१० महीनापछि खुले काठमाडौं महानगरपालिका भित्रका विद्यालय
कोभिड–१९ को कारण ११ चैत २०७६ देखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन्। कोभिड-१९ संक्रमण जोखिमका कारण बन्दाबन्दी भएपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रूपमा कक्षा सञ्चालन भएको हो।
काठमाडौं महानगरपालिकाले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयले विद्यार्थीहरूको उपस्थितिमा भौतिक रूपमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका भित्रका केही विद्यालय खुलेका हुन्।
कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन गरेर विद्यार्थीहरूको चाप घटाएका छन्। विजय स्मारक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीप्रसाद शर्माले आइतबारदेखि आफ्नो विद्यालयमा भौतिक रूपमा पठनपाठन गर्नेगरी खुलेको बताए।
नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरिन प्रधानाध्यापक शर्माले बताए।
काठमाडौंका केही विद्यालयहरू आइतबारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ। कतिपय विद्यालयले पूर्वतयारी गरिरहेको र काठमाडौं महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिसकेका छैनन्।
केही दिनपछि पठनपाठन सञ्चालन गर्ने उनीहरूको तयारी रहेको छ। रत्नराज्य माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रामाशिस यादव शिक्षक र विद्यार्थी विद्यालय आउन उत्सुक भएपनि पूर्वतयारी गर्न समय लाग्ने भएकाले केही दिनमा विद्यालय खोल्ने बताउँछन्।
कतिपय विद्यालयले अनलाइन प्रणालीमार्फत् कक्षा सञ्चालन गरिरहेका थिए। भौतिक रूपमा विद्यालय सञ्चालन गरिएसँगै विद्यार्थीहरू मास्कको प्रयोगसहित विद्यालय जान थालेका छन्।