, त्यस्तो भेटको सिलसिला सीमित मात्र हुन पायो। त्यसको केही वर्ष (सन् १९९५) मा उनी अलप भए। बर्गेन हाउसमा हुने सीमित भेटको सिलसिला पनि टुंगियो।
जसरी विष्ट रहस्यमय ढंगबाट अलप भएका थिए, आफन्तजन र शुभचिन्तक उनी कुनै दिन त्यस्तै अप्रत्याशित रूपमा प्रकट हुनेछन् भनेर लामो समय प्रतीक्षामा रहे। त्यसपछिका वर्षहरूमा उनी हुनु र नहुनुको बीचमा कतै रहे। छन् भनौं छैनन्, तर छैनन् भनाैं नहुनुको प्रमाण पनि फेला परेको छैन। राजादेखि जनसाधारणसम्म, स्वदेशी तथा विदेशीबीच उत्तिकै रूचाइएका व्यक्ति हुनु र नुहुनुको अवस्थामा हुनु बडो असामञ्जस्यपूर्ण र विडम्बना हो।
आज ३० वर्ष भयो, विष्टको पुस्तक ‘भाग्यवाद र विकास’ प्रकाशन भएको। यस्तै, उनी रहस्यमय तरिकाले बेखबर भएको २५ वर्ष भयो। तर, विष्ट र उनका पुस्तक अझै पनि उत्तिकै सान्दर्भिक छन् नेपाली समाज र खासगरी नेपाली मानवशास्त्रका लागि। यो पृष्ठभूमिसहित म यो लेखोट मानवशास्त्रको एक विद्यार्थीको हैसियतमा लेख्दै छु।
विष्ट अप्रत्याशित रूपमा अलप हुनु र खोजी निरन्तर रहनुले उनलाई देश र विदेशमा समेत चासो र चर्चाभन्दा बाहिर रहन दिएन। उनको पुस्तक पनि चर्चाको केन्द्रमा निरन्तर छ। संभवतः आजसम्म सबैभन्दा बढी समीक्षा भएको नेपाली मानवशास्त्रीको अंग्रेजी भाषाको पुस्तक हो, ‘भाग्यवाद र विकास’।
उनको भौतिक उपस्थिति र सक्रियता हुन्थ्यो भने यो पुस्तकले झनै थप चर्चा र सन्दर्भ पाउने थियो। यसलाई नेपाल बुझ्ने आधार पुस्तकको रूपमा प्रख्यात गराइयो, प्रख्यात भयो। नेपाल अहिले जे छ, त्यो किन त्यस्तै छ भनेर जान्न सूत्र पुस्तककै रूपमा चर्चामा रह्यो, खासगरी विदेशी अुनसन्धानकर्ता, नेपाल अध्येता, कूटनीतिक, विदेशी नियोग अनि अन्तर्राष्ट्रिय द्विपक्षीय, बहुपक्षीय सहयोग संस्था र गैरसरकारी संस्थाहरूका कार्यकर्तामाझ।
उनीहरूले पुस्तकको खुलेर प्रशंसा पनि गरे, तर सम्बन्धित कसैले पनि उक्त पुस्तकमा औंल्याइएको नेपालको विकास र आधुनिकीकरणको पथ गलत भएको कारण त्यसलाई बदल्न यो बाटो सही भनेर नयाँ अवधारणा र तिनको कार्यान्वयन गरेको देखिएन।
नेपाली मानवशास्त्रको संस्थागत, विधागत, परम्परा स्थापनाका दृष्टिले विष्ट हालसम्मकै अग्रणी व्यक्ति हुन्। विष्टले सैद्धान्तिकीकरण गर्ने के प्रयत्न गरे भने, बाहुनवाद, भाग्यवाद, आफ्ना मान्छे, चाकरी आदि नेपाली समाज पछौटेपनमा रहनुको कारण हुन्। उनले यसलाई नेपालको आधुनिकीकरणको पथको अवरोध भनेका छन्।
बरु नेपालमा काम लिनु छ भने आफ्नो मान्छे चाहिन्छ भनेर त्यही किसिमको अभ्यास गर्न थालियो। यति मात्र होइन, श्रोतमा आफ्नो नियन्त्रण रहेकै कारण मानिसहरू चाकरी गर्न आऊन् भन्ने प्रकट/अप्रकट चाहना राखे। यो अर्को यथार्थ हो, जसबारे अन्त कतै चर्चा गरौंला।
नेपाली मानवशास्त्रको संस्थागत, विधागत, परम्परा स्थापनाका दृष्टिले विष्ट हालसम्मकै अग्रणी व्यक्ति हुन्। विष्टले सैद्धान्तिकीकरण गर्ने के प्रयत्न गरे भने, बाहुनवाद, भाग्यवाद, आफ्ना मान्छे, चाकरी आदि नेपाली समाज पछौटेपनमा रहनुको कारण हुन्। उनले यसलाई नेपालको आधुनिकीकरणको पथको अवरोध भनेका छन्।
केहीले विष्टले अवधारणाहरूको पर्याप्त सैद्धान्तिकीकरण गर्न नसकेको वा कतिले प्रस्तावना नै गलत भएको भनेका छन्। ती बहसका विषय हुन सक्लान्। त्यस्तै बहसका लागि एउटा प्रतिप्रश्न सान्दर्भिक नै हुन्छ, त्यसो भए नेपाली समाज अहिले जस्तो छ त्यस्तै रहनु वा हुनुलाई कसरी बुझ्न सकिन्थ्यो त ?
यो पनि बहसयोग्य विषय नै हो, नेपाली मानवशास्त्रले विष्टले सैद्धान्तिकीकरण गरेको भाग्यवाद र उनले व्याख्या गरेको विकास र आधुनिकीकरणको सैद्धान्तिक अवधारणाबारे न त पर्याप्त आलोचनात्मक रूचि राख्यो, न त गहन विमर्श गर्न सकेको छ। विष्टले भनेको जस्तो विकास र आधुनिकीकरणको सैद्धान्तिक प्रस्थापना पर्याप्त थियो कि थिएन भन्नेमा अझै गतिलो बहस हुनुपर्थ्यो।
मानवशास्त्रको विद्यार्थीको नाताले मलाई विष्टको ‘भाग्यवाद र विकास’को पठन र चर्चाको सबैभन्दा सबल पक्ष उनले अपेक्षा र वकालत गरेको मानवशास्त्रको नेपाली स्कूल स्थापनाको लागि बलियो कोशेढुङ्गा साबित भएको थियो। यद्यपि, नेपाली मानवशास्त्रले त्यस्तो खालको मौलिक सैद्धान्तिक दृष्टिकोणसहित नेपाली समाजको व्याख्या र विश्लेषण गर्ने परम्परालाई समृद्ध पार्न सकेन। यो एक स्वीकारोक्ति र आत्मसमीक्षा पनि हो।
विष्टले जागिरबाट राजीनामा दिएर सन् १९५२ देख १९५८ सम्म लण्डन युनिभर्सिटीका मानवशास्त्री क्रिस्टोफ भोन फ्युरर हाइमनडोर्फको अनुसन्धान सहायकका रूपमा काम गरे। यसरी अनुसन्धान सहयोगी भएर काम गर्ने निर्णयले विष्टलाई पहिलो नेपाली मानवशास्त्रीको परिचय मात्र दिएन, नेपालभित्र र बाहिर नेपाली मानवशास्त्रका पिताका रूपमा समेत स्थापित गरायो।
विश्वविद्यालयमा समाजशास्त्र/मानवशास्त्र विभाग सन् १९८० को शुरूआतमा स्थापना भएको हो। तर, नेपालमा मानवशास्त्रको अध्ययन/अनुसन्धान सन् १९५० देखि नै शुरू भैसकेको थियो। खासगरी विदेशी अनुसन्धाताहरूको लागि सानो र साँघुरो भूगोलमा अटाएको बहुलभाषी, बहुल संस्कृति, बहुलजातीय नेपाल मानवशास्त्रीय अनुसन्धानका लागि पर्याप्त आकर्षक ‘फिल्ड’को रूपमा लोकप्रिय हुँदै थियो। विभिन्न भूमिकामा विष्ट त्यो प्रक्रिया र परिघटनाका साक्षी थिए, सहभागी थिए।
तत्कालीन कन्या विद्यालयका प्रधानाध्यापक रहेका विष्टले जागिरबाट राजीनामा दिएर सन् १९५२ देख १९५८ सम्म लण्डन युनिभर्सिटीका मानवशास्त्री क्रिस्टोफ भोन फ्युरर हाइमनडोर्फको अनुसन्धान सहायकका रूपमा काम गरे। यसरी अनुसन्धान सहयोगी भएर काम गर्ने निर्णयले विष्टलाई पहिलो नेपाली मानवशास्त्रीको परिचय मात्र दिएन, नेपालभित्र र बाहिर नेपाली मानवशास्त्रका पिताका रूपमा समेत स्थापित गरायो। उनले आफूलाई एउटा अनुसन्धान सहयोगीका रूपमा मात्र सीमित नराखेकै कारण त्यो संभव हुन सकेको थियो। मानवशास्त्रका नयाँ पुस्ताका लागि यो महत्वपूर्ण पाठ हुनसक्छ।
हाइमनडोर्फप्रतिको विष्टको धारणा भने समयक्रममा पछिसम्म एकनाश रहन सकेन। औपनिवेशिक मानसपुत्रका रूपमा विकसित भएको मानवशास्त्र शायद त्यो अवस्थाबाट धेरै टाढा पुगिसकेको थिएन र परिणामस्वरूप विष्टले हाइमनडोर्फसँगको सम्बन्धमा त्यस्तै औपनिवेशिक सम्बन्धको गन्ध पाए।
अमेरिकी मानवशास्त्री जेम्स फिसरसँगको एक अन्तर्वार्तामा विष्टले यो कुराको संकेत गरेका छन्। उक्त अन्तर्वार्तामा नै विष्टले भनेका थिए, उनले नेपालमा मानवशास्त्रको महत्वको आकलन गर्न नसकेको भए मानवशास्त्र विभागको स्थापना गर्ने कार्यमा संलग्न हुँदैनथे र त्यसको प्रमुख बन्दैनथे। मानवशास्त्र विभाग उद्देश्यमा स्पष्ट हुनुपर्ने उनको धारणा थियो। विदेशी विश्वविद्यालयको विद्यावारिधि मात्र पर्याप्त नहुन सक्छ त्यसका लागि, उनीहरूले नेपाली अवस्थाबारे अभिमुखीकरण भएकै हुनुपर्छ।
सन् १९५० देखि ८० को दशकसम्मका विदेशी मानवशास्त्रीहरूले गरेका कामको अवलोकन र आफ्नो विविध अनुभवपछि विष्टको निर्क्योल के रह्यो भने पहिलो त, विदेशीहरूले गरेका त्यस्ता अध्ययनहरू आम नेपालीको पहुँचभन्दा बाहिर रहन्छ।
दोस्रो, मूलतः डिग्री हासिल गर्न गरिएका र सीमित प्रश्नको उत्तर खोज्न सानो ठाउँमा गरिएका त्यस्ता अध्ययनले नेपाली समाजलाई समग्रमा बुझ्न खासै मद्दत पुर्याउँदैन। ती अध्ययन त बृहत् नेपाली समाजको केही चोइटा यथार्थ मात्र बन्न सक्छन्, र ती कुनैले पनि नेपालको विकासका लागि उपयोगी र अर्थपूर्ण योजना निर्माण र सञ्चालनमा सहयोग गर्न सक्दैनन्।
विषयगत विज्ञानको उन्नयनमा तिनको अर्थ सीमित रहन्छ। मानवशास्त्रीय अध्ययनले त नेपाली राष्ट्रिय पहिचानको निर्माण गर्ने संस्कृतिको प्रवर्द्धन र रक्षा गर्नुपर्ने विष्टको मत थियो। बहुल संस्कृतिको विविध पक्षको अध्ययन गर्ने मानवशास्त्रको विकासमा उनको जोड थियो।
निश्चय पनि नेपाली मानवशास्त्रीहरूले नेपाली समाजको विविध आयाम र अवस्थाको अध्ययन गर्न मानवशास्त्रीय सैद्धान्तिक खाका, अवधारणा, दृष्टिकोण र प्रकृयाको विकास गर्नुपर्छ। अर्थात् नेपालकोे आफ्नो मानवशास्त्रीय ‘स्कूल’ हुनुपर्छ। उक्त आग्रह जेम्स फिसर सम्पादक रहेको मानवशास्त्र समाजशास्त्र विभागबाट प्रकाशित जर्नल 'अकेजनल पेपर'को पहिलो अंकमा प्रकाशित लेख 'नेपाल स्कूल अफ सोसियोलोजी एन्थ्रोपोलोजी' मा विष्टले सटीक र स्पष्ट तवरले बताएका छन्। उनी त्यस्तो भविष्यमुखी नेपाली मानवशास्त्रको छुट्टै परम्पराको शुरूआत र विकास हुनेप्रति आशावादी पनि देखिन्थे।
आज उनी हामीसँगै भएका भए उनले यो ३० वर्षको अवधिमा थप, नयाँ र संभवतः भाग्यवादको संस्करणभन्दा फरक सैद्धान्तिक अवधारणालाई स्थापित गराइसकेका हुन्थे। यस अर्थमा यो परिकल्पना मात्र हुन्नथियो, विष्ट त्यसरी अलप नभइदिएको भए मानवशास्त्रको नेपाली स्कूल पनि जबर्जस्त दृश्यमा हुने थियो।
विष्टलाई स्मरण गर्दैगर्दा यो पृष्ठभूमिसहित मेरो जिरह के हो भने, उनको पुस्तक ‘भाग्यवाद र विकास’ उनले स्थापना गर्न चाहेको नेपाली दृष्टिकोणसहितको मानवशास्त्रको नेपाली स्कूलको स्थापनार्थ गरिएको एउटा भरपर्दो कार्य थियो।
त्यो कोणबाट हेर्दा उनको कर्णाली इन्स्टिच्यूटको स्थापना अर्थपूर्ण देखिन्छ। उनी भइरहेका भए उनको निरन्तरको प्रयासले यस तीन दशकमा हामीले मानवशास्त्रको नेपाली स्कूलको सग्लो रूप देख्न पाउने थियौं। तर, हामी अहिले पनि त्यस्तो स्कूलको आवश्यकताको कुरा मात्र गरिरहेका छौंं, त्यसतर्फको कुनै आशलाग्दो कदम चालिएकै छैन।
अन्त्यमा, डोरबहादुर विष्ट आजभन्दा तीन दशकअघि नै एउटा संस्था बनिसकेका थिए। आज उनी हामीसँगै भएका भए उनले यो ३० वर्षको अवधिमा थप, नयाँ र संभवतः भाग्यवादको संस्करणभन्दा फरक सैद्धान्तिक अवधारणालाई स्थापित गराइसकेका हुन्थे। यस अर्थमा यो परिकल्पना मात्र हुन्नथियो, विष्ट त्यसरी अलप नभइदिएको भए मानवशास्त्रको नेपाली स्कूल पनि जबर्जस्त दृश्यमा हुने थियो।
माघ ४ गते विष्टको जन्मदिन भएकाले उनको स्मरण स्वाभाविक हो। तर, अपेक्षा गरौं, कतै यो सम्झिने परम्परा पारिवारिक औपचारिकतामा सीमित हुँदै नजाओस्।
भाग्यमा छ भन्दैमा डोकामा दूध दुहेर अडिँदैन भन्ने उखान नेपाली मानवशास्त्रलाई चरितार्थ नभई जाओस्।