प्रधानमन्त्री कप क्रिकेट : आर्मीको लगातार दोस्रो जित, बागमतीको विजयी शुरूआत
काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जित निकालेका छन्।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।
आइतबारकै अर्को खेलमा विभागीय टोली तथा साविकको विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।
आर्मीले लगातार जित निकाल्दा कर्णाली प्रदेशले पराजयबाट प्रतियोगिताको शुरूआत गर्यो। आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले मात्र ११५ रन जोड्न सक्यो। ३३.३ ओभरमा कर्णालीले सबै विकेट गुमाउँदा प्रतियोगिता पराजयबाट शुरूआत गर्न पुगेको हो।
जवाफी ब्याटिङ गर्ने क्रममा कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रनको पारी खेल्दा ओपनर हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रनको दोहोरो स्कोर गरे। यस बाहेकका ब्याट्सम्यानले दोहोर अंकको स्कोर गर्न सकेनन्।
कर्णालीको इनिङ्सलाई रोक्न आर्मीका सुशान भारीले सर्वाधिक ४ विकेट निकाल्दा शहब अलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट आफ्नो नाममा लेखाए। ६ ओभर बलिङ गरेको जितेन्द्र मुखियाले दुई मेडन राख्दै १६ रन खर्चिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन जोडेको थियो। आर्मीका लागि ओपनर अनिलकुमार मण्डलले ८९ रनको पारी खेले। ११४ बल सामना गरेका अनिलले १४ चौका प्रहार गरेका थिए।
यस्तै कप्तान विनोद भण्डारीले ४१ रनको पारी खेल्दा राजेश पुलामीले १६, लोकेश बमले १३ तथा रोहित पौडेलले ११ रनको योगदान गरे। अन्य ब्याट्सम्यान १० रन भन्दा कम रनमा पवेलियन फर्किएका थिए।
बलिङतर्फ कर्णाली प्रदशेका लागि दिनेश अधिकारी, राज शाह र दिवन पुनले समान २/२ विकेट हात पार्दा रविन्द्र शाही, युनिस सिंह र अनुज चुनाराले एक/एक विकेट आफ्नो नाममा लेखाए।
पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको अर्को खेलमा पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले सुखद शुरूआत गर्यो। पुलिसले दिएको ११२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्दा विजयी शुरूआत गरेको हो।
बागमतीको जितमा पृथु बास्कोटाले अविजित रहँदै ४८ रन बनाए। इशान पाण्डेले अविजित १७ रन बनाए। पारस खड्काले १७ रन जोड्दा आदील खानले १२ रन जोडे। आकाश थापा १ रनमा आउट भए। पुलिसका दिपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २९ ओभर ३ बलमा अलआउट हुँदै १११ रन जोडेको थियो। पुलिसका लागि ओपनरद्वय सुनिल धमलाले २२ बलमा ३ चौकासहित १७ तथा कुशल भूर्तेलले ३९ बलमा २ चौकासहित १७ रन बनाए।
त्यस्तै अमित श्रेष्ठ ६ रनमा पेविलियन फर्किँदा दीपेन्द्रसिंह ऐरीले ३९ बलमा २ चौकासहित २१ रनको योगदान गरे। आरिफ शेख २१, अनिल साह १, कप्तान मन्जित श्रेष्ठ ५, रसिद खान १, ललित राजवंशी १ रनमा आउट हुँदा सागर ढकाल १ रनमा अविजित रहे।
बागमतीका नन्दन यादवले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए। तिलक भण्डारीले ७ ओभर ३ बलमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए। रामनरेश गिरीले ६ ओभरमा ३० रन खर्चेर २ विकेट लिए।
प्रतियोगितामा सोमबार कीर्तिपुरको मैदानमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश–१ बीच मुलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ।